यी हुन् कान्तिपुर सहकारीका १०० ऋणी (विवरणसहित)
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिले २०८३ जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको हो । समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ । यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ । त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ ।
सहमति जुट्छ भने म सल्लाहकार बस्न मञ्जुर छु : उत्तम भ्लोन लामा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष तथा आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षका बलिया दाबेदार उत्तम भ्लोन लामाले संस्थाको वृहत्तर हित र एकताका लागि आफू पद छोड्न तयार रहेको घोषणा गरेका छन् । उर्जा क्षेत्रको विकासका लागि अबको इप्पान कार्यक्रममा बोल्दै लामाले व्यक्तिगत पदभन्दा संस्थाको गरिमा र एकता ठूलो भएको बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पदका दाबेदार लामाले संस्थाभित्र निर्वाचनभन्दा सर्वसम्मतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘इप्पानलाई एकताबद्ध बनाएर लैजानका लागि यदि कार्यसमितिका सबै साथीहरूले बलराम खतिवडाजीलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत मान्नुहुन्छ भने म आजैका मितिदेखि आफ्नो दाबी छोडेर सल्लाहकारको रूपमा सहयोग गर्न तयार छु ।’ संस्थाभित्र फुट हुनुभन्दा मिलेर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको उनको तर्क थियो । लामाले इप्पानलाई अब परम्परागत स्वरूपबाट रूपान्तरण गरी महासंघको ढाँचामा लैजानुपर्ने प्रस्ताव गरे । विधान संशोधनको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको उल्लेख गर्दै उनले ६ महिनाभित्र विधान परिमार्जन र एक वर्षभित्र चुनाव गराउने कार्ययोजनाका साथ आफूहरू अघि बढिरहेको स्पष्ट पारे । संस्था दर्ता ऐन र कानुनी जटिलताहरूका कारण केही समय ढिलाइ भए पनि संस्थालाई समावेशी र खुला बनाउने अभियान नरोकिने उनले बताए । नेतृत्वमा नैतिकता हुनुपर्ने कुरामा जोड दिँदै लामाले आफू नेतृत्वमा आए पनि लामो समय पद ओगटेर नबस्ने घोषणा गरे । उनले भने, ‘म नेतृत्वमा आएँ भने पनि दुई वर्षभन्दा बढी पदमा बस्ने छैन । नेतृत्व हस्तान्तरण गर्ने र नयाँ पुस्तालाई अवसर दिने संस्कार हामीले बसाल्नुपर्छ ।’ परिवर्तनको एजेन्डा र इतिहास आफू इप्पानमा सधैं परिवर्तन र सुधारको पक्षमा उभिएको स्मरण गर्दै उनले कृष्ण आचार्यको पालादेखि नै संस्थागत सुदृढीकरणका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए । इप्पान सबैको पहुँचमा पुग्ने साझा चौतारी हुनुपर्ने र यसका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको उनको भनाइ थियो ।
महानगर छात्रवृत्ति : विवरण सच्याउन र पुनर्योगका लागि परे सयौं निवेदन
काठमाडौं । छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ जना विद्यार्थीले पुनर्योग गर्न र ९६ जना विद्यार्थीले विवरण सच्याउन तथा अन्य विभिन्न माग राखेर काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा आवेदन दिएका छन् । जेठ १७ गते सम्पन्न परीक्षाको १८ गते बिहान प्रारम्भिक नतिजा प्रकाशन गर्दै शिक्षा विभागले योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन आज (जेठ २० गते बेलुका ५ बजे)सम्मको अवधि दिएको थियो । यस अवधिमा विवरण सच्याउन सहित विभिन्न माग राखेर विद्यार्थीहरूले आवेदन दिएका हुन् । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विवरण सच्याउन आवेदन दिएका मध्ये ६६ जनाले आफू छात्रा भएको तर अनलाइन फाराम भर्दा छात्र भएकोले सच्याइ पाउन निवेदन दिएका छन् । यसैगरी ११ जना विद्यार्थीले फाराम भर्दा पहिलो नाम, बीचको नाम, थर, क्लष्टर गलत चयन गरेकोले सच्याउन माग गरेको खड्काले जानकारी दिए । केही विद्यार्थीले आफूले फाराम भर्दा छानेको विषय र विद्यालय परिवर्तन गराइदिन माग गरेर समेत निवेदन दिएका छन् । समितिका सदस्य सचिव खड्काका अनुसार यी मागहरु सम्बोधन गर्ने व्यवस्था छैन । विभागले पुनर्योग र विवरण सच्याउन दिएको निवेदनअनुसार ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रुपमा पुनर्योगपछि भोलि बिहानसम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुनेछ । यस वर्षको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
९००० मेगावाट उत्पादन गर्ने सरकारी घोषणामा इप्पानको आपत्ति
