प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ बहुमतले पारित
काठमाडाै । प्रतिनिधिसभाले आर्थिक विधेयक, २०३ बहुमतले पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक, २०३ पारित गरियोस भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षदेखि बजेट कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन् । विगतमा देखिएको पूँजीगत खर्च न्यून हुने प्रवृत्तिको अन्त्य गर्ने लक्ष्यका साथ सरकारले प्रभावकारी कार्यान्वयनमा जोड दिने उनको भनाइ थियो । उनले सरकारले लगाएका करका व्यवस्थाले न्यून आय भएका नागरिकलाई अतिरिक्त भार नपर्ने स्पष्ट पार्दै अर्थतन्त्रलाई चलायमान बनाउन महत्वाकांक्षी बजेट ल्याइएको बताए । त्यसको सकारात्मक प्रभाव आगामी आर्थिक वर्षदेखि देखिन सुरु हुने उनको दाबी छ । अर्थमन्त्री वाग्लेले मूल्य अभिवृद्धि कर भ्याटको बहुदर प्रणालीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिने जानकारी दिए । उक्त समितिको सिफारिसका आधारमा आवश्यक नीतिगत निर्णय गरिने उनले बताए । बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत मुख्यतः आन्तरिक राजस्वबाट व्यवस्थापन गरिने उल्लेख गर्दै उनले राजस्व संकलनमा असहज अवस्था आए आकस्मिक व्यवस्थामार्फत स्रोत व्यवस्थापन गरिने पनि बताए । राइड सेयरिङ सेवामार्फत हुने अर्बौ रुपैयाँ बराबरको कारोबारलाई करको दायरामा ल्याउन आवश्यक नीतिगत व्यवस्था गर्ने तयारी सरकारले गरिरहेको जानकारी पनि अर्थमन्त्री वाग्लेले दिए ।
नबिल बैंकका ११ शाखा र ११ एटीएम अपाङ्गमैत्री, ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता
काठमाडौं । नबिल बैंकले वित्तीय सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले देशका विभिन्न शाखा तथा एटीएम केन्द्रहरूमा अपाङ्गमैत्री सुविधा उपलब्ध गराएको जनाएको छ । बैंकका अनुसार विराटनगर, तीनधारा, महाराजगञ्ज र नयाँ बानेश्वर शाखासहित ती स्थानमा रहेका एटीएमहरू पूर्ण रूपमा अपाङ्गमैत्री बनाइएका छन् । त्यसैगरी इटहरी, ललितपुर, पोखरा, डल्लु, नैकाप, त्रिपुरेश्वर तथा घण्टाघर शाखाहरूमा पनि अपाङ्गमैत्री शाखा सेवा उपलब्ध रहेको बैंकले जनाएको छ । यसका अतिरिक्त धनकुटाको राजारानी, कपिलवस्तुको बाणगंगा, बर्दियाको गुलरिया, कैलालीको रातोपुल तथा पोखराको अर्चलबोटमा रहेका एटीएमहरू अपाङ्गमैत्री सुविधासहित सञ्चालनमा छन् । काठमाडौंको कमलादी डिजिटल लाउन्ज र ठमेलस्थित होटल गरुडामा रहेका एटीएमका साथै भक्तपुर क्यान्सर अस्पताल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, चरक मेमोरियल अस्पताल तथा कास्कीको बिजी बी क्याफेमा रहेका एटीएमहरूमा पनि अपाङ्गमैत्री सुविधा उपलब्ध गराइएको बैंकले जनाएको छ । नबिल बैंकका अनुसार बैंकका सम्पूर्ण शाखाबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई सेवा प्रवाहमा विशेष प्राथमिकता प्रदान गरिने व्यवस्था गरिएको छ । बैंकले समावेशी बैंकिङ सेवाको अवधारणालाई थप प्रभावकारी बनाउँदै सबै वर्गका नागरिकलाई सहज, सुरक्षित र पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
‘यसै वर्ष एएमसी स्थापना हुन्छ, ब्याजदरको सीमा तोक्छौं’
