विकासन्युज

अबको २५ वर्षपछि संसार कस्तो हुनेछ ?

काठमाडौं । पछिल्ला २५ वर्षमा प्रविधिमा अचम्मलाग्दा परिवर्तनहरू भएका छन् । शताब्दीको सुरुवाततिर अधिकांश कम्प्युटरहरू आवाज आउने डायल अप इन्टरनेट जडानमार्फत इन्टरनेटमा जोडिन्थे, नेटफ्लिक्स एउटा अनलाइन डीभीडी भाडा सेवा मात्र थियो र अधिकांश मानिसहरूले स्मार्टफोनको नामसमेत सुनेका थिएनन् । दुई दशकभन्दा अलि बढी समय अघि बढ्दा एआई (कृत्रिम बौद्धिकता), रोबोटिक्स र अन्य धेरै क्षेत्रमा नवप्रवर्तनहरू अकल्पनीय गतिमा देखा परिरहेका छन् । त्यसैले हामीले विशेषज्ञहरूलाई सोध्यौं– आउँदा २५ वर्षले के–कस्ता परिवर्तन ल्याउन सक्छ ? यहाँ २०५० सम्म हामी प्रयोग गर्ने प्रविधि र त्यसले हाम्रो जीवन कसरी पुनःआकार दिन सक्छ भन्नेबारे उनीहरूको अनुमान प्रस्तुत गरिएको छ । मानव र मेसिनको एकीकरण २०५० को दशकमा आधारित विज्ञान–कथाहरूमा मानिसहरूले आफूलाई अझ तन्दुरुस्त, खुसी र उत्पादक महसुस गर्न प्रविधिगत सुधारहरू प्रयोग गरेको धेरै उदाहरण पाइन्छ । सन् २००० मा आएको हिट गेम डिउस एक्स (जसको कथा २०५२ मा आधारित छ) मा खेलाडीले ‘न्यानाइट्स’ भनिने साना रोबोटहरू शरीरमा इन्जेक्ट गर्न सक्छ । यी सूक्ष्म रोबोटहरूले परमाणु तहमा पदार्थलाई नियन्त्रण गर्छन्, जसले असाधारण क्षमता जस्तै अत्यधिक गति र अँध्यारोमा देख्न सक्ने शक्ति प्रदान गर्छ । यो टाढाको भविष्यजस्तो सुनिए पनि न्यानो–प्रविधि (मिलिमिटरको दस लाखौं भागको स्तरमा हुने इन्जिनियरिङ) आज नै धेरै दैनिक प्रविधिहरूमा प्रयोग भइरहेको छ । वास्तवमा तपाईं अहिले यी शब्दहरू पढिरहनु भएको तरिका नै न्यानो प्रविधिबाट सम्भव भएको हो । प्रत्येक स्मार्टफोन वा कम्प्युटरमा अरबौं साना ट्रान्जिस्टरहरूबाट बनेको केन्द्रीय चिप हुन्छ, जुन डाटा प्रशोधन छिटो बनाउन न्यानो स्तरमा निर्माण गरिएका हुन्छन् । लन्डन सेन्टर फर न्यानोटेक्नोलोजीका प्राध्यापक स्टिभन ब्रामवेलले बीबीसीलाई २०५० सम्म मेसिन, इलेक्ट्रोनिक्स र जीवविज्ञानबीचको सीमाना निकै अस्पष्ट र मिश्रित हुने बताए । यसको अर्थ त्यो समयसम्म स्वास्थ्य निगरानी वा सञ्चारमा सहयोग पुर्‍याउने न्यानो प्रविधि इम्प्लान्टहरू देखिन सक्छन्— डीउस एक्समा जस्तो अदृश्य बन्ने उद्देश्यका लागि होइन । चिकित्सा क्षेत्रमा पनि न्यानोमिटर स्तरका मेसिनहरू औषधि ठ्याक्कै आवश्यक स्थानमा पुर्‍याउन सामान्य रूपमा प्रयोग हुन सक्ने प्राध्यापक ब्रामवेलले बताए । साइबरनेटिक्सका प्राध्यापक केभिन वारविक पनि शारीरिक सुधार अध्ययनमा उत्तिकै रुचि राख्छन् र अरूभन्दा एक कदम अगाडि छन् । प्राध्यापक वारविकको विश्वास छ कि २०५० सम्म साइबरनेटिक्स प्राकृतिक र यान्त्रिक प्रणालीबीचको सम्बन्ध अध्ययन गर्ने विज्ञानमा भएको प्रगतिले रोगहरूको उपचारमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ । प्राध्यापक केभिन वारविक । उनले केही अवस्थाहरू जस्तै स्किजोफ्रेनियाको आंशिक उपचारका लागि औषधीको सट्टा ‘गहिरो मस्तिष्क इलेक्ट्रोनिक उत्तेजना’ प्रयोग हुने भविष्यवाणी गर्छन् ।