विकासन्युज

पाँच करोड ५१ लाखको लागतमा गाउँपालिका भवन निर्माण हुँदै

कालीकोट। कालीकोटको महावै गाउँपालिकाले प्रशासकीय भवन निर्माण शिलान्यास गरेको छ । शनिबार महावै–७ कोटखौलमा प्रमुख प्रकासकीय भवन निर्माणको शिलान्यास गरिएको हो । लामो समयदेखि अस्थायी भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले सुविधासम्पन्न प्रशासकीय संरचना निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ । नयाँ भवन ३२ कोठासहित साढे दुई तलाको हुने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले जानकारी दिए । “भवन निर्माणका लागि पाँच करोड ५१ लाख ८४ हजार लागत लाग्नेगरी निर्माण कम्पनीसँग गत वैशाख १५ गते ठेक्का सम्झौता गरी कार्यक्षेत्रमा काम सुरु भइसकेको छ । सम्झौताअनुसार विसं २०८४ असार १५ गतेभित्र भवन निर्माणसम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ,” उनले भने । इन्जिनियर शाहीका अनुसार सङ्घीय र स्थानीय सरकारको संयुक्त साझेदारीमा भवन निर्माण हुन लागेको हो । सङ्घीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको ६० प्रतिशत र महावै गाउँपालिकाको ४० प्रतिशत लगानी रहने उनले जानकारी दिए । प्रशासकीय भवन निर्माण भएसँगै गाउँपालिकाबाट प्रवाह हुने सेवा थप व्यवस्थित, प्रभावकारी तथा सेवाग्राहीमैत्री बन्ने गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले विश्वास व्यक्त गरे । “भवन तोकिएको समयभित्रै उच्च गुणस्तरको निर्माण हुनेछ”, उनले भने, “आफ्नै प्रशासकीय भवनको निर्माणले गाउँपालिकाको संस्थागत विकास र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हुनेछ ।” भवन सम्पन्न भएपछि यहाँका नागरिकले एकै स्थानबाट झन्झटरहित स्थानीय सरकारको सेवा पाउने गाउँपालिकाका उपाध्यक्ष दानसिंह सेजुवालले बताए । उनले विगतमा आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएकामा अब सहज हुने विश्वास व्यक्त गरे ।