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले निजी क्षेत्रलाई बाहिर राखेर देशको ऊर्जा लक्ष्य पूरा हुन नसक्ने बताएका छन् । इप्पानको एक कार्यक्रममा बोल्दै डाँगीले संस्थाको ऐतिहासिक यात्रा, वर्तमान चुनौती र सरकारको नीतिका बारेमा आफ्नो धारणा राखेका हुन् । ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहे पनि सरकारको पछिल्लो बजेट र नीतिहरूले यस क्षेत्रलाई केही हदसम्म बेवास्ता गरेकोमा डाँगीले चिन्ता व्यक्त गरे । विशेषगरी १० मेगावाटभन्दा माथिका आयोजनाहरूको विद्युत खरिद सम्झौतामा रहेको अन्योल र सरकारको ९००० मेगावाट उत्पादन गर्ने लक्ष्यमा निजी क्षेत्रको भूमिकालाई खुम्च्याउन खोजिएकोमा उनले कडा आपत्ति जनाए । वरिष्ठ उपाध्यक्ष डाँगीले इप्पानको सुरुवाती दिनहरू स्मरण गर्दै भने, ‘जम्मा ४ वटा कम्पनी र ७ जना संस्थापक सदस्यहरूबाट सुरु भएको इप्पानको यात्रा आज ७०० कम्पनीहरू आबद्ध हुने स्तरसम्म आइपुगेको छ । यो निजी क्षेत्रको लगाव र ऊर्जा विकासप्रतिको प्रतिबद्धताको ठूलो उपलब्धि हो ।’ संस्थालाई अझ बढी गतिशील र समावेशी बनाउन विधान संशोधन अनिवार्य रहेको उनको तर्क थियो । विसं २०५७ मा स्थापना भएको इप्पानको विधान यसअघि २०६७, २०७६ र २०७८ सालमा परिमार्जन भइसकेको उल्लेख गर्दै डाँगीले भने, ‘अहिलेको बदलिँदो परिस्थिति र आवश्यकता अनुसार विधानलाई अझै परिष्कृत गर्दै लैजान कार्यसमितिले गम्भीरतापूर्वक गृहकार्य गरिरहेको छ ।’ एकता र साझा नेतृत्वको आह्वान आगामी नेतृत्व चयनका सन्दर्भमा उनले सबै सदस्यहरूलाई एकजुट हुन अपिल गरे । ‘संस्था बलियो भयो भने मात्र हाम्रा एजेन्डाहरू बलियो हुन्छन्,’ उनले भने, ‘नेतृत्व चयन गर्दा सर्वसम्मति र समझदारीलाई प्राथमिकता दिँदै संस्थाको हितलाई सर्वोपरि राख्नुपर्छ ।’
स्वास्थ्य बीमामा कडाइ, निजी अस्पतालमा अब ‘इमर्जेन्सी’ सेवामात्र
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधाअन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ । बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनकुमार साहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बिमाअन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिइएको बताएका हुन् । बोर्डले यही जेठ १६ गतेबाट वित्तीय स्रोतको अभावलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो। बोर्डले बीमा भार पर्नेगरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवा प्रदान नगर्न आग्रहसमेत गरेको थियो । त्यसैगरी, सेवाग्राहीलाई समेत सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सृजना गरेर आश्यकताबाहेकका अवस्थामा पनि सेवा गर्न बाध्य नपार्न आग्रहसमेत गरिएको छ । बोर्डमा आबद्ध भई ३६ वटा निजी अस्पतालले बिमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् ।
जर्मन सहयोगमा धुलिखेलमा खानेपानी ब्युँतियो, अस्पतालले पायो ५०० किलोवाटको सौर्य प्रणाली
काठमाडौं । नेपाल सरकार, धुलिखेल नगरपालिका, धुलिखेल अस्पताल, यहाँस्थित जर्मन दूतावास तथा जर्मन विकास सहकार्यका प्रतिनिधिले बुधबार (आज) धुलिखेलमा स्वास्थ्य सेवा, सामुदायिक पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित तीन महत्त्वपूर्ण परियोजनाको संयुक्त रूपमा शुभारम्भ गरेका छन् । कार्यक्रममा नेपालका लागि जर्मन राजदूत उडो यूजेन भोल्ज, केएफ डब्ल्यु विकास बैंक, जिआईजेड नेपालका साथै नेपाल सरकारका वरिष्ठ अधिकारी, धुलिखेल अस्पतालका प्रतिनिधि तथा स्थानीय सरोकार भएकाहरूको उपस्थिति थियो । कार्यक्रमअन्तर्गत धुलिखेल खानेपानी आपूर्ति प्रणालीको पुनर्निर्माण सम्पन्न भएको घोषणा गर्दै धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गम र राजदूत भोल्जले संयुक्त रूपमा उद्घाटन गरेको जर्मनीको राजदूतावासले जनाएको छ । सन् १९९२ मा स्थापना भएको उक्त प्रणालीले २० हजारभन्दा बढी स्थानीय बासिन्दाका साथै धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयलाई सुरक्षित खानेपानी उपलब्ध गराउँदै आएको छ । गत वर्षको बाढी र पहिरोबाट प्रणालीमा क्षति पुगेपछि जर्मन सरकारले यसको पुनर्निर्माणका लागि एक लाख २० हजार युरो सहयोग उपलब्ध गराएको थियो । त्यसैगरी, धुलिखेल अस्पतालमा अटोक्लेभसहितको नयाँ स्वास्थ्यजन्य फोहोर व्यवस्थापन उपचार केन्द्र (हेल्थकेयर वेस्ट म्यानेजमेन्ट ट्रिटमेन्ट साइट) को उद्घाटन