उनका अनुसार उनले आफै परीक्षण गरिसकेका जस्ता थप साइबरनेटिक सुधारहरू देखिने सम्भावना छ, जसले ‘तपाईंको मस्तिष्क र शरीर फरक–फरक स्थानमा हुन’ सक्ने अवस्था ल्याउन सक्छ । तर यदि हामी कुनैनयाँ सुधार वा नयाँ आहारले शरीरमा कस्तो प्रभाव पार्छ भनेर साइड इफेक्टको जोखिम नलिइकनै परीक्षण गर्न चाह्यौं भने ? साइन्स म्युजियमका विज्ञान निर्देशक प्राध्यापक रोजर हाईफिल्डका अनुसार भविष्यमा ‘डिजिटल ट्विन’ हाम्रो दैनिक जीवनको सामान्य हिस्सा बन्न सक्छ । डिजिटल ट्विन भनेको कुनै वास्तविक वस्तु वा व्यक्तिको कम्प्युटरमा बनाइएको डिजिटल प्रतिरूप हो, जसलाई वास्तविक–समयको डाटाले निरन्तर अपडेट गरिरहन्छ ।  उनको कल्पनामा भविष्यमा हरेक व्यक्तिका हजारौं साना–साना डिजिटल ट्विन्स हुन सक्छन् । ती ट्विन्स प्रयोग गरेर कुनै औषधि खाँदा, खानपान बदल्दा वा जीवनशैली परिवर्तन गर्दा आफ्नो शरीरमा कस्तो असर पर्छ भनेर पहिले नै परीक्षण गर्न सकिन्छ। एआईको अर्को पुस्ता गुगल र आईबीएमसहित धेरै प्रविधि कम्पनीहरू हाल एआईलाई अझ अगाडि बढाउने उद्देश्यले बहुअर्ब डलरको प्रतिस्पर्धामा छन् । क्वान्टम कम्प्युटर यस्ता मेसिन हुन् जसले अत्यन्त जटिल गणनाहरू अविश्वसनीय गतिमा गर्न सक्छन् । सन् २०२५ जनवरीमा अग्रणी चिप कम्पनी एनभीडीयाका प्रमुख जेन्सेन हुवाङले ‘अत्यन्त उपयोगी’ क्वान्टम कम्प्युटिङ २० वर्षभित्र आउने विश्वास व्यक्त गरेका थिए । २०५० नजिकिँदै जाँदा एआईले हाम्रो समाजमा अझै ठूलो प्रभाव राख्ने निश्चित छ । जेन्सेन हुवाङ २०५० को बेलायत शिक्षा सम्बन्धी ह्वाइट पेपर लेख्न सहयोग गरेकी भविष्यविद् तथा लेखिका ट्रेसी फलोजको विश्वास छ— एआई शिक्षकहरूको प्रयोग गर्दै सिकाइ ‘डिजिटल र भौतिक वास्तविकता’ दुवैमा हुनेछ, जहाँ पाठ्यक्रम ‘वास्तविक समयमा समायोजन’ हुनेछ । पाठ्यपुस्तकको सट्टा बालबालिकाले ‘इमर्सिभ सिमुलेसन’ प्रयोग गर्ने उनको अनुमान छ । त्यसैगरी, शिक्षा कम मानकीकृत हुनेछ, र प्रत्येक बालकले कसरी राम्रो सिक्छ भन्ने बुझ्न उसको डीएनए वा बायोमेट्रिक डाटा अध्ययन गरिनेछ । ट्राफिकरहित सडक र चन्द्रमामा आधार शिविर लेखक बिल डग्लस आकर्षक भविष्यवाणी गर्न माहिर छन्—सन् २००० मा उनले ‘द वर्ल्ड इन २०५०’ शीर्षकको विश्वव्यापी भविष्यवादी लेखन प्रतियोगितामा २० हजार डलर पुरस्कार जितेका थिए । उनको प्रारम्भिक भविष्यवाणीमध्ये एउटा पाइलटविहीन विमान २०५० सम्म साकार हुने विश्वास उनी अझै राख्छन्, तर त्यसभन्दा पहिला चालकविहीन कारमा ठूलो प्रगति भएर ट्राफिक जाम  ‘इतिहासको कुरा’  बन्ने उनको धारणा छ । वेमो स्वचालित ड्राइभिङ प्रविधि विकास गर्ने एउटा कम्पनी हो । ‘कारहरू अहिलेभन्दा धेरै नजिक नजिक चल्नेछन्,’ उनले बीबीसीलाई भने, ‘एउटा कारले ब्रेक लगायो भने सबैले लगाउँछन् ।’ स्वचालित सवारीका लागि निजी टोल सडकमा ट्राफिक १०० माइल प्रतिघण्टासम्म पुग्न नसक्ने कुनै कारण छैन—र सडक दुर्घटनाबाट हुने मृत्युदर अत्यन्तै घट्नेछ । पृथ्वी बाहिर पनि अन्तरिक्ष प्रतिस्पर्धा तीव्र गतिमा अघि बढ्ने स्पेस बफिन्स पोडकास्टकी सहहोस्ट तथा पत्रकार सु नेल्सनले बीबीसीलाई बताइन् । उनका अनुसार २५ वर्षभित्र चन्द्रमामा बस्न मिल्ने आधार शिविर बन्ने सम्भावना छ र केही उद्योगहरू लगभग पूर्ण रूपमा अन्तरिक्षमै आधारित हुन सक्छन् । विज्ञानकथा र विज्ञानको संगम विज्ञानकथा लेखक फिलिप के डिकको कृतिमा आधारित फिल्म माइनोरिटी रिपोर्ट सन् २००२ मा रिलिज भएको थियो, जसको कथा सन् २०५४ मा आधारित छ । छायांकन सुरु हुनुभन्दा तीन वर्षअघि निर्देशक स्टिभन स्पिलबर्गले भर्चुअल रियालिटीका संस्थापक जेरोन लानियरसहित १५ जना विशेषज्ञलाई तीन दिने सम्मेलनमा आमन्त्रण गरे, जहाँ २०५० को दशकमा सम्भव हुन सक्ने प्रविधिहरूबारे छलफल गरियो । ती छलफलहरूले फिल्ममा देखाइएका धेरै नवप्रवर्तनहरूको रूपरेखा तयार पारे । यदि टम क्रुज अभिनीत उक्त विज्ञानकथा थ्रिलरका घटनाहरूलाई विश्वास गर्ने हो भने २०५० को मध्यतिर हामी सबै पारदर्शी मोनिटरमा हातका इशाराबाट भिडियोहरू घुमाउँदै हेर्नेछौं र जेटप्याक लगाएका प्रहरीहरू अपराध हुनुअघि नै रोक्ने प्रयासमा हुनेछन् । कला क्षेत्रमा देखिने धेरै विज्ञानकथाजस्तै यो फिल्मले पनि भविष्यलाई निराशाजनक (डिस्टोपियन) रूपमा चित्रण गर्छ । यही भावना आजको समयमा केही विशेषज्ञहरूले दोहोर्‍याउन थालेका छन्—कतिपयले त कृत्रिम बौद्धिकताले मानव सभ्यताको अन्त्यसम्म गराउन सक्छ भन्ने दाबीसमेत गरेका छन् । तर २०५० ले हामीलाई के पर्खिरहेको छ भनेर अत्यधिक निराश हुनुअघि फिलिप के डिककै शब्दहरू सम्झनु उपयुक्त हुन्छ । ‘म त विज्ञानले हामीलाई मद्दत गर्छ भन्ने पक्षमा बाजी लगाउँछु,’ उनले सन् १९६८ मा लेखेको आत्मकथात्मक निबन्ध सेल्फ पोट्रेटमा लेखेका थिए । ‘विज्ञानले जति जीवन लिएको छ, त्यसभन्दा धेरै जीवन दिएको छ,’ उनले भने । ‘हामीले यो कुरा सम्झिरहनुपर्छ,’ उनले थपे । (बीबीसीबाट अनुदूति तथा सम्पादित )  

सुनको मूल्य तोलामा २८ सयले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला २१० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य आइतबार प्रतितोला दुई सय १० रुपैयाँले बढेर चार हजार ९९० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।   

दुगुनागढी किल्लामा बढ्दै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण

चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन सिमाना नजिक रहेको ऐतिहासिकस्थल दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरूपमा पुनर्निर्माण गरिएको छ ।  करिब २०० रोपनी क्षेत्रमा फैलिएको युद्धकिल्ला दुगुनागढी समुद्री सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा रहेको दुगुनागढीमा इतिहासको अध्ययनसँगै आनन्दको समय बिताउन स्वदेशीदेखि विदेशी पर्यटक दुगुनागढी पुग्ने गरेका छन् । आन्तरिक पर्यटक अमृतमान श्रेष्ठ इतिहास बुझ्दै गाउँले परिवेशमा रम्दै मनोरम वातावरणमा आनन्द लिन पाइने भएकाले पनि सिन्धुपाल्चोकको दुगुनागढी पर्यटकको रोजाइमा पर्न थालेको बताउँछन् । स्थानीय वृद्ध कृष्णबहादुर प्रधानका अनुसार प्रधानमन्त्री भएको नौ वर्षपछि १९१२ सालमा श्री ३ जंगबहादुर राणाको निर्देशनमा नेपाली सेनाले यो गढी निर्माण गरेको थियो, जतिबेला नेपाल भोटबीच खटपट चलिरहेको थियो ।  युद्धका बेला जंगबहादुर राणाले घुँडा टेकेर तिब्बतको सेनामाथि गोली प्रहार गरेको इतिहास छ । उनका अनुसार राष्ट्रकै पुरातात्तिवक सम्पदाभित्र पर्ने दुगुनागढीबाट नेपाल र तिब्बतबीच तीन पटकसम्म भएको युद्धको बेला भोटेकोसी गाउँपालिकाको लिस्तीमाईको दर्शन गरेर नेपाली फौज लडाइँमा गएका थिए ।  भोटसँगको युद्धमा नेपालीले यसै गढीको प्रयोगबाट सफलता हासिल गरेको प्राप्त शिलालेखमा उल्लेख छ । यो ठाउँमा देखिने जंगबहादुरको पाइलाको निशानले अहिले पनि त्यसबेलाको इतिहासलाई जीवित राखेको पर्यटक सरस्वती श्रेष्ठ बताउँछिन् । प्राचीन सभ्यतालाई प्रतिविम्बित गर्ने यो ठाउँको आफ्नै संस्कार, संस्कृति र पहिचान  भएको भोटेकोसी गाउँपालिका– ३ का वडाध्यक्ष निमासोना शेर्पाको भनाइ छ ।  चारैतिर हिमालले घेरिएको दुगुनागढी निकै मनमोहक र रमणीय छ । पुरानो इतिहास जोडिएको यो क्षेत्रलाई पर्यटकीय गन्तव्यसँगै इतिहास झल्काउने गरी काम भइरहेको शेर्पाको भनाइ छ । बढीजसो इतिहासका बारेमा चासो राख्नेहरू यहाँ पुगेपछि पुर्खाले जानेरै किल्ला बनाएका रहेछन् भन्दै मन्त्रमुग्ध हुन्छन् । यो स्थानमा एकपटक पुगेकाहरू पुनः साथीभाइ, परिवार र आफन्त लिएरसमेत जाने गरेका छन् ।  नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग/बाटो तथा कोटको पहिचान, संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न तथा सैनिक इतिहासको जगेर्ना गर्ने नेपाली सेनाले समेत विगत पाँच वर्षदेखि माउन्टेन ट्रेल रेस गर्दै आएको छ । रासस

गोलभेँडा किलोको ६५ रुपैयाँ, यस्तो छ तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ९५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ९५ रुपैयाँ, आलु रातो प्रतिकिलो २८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ४५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८५ रुपैयाँ, काउली तराई प्रतिकिलो ८० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, मकै बोडी प्रतिकिलो ३५ रुपैयाँ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ८० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ८० रुपैयाँ, तितो करेला प्रतिकिलो १२० रुपैयाँ, लौका प्रतिकिलो ८० रुपैयाँ, घिरौला प्रतिकिलो १००, फर्सी पाकेको प्रतिकिलो ३५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५० रुपैयाँ, सलगम प्रतिकिलो ७० रुपैयाँ, भिन्डी प्रतिकिलो ११० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६५ रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ । यस्तै, समितिले रायोसाग प्रतिकिलो २० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ६० रुपैयाँ, चमसुर प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो ६० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ । बकूला प्रतिकिलो ९० रुपैयाँ, तरुल प्रतिकिलो ९० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १४० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३७० रुपैयाँ, राजा च्याउ प्रतिकिलो २८० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ९० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, जिरीको साग प्रतिकिलो १२० रुपैयाँ, सेलरी प्रतिकिलो १५० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो ६० रुपैयाँ, पुदिना प्रतिकिलो २०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ । यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १५० रुपैयाँ, कागती प्रतिकिलो ८० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैँया, सुन्तला (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ९० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।

काभ्रेपलाञ्चोकमा काउलीको मूल्य बढ्यो, किसान उत्साहित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउलीले राम्रो बजारभाउ पाउँदा लगानी उठेर थप आम्दानी हुने भएपछि उनी मख्ख छन् । सापकोटा भन्छन्, 'गत वर्ष लगानी नै उठ्न धौधौ भयो, यस वर्ष भने काउलीको बजारभाउ राम्रै छ ।' करिब चार रोपनी बारीमा काउली रोपेका सापकोटा यस वर्ष पाँच हजार किलोसम्म बिक्री गर्ने सोचमा छन् । तर गत वर्षजस्तो उत्पादन नभएकामा भने उनी दुखेसो पोख्छन् । यसपालि काउलीमा केही रोगले उत्पादन घटेको स्थानीय किसान बताउँछन् । हाल बजारमा प्रतिकिलो काउली रु ४५ देखि रु ५० सम्ममा बिक्री गर्न पाएपछि सापकोटासँगै राम्चेबेँसीका किसान उत्साहित देखिएका हुन् । गत वर्ष मूल्य नपाउँदा किसानको लगानीसमेत जोखिममा परेको थियो । विगतका वर्षमा झैँ यस वर्ष पनि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–११ राम्चेबेँसीका करिब एक सय ३० किसानले काउली रोपेका छन् । यहाँ काउली, बन्दा, गोलभेँडालगायत तरकारी पर्याप्त उत्पादन हुने गर्दछ । तर कहिलेकाहीँ बजारभाउ नपाउँदा किसान मर्कामा पर्ने गरेका सापकोटा बताउँछन् । 