सिमा विवादले बन्द भएको स्लेटखानी १८ वर्षपछि सञ्चालनमा आउँदै

काठमाडौं । पर्वतको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा आधुनिक घरहरूमा स्लेट (ढुङ्गा) तथा मार्बलका रूपमा प्रयोग गरिने ढुङ्गाखानी सञ्चालन गर्ने भएको छ । मोदी गाउँपालिकाअन्तर्गत वडा नं. १ भुकताङ्ले, वडा नं. ३ देउराली र वडा नं. ४ क्याङको सिमानामा अवस्थित माटेको लेकमा रहेको धवलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी विगत १८ वर्षदेखि बन्द अवस्थामा रहेको हो। तत्कालीन क्याङ, देउराली र भुकताङ्ले गाविसबीचको सिमाना विवादका कारण बन्द भएको स्लेटखानी चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याइने भएको हो । मोदी गाउँपालिकाको गत मङ्गलबार सम्पन्न १९औँ गाउँ अधिवेशनबाट स्लेटखानी सञ्चालन गर्ने योजना पारित भएको हो । गाउँपालिका अध्यक्ष हीरादेवी शर्माले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा माटे लेकमा अवस्थित स्लेट अर्थात् ढुङ्गाखानी सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा सङ्घीय र प्रादेशिक निकायसँग समन्वय गरी प्रक्रिया अघि बढाउने उल्लेख छ । गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको नौ वर्षपछि पहिलोपटक स्लेटखानी सञ्चालनको कार्यक्रम अघि सारिएको हो । गाउँपालिकाको राजस्व वृद्धि गरी रोजगारी सिर्जना गर्न खानी सञ्चालनको कार्यक्रम अघि सारिएको अध्यक्ष शर्माले बताए । उनले सम्भाव्यता अध्ययनका साथै आवश्यक पहुँचमार्ग निर्माणलगायत योजनाका लागि बजेटसमेत विनियोजन गरिएको बताए । चालु खर्चबाट व्यवस्थापन गर्ने गरी बजेट व्यवस्था गरिएको उनले जानकारी दिए । यहाँबाट वार्षिक करोडौँ रुपैयाँ आम्दानी हुने अनुमान छ । मोदी गाउँपालिकाका तीनवटा वडा क्याङ, देउराली र भुकताङ्लेमा पर्ने माटेको लेकमा रहेको ढुङ्गाखानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले ठूलो नोक्सानी व्यहोर्नुका साथै स्थानीय सरकारको पनि लाखौँ रुपैयाँ राजस्व गुमेको छ । देउराली, क्याङ र भुकताङ्ले गाविसका बासिन्दाले खानी आआफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि खानी बन्द भएको हो । सबैले खानीका बारेमा आआफ्नै हिसाबले दाबी गर्दै आपसमा झगडा गर्न थालेपछि बन्द गरिएको तत्कालीन क्याङ गाविसका पूर्वअध्यक्ष नरसिंह पुनले बताए । विवादले चर्को रूप लिएपछि खानी बन्द गर्नुको विकल्प नभएको उनको भनाइ छ । ठूलाछाप सामुदायिक वनमा पर्ने खानी समुदायमा हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको थियो ।  खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहुँदा प्रयोगविहीन बनेको छ। खानी सञ्चालनका समयमा दैनिक सयौँ मजदुरले प्रत्यक्ष रूपमा रोजगारी पाएका थिए । यहाँ निकालिएका ढुङ्गा साविक धवलागिरि अञ्चलका पर्वत, बागलुङ र म्याग्दीका विभिन्न स्थानमा जाने गर्दथे ।  खानीका ढुङ्गा सङ्कलन गरेर बिक्री गरी परिवार पाल्दै आएका स्थानीय भानेबहादुर विकका अनुसार खानी बन्द भएपछि आश्रित परिवारको रोजीरोटी नै बन्द भएको छ भने स्थानीय युवाहरू पलायन हुन बाध्य भएका छन् । खानी सञ्चालनबारे पालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएपछि स्थानीयवासी हर्षित बनेका छन्। विकले अब खानी सञ्चालन हुने आशा जागेको बताए ।  विकले खानीमा १० वर्षसम्म काम गरे पनि बेरोजगार हुनुपरेको गुनासो गर्नुभयो। यसैको आम्दानीले विकले चार जनाको परिवार पाल्दै आएको थियो । यहाँका ढुङ्गा घर, गोठ, मचान छाउन प्रयोग हुँदै आएका छन् । जस्तापाताभन्दा ठूलो आकारमा आउने, बलियो र टिकाउ भएकाले मानिसहरू अहिले पनि ढुङ्गाले छाउन मन पराउने गर्छन् ।  एकपटक छाएको घर दुई–तीन पुस्तासम्म टिक्ने गाउँलेहरूको भनाइ छ। खानी उत्खनन गरेर ढुङ्गा बिक्री गर्ने हो भने पनि राज्यलाई वार्षिक करोडौँ रुपैयाँ आम्दानी हुने स्थानीय राम पुनले बताए । कतिपयले सिङ्गो ढुङ्गालाई पर्खालका रूपमा राख्न लैजाने गरेका थिए । सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा ढुङ्गाका पाँचवटा खानी रहेका छन् । केहीले ढुङ्गा कुद्ने र केहीले खानीबाट ढुङ्गा निकाल्ने गर्दै आए पनि अहिले उनीहरू पलायन भइसकेका छन् । यहाँको खानीमा निकालिएका ढुङ्गा छिमेकी जिल्ला बागलुङ, पोखरा, म्याग्दी र काठमाडौं लगिएको स्थानीय पुनको भनाइ छ । उत्तरी पर्वतका अधिकांश वडाका प्रायः सबै घर ढुङ्गाले छाइएका छन् ।  ‘पहिला खानी सञ्चालन हुँदा गाउँलेले राम्रै रोजगारी पाएका थिए,” स्थानीय हर्कबहादुर पुनले भने, ‘अहिले रोजगारी गुमेपछि कोही विदेशतिर गए त कोही गाउँमै मजदुरी गर्दै आएका छन् ।’ खानी तीन हजार १०० मिटरको उचाइमा रहे पनि आसपासमा बस्ती नभएकाले ढुङ्गा निकाल्दा कुनै असर पर्दैन । प्रशस्त ढुङ्गा भए पनि त्यसै खेर जाँदा गाउँले निराश छन्। ढुङ्गाले छाएका घर आकर्षक देखिने र एकपटक छाएपछि दुई–तीन पुस्तासम्म फेरि छाउनु नपर्ने पूर्वगाविस अध्यक्ष पुनले बताए । ‘खानी सञ्चालन गर्न सके गाउँलेको जीवनस्तरमा परिवर्तन आउने थियो । त्यही भएर सरकारी नियमानुसार हामी कार्य गर्न तयार छौँ,’ उनले भने ।  पछिल्लो समय खानीभन्दा केही तलसम्म सडक सुविधासमेत पुगेकाले पोखरा, काठमाडौंलगायतका सहरमा ढुङ्गा लैजान सहज हुने पुनको भनाइ छ । असिना पर्दा र अरू कारणले मात्रै ढुङ्गा फुट्ने र एकपटक लगानी गरेपछि वर्षौँसम्म कुनै झन्झट नहुने भएकाले यो लोकप्रिय बनेको थियो । माटेको ढुङ्गा पाइएमा मानिसहरूले महँगो शुल्क तिरेरै भए पनि छाउने गरेका स्थानीय नरबहादुर पुनले बताए । ‘अहिले बजारबाट जस्तापाता ल्याएर घर छाउनुपर्ने बाध्यतामा छौँ । जिल्ला बाहिरसमेत मार्बलका रूपमा निकासी गर्न सकिने सम्भावना भएकाले र स्थानीयवासीको रोजगारीको सुनिश्चिताका लागि पनि खानी सञ्चालनमा ल्याउनुपर्ने छ,’ स्थानीय गङ्गाबहादुर विकले भने । 