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले सरकारले ल्याएको बजेटलाई सहयोग हुने गरी मौद्रिक नीति ल्याउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको ‘डिकोडिङ मोर्डन बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । ‘अभूतपूर्व रूपमा ज्यादै ठुलो जनविश्वास र जनाधार प्राप्त सरकारले ल्याएको बजेट र त्यो बजेटले जुन दिशा निर्देश गर्न खोजेको छ, त्यसलाई सपोर्ट हुने किसिमले नेपाल राष्ट्र बैंकले मनिटरी पोलिसी बनाउनुपर्ने छ । यसको गृहकार्यमा लागिरहेका छौं,’ उनले भने । बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना हुने उनले आशावादी रहेको बताएका छन् । उनले सरकारले समयसीमा तोकेर नै यसमा अगाडि बढ्ने भनेकाले सम्पत्ति व्यवस्थापन कम्पनी यो वर्ष आउनेमा आशावादी रहेको उनको भनाइ छ । ‘एसेट म्यानेजमेन्ट कम्पनी २०५७–५८ सालदेखि नेपाल सरकार र नेपाल राष्ट्र बैंकले उठाउँदै आएको विषय हो,’ उनले भने, ‘अहिलेको सरकारले पनि उठाएको छ । त्यसकारण यसले मूर्त रूप लिन्छ भन्ने बारेमा आशावादी छौं ।’ प्रवक्ता पौडेलका अनुसार अहिले वित्तीय प्रणालीमा ब्याजदर एकदमै घटेर गइरहेको तथा बैंकमा पर्याप्त मात्रामा तरलता छ । ‘तरलता व्यवस्थापन गर्नको लागि नेपाल राष्ट्र बैंकले अर्बौं रुपैयाँ खर्चेर ब्याजदरलाई एउटा सीमासम्म कायम गर्नको लागि काम गरिरहेको छ,’ उनले भने । बैंक तथा वित्तीय संस्थाले तुलनात्मक रूपमा कर्जा प्रवाह गर्न सक्ने क्षमता पनि लिएर बसेको उनको भनाइ छ । अहिले बैंकिङ क्षेत्रले कर्जा दिन सक्ने अवस्था हुँदा पनि ऋण विस्तार नभइरहेको उनले बताए । उनले भने, ‘किन कर्जा गइरहेको छैन ? सरकारले पुँजीगत विकास निर्माणका कामहरू गर्न खोजिरहेको छ । प्राइभेट सेक्टर अगाडि आउन खोजिरहेको छ । यस्तो अवस्थाबाट पार कसरी पाउन सकिन्छ भन्ने हेर्नुपर्छ ।’ राष्ट्र बैंकले पछिल्लो समय साना क्षेत्रलाई कर्जा प्रवाह गर्न जोड दिएको उनले बताए । साना क्षेत्रमा १० लाखसम्मको कर्जाहरू बैंक तथा वित्तीय संस्थाले आफैँ मूल्याङ्कन गरेर प्रवाह गर्ने व्यवस्था मिलाइएको उनले बताए । ‘पी–टू–पी लेन्डिङको माध्यमबाट यो कागजात बिना नै कर्जा प्रवाह गर्न सक्ने खालको सिस्टमको हामीले जुन सुरुवात गर्छौं भनेर पनि हामी अगाडि बढ्न खोजिरहेका छौँ,’ उनले भने ।
‘कर घटाएर राजस्व बढाउँछौं, अब १५ वर्षसम्म कर नीति स्थीर हुन्छ’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करको दर घटाएर राजस्वको दायरा विस्तार गर्ने सरकारको नीति रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । बैठकमा उनले आगामी १५ वर्षसम्म कर नीतिलाई स्थिर र पूर्वानुमानयोग्य बनाउने लक्ष्य लिएको जानकारी दिए । अर्थमन्त्री वाग्लेले सरकारले बजेटमार्फत व्यापक कर सुधारका कार्यक्रम अघि सारेको उल्लेख गर्दै पहिलो वर्ष कार्यान्वयनमा केन्द्रित हुने र दोस्रो वर्ष आवश्यक समीक्षा गरेपछि कर नीतिलाई दीर्घकालीन रूपमा स्थिर बनाइने बताए । ‘सोच्नै नसकिने कर सुधारका विषयहरू हामीले अघि सारेका छौं । पहिलो वर्ष कार्यान्वयन गर्छौं, दोस्रो वर्ष केही समीक्षा गर्छौं । त्यसपछि स्वाभाविक मार्गमा ल्याएर कर नीति स्थिर र पूर्वानुमानयोग्य बनाइन्छ । त्यसपछि सबैले कर नीति कम्तीमा १५ वर्षसम्म स्थिर रहने विश्वास गर्न सक्छन्,’ उनले भने । उनले नेपालको अधिकतम मार्जिनल कर दर २९ प्रतिशत रहेको उल्लेख गर्दै वर्तमान विश्व