'तर यस वर्ष समस्या देखिँदैन जस्तो लागेको छ', उनले भने । सापकोटाका अनुसार यहाँ यस याममा दैनिक एक हजार किलोसम्म काउली उत्पादन हुने गरेको छ । यहाँ उत्पादित काउली विशेषगरी बनेपा र काठमाडौँमा बिक्री हुने गरेको छ । यस वर्ष एउटै किसानले एउटा याममा काउली, बन्दा र गोलभेँडा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको पाइएको छ । उपभोक्ताले बजारमा अहिले काउलीको मूल्य प्रतिकिलो रु ९० सम्म तिर्नुपर्दा यहाँका किसानले भने रु ४५ को हाराहारीमा मात्रै पाइरहेका छन् । 'काउली प्रतिकिलो रु ४० बाट घटाउनु परेन भने लगानी उठाएर पनि केही बचत गर्न सकिन्छ', स्थानीय गायत्री सापकोटाले भनिन् । उनको अनुभवमा एउटा काउली फलाउन किसानले धेरै मिहिनेत गर्नुपर्छ, काउली रोप्न बारी खनजोत गरी तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने, समय–समयमा किटनासक विषादी हाल्नेलगायत काम गर्नुपर्छ । सापकोटा भन्छन्, 'तर त्यसको मूल्य नपाउँदा भने किसान मर्माहत नै हुन्छन्, यस वर्ष काउलीमा त्यस्तो नहुने देखेर हामी उत्साहीत नै छौँ ।' स्थानीय चिरञ्जीवी सापकोटा दम्पतीलाई पनि हालका दिनमा काउली काट्ने र बजार लैजान हतार भएको छ । साँझ व्यापारी तरकारी लिन आउने भएकाले उहाँहरू समय मिलाएर काउली उखेल्न निस्किन्छन् । व्यापारी तरकारी लिन बारीमै आउने र मोल नगरी लिएर जाने तथा बनेपा तथा काठमाडौँमा लगेर बिक्री गरेपछि आफूलाई नाफा राखेर पैसा दिने गरेका सापकोटाले बताए । आफूले गरेको मिहिनेतअनुसारको आम्दानी नपाएकामा उनी चिन्तित छन् । 'व्यापारीलाई विश्वासकै भरमा तरकारी दिन्छौँ, समय अभावले आफैँ बिक्री गर्न बजार जाँदैनौँ, त्यही भएर व्यापारीको भरपर्ने गरका छौँ', सापकोटाले भने । उनी हाल व्यापारीले प्रतिकिलो काउली रु ४० देखि रु ४५ सम्ममा खरिद गर्ने गरेका बताउँछन् । तरकारीबाट उचित मूल्य नपाउँदा किसान निराश हुनु स्वाभाविक भएको अर्का किसान कृष्णप्रसाद सापकोटा बताउँछन् । 'अन्य मुलुकबाट तरकारी आयात हुँदा नेपालका किसानले तरकारीको उचित मूल्य पाउँदैनन्, यसका लागि सरकारले किसानको पक्षमा केही गर्नुपर्ने हो', उनले भने । कृष्णप्रसादका अनुसार किसान आफूहरूले गरेको तरकारीखेतीको बजारका लागि वडा र नगरले सहयोग गरुन् भन्ने राख्छन् । मल तथा बीउ समयमा नपाउनु र लगानी उठ्ने जोखिम हुनु यहाँका किसानको प्रमुख चुनौती बनेको उनको भनाइ छ । राम्चेबेँसीमा हरेक वर्ष तरकारीखेती हुन्छ । यहाँका सयौँ रोपनी जग्गामा किसानले मौसमी तथा बेमौसमी तरकारी रोप्छन् । गत वर्ष प्रतिकिलो रु १५ मा समेत काउली बिक्री नहुँदा फलेको काउली काटेर बजार पुर्याउने खर्च पनि नउठेको गायत्री सापकोटा बताउँछन् । 'मैले गत वर्ष बारीभरि काउली रोपेकी थिएँ, त्यतिबेला मध्ययाममा पनि रु १५ मा पनि बिक्री भएन, काटेर बजार लैजाने ज्यालासमेत उठेन । कतिपय किसानले त खेतमै काउली जोतिदिएका थिए', उनले भने । स्थानीय व्यापारीलाई तरकारी पठाउने गरेका यहाँका किसानले आफूहरूलाई पायक पर्ने स्थानमा ‘हाटबजार’ राखिदिन नगर कार्यालयसँग अनुरोध गरेका छन् । रासस

एनसेलले ल्यायो जेनजी लक्षित ‘युवा सिम’, २९९ रुपैयाँमै अनलिमिