उत्साहजनक मनोनयनले निजी क्षेत्र र समग्र अर्थतन्त्रमा सकारात्मक ऊर्जा थपेको छ: प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समय तालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा हार्दिक आभार व्यक्त गरेकी छिन् । आज सन्देश जारी गर्दै आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि आज अर्को महत्त्वपूर्ण कोशेढुंगा मनोनयन दाखिला पार गर्न सफल भएको उल्लेख गरिन् । उनले भनिन्, ‘निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको यहाँहरूलाई पुनः स्मरण गराउँछु, सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन, हाम्रा सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन् ।’ प्रतिनिधिसभाको १६५ पदका लागि ३ हजार ४०० भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता हुनु लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण भएको उल्लेख गर्दै उहाँले नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको बताइन् । निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभइ निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको बताउँदै उहाँले अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ । सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको उल्लेख गरिन् । उनले भनिन्, ‘निर्वाचन कार्यतालिका बमोजिम अहोरात्र खटिएर आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेकोमा निर्वाचन आयोगलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु, साथै, यो लोकतान्त्रिक अभ्यासलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गर्दछु ।’ प्रधानमन्त्री कार्कीले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई निर्वाचनमा सक्रिय र संयम साथ सहभागी हुन हार्दिक अपिल पनि गरिन् ।
एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले गरे उम्मेदवारी दर्ता
काठमाडौं । आगामी निर्वाचनका लागि लमजुङमा नेकपा(एमाले) को तर्फबाट केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । आगामी २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले उपाध्यक्ष गुरुङले लमजुङ बेँसीसहर नगरपालिका-८ मा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा आज पुगेर आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । पूर्वसञ्चारमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा विसं २०४३ को जनपक्षीय उम्मेदवार बन्दै पटकपटक निर्वाचनमा उम्मेदवार बन्दै आएका छन् ।
निर्वाचनका लागि १९ अर्ब २१ करोड बजेट सुनिश्चितता, गृह मन्त्रालयलाई साढे १० अर्ब
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको व्यवस्थापन र सुरक्षाका लागि अर्थ मन्त्रालयले १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चितता गरेको छ । निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्वाचन प्रयोजनका लागि उक्त बजेट सुनिश्चितता गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार सुनिश्चितता गरिएको रकममध्ये गृह मन्त्रालयका लागि १० अर्ब ३९ करोड, रक्षा मन्त्रालयका लागि १ अर्ब ९९ करोड र निर्वाचन आयोगका लागि ६ अर्ब ७२ करोड रुपैयाँ छुट्याइएको छ । ‘तीनवटै निकायलाई निर्वाचन प्रयोजनका लागि स्रोत सुनिश्चितता गरिएको हो । अब उहाँहरूले आवश्यकता अनुसार खर्च गर्नुहुन्छ,’ पाण्डेयले भने । उनका अनुसार यो रकम एकमुष्ठ रूपमा निकासा नभई खर्चको आवश्यकता र प्रगतिको आधारमा क्रमशः भुक्तानी हुँदै जानेछ । ‘अहिले स्रोत सुनिश्चितता मात्रै गरिएको हो । निकासा विस्तारै हुँदै जान्छ । खर्चको आधारमा भुक्तानी गरिन्छ,’ उनले भने । निर्वाचन आयोगले निर्वाचनसहित मतदाता शिक्षा, मतपत्र छपाइ, कर्मचारी खटनपटन, भ्रमण भत्ता लगायतका कार्यका लागि उक्त रकम प्रयोग गर्नेछ भने गृह मन्त्रालय र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षासम्बन्धी व्यवस्थापनमा बजेट खर्च गर्नेछन् । सुरक्षाका लागि अपनाइने मापदण्डअनुसार प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको परिचालन, निर्वाचन प्रहरीको व्यवस्थापन, पोसाक, भत्ता तथा अन्य प्रशासनिक खर्चमा बजेट खर्च हुने अर्थ मन्त्रालयको भनाइ छ । अर्थ मन्त्रालयका अनुसार निर्वाचनको समग्र व्यवस्थापन सहज बनाउन समयमै स्रोत सुनिश्चितता गरिएको हो । ‘निर्वाचन समयमै, सुरक्षित र विश्वसनीय रूपमा सम्पन्न गर्न आवश्यक पर्ने खर्चका लागि स्रोतको अभाव नहोस् भन्ने उद्देश्यले अग्रिम रूपमा बजेट सुनिश्चितता गरिएको हो,’ प्रवक्ता पाण्डेयले भने ।
