विकासन्युज

रोजगारी सिर्जना गर्न करिब २ अर्ब खर्च गर्दै सरकार

काठमाडौं । केपी शर्मा ओलीले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज गरेर सरकारले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम ल्याएको छ । वैदेशिक ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत झारपात उखेल्ने, कुलो बनाउनेजस्ता अनुत्पादक क्षेत्रमा श्रमशक्ति परिचालन गरिएपछि सो कार्यक्रम खारेज गर्न दबाब परेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न मन्त्रिस्तरीय निर्णय गर्दै निर्देशिका जारी गरिएको छ । आन्तरिक रोजगार प्रवर्द्धन गर्न नेपाल सरकारले घोषणा गरेको आन्तरिक रोजगार प्रवर्द्धन दशक अभियानका कार्यक्रम तथा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने साझा कार्यक्रमका रूपमा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि कानुनी प्रबन्ध गर्न निर्देशिका ल्याई कार्यान्वयन गरिएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले साबिकको प्रधानमन्त्री रोजगार कार्यक्रम अब नरहेको बताए । त्यसको सट्टा राष्ट्रिय नयाँ कार्यक्रम ल्याइएको उनको भनाइ छ । यो कार्यक्रम सङ्घसहित सातै प्रदेश र ७५३ वटै स्थानीय तहमा सञ्चालन हुनेछ । राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत मुलुकको श्रम बजारमा प्रवेश गर्ने युवा श्रमशक्तिलाई श्रम बजारको मागअनुसार सीप सिकाइ, रोजगार, स्वरोजगार तथा उद्यमशीलता विकास गर्ने कार्यक्रम सञ्चालन गरिने घिमिरेले बताए । उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सीप, पूँजी, अनुभव र प्रविधिलाई श्रम बजारको मागअनुसार प्रवर्द्धन गरी रोजगार, स्वरोजगार र उद्यमशीलता विकासका लागि कार्यक्रम सञ्चालन गरिनेछ । त्यसैगरी स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई लक्षित गरी न्यूनतम रोजगारी कार्यक्रम सञ्चालन गर्ने योजना छ । सहसचिव घिमिरेले भने, 'खासगरी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी सञ्चालन हुने पुनःएकीकरण कार्यक्रमसमेत रोजगार प्रवर्द्धन कार्यक्रममार्फत सञ्चालन हुनेछ । यो कार्यक्रमअन्तर्गत बेरोजगार, रोजगारीको खोजीमा रहेका, वैदेशिक रोजगारीबाट फर्केका तथा राज्यले विशेष सहुलियत उपलब्ध गराउनुपर्ने व्यक्तिलाई लक्षित गरी रोजगारी दिइनेछ ।' यो कार्यक्रम सुरु गर्न चालु आर्थिक वर्षको बजेटमै करिब २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । सोही बजेटबाट कार्यक्रम सञ्चालन गरिनेछ । उनका अनुसार कार्यक्रम सञ्चालनका लागि राष्ट्रिय निर्देशक समितिको व्यवस्था निर्देशिकाले गरेको छ । श्रम मन्त्रीको अध्यक्षतामा रहने उक्त समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक–एक जना सचिव सदस्य रहनेछन् भने नेपाल उद्योग वाणिज्य महासङ्घका एक पदाधिकारी पनि सदस्य रहनेछन् । गाउँ–गाउँमा रोजगार सेवा केन्द्र रहने व्यवस्था गरिएको छ । रोजगार सेवा केन्द्रको काम, कर्तव्य र अधिकारमा स्थानीय तहका स्वीकृत कार्यक्रम कार्यान्वयन गर्नुका साथै न्यूनतम रोजगार कार्यक्रम व्यवस्थापन, बालश्रम तथा बाध्यकारी श्रम निवारणसम्बन्धी कार्य, सामाजिक सुरक्षा कोषसम्बन्धी कार्य, आन्तरिक रोजगार प्रवर्द्धन र वैदेशिक रोजगारीसम्बन्धी कार्य समावेश छन् । त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको सीप, पूँजी, अनुभव तथा प्रविधिको उपयोग, उद्यमशीलता विकास, सीप तथा क्षमता विकास, व्यवसाय तथा उद्यमशीलता विकासका लागि बैंक तथा वित्तीय संस्थासँग समन्वय र सहजीकरणसम्बन्धी कार्य पनि रोजगार सेवा केन्द्रले गर्नेछ । निर्देशिकाअनुसार मन्त्रालयबाट सञ्चालनमा ल्याइएको ‘श्रम संसार’ प्रणालीसँग आबद्ध गरी स्थानीय तहले प्रयोगमा ल्याएको श्रम तथा रोजगारसम्बन्धी सूचना प्रणाली सञ्चालन गरिनेछ । सो प्रणालीमार्फत बेरोजगार, आंशिक रोजगार, रोजगार, स्वरोजगार तथा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको अभिलेख राखिनेछ । राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत सीप विकास तालिम पनि सञ्चालन गरिनेछ । श्रम बजारको मागअनुसार सीपयुक्त तथा व्यावसायिक जनशक्ति आपूर्ति गर्न कम्तीमा ३९० कार्यघण्टाको व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ । तालिम सञ्चालन गर्दा सैद्धान्तिक र व्यावहारिक दुवै पक्ष समावेश गर्नुपर्नेछ । सीप विकाससम्बन्धी तालिम सञ्चालन गर्दा ८० प्रतिशत व्यावहारिक तथा प्रयोगात्मक सीप र २० प्रतिशत सैद्धान्तिक ज्ञान दिने व्यवस्था गरिएको छ । कार्यस्थलमा आधारित तालिम सम्बन्धित उद्योग तथा प्रतिष्ठानमा कार्यरत श्रमिकको सहभागितामा सञ्चालन गर्न सकिनेछ । त्यस्तै राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सीप विकाससम्बन्धी पाठ्यक्रम स्वीकृत गर्ने, सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्नेछ । प्रतिष्ठान मातहतका व्यावसायिक प्रशिक्षण केन्द्रले सीप परीक्षण गरी प्रमाणीकरणका लागि प्रतिष्ठानमा पठाउनुपर्ने उल्लेख छ । साझेदारी तथा सहकार्यमा रोजगारी सिर्जना र तालिम सञ्चालन गर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ । यसका लागि स्थानीय तहले निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसँग साझेदारी गरी स्थानीय श्रम बजारको मागअनुसार सीपमूलक तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न सक्नेछन् । कार्यक्रम सञ्चालन गर्दा दिगो रोजगारी सिर्जना र श्रम बजारको मागअनुकूल सीप विकाससम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ ।

निवर्तमान सभामुख र उपसभामुख आमुन्नेसामुन्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचन नजिकिँदै जाँदा झापा जिल्ला राजनीतिक रूपमा हट केक बनेको छ ।  झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) बीचको अप्रत्याशित प्रतिस्पर्धाले राष्ट्रिय ध्यान खिचिरहेका बेला झापा–२ को चुनावी भीडन्त पनि उत्तिकै रोचक र पेचिलो बन्ने भएको छ । झापा–२ मा यसपटक विघटित संसद्का दुई शीर्ष पदाधिकारीहरू निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आमनेसामने भएका छन् । नेकपा एमालेबाट घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राना उम्मेदवार बनेपछि यो क्षेत्रको चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको हो । घिमिरे २०७९ को निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको विशेष पहलमा सभामुख बनेका थिए । रास्वपाबाट समानुपातिक सांसद बन्दै राना उपसभामुख बनेकी थिइन् ।

भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मंगलबार राजीनामा दिएकी छन् । उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी हुन् ।      दाहालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि महानगर प्रमुखको पदबाट राजीनामा दिएकी हुन् । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं ३ को उम्मेदवार बन्न लागेकी दाहालले कार्यपालिकाको बैठक पछि आफ्नो दोस्रो कार्यकालमा हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।      दाहालको राजीनामासँगै उपप्रमुख चित्रसेन अधिकारी कार्यवाहक प्रमुख बनेका छन् । अधिकारीले दाहालको नेतृत्वमा सम्पन्न गर्न बाँकी कामलाई प्रथामिकता दिने बताइन् । 

बालेन्द्र शाहले झापा- ५ बाट गराए उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गराएका हुन् ।  यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिएका शाहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताए । झापा–५ लाई राष्ट्रिय राजनीतिको चर्चाको केन्द्र बनाएको यो क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शाहको प्रत्यक्ष भीडन्त हुने पक्का भएको छ । ओलीले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराउँदैछन् । दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्र सर्वाधिक रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ । 