भएको छ । अस्पतालमा वातावरणमैत्री फोहोर व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले स्थापना गरिएको उक्त केन्द्रमार्फत फोहरको वर्गीकरण, सङ्कलन, उपचार र सुरक्षित निस्तारणका अभ्यासलाई थप प्रभावकारी बनाइने जनाइएको छ । जिआईजेडको सहयोगमा गत पुसदेखि अस्पतालमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन सुधार कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रमका क्रममा जर्मन सरकारको सहयोगमा केएफडब्ल्यु विकास बैंकमार्फत धुलिखेल अस्पतालमा ५०० किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान परियोजनाको पनि शुभारम्भ भएको छ । परियोजना सम्पन्न भएपछि अस्पतालका आपत्कालीन सेवा, शल्यक्रिया कक्ष, प्रयोगशाला तथा अन्य महत्वपूर्ण सेवाका लागि भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित हुने अपेक्षा गरिएको छ । उक्त प्रणालीबाट वार्षिक ७७८ मेगावाट घण्टा विद्युत् उत्पादन हुने तथा अस्पतालको ऊर्जा खर्चमा वार्षिक करिब ९५ लाख बचत हुने अनुमान गरिएको छ। कार्यक्रममा जर्मन पक्षले स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा तथा दिगो आर्थिक विकासका क्षेत्रमा नेपालसँगको दीर्घकालीन सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो । जर्मनीले केएफडब्ल्यु जिआईजेडमार्फत नेपालको समावेशी, जलवायु प्रतिरोधी र दिगो विकासका प्रयासमा सहयोग गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार सेयर नेप्सेमा सूचीकृत, आजबाट कारोबार सुरु
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको '८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर' नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता सेयर जेठ २० गते नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयरको कुल निष्कासन मूल्य ३ अर्ब रुपैयाँ रहेको छ । सूचीकृत भएको यो अग्राधिकार सेयर जेठ २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध भएको बैंकले जनाएको छ । यससँगै माछापुच्छ्रे बैंकको पूँजी बजारमा उपस्थिति थप सुदृढ हुने विश्वास गरिएको छ ।
आइतबारदेखि ललितपुरमा घरेलु महासंघको महाधिवेशन, महिला उद्यमी सम्मेलन पनि सँगै
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी आइतबारदेखि ललितपुरमा आयोजना हुने भएको छ । महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । महासंघका अध्यक्ष उमेश प्रसाद सिंहका अनुसार जेठ २४ र २५ गते सञ्चालन हुने महाधिवेशनमा देशभरका उद्यमीहरूको सहभागितासहित उद्योग क्षेत्रका समसामयिक मुद्दामा व्यापक छलफल हुनेछ । 'नयाँ नेतृत्व चयनदेखि नीतिगत बहससम्म महाधिवेशन केन्द्रित हुनेछ,' उनले भने । २०४७ सालमा स्थापना भएको महासंघले लघु, घरेलु तथा साना उद्योगीहरूको हकहित संरक्षण, उद्यमशीलताको विकास तथा महिला उद्यमीहरूको नेतृत्व क्षमता अभिवृद्धिमा निरन्तर काम गर्दै आएको छ । हाल महासंघ सातै प्रदेश, ७७ जिल्ला र तीन सयभन्दा बढी पालिकामा विस्तार भइसकेको छ । केन्द्रीय महिला उद्यमी समितिअन्तर्गत पनि सातै प्रदेशका साथै ६२ जिल्लामा महिला उद्यमी सञ्जाल सक्रिय रहेको महासंघले जनाएको छ । महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा महिला उद्यमी प्रतिनिधिसहित करिब एक हजार जनाको सहभागिता रहने बताइएको छ । सम्मेलनले संगठनात्मक सुदृढीकरण, विगतका गतिविधिको समीक्षा, भावी कार्यदिशा निर्धारण तथा उद्योग क्षेत्रका चुनौती र अवसरबारे गहन छलफल गर्ने अपेक्षा गरिएको छ । महासंघका उपाध्यक्ष शेभा गुरुङका अनुसार महाधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिनुका साथै महिला उद्यमशीलता, आर्थिक सशक्तीकरण, नवप्रवर्तन र बजार विस्तारका विषयमा महत्वपूर्ण योजना तय गरिनेछ । महाधिवेशन अवधिभर स्वदेशी उत्पादनहरूको प्रदर्शनीसमेत आयोजना गरिनेछ । कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति गठन गरी आवश्यक तयारी पूरा गरिएको महासंघले जनाएको छ । साथै सरोकारवाला निकाय र सञ्चारमाध्यमसँग सहकार्यको अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मीलगायतले तयारीबारे जानकारी दिएका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू मुकेश उपाध्याय, चन्दनकृष्ण श्रेष्ठ, हरिहर था पा, शान्ता बास्कोटा, कोषाध्यक्ष अच्युत पाण्डेलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।