सन्दर्भमा यो प्रगतिशील (प्रोग्रेसिभ) कर प्रणालीकै उदाहरण भएको बताए । कर प्रशासनलाई थप जिम्मेवार र करदातामैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले प्रशासनले दुःख दिने नियत राखे करदातालाई सामान्य त्रुटिमा समेत अनावश्यक हैरानी हुन सक्ने बताए । ‘कर प्रशासनले दुःख दिने नियत राख्यो भने करदातालाई कमा र पूर्णविराममा पनि हेरेर दुःख दिन्छ । त्यसपछि घुसखोरी बढ्ने वातावरण बन्छ,’ उनले भने । भन्सार जाँचपासपछि महसुलसँगै लाग्ने जरिवाना सम्बन्धी व्यवस्थामा संशोधन गर्न सरकार सकारात्मक रहेको पनि उनले स्पष्ट पारे । विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई उपलब्ध गराइने विदेशी मुद्रा सटही सुविधामा लाग्दै आएको ३ प्रतिशत सेवा शुल्क उचित रहेको भन्दै त्यसलाई परिवर्तन गर्न आवश्यक नरहेको उनले बताए । ‘हामीलाई विदेशी मुद्रा, विशेषगरी डलरको व्यवस्थापन गर्नुपर्ने अवस्था छ । त्यसैले ३ प्रतिशत सेवा शुल्क न्यायोचित छ,’ उनले स्पष्ट पारे । अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई जोखिम लिएर व्यवसाय गर्न प्रोत्साहन गर्ने वातावरण सिर्जना गरेको दाबी गरे । उनका अनुसार बजेटले उद्यमशीलता प्रवद्र्धन गर्दै युवा जनशक्तिलाई रोजगारी खोज्नेभन्दा व्यवसाय सिर्जना गर्ने दिशामा आकर्षित गर्ने लक्ष्य राखेको छ । उनले सरकारको उद्देश्य करको दर बढाएर होइन, कर प्रणालीलाई सरल, स्थिर र विश्वासयोग्य बनाउँदै आर्थिक गतिविधि विस्तारमार्फत राजस्व वृद्धि गर्ने रहेको बताए ।
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
काठमाडौ । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा झोलुंगे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो बढेको छ । केही दिनअगाडि मात्रै पुलको काम सम्पन्न भएर आवागमन सञ्चालन भएपछि कर्णाली नदी, आसपासका फाँटको सुन्दरता अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो । 'गर्मी बढी छ, साँझको समयमा शीतलताका लागि पुलको अवलोकन गर्न जान्छौँ,टीकापुर-५ का किरण चौधरीले भने, 'यहाँ सोचेभन्दा बढीको सङ्ख्यामा आगन्तुकको घुइँचो हुँदो रहेछ ।' पुल बनेपछि आन्तरिक पर्यटकका लागि मात्रै नभई कैलालीको टीकापुर र बर्दियाको राजापुरसँगको दूरी नजिकिएको छ । पुल बनेपछि करिब २४ किलोमिटरको दूरी १५ किमीमा छोटिएको छ भने डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता सधैका लागि हटेको छ । 'दुई जिल्लाको पर्यटकीय सम्भावनालाई जोड्नुका साथै स्थानीय नागरिकलाई आवागमनमा सहज भएको छ,' स्थानीय प्रेमप्रसाद भण्डारी भन्छन्, 'पुलसँग नजिकै रहेको टीकापुर पार्कमा पनि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा छ । यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन वृद्धि हुने अपेक्षा छ ।' २०८४ असार ११ सम्म समय पाएको थानी निर्माण सेवाले एक वर्षमा काम सम्पन्न गरेको जनाएको छ । कम्पनीका प्रबन्धक विक्रम बस्नेतले भने, ' पुलको काम सम्पन्न गरेर आवागमन सञ्चालन भइसकेको छ, अब हस्तान्तरणको तयारी पनि हुँदै छ ।' करिब १५ करोड ७३ लाख ९५ हजार ५२८ को लागतमा बनेको उक्त पुलको लम्बाइ ४८२ मिटर रहेको कम्पनीका प्रबन्धक बस्नेतले जानकारी दिए । 'आवतजावतको सहजतमा मात्रै नभई कर्णाली नदीमा बनेको पुल पर्यटकको आकर्षण केन्द्र बन्न सक्ने सम्भावना छ, 'स्थानीय सुन्दरलाल थारुले भने, ुत्यसो हुँदा अन्य व्यावसायिक गतिविधि बढ्ने र स्थानीयको आम्दानीमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।'
