एमाले महाधिवेशन : ओली-पोखरेल समूहले पदाधिकारी टुंगो लगायो, ज्ञवाली उपाध्यक्षमा सेट
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल समूहले आ-आफ्नो शीर्ष नेतृत्व र पदाधिकारी चयन प्रक्रियालाई अन्तिम चरणमा पुर्याएका छन् । ओली समूहबाट उपाध्यक्षमा पाँच जनाको नाम फाइनल भएको छ । विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उपाध्यक्षको लागि निश्चित भएका हुन् । खासगरी प्रदीप ज्ञवालीले प्रारम्भमा महासचिव पदको दाबी गरेका थिए, तर अन्ततः सहमति अनुसार उनी उपाध्यक्षमा सेट भएका हुन् । महासचिवमा शंकर पोखरेलको नाम टुंगो लागेको छ । ज्ञवालीले अन्तिम समयसम्म महासचिव पदको दाबी नछाडे पनि ओली पोखरेल समूहको सहमतिअनुसार पोखरेललाई महासचिव बनाउने निर्णय भएको हो । त्यसैगरी, उपमहासचिवतर्फ तीन जना पदाधिकारी चयन भएका छन् । रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम उपमहासचिवमा फाइनल भएको एक नेताले जानकारी दिए । ओली पक्षको सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल दोहोरिने तय भएको ओली निकट एक नेताले बताए । उनका अनुसार नयाँ नेताहरू खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र डा.राजन भट्टराई ओली पक्षका उम्मेदवार बन्ने भएका छन् । यससँगै एमालेको आगामी नेतृत्व संरचना स्पष्ट हुँदै गएको छ जसले पार्टी भित्रको आन्तरिक सन्तुलन र सत्ता संरचनामा नयाँ रूपरेखा तय गर्ने अनुमान छ ।
एमाले ११औं महाधिवेशन : नेतृत्व चयनको औपचारिक सुरुवात, उम्मेदवारी फाराम वितरण सुरु
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियाअन्तर्गत उम्मेदवारी फाराम वितरण सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवार बन्न इच्छुक नेता तथा कार्यकर्ताले निर्धारित समयभित्र फाराम भर्ने व्यवस्था गरिएको छ । नेताहरूले धमाधम फारम किनिरहेका छन् । उम्मेदवारी फाराम वितरणसँगै पार्टीको निर्वाचन प्रक्रिया औपचारिक चरणमा प्रवेश गरेको छ । यसअघि महाधिवेशनका लागि प्रस्तावित एजेन्डा अनुसार, उम्मेदवार फाराम वितरण, मनोनयन, अन्तिम नामावली प्रकाशन र मतदानको कार्यक्रम निर्धारित गरिएको थियो। निर्वाचन समितिका एक सदस्यका अनुसार, सोमबार उम्मेदवारी फाराम भरेका उम्मेदवारहरूको नामको अन्तिम सूची प्रकाशित गरिनेछ भने मंगलबार मतदान हुँदै नयाँ नेतृत्व चयन हुनेछ । यस प्रक्रियामा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहितका पदाधिकारी र केन्द्रीय समिति सदस्यहरूको उम्मेदवारी समावेश हुनेछ । पार्टी स्रोतहरूले जानकारी दिए अनुसार, नेताहरूले आफ्नो प्यानल तयार पारिसकेका छन् । संस्थापन पक्षको महासचिव पदका उम्मेदवारका बारेमा पनि अन्तिम निर्णय हुने क्रममा छ । पार्टीको विधानअनुसार उम्मेदवारले निर्धारित मापदण्ड र कोटा प्रणाली पूरा गर्नुपर्नेछ।
युनाइटेड इदी मार्दीको लाभांश घोषणा
काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । मङ्सिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्नेछ । घोषित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
इमर्जिङ्ग नेपालले सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । मङ्सिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो । नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
महाधिवेशनको मुखमै एमाले संस्थापनभित्र तानातान, महासचिवमा पोखरेल र ज्ञवाली भिडन्त
काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु हुन लाग्दा संस्थापन पक्षभित्रै पदाधिकारी टुंगो लगाउन सकस देखिएको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन समूहले अहिलेसम्म पदाधिकारीका उम्मेदवार अन्तिम रूपमा तय गर्न नसक्दा महाधिवेशनस्थलमा आन्तरिक छलफल र परामर्श तीव्र बनेका छन् । आइतबार रातभर शीर्ष नेताहरूबीच निरन्तर छलफल भए पनि सहमति जुट्न नसकेको बताइन्छ । विशेषगरी महासचिव पदमा दुई जना अनुभवी नेताको दाबी अघि सर्दा अध्यक्ष ओली पदाधिकारी बाँडफाँटमा अप्ठ्यारोमा परेका हुन् । ओली निकट एक नेताका अनुसार महासचिव पदलाई लिएर वर्तमान महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीबीचको आकांक्षाले संस्थापन समूहभित्रै सन्तुलन मिलाउन चुनौती उत्पन्न गरेको छ । वर्तमान महासचिव शंकर पोखरेलले आफूले सम्हाल्दै आएको जिम्मेवारीमा निरन्तरता चाहेको स्पष्ट संकेत गरिसकेका छन् । पार्टी संगठन विस्तार, सरकार र पार्टीबीचको समन्वय तथा पछिल्लो समय भएका राजनीतिक उतारचढावमा आफूले खेलेको भूमिकालाई आधार मानेर पोखरेलले दोहोरिने दाबी प्रस्तुत गरिरहेका छन् । उनका समर्थकहरू पनि महासचिव जस्तो महत्त्वपूर्ण पदमा अनुभव र निरन्तरताको आवश्यकता रहेको तर्क गर्दै आएका छन् । त्यसैगरी उपमहासचिव प्रदीप ज्ञवालीले भने एक तहको ‘प्रमोसन’सहित महासचिवमा दाबी गर्दै आएका छन् । पार्टी विचार, नीति तथा सार्वजनिक छविको हिसाबले आफू सक्षम रहेको र महासचिवको जिम्मेवारी सम्हाल्न सक्ने उनको बुझाइ छ । ज्ञवालीलाई पार्टीभित्र बौद्धिक र सन्तुलित नेताका रूपमा लिने समूहले पनि नेतृत्व पुस्तान्तरणको सन्देश दिन महासचिवमा उनलाई अघि सार्नुपर्ने तर्क गरिरहेका छन् । महासचिव पदमै दुई भेट्रान नेताको दाबी आएपछि अध्यक्ष ओलीलाई समग्र पदाधिकारी संरचना मिलाउन थप दबाब परेको छ । महासचिवसँगै उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा समेत विभिन्न नेताहरूको आकांक्षा रहेकाले एउटा पदको निर्णयले अन्य पदाधिकारीको समीकरणसमेत प्रभावित हुने अवस्था छ । त्यसैले ओलीले हतारमा निर्णय गर्नुभन्दा सबै पक्ष सन्तुलित हुने गरी सहमति खोजिरहेको स्रोतको भनाइ छ । महाधिवेशनको बन्दसत्र सुरु भएसँगै नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने तयारी भइरहेका बेला संस्थापन पक्षभित्रै स्पष्ट प्यानल नबन्दा कार्यकर्तामाझ चासो बढेको छ । यद्यपि अन्तिम घडीमा अध्यक्ष ओलीको सक्रिय पहलमा सहमति जुट्ने र संस्थापन पक्षले एकीकृत प्यानल घोषणा गर्ने सम्भावना पनि उत्तिकै रहेको नेताहरू बताउँछन् । एमालेको ११ औँ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वलाई आगामी राजनीतिक चुनौती सामना गर्नुपर्ने भएकाले महासचिव जस्तो पदमा कसलाई जिम्मेवारी दिइन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । यसैबीच, पदाधिकारी चयनमा हुने निर्णयले पार्टीभित्र शक्ति सन्तुलन र भावी राजनीतिक दिशा निर्धारण गर्ने भएकाले छलफल अझै केही समय चल्ने संकेत देखिएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सार्वजनिक गर्यो ‘एसपीआईएल लेन्स’ त्रैमासिक न्यूजलेटर
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले कम्पनीको त्रैमासिक न्युजलेटर ‘एसपीआईएल लेन्स’ को औपचारिक रूपमा शुभारम्भ गरेका छन् । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा न्युजलेटर शुभारम्भ गर्दै सीईओ क्षेत्रीले बीमा सम्बन्धी ज्ञानवर्धक सूचनाका लागी यो प्रकाशन महत्वपूर्ण हुने बताए । कम्पनीका अनुसार एसपीआईएल लेन्स न्युजलेटरमा कम्पनीको वित्तिय सूचकांक, व्यवस्थापन गतिविधि तथा योजनाहरू सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिने छ । साथै नेपालको बीमा उद्योगको विश्लेषण तथा अन्तर्राष्ट्रिय निर्र्जीवन बीमा बजारका गतिविधि र तिनका प्रभावहरू समेत समेटिनेछ । कार्यक्रममा बोल्दै सीईओ क्षेत्रीले एसपीआईएल लेन्स केवल एक न्यूजलेटर मात्र नभई बीमा उद्योगलाई बुझ्न, अध्ययन गर्न र विश्लेषण गर्न चाहने सबैका लागि मूल्यवान स्रोत बन्ने बताए । उनले कम्पनीले सरोकारवालाहरू सँगको संवादलाई अझ गहिरो बनाउने उद्देश्यका साथ यो प्रकाशन ल्याएको उल्लेख गरे । कम्पनीका अनुसार एसपीआईएल लेन्स हरेक तीन महिनामा नियमित रूपमा प्रकाशित गरिनेछ र डिजिटल माध्यम मार्फत उपलब्ध हुनेछ ।
