घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मंगबारको तुलनामा आज सुन तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ४०० तथा एक तोला चाँदीको मोल ४ हजार ८८० निर्धारण भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल ४ हजार ८८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुनको मूल्य ३ लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल ४ हजार ८६० निर्धारण भएको छ । साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन ३ लाख पाँच हजार ८०० र त्यति नै चाँदी ४ हजार ९८५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ९२० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकाका अधिकारवादी नेता जेसी ज्याक्सनको निधन
काठमाडौं । अमेरिकाका अधिकारवादी नेता जेसी ज्याक्सनको ८४ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारद्वारा जारी वक्तव्यमा मंगलबार बिहान उनको निधन भएको जानकारी दिइएको छ । वक्तव्य अनुसार अन्तिम क्षणमा ज्याक्सन परिवारजनको साथमै रहेका थिए । साथै उनको निधन शान्तिपूर्वक भएको पनि उल्लेख गरिएको छ । मृत्युको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन । यद्यपि, ज्याक्सन ‘प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी’ नामक रोगबाट पीडित थिए र गत वर्षको अन्त्यतिर अस्पतालमा भर्ना भएका थिए। पूर्वराष्ट्रपति बाराक ओबामा लगायतकाले उनलाई श्रद्धाञ्जलि दिएका छन् ।
अण्डाको मूल्य बढ्यो, प्रतिगोटा १९ रुपैयाँ १२ पैसा
काठमाडौं । नेपाल लेयर्स संघले बुधबार (आज) देखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ रुपैयाँ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।
जेनजी आन्दोलनमा क्षतिग्रस्त हिमालयन बैंकको बत्तीसपुतली शाखा पुनः सञ्चालनमा
काठमाडौं । हिमालयन बैंकको बत्तीसपुतली शाखा कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको शाखा कार्यालय पुनर्निर्माण सम्पन्न भएपछि साविककै भवनबाट सम्पूर्ण बैंकिङ सेवा-सुविधासहित सञ्चालनमा ल्याइने बैंकले जनाएको छ । बैंकका अनुसार काठमाडौं महानगरपालिका-९, बत्तीसपुतलीस्थित नेपाल राष्ट्रिय मारवाडी परिषदको भवन (द्वारिका होटल अगाडि, राम मन्दिर जाने बाटो) मा रहेको बत्तीसपुतली शाखा फागुन १० गतेदेखि नियमित रूपमा सञ्चालनमा आउनेछ । यस असहज अवधिमा ग्राहकले बैंकप्रति देखाएको सदाशयता र सहयोगप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ । साथै, शाखा बन्द रहँदा ग्राहकहरूलाई परेको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।
७ दिनभित्र स्पष्टीकरण नदिए १५ निर्माण कम्पनी कालो सूचीमा
काठमाडौं । १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै समयमै काम नगर्ने तथा ढिलासुस्ती गर्ने कम्पनीहरूलाई किन कालो सूचीमा नराख्ने भन्दै चित्तबुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । यसअघि सम्बन्धित सार्वजनिक निकायहरूले ती कम्पनीहरूलाई कालो सूचीमा राख्न सिफारिस गरेपछि कार्यालयले ३० दिनको समयसीमा दिएर स्पष्टीकरण माग गरेको थियो । तर, उक्त अवधिमा कुनै पनि लिखित जवाफ नआएपछि पुनः ७ दिनको अल्टिमेटम दिइएको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क) बमोजिम सूचना प्रकाशित गरिएको र तोकिएको समयभित्र स्पष्टीकरण नआएमा कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ ।
कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि, परीक्षा तालिका सार्वजनिक
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १४ गतेदेखि सुरु भई वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ। पहिलो दिन वैशाख १४ गते अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा तथा उर्दू व्याकरण र साहित्य विषयको परीक्षा हुनेछ । वैशाख १५ गते अनिवार्य नेपाली र प्राविधिक धारतर्फको सोसल स्टडिज विषयको परीक्षा तोकिएको छ । उक्त परीक्षा तालिका कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धार अन्तर्गतका नियमित र आंशिक परीक्षार्थीका लागि लागू हुनेछ । परीक्षामा रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका परीक्षार्थीहरू सहभागी हुन पाउने बोर्डले जनाएको छ ।
नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा कृषि विकास बैंक, आशा लघुवित्त वित्तीय संस्था र शिवम् सिमेन्टको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार कृषि विकास बैंकको ३.२५ प्रतिशत बोनस बापतको ४५ लाख २ हजार ९४७ कित्ता, आशा लघुवित्तको ९.५ प्रतिशत बोनस बापतको ६ लाख ९६ हजार ३९३ कित्ता र शिवम् सिमेन्टको २.५ प्रतिशत बोनस बापतको १३ लाख ६४ हजार २०२ कित्ता सेयर सूचीकृत भएको हो ।
१ लाख बढी मतदाताको सहभागितामा कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गर्दै
काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुन लागेको प्रतिज्ञा सभामा प्रतिज्ञा पत्र सार्वजनिक गरिने भएको हो । प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उप-सभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेशको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा कांग्रेसले लिएको छ । मधेशको माटोले सधैं प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको कांग्रेसका नेताहरूले बताउने गरेका छन् । मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाका रूपमा आत्मसात गरेको नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ । यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति गगन कुमार थापा स्वयं मधेशको जिल्ला सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेर मधेशको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेश र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो ।’ मधेशको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्य योजनासहित कांग्रेस अगाडि बढ्ने यादवको अठोट छ। प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको उनले जानकारी दिए । जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रका बारेमा काठमाडौंमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको छ। आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिने कांग्रेसले जनाएको छ ।