८ करोडका बनेको हुलाकी राजमार्गको निर्माणाधीन पुल अन्तिम चरणमा

राँझा । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन चार लेन पुल अन्तिम चरणमा छ । पुल निर्माण सम्पन्न गर्ने सम्झौता २०८३ वैशाख १८ गतेसम्म भए पनि निर्माणको गति हेर्दा समयावधिभन्दा अगावै पुल निर्माण हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । उनले भने, खजुरावासीले भोगिरहेको लामो समयदेखिको सास्ती अबको केही समयमै अन्त्य हुनेछ, निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै सम्पन्न गर्नेगरी काम अघि बढाएको छ ।' काम छिटो गर्ने नाममा गुणस्तरमा सम्झौता नहोस् भन्नका लागि हुलाकी राजमार्ग निर्देशनालयले नियमित रूपमा कार्यस्थलमै पुगेर अनुगमन गरिरहेको छ । नेपालगन्ज–गुलरिया सडक खण्डकै लाइफ लाइन मानिने यो पुलले बाँके र बर्दियाको आवागमनलाई थप सहज र सुरक्षित बनाउने विश्वास गरिएको छ । नयाँ निर्माण गर्न लागिएको पुल २२ मिटर चौडाइ र ३४।४ मिटर लम्बाइको छ । पुलको दुवैतर्फ दुई सय मिटर एप्रोच सडक पनि निर्माण गरिनेछ । नारायणम निर्माण सेवासँग २०८३ वैशाख १८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी भ्याटसहित आठ करोड ९६ लाखमा ठेक्का सम्झौता भएको थियो । खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले खजुरावासीको निरन्तरको पहलले यो काम सम्भव भएको उल्लेख गर्दै भने, 'खजुरावासीको लामो समयदेखिको सपना पूरा हुँदैछ, निर्माण कम्पनीको काम गर्ने शैलीबाट हामी सबै उत्साहित छौँ ।' उनका अनुसार खजुराका स्थानीय बासिन्दामात्र होइन, यहाँबाट दैनिक ओहोरदोहोर गर्ने यात्रुहरू पनि पुल निर्माणको गति देखेर खुसी छन् । वर्षाको समयमा नाला थुनिएर सडकमा पानी आउँदा घण्टौँसम्म यातायात अवरुद्ध हुने समस्या अब इतिहास बन्नेछ । खजुरामा चार लेन सडक भए पनि वर्षौँ पहिले निर्माण भएको साँघुरो र जीर्ण पुल भएका कारण सानो वर्षातमा समेत नालाको पानी सडक भएर बग्दा बर्षायाममा आवागमन प्रभावित हुने गरेको थियो । रासस

यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर कैलाली- २ बाट उम्मेदवार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँर नेपाली कांग्रेसबाट कैलाली- २ बाट उम्मेदवार बनेका छन् ।  यातायात क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका स्वाँरलाई कांग्रेसले टिकट दिएसँगै कैलाली-२ को प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।  कैलाली स्वाँरको गृहजिल्ला हो । उनले नेकपा एमालेका सूर्यबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल र नेकपाका नन्दबहादुर साउदसँग प्रतिस्पर्धा गर्नेछन् । यस क्षेत्रमा एमाले, कांग्रेस र रास्वपाबीचको त्रिपक्षीय भीडन्त मुख्य आकर्षणको केन्द्र रहने देखिएको छ । गत २०७९ सालको आमचुनावमा यस क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका थिए । रेशम चौधरीको प्रभाव क्षेत्र मानिने यस ठाउँमा यसपटक कांग्रेसले स्वाँरलाई टिकट दिएपछि पुरानो नतिजा उल्टिने दाबी कांग्रेस वृत्तमा छ । कैलालीको विकास र स्थानीय मुद्दाहरूलाई प्राथमिकतामा राखेर चुनावी अभियान सुरु गरेका स्वाँरले परिवर्तन र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताए ।

काबुलमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट, एक चिनियाँसहित सातको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार एक चिनियाँ रेस्टुरेन्ट बाहिर भएको विस्फोटमा एक चिनियाँ नागरिकसहित सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । काबुल प्रहरीका प्रवक्ता खालिद जरदानका अनुसार राजधानीको सहर–ए–नाव क्षेत्रमा भएको विस्फोटमा मृत्यु हुनेमध्ये एक जना चिनियाँ नागरिक र छ जना अफगान नागरिक रहेका छन् । प्रवक्ताका अनुसार स्थानीय समयअनुसार दिउँसो ३ बजे विस्फोट भएको थियो । काबुलस्थित आपतकालीन अस्पतालका चिकित्सकहरूले बीबीसीलाई दिएको जानकारीअनुसार विस्फोटपछि चार महिला र एक बालकसहित २० जना घाइतेलाई अस्पताल ल्याइएको थियो । प्रहरी प्रवक्ता खालिद जरदानले मृतक चिनियाँ नागरिक मुस्लिम रहेको र उनले आफ्नी पत्नी तथा एक अफगान सहयोगीसँग मिलेर चिनियाँ नुडल रेस्टुरेन्ट सञ्चालन गर्दै आएको बताए । उनका अनुसार विस्फोट रेस्टुरेन्टको भान्साको नजिक भएको थियो र घटनाको अनुसन्धान जारी छ । यसैबीच चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएसआईएस) ले उक्त विस्फोटको जिम्मेवारी लिएको छ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले रेस्टुरेन्ट बाहिर भएको विस्फोटको निन्दा गरेका छन् ।

सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकिएको छ । सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला ७० रुपैयाँले वृद्धि भई ५ हजार ८८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।