नेपालमै पहिलो पटक 'लाइभ लाइन' मर्मत सुरु, अब बिजुली ननिभ्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपालमै पहिलोपटक विद्युत् लाइन नकाटिकनै (लाइभ लाइन) मर्मत-सम्भार गर्ने प्रविधिको औपचारिक सुरुवात गरेको छ । उपभोक्तालाई विद्युत् सेवा अवरुद्ध नगरी गुणस्तरीय र निरन्तर आपूर्ति गर्ने उद्देश्यका साथ प्राधिकरणले आइतबार लुम्बिनी प्रादेशिक कार्यालयबाट अत्याधुनिक उपकरण प्रयोग गरी यो सेवा सञ्चालनमा ल्याएको हो । प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा सुरु गरिएको उक्त कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित ११ केभी वितरण लाइनमा चालु अवस्थामै मर्मत-सम्भार गरी प्रविधिको परीक्षण गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार नेपालमै पहिलोपटक सञ्चालनमा आएको यो प्रविधिले मर्मतका क्रममा विद्युत् आपूर्ति बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै उपभोक्तालाई बिना अवरोध सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । यो कार्यलाई नमुना परियोजनाका रूपमा सुरु गरिएको र आगामी दिनमा यसको प्रभावकारिता तथा आवश्यकताको आधारमा विस्तार गरिने प्राधिकरणको भनाइ छ । वितरण तथा ग्राहक सेवा निर्देशनालयले नमुना कार्यअन्तर्गत बुटवलको ११ केभी लाइनमा तालिमप्राप्त प्राविधिकले अत्याधुनिक उपकरण प्रयोग गरी सफलतापूर्वक मर्मत-सम्भार गरेको जनाएको छ । कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठले हाललाई नमुनाका रूपमा सुरु गरिएको यो प्रणाली प्रभावकारी देखिएमा विशेषगरी सहरी क्षेत्रमा नियमित मर्मत-सम्भारका क्रममा प्रयोग गरिने बताए । उनका अनुसार भविष्यमा यस्तो प्रविधिको प्रयोग बढ्दै गएमा मर्मतका लागि लाइन काट्नुपर्ने बाध्यता उल्लेख्य रूपमा घट्नेछ र उपभोक्ताले थप भरपर्दो तथा निरन्तर विद्युत् सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
‘शिक्षा र स्वास्थ्य करले भूइँमान्छेलाई असर गर्दैन’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्कले भुइँ मान्छेलाई असर नगर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले बजेटमार्फत लगाइएको समता शुल्कले भूइँमान्छेलाई कुनै असर नगर्ने दाबी गरेका हुन् । बैठकमा उनले उनले वर्तमान सरकारले अहिले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको बताउँदै आगामी दिनदेखि पुँजीगत खर्च बढ्ने विश्वास व्यक्त गरे । उनका अनुसार नयाँ बजेटले सुधारका धेरै क्षेत्रमा हात हालेको भन्दै अर्को वर्षबाट त्यसको नतिजा देखिनेछ । पूँजीगत खर्च बढाउन सके त्यसले राजस्व संकलनमा समेत सुधार आउने उनको भनाइ छ । पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने उनको दाबी छ ।
एलजीले ‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियान देशका प्रमुख शहरमा विस्तार गर्दै
काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले नयाँ घरेलु उपकरण श्रृंखला ‘एलजी एसेन्सियल सिरिज’ बजारमा ल्याएको छ । कम्पनीले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी काठमाडौँस्थित विवान्ता होटलमा आयोजित विशेष कार्यक्रमकाबीच उक्त नयाँ श्रृंखलाको औपचारिक अनावरण गरिएको हो । काठमाडौँमा सम्पन्न राष्ट्रिय शुभारम्भपछि कम्पनीले आफ्नो ‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने घोषणा गरेको छ । यस राष्ट्रिय अभियानअन्तर्गत देशका विभिन्न प्रमुख शहरहरू इटहरीमा असार १५ गते, नारायणघाटमा असार १७ गते, पोखरामा असार १९ गते, बुटवलमा असार २१ गते र नेपालगञ्जमा असार २३ गते चरणबद्ध रूपमा विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । यी प्रादेशिक कार्यक्रमहरूका माध्यमबाट स्थानीय उपभोक्ताहरूले एलजी एसेन्सियल सिरिजका नवीनतम उत्पादनहरूलाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन् । यसका साथै उपभोक्ताहरूले उत्पादनका विशेष प्रविधि र सुविधाहरूबारे विस्तृत जानकारी प्राप्त गर्दै आफ्ना आवश्यकता अनुरूपका उपयुक्त उपकरणहरू छनोट गर्ने विशेष अवसर समेत प्राप्त गर्नेछन्। ‘हरेक घरको खुशी, घर–घरमा एलजी’ मूल नारासहित सार्वजनिक गरिएको यस एसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई एकैसाथ समेटेको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई विशेष ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले आम उपभोक्ताको गुणस्तरीय जीवनशैलीलाई अझ सहज र समृद्ध बनाउने विश्वास कम्पनीले लिएको छ। नयाँ बजार श्रृंखला अन्तर्गत नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित गरिएका डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनरहरू उपलब्ध गराइएको छ। नयाँ श्रृंखला अन्तर्गतको एलजी एसेंशियल सिरिज डबल–डोर रेफ्रिजेरेटरमा फ्रस्ट–फ्री प्रविधि प्रयोग गरिएको छ, जसले म्यानुअल रूपमा डिफ्रोस्टिङ गर्नुपर्ने झन्झटलाई पूर्ण रूपमा हटाउँछ । यसमा रहेको स्मार्ट मोड सुविधाले मौसम अनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता प्रदान गरिएकाले यो नेपाली परिवारहरूको आवश्यकता अनुकूल रहेको छ । त्यस्तै, नेपालका विविध वातावरणीय अवस्थालाई दृष्टिगत गरी निर्माण गरिएको फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिनमा प्रोशिल्ड मोटर, बीएमसी कभर तथा आईपीएक्स४ प्रमाणित वाटर–रेसिस्टेन्ट कन्ट्रोल प्यानल जस्ता सुविधाहरू समावेश छन्। यसमा प्रयोग गरिएको लो–प्रेशर फिल प्रविधिले पानीको चाप कम भएको अवस्थामा पनि प्रभावकारी रूपमा कपडा धुने कार्य सुनिश्चित गर्दछ । यसैगरी ऊर्जा–दक्ष प्रविधिमा आधारित रूम एयर कन्डिसनरले प्रभावकारी कूलिङ र हिटिङ दुवै सुविधा प्रदान गर्छ । परम्परागत नन–इन्भर्टर एयर कन्डिसनरको तुलनामा निकै कम विद्युत् खपत गर्ने यस उपकरणमा वातावरणमैत्री आर३२ रेफ्रिजेरन्ट प्रयोग गरिएको छ र यसको न्यून ध्वनि सञ्चालनले प्रयोगकर्तालाई थप आरामदायी अनुभव दिन्छ। नेपाली बजारमा यी उत्पादनहरूको बिक्री वितरण सन् २०२६ को जुन महिनादेखि नै सुरु भइसकेको कम्पनीले जनाएको छ। प्रारम्भिक मोडेलहरूको मूल्य करिब ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरु हुने जानकारी दिइएको छ। यी सबै उत्पादनहरू देशभर रहेका आधिकारिक एलजी ब्रान्ड शप, मल्टि–ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख इ–कमर्स प्लेटफर्महरू मार्फत सजिलै खरिद गर्न सकिने छ।