अध्यक्ष हर्क साम्पाङले गरे सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा मनोनयन दर्ता
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । धरान उपमहानगरपालिकाका पूर्वनगर प्रमुखसमेत रहेका उनले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा पुगेर मनोनयन दर्ता गराएका हुन् । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार अध्यक्ष राईले धरान उपमहानगरपालिका-८ स्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भइरहेको छ । जिल्लाभर कूल पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम रहेका छन् । जसका लागि १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।
गगन थापाले वारेसमार्फत गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । थापाले सर्लाही- ४ मा मधेस प्रदेशसभा सदस्य वीरेन्द्र सिंहको वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । समयको चापका कारण उपस्थित हुन नसकेपछि उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । यसअगाडि सभापति थापा काठमाडौं- ४ बाट चुनाव लड्दै आएका थिए । कांग्रेसबाट ४ मा सचिन तिमल्सेनाले उम्मेदवारी दर्ता गराएका छन् । तिमल्सेना थापानिकट मानिन्छन् ।
रास्वपाले मनोनयन दर्ता गर्न पुगेका उम्मेदवारको टिकट खोस्यो, कैलाली-४ मा खेमराज बने उम्मेदवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली–४ मा खेमराज कोइरालालाई टिकट दिएको छ । यसअघि हरि रेग्मीलाई दिएको टिकट खोसेर रास्वपाले कोइरालालाई दिने निर्णय गरेको हो । मंगलबार रेग्मी मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगिसकेका थिए । तर, एकाएक रास्वपाले कोइरालालाई टिकट पठाउँदै मनोनयन दर्ता गर्न निर्देशन दिएको हो । रास्वपाले जिल्ला निर्वाचन कार्यालय कैलालीलाई लेखेको पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा जारी गरिएको उम्मेदवारको नाम परिवर्तन गर्नुपर्ने आन्तरिक निर्णय भएको हुँदा निज उम्मेदवार हरि रेग्मीको नाम खारेज गरी खेमराज कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक उम्मेदवार कायम गरिदिन हुन अनुरोध गर्दछु ।’
बैतडीबाट पूर्वउद्योगमन्त्री दामोदर भण्डारीले गरे मनोनयन दर्ता
काठमाडौं । पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं एमाले केन्द्रीय सदस्य दामोदर भण्डारीले बैतडीबाट मनोनयन दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् । मंगलबार बिहान उनले मनोनयन दर्ता गराएर चुनावी मैदानमा होमिएका हुन् । दुईपटक उद्योगमन्त्री भइसकेका भण्डारीलाई यसपटक चौतर्फी घेराबन्दी छ । उनले नेपाली कांग्रेसका चतुरबहादुर चन्द, रास्वपाका हरिमोहन भण्डारी र नेकपाका परमानन्द भट्टसँग प्रतिस्पर्धा गर्नेछन् । भण्डारी २०७० सालको संविधान सभा, २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बैतडीबाट विजयी भएका थिए । भण्डारीले २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ६११ मत ल्याएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनका नरेन्द्र कुँवरले ३२ हजार ८० मत ल्याएका थिए ।
कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चले दिएन अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलायो
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यससँगै गगनकुमार थापालाई कांग्रेसको सभापतिमा कामकाज गर्ने बाटो खुला भएको छ । थापा समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको थियो । उक्त नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवासमेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । सर्वोच्चले निर्वाचन आयोगको निर्णयमा कारण देखाऊ आदेश जारी गर्दै कांग्रेसका दुवै पक्षलाई छलफलमा बोलाएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा थापाले नै हस्ताक्षर गरेर टिकट वितरण गरेका छन् ।