उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा भण्डारी निर्वाचित
काठमाडौं । उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएकी छिन् । आइतबार राति सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्दै निर्वाचित भएको निर्वाचन समितिका संयोजक टङ्क दुलालले जानकारी दिए । अन्तिम मतपरिणामअनुसार भण्डारीले ७५८ मत प्राप्त गरिन् भने काफ्लेले ७४३ मत प्राप्त गरेको उनले बताए । त्यसैगरी वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने, सञ्जीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल, सञ्जय साह, बलबहादुर न्यौपाने, सन्नी चौधरी, दिनेशप्रसाद धमला र महेश थापा निर्वाचित भएका छन् । महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भएका छन् । उद्योग सदस्यतर्फ अभिषेक बस्नेत, शिवप्रसाद भट्टराई ‘भूपाल’, हरिप्रसाद तिम्सिना र किसनकुमार खेडिया निर्वाचित भएका छन् । दुई हजार ३६९ मतदाता रहेकामा एक हजार ५४३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
भारीदेखि अति भारी वर्षाको चेतावनी, बाढी–पहिरोको उच्च जोखिम
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको जनाएको छ । हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई, कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भू-भागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली भू-भागको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भाग तथा मधेस प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । विभागले मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । साथै ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको पनि विभागको भनाइ छ ।
खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु
काठमाडौं । सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गोलबजार-७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजार परिसरमा पशुचौपायालाई पानी खुवाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख रहेका छन् । रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका उनीहरु गोलबजार-७ मा डेरा गरी बस्दैआएका थिए । कवाडी सङ्कलन गरी जीविकोपार्जन गर्दै आएका तीनै जना आज दिउँसो घरबाट खेल्न निस्किएका थिए । घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पु¥याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासी बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ । बाढीका कारण अन्नपूर्ण गाउँपालिका-८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल पूर्ण रुपमा बगाएको छ । यसैगरी स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । उनका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल-घान्द्रुक सडक पूर्ण रुपमा बन्द भएको छ । यस्तै, बाढीले किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल समेत बगाएको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा स्वदेशी-विदेशी पर्यटकको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ । गाउँपालिकाका अध्यक्ष केसीले किम्रुङ खोलामा लेदोसहितको बाढी आउँदा मोदी खोलामा पानीको सतह बढ्दा क्षति पुगेको बताए । ‘एक्कासी आएको बाढीका कारण मोदी खोलाले एउटा घर पूर्ण रुपमा बगाएको छ भने एउटा रेष्टुेन्टमा क्षति पुगेको छ । पर्यटकीय गाउँ घान्द्रुक जाने सडक बगाएको छ’, अध्यक्ष केसीले भने । स्थानीयका अनुसार नदीको माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी थुनिएर एक्कासी खोलिँदा बाढी आएको आँकलन गरिएको छ । स्थानीय प्रशासन तथा गाउँपालिकाले नदीको तटीय क्षेत्रका स्थानीयलाई अन्यत्र सुरक्षित स्थानमा स्थान्तरण गरेको छ । स्थानीय प्रशासनले विशेषगरी मोदीखोला आसपास र अन्य स्थानमा समेत बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र आवश्यक परे सुरक्षित स्थानतर्फ जान अपिल गरेको छ । घटनापछि गाउँपालिका अध्यक्ष केसी, वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली घटनास्थलमा पुगेर क्षतिको विवरण सङ्कलन तथा आवश्यक व्यवस्थापनमा जुटेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
मुन्द्रा लुट्ने एक जना पक्राउ