पाँचौंदेखि एघारौं महाधिवेशनसम्म : एमालेमा विचार, सत्ता र आन्तरिक द्वन्द्व
काठमाडौं । नेकपा एमालेको पाँचौं महाधिवेशनदेखि एघारौं महाधिवेशनसम्मको यात्रा केवल संगठनात्मक निरन्तरता मात्र होइन, नेपालको कम्युनिस्ट आन्दोलन, संसदीय अभ्यास र सत्ता राजनीतिमा आएको रूपान्तरणको प्रतिबिम्ब पनि हो । यी महाधिवेशनहरूमा लिइएका निर्णयहरूले पार्टीको वैचारिक दिशा, नेतृत्व शैली र आन्तरिक लोकतन्त्रको स्वरूपलाई क्रमशः बदल्दै लगेका छन् । २०४९ सालमा सम्पन्न पाँचौं महाधिवेशनलाई एमालेको इतिहासमा सबैभन्दा निर्णायक वैचारिक मोडका रूपमा लिइन्छ। यही महाधिवेशनबाट मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद जबजलाई पार्टीको आधिकारिक मार्गदर्शक सिद्धान्त बनाइयो। यसले एमालेको चरित्रलाई क्रान्तिकारी मात्र होइन, लोकतान्त्रिक र संसदीय कम्युनिस्ट पार्टीका रूपमा स्थापित गर्यो । यसपछि एमाले राजतन्त्रअन्तर्गतको संसदीय प्रतिस्पर्धामा वैधानिक र लोकप्रिय शक्तिका रूपमा उदायो । छैठौँ महाधिवेशन २०५१ सालमा बनेको मनमोहन अधिकारी नेतृत्वको अल्पकालीन कम्युनिस्ट सरकारको अनुभवपछि सम्पन्न भयो । सरकार ढलेको पीडाबीच पनि पार्टीले संसदीय लोकतन्त्र र शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाबाट नहट्ने स्पष्ट सन्देश दियो । यो महाधिवेशनले संगठन विस्तार, स्थानीय तहमा प्रभाव जमाउने र दीर्घकालीन सत्ता रणनीति निर्माणमा जोड दियो । माधवकुमार नेपालको नेतृत्व यस चरणमा बलियो रूपमा स्थापित भयो । तर ०४७ पुस यता निरन्तर एकता प्रक्रियामा रहेको एमाले यो महाधिवेशन सम्पन्न भएको एक महिनामै बिभजित हुन पुग्यो । एमालेका लागि छैठौं महाधिवेशन बिर्सनुपर्ने अतीत बनेको एमाले नेताहरु बताउँछन् । अत्यन्तै चुनौतीपूर्ण राजनितीक सङ्कटका बेला २०५९ सालको सातौं महाधिवेशन राजा ज्ञानेन्द्रको सक्रियता र माओवादी द्वन्द्व उत्कर्षमा पुगेको समयमा सम्पन्न भयो । देश संविधानिक, राजनीतिक र सुरक्षा संकटमा थियो। एमालेले संवैधानिक राजतन्त्रभित्र लोकतन्त्रको रक्षा गर्ने लाइन लियो र सशस्त्र संघर्षभन्दा संसदीय राजनीतिको विकल्प नै सही ठहर गर्यो । यो महाधिवेशनले एमालेको छवि ‘मध्यपन्थी स्थायित्वको शक्ति’का रूपमा मजबुत बनाएको आम बुझाइ रहेको छ । जनआन्दोलन–२ पछि गणतन्त्र स्थापना भइसकेको परिवेशमा २०६४ सालमा आठौँ महाधिवेशन सम्पन्न भयो । माओवादी पहिलो राजनीतिक शक्ति बनेको अवस्थामा एमालेले आफ्नो भूमिका पुनःपरिभाषित गर्नुपर्ने चुनौती सामना गर्यो । संविधानसभा, संघीयता र समावेशिताको मुद्दामा पार्टीको रणनीति तय गरियो । यही चरणदेखि पार्टीभित्र नेतृत्वबीच वैचारिकभन्दा बढी शक्ति सन्तुलनको बहस सतहमा देखिन थाल्यो । २०७१ सालको नवौँ महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएसँगै पार्टीको नेतृत्व शैली र राजनीतिक भाष्यमा उल्लेखनीय परिवर्तन आयो । राष्ट्रवाद, स्थायित्व र विकासलाई केन्द्रमा राखिएको राजनीतिक लाइन अघि सारियो । यस महाधिवेशनले पार्टीभित्र लामो समयदेखि रहेको सामूहिक नेतृत्वको अभ्यासलाई कमजोर बनाउँदै व्यक्तिकेन्द्रित नेतृत्वतर्फको मोड संकेत गरेको नेताहरुको दाबी छ । २०७९ सालको दशौं महाधिवेशन एमाले विभाजन भई एकीकृत समाजवादी बनेपछि सम्पन्न भयो । यस महाधिवेशनमा ओली नेतृत्व थप सुदृढ बन्यो भने असन्तुष्ट नेताहरू पार्टीबाट बाहिरिए । संगठनात्मक अनुशासन, केन्द्रीकरण र ‘मिसन २०८४’ जस्ता नाराले पार्टीलाई पुनःएकताबद्ध बनाउने प्रयास गरियो । तर आलोचकहरूका अनुसार यसले आन्तरिक लोकतन्त्रको दायरा साँघुरो बनायो । भक्तपुरमा उद्घाटन भएर भृकुटीमण्डपमा चलिरहेको एघारौँ महाधिवेशनमा पार्टीको केन्द्रीय कमिटी संरचना, पदाधिकारी संख्या र कोटा प्रणालीलाई लिएर तीव्र बहस भएको छ । अध्यक्ष र महासचिव केन्द्रित शक्तिमाथि प्रश्न उठाउदै ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेलगायत नेताहरूले असहमति सार्वजनिक गरेका छन् । यो महाधिवेशन एमालेभित्र संस्थागत अभ्यास जोगाउने र नेतृत्व केन्द्रिकरणबीचको संघर्षको स्पष्ट अभिव्यक्ति बनेको बताइएको छ । पाँचौंदेखि एघारौँ महाधिवेशनसम्म आइपुग्दा एमालेको यात्रा वैचारिक स्पष्टताबाट सत्ता अभ्यास हुँदै शक्ति व्यवस्थापनको राजनीतितर्फ उन्मुख भएको देखिन्छ। जबजजस्तो सिद्धान्तले पार्टीलाई स्थापित गराए पनि पछिल्ला महाधिवेशनहरूमा विधान, संरचना र नेतृत्व शैली नै मुख्य बहसको विषय बनेका छन्। एमाले अब वैचारिक नवीकरण र आन्तरिक लोकतन्त्र सुदृढ गरी दीर्घकालीन स्थायित्व हासिल गर्नुपर्ने कठिन मोडमा उभिएको विश्लेषण हुन थालेको छ ।
नाइमाको पहिलो वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो साउनमा हुने
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो वार्षिक साधारण सभा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा नाइमाको कार्यालय, कमलपोखरीमा सम्पन्न गरेको छ । साधारण सभाले संस्था स्थापना भएदेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाइहरूको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना तथा रणनीतिक योजनाहरू औपचारिक रूपमा पारित गरेको छ । सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले छोटो अवधिमै नाइमा देशको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त आवाजका रूपमा स्थापित हुन सफल भएको बताइन् । उनले विगत नौ महिनामा हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गर्दै पहिलो ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ को सफल आयोजना तथा मोबिलिटी क्षेत्रका सिकाइ सत्रहरूको निरन्तर सञ्चालनले संस्थाको भूमिका अझ व्यापक र विश्वसनीय बनेको उल्लेख गरिन् । कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गरे । साथै, संस्थाको दीर्घकालीन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना र पारदर्शी वित्तीय व्यवस्थापनप्रति कार्यालयको प्रतिबद्धता दोहोर्‍याए । साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन–अनुसन्धान, नीतिगत बहस तथा पैरवी र ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ को आयोजना लगायतका कार्यक्रमहरू पारित गरेको छ । आगामी मोबिलिटी एक्सपो २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी नाइमाले गरेको जनाएको छ । संस्थागत सुदृढीकरणअन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा रणनीति तथा मेम्बरशिप अफेयर्स समिति गठन गर्ने निर्णय गरिएको छ । साथै, मेगाटेक ग्रुप प्रालिलाई नयाँ सदस्यका रूपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा समितिमा सदस्यका रूपमा मनोनयन गरिएको छ । समापनमा अध्यक्ष वैद्यले नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन उन्नतिका लागि नाइमाले सक्रिय भूमिका खेलिरहने प्रतिबद्धता व्यक्त गरिन् ।