आज कोशीमा भारी वर्षा हुने, तराईमा हुरीको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ । अहिले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने देशका बाँकी भेगमा आंशिक बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । त्यसैगरी, मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ । महाशाखाले हुरी चल्ने तथा भारी वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रत्येक घरलाई ५० युनिट बिजुली निःशुल्क

काठमाडौं । सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि ५ प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ । मर्स्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने भएको हो। मर्स्याङ्दीले आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने प्रस्ताव २१औँ गाउँसभाबाट पारित गरी लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार गाउँपालिकाले आगामी आवको नीति तथा कार्यक्रममा ‘जलविद्युतको आम्दानी, उज्यालो मर्स्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत्को महसुल निःशुल्क पाउने व्यवस्था गरेको हो । यसका लागि गाउँसभाबाट ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष गुरुङले बताए । गाउँपालिकाका अनुसार पालिकाका नौवटै वडामा गरी चार हजार ४०९ घरपरिवार रहेका छन् । गाउँपालिकाले आगामी आवमा विद्युत् रोयल्टीबाट करिब चार करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । पालिकाभित्रका हाइड्रोपावरबाट प्राप्त रोयल्टीबाट उक्त युनिटसम्मको विद्युत्को महसुल गाउँपालिकाले तिर्ने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिए । यस गाउँपालिकाभित्र ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनासहित आठवटा विभिन्न आयोजनाबाट करिब १०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । बेँसीसहर नगरपालिकासँग जोडिनेगरी ५० मेगावाटको मर्स्याङ्दी बेँसी जलविद्युत्लगायतका आयोजना निर्माणाधीन अवस्थामा छन् । उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आम्दानी पनि बढ्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष गुरुङका स्वकीय सचिव तथा स्थानीय प्रदीप गुरुङले गाउँपालिकाले लागू गर्न लागेको ५० युनिटसम्मको निःशुल्क बिजुली सुविधाबाट गाउँपालिकाका ९० प्रतिशत नागरिक लाभान्वित हुने बताए । उनका अनुसार गाउँपालिकाका अधिकांश नागरिकले मासिक ५० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरेका छन् । पालिकामा अधिकांश ग्रामीण क्षेत्र रहेकाले उद्योगधन्दा न्यून छन् र बिजुलीको प्रयोग पनि कम भएकाले उक्त प्रतिशतका स्थानीयले सम्भवतः एक रुपैयाँ पनि विद्युत् महसुल तिर्नु नपर्ने अवस्था रहनेछ । हालै सम्पन्न मर्स्याङ्दी गाउँपालिकाको २१औँ गाउँसभा बैठकले आव २०८३/८४ का लागि ६८ करोड ७३ लाख १८ हजार ५०० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका अनुसार यहाँ १८ हजार ७५९ जनसङ्ख्या रहेको छ । ५० युनिटसम्म बिजुली निःशुल्क गर्ने निर्णयपछि स्थानीय हर्षित भएका छन् ।

नेरुडे मिर्मिरे लघुवित्तका दुई सञ्चालकले दिए राजीनामा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका दुई जना सञ्चालकले पदबाट राजीनामा दिएका छन् । कम्पनी सचिव राजेश श्रेष्ठका अनुसार सञ्चालक मणिकुमार अज्र्याल  र सुधिरकुमार श्रेष्ठले दिएको राजीनामा असार १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । लघुवित्त स्रोतका अनुसार दुवैले राजीनामाको कारण स्वास्थ्य अवस्था उल्लेख गरे पनि अन्य सञ्चालकसँगको मतभेदका कारण उनीहरूले पद त्यागेको बताइएको छ ।

भूपेन्द्र खत्रीको कमान्डमा रहेको लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को जेठको कार्यसम्पादन मूल्याङ्कन (रिपोर्ट कार्ड) अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय लगातार दोस्रो महिना देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये प्रथम भएको छ । वैशाख महिनामा पनि पहिलो स्थान हासिल गरेको लुम्बिनी प्रदेश प्रहरीले जेठमा समेत उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) भूपेन्द्रबहादुर खत्रीको नेतृत्वमा परिणाममुखी, नागरिकमैत्री तथा प्रविधिमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकता दिइएको, मातहतका प्रहरी कार्यालयको नियमित अनुगमन, समीक्षा र समन्वयलाई प्रभावकारी बनाइएको तथा अपराध नियन्त्रण, लागूऔषधविरुद्धको अभियान, अवैध तस्करी नियन्त्रण, समुदाय-प्रहरी साझेदारी र सेवा प्रवाहमा सुधार गरिएकाले यो उपलब्धि हासिल भएको हो । डिआइजी खत्रीले प्रदेशभर शान्तिसुरक्षा सुदृढ बनाउन आफू नियमित रूपमा जिल्ला, इलाका, प्रहरी चौकी तथा सीमा क्षेत्रको निरीक्षणमा जाने, प्रहरी कर्मचारी तथा स्थानीय नागरिकका गुनासा प्रत्यक्ष सुन्ने र समस्याको तत्काल समाधानमा जोड दिँदै आएको बताए ।  उनले नागरिकको विश्वासलाई केन्द्रमा राखेर व्यावसायिक, उत्तरदायी र प्रविधिमैत्री प्रहरी सङ्गठन निर्माणलाई प्राथमिकतामा राखिएकाले त्यसको सकारात्मक परिणाम कार्यसम्पादन मूल्याङ्कनमा देखिएको उल्लेख गरे । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उज्ज्वल खड्काले लुम्बिनी प्रदेश प्रहरीले चैत, वैशाख र जेठ महिनामा निरन्तर उत्कृष्ट कार्यसम्पादन गर्दै देशकै प्रथम स्थान कायम राख्न सफल भएको बताए ।  उनका अनुसार प्रदेशमा शान्तिसुरक्षा कायम गर्ने, लागूऔषध नियन्त्रण, अपराध अनुसन्धान, अवैध भन्सार तथा राजस्व चुहावट नियन्त्रण, नागरिकमैत्री सेवा विस्तार र सङ्गठनात्मक सुधारलगायतका सूचकको मूल्याङ्कनका आधारमा नेपाल प्रहरी प्रधान कार्यालयले लुम्बिनी प्रदेश प्रहरीलाई पहिलो स्थान प्रदान गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले पछिल्लो समय  हेक्कफर सेफ्टी, लुम्बिनी पिस वाक, साइबर अपराध, लागूऔषध दुव्र्यसन, सडक सुरक्षा तथा ‘डिजिटल’ सुरक्षासम्बन्धी समुदायस्तरीय सचेतना कार्यक्रम सञ्चालन गर्नाका साथै प्रविधिमा आधारित प्रहरी सेवाको विस्तारलाई पनि प्राथमिकता दिएको जनाएको छ । कार्यालयले आगामी दिनमा पनि शान्तिसुरक्षा, सुशासन, अपराध नियन्त्रण तथा नागरिकको विश्वास अभिवृद्धि गर्दै आधुनिक, व्यावसायिक र उत्तरदायी प्रहरी सेवाको विकासमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।

देशभर मनसुन सक्रिय हुँदै, सोमबार भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी गतिविधि क्रमशः सक्रिय बन्दै गएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन वर्षाको मात्रा बढ्दै जाने र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।  विभागका अनुसार शनिबारको तुलनामा आइतबार वर्षा थप बढ्नेछ भने सोमबार अझ सक्रिय हुने अनुमान गरिएको छ ।  विशेषगरी असार १५ गते राति कोसी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ भने मधेस प्रदेशका एक/दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । विभागले कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।  हाल कोसी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकीका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।  गण्डकी र लुम्बिनीका बाँकी भूभाग, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा पनि आगामी तीन–चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ । विभागका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी परे भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म परे धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ ।  सम्भावित वर्षा र हावाहुरीका कारण पहिरो, डुबान तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले विभागले आफ्नो पछिल्लो मौसम सूचना नियमित रूपमा हेर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २४ घण्टामा २५ वटा विपद्का घटना भएको छ ।  प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बारामा खेल्दै गरेका बालकलाई सर्पले डस्दा उनको मृत्यु भएको छ । उनले २५ वटा घटनामा झण्डै आधा १२ वटा घटना सर्पदंशका रहेको जानकारी दिए ।  उनका अनुसार सङ्खुवासभा, बारा, नवलपरासीपूर्व, कविपलवस्तु, कैलाली, कञ्चनपुरमा सर्पदंशका घटना भएको र ती घटनामा परेर १० जना घाइते भएका छन् ।       यस्तै, पहिरोले बझाङमा एक, जनावरको आक्रमणबाट दोलखामा एक, आगलागीबाट कास्कीमा एक जना घाइते भएका पनि उनले बताए ।  ती विपद्जन्य घटनाबाट कुल दुई लाख ७७ हजारको आर्थिक क्षति भएको प्राधिकरणले जानकारी दिएको छ । ती घटनामा परेर २२ वटा पशु चौपाया क्षति भएको जनाइएको छ ।