काठमाडौं । झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ-फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी नगरपालिका-९ रमाइलोका ३० वर्षीय विजय दर्जीलाई कनकाई नगरपालिका–३ सुरुङ्गास्थित सार्वजनिक बसबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार कनकाई नगरपालिका–३ का ११ वर्षीय प्रज्ज्वल श्रेष्ठलाई फकाएर दुवै कानको मुन्द्रा लुटिएको थियो । स्थानीय भृकुटी माध्यमिक विद्यालयका दुई विद्यार्थी तथा कनकाई नगरपालिका-८ स्थित हिमाली माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत एक बालकको समेत सोही तरिकाले कानको मुन्द्रा लुटिएको थियो । एक महिनायता कनकाई नगरपालिकाभित्र एउटै शैलीमा पाँच बालबालिकाको कानको मुन्द्रा लुटिएको घटना सार्वजनिक भएपछि विशेष निगरानी बढाइएको सूचना अधिकारी अवाले बताए । प्रहरीका अनुसार घटनास्थल आसपासका सिसीटिभी फुटेज र पीडित बालबालिकाको बयानको आधारमा सबै घटनामा एउटै व्यक्तिको संलग्नता देखिएपछि खोजी अभियान तीव्र बनाइएको थियो । सार्वजनिक बसमा यात्रा गरिरहेका दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दर्जीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । साथै, लुटिएका मुन्द्रा बिक्री-वितरणमा सहयोग गरेको आरोपमा दर्जीकी आफन्त विमला सांसाकरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
कांग्रेस नीति तथा प्रतिष्ठानमा छ उपसमितिका संयोजक चयन
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमितिको संयोजक चयन गरिएको छ । प्रतिष्ठानका संयोजक एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले सङ्गठनलाई थप प्रभावकारी बनाउन आइतबार (आज) छ वटा उपसमिति गठन गरी संयोजकको जिम्मेवारी तोकेका हुन् । उनले अपाङ्गता संवाद, समन्वय र सशक्तिकरण उपसमितिमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमितिमा रेशम गुरुङ, दुव्र्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिमा डा. डीबी सुनार तथा पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईंलाई संयोजकको जिम्मेवारी दिइएको बताए । यस्तै, सार्थक सम्प्रेषण उपसमितिमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिमा सिताराम काफ्लेलाई संयोजकको जिम्मेवारी दिइएको छ । उपसभापति शर्माको अध्यक्षतामा यही असार २५ र २६ गते बसेको बैठकको निर्णयानुसार उनीहरुलाई उपसमितिको संयोजक तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकले उपसमिति संयोजकहरुको मनोनयनका साथै प्रतिष्ठानको आगामी कार्यदिशा र विविध विषयमा समेत महत्वपूर्ण निर्णय गरेको सो पार्टीले जनाएको छ ।
विद्युत मर्मतमा अब ढिलाइ नहुने, कर्णालीमा अत्यावश्यक क्रेन पठाइँदै
काठमाडौं । कर्णाली प्रदेशमा विद्युत सेवा थप भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यले नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ । यस निर्णयसँगै विद्युत अवरोधपछि मर्मत कार्य छिटो सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ । गत असारको दोस्रो सातामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कर्णाली प्रदेशसहित तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमन गरेका बेला सुर्खेतलगायत क्षेत्रमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत आपूर्ति अवरुद्ध हुने समस्या र मर्मतका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो । सो क्रममा नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयले आवश्यक उपकरण व्यवस्थापनका लागि मन्त्रीको ध्यानाकर्षण गराएको थियो । अनुगमनपछि मन्त्री श्रेष्ठको पहलमा आवश्यक समन्वय अघि बढाइएको र त्यसकै परिणामस्वरूप नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन आवश्यक प्रक्रिया तथा सर्भिसिङ सम्पन्न भएपछि कर्णाली प्रदेशमा पठाउने निर्णय भएको हो । हालसम्म विद्युत उपकरण मर्मतका लागि अन्य प्रदेशबाट क्रेन ल्याउनुपर्ने अवस्थाका कारण सेवा पुनःस्थापनामा ढिलाइ हुने गरेको थियो । अब प्रदेशमै आवश्यक उपकरण उपलब्ध भएपछि मर्मत कार्य तीव्र हुने, विद्युत अवरोधको अवधि घट्ने तथा सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास गरिएको छ । ऊर्जा मन्त्रालयले स्थानीय तहमा देखिएका व्यावहारिक समस्या समाधान गर्दै विद्युत सेवाको गुणस्तर सुधार र नागरिकलाई छिटो तथा सहज सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ ।
रविलाई भेट्न निवासमै पुगे प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले आइतबार (आज) दिउँसो लामिछानेकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् । उनी निकट स्रोतका अनुसार यो भेट नियमित हो । यसअघि पनि सभापति लामिछानेसँग राजनीतिक र संगठनात्मक कुराहरूबारे छलफल हुने गरेको थियो । आजको भेटमा पनि सरकारका पछिल्ला काम कारबाही र संगठनात्मक विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।