कालिका भगवतीमा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन, एकै दिन साढे १० लाख रूपैयाँ
काठमाडौं । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर ३७ लाख २५ हजार ५५५ रुपैयाँ सङ्कलन भएको थियो । गत वर्षको तुलनामा यस वर्षको भेटी ५ लाख रुपैयाँले कमी आएको हो । गत वर्षको चैते दसैँमा ४२ लाख रुपैयाँ भेटी सङ्कलन भएको थियो । गण्डकी प्रदेशको प्रमुख सक्तिपिठ मध्येको एक ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा यसवर्ष आएका ७ लाखभन्दा बढी दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते १ लाख १७ हजार रुपैयाँ, चैत ६ गते १ लाख ५३ हजार रुपैयाँ, चैत ७ गते ४ लाख ३८ हजार रुपैयाँ, चैत ८ गते १ लाख ७० हजार रुपैयाँ, चैत ९ गते १ लाख ७१ हजार रुपैयाँ र चैत १० गते ४ लाख ९२ हजार रुपैयाँ सङ्कलन भएको थियो । यस्तै चैत ११ गते ३ लाख रुपैयाँ, चैते दसैँको मुख्य दिन चैत १२ गते १० लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको अध्यक्ष खड्काले बताए । नवमीको दिन ४ लाख ८० हजार रुपैयाँ र दशमीको दिन ३ लाख ५५ हजार रुपैयाँ सङ्कलन भएको छ । ‘चैतेदसैँको मुख्य दिनमा सबैभन्दा धेरै भक्तजन र धेरै भेटी सङ्कलन भएको छ । विगतका वर्षहरूको तुलनामा यो वर्ष ५ लाख मात्रै भेटीमा कमी आएको छ, वर्षाको कारणले केही भक्तजनमा कमी आएको थियो,’ अध्यक्ष खड्काले भने, ‘अष्टमीमा एकै दिन ४ लाखभन्दा बढी भक्तजन आए, ट्राफिक व्यवस्थापनमा हम्मेहम्मे पर्यो ।’ बागलुङ कालिका मन्दिरमा वडा दसैँ र चैते दसैँ अनि शनिबार तथा मङ्गलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट कमाइ हुने गरेको छ । मन्दिरमा परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरबाट आम्दानी जोडिने गरिएको अध्यक्ष खड्काले बताए । वि.सं १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेका थिए । विवाहमा राजकुमारीले आफूसँगै दाइजोको रुपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोकेर यही कालिका मन्दिर रहेको स्थानसम्म ल्याइएको थियो । राजकुमारी कालिका देवी भएको अनन्य भक्त थिए । त्यही कालिका देवीको मूर्ति अहिले कालिका मन्दिर रहेको स्थानमा ल्याएर बिसाइएको थियो ।
पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा हुने, कुन प्रदेशको कस्तो छ मौसम ?
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू-भागमा आंशिक बदली भएको छ । गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहने छ भने पहाडी तथा तराई भू-भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका केही तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बदली रहने छ भने बाँकी हिमाली भू-भागमा आंशिक बदली हुनेछ । पहाडी तथा तराई भू-भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका केही तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकोले पछिल्लो मौसमी स्थितिबारे जानकारी लिन तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।
हवाई इन्धनमा उच्च मूल्यवृद्धि, पेट्रोल डिजेलमा यथावत
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाइको छ । निगमका अनुसार हवाई इन्धन (आन्तरिकतर्फ) हाल १२७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढाएर प्रतिलिटर २५१ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९६६ डलर रहेकोमा १७८५ डलर, पोखरामा ८०१ डलर रहेकोमा १७३२ डलर र भैरहवामा ७८९ डलर रहेकोमा १७१६ डलर कायम गरिएको छ । पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको खुद्रा बिक्री मूल्यमा भने हाललाई कुनै परिवर्तन गरिएको छैन । यो नयाँ मूल्य समायोजन बुधबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ । यद्यपि आन्तरिक हवाई इन्धनको मूल्य भने घटाइएको छ । मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा निगमलाई पछिल्लो १५ दिनमा ५ अर्ब रुपैयाँ घाटा भएको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य पनि बढेको अवस्थामा निगमले उपभोक्ताको हित र वित्तीय सन्तुलन कायम गर्न यो निर्णय लिएको जनाएको छ ।
पित्तथैलीमा पत्थरी र पिसाबमा सङ्क्रमण देखिएपछि ओली चिकित्सकको निगरानीमा
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका अध्यक्ष ओली हाल चिकित्सकको निगरानीमा रहेका अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए । उनका अनुसार पित्तथैलीमा पत्थरी र पिसाबमा सङ्क्रमण देखिएपछि अध्यक्ष ओलीलाई निगरानीमा राखिएको हो । प्रवक्ता डा. सेढाईंले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको बताए । अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार प्रहरीले पक्राउ गरेपछि उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक
काठमाडौं । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए बापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज उनलाई पक्राउ गरेको हो । घुसबापतको रकम र मोबाइल एक थानसहित उनलाई काठमाडौं महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
रोशी खोलाको बाढी जोखिमले बिपी राजमार्ग अनिश्चितकालका लागि बन्द
काठमाडौं । बिपी राजमार्गमा आज साँझदेखि अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ । आज साँझ ७ः०० बजेदेखि राजमार्गस्थित भकुण्डे-नेपालथोकमा खण्डमा भारी वर्षात् भएकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गका हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अहिले जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तगा काभ्रेभञ्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पुर्याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो । सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरेर यातायात होल्ड र व्यवस्थापन गरिएको विष्टले बताए । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिल गरिएको छ । यसअघि गत शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले दुई दिन बिपी राजमार्ग अवरुद्ध बनाएपछि करिब ३६ घण्टापछि आइतबार बिहानदेखि सञ्चालनमा ल्याइएको थियो । त्यसबेला पनि दुईतर्फी रूपमा नै सञ्चालन भएको जनाउँदै कार्यालयले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्नसमेत अनुरोध गरेको थियो । शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबारको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको थियो । गत साल असोजको बाढीपहिरोले चौकीडाँडा-नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो ।
पोखरामा मध्यराति ‘ट्रान्स पार्टी’मा छापा: लागूऔषधसहित ३८ जना नियन्त्रणमा
पोखरा । पोखरामा सञ्चालन भइरहेको एक ‘ट्रान्स पार्टी’मा प्रहरीले मध्यराति छापा मार्दै विदेशी नागरिकसहित ३८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार (आज) राति करिब १:३० बजे पोखरा महानगरपालिका-१८ स्थित एक स्थानमा गोप्य सूचनाको आधारमा छापा मारिएको हो । उक्त पार्टी बमेन्द्र पुन र भारतीय नागरिक अनुभव शर्माले आयोजना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छापाका क्रममा ८ जनाको साथबाट एमडीएमए, चरेशजस्तो देखिने पदार्थ, कोकिन, बरफ (एम्फेटामिन), म्याजिक मशरूम, एलएसडीलगायतका विभिन्न लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषध मुद्दामा ८ जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ भने ४ जनामाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको छ । अन्य २६ जनालाई भने सोधपुछपछि आफन्तको जिम्मा लगाइएको छ । पक्राउ पर्नेहरूमा ब्राजिल, भारत लगायत विभिन्न देशका नागरिकसमेत रहेका छन्, जसले घटनालाई थप संवेदनशील बनाएको छ । प्रहरीका अनुसार पछिल्लो समय पर्यटकीय क्षेत्रमा यस्ता अवैध पार्टीहरूको गतिविधि बढ्दै गएको गुनासो आएपछि निगरानी कडा पारिएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: मार्ग प्रशस्त गर्नु, अर्को आउँछ
काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको सरुवा गरेको थियो भने मङ्गलवार ६ जना सहसचिवको सरुवा गरेको छ । यस अघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौँ बाहिर जान आनाकानी गरेपछि सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मार्ग प्रशस्त गर्न आग्रह गरेकी छिन् । मन्त्री रावलले भनिन्,'जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन,नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ ।' मन्त्रालयले यस अघि प्रमुख प्रशासकिय अधिकृत विहीन रहेका नगरपालिकामा सोमबार र उपमहानगरपालिकामा मङ्गलवार कर्मचारी पठाएको छ । अब एक दुई दिनमै कर्मचारी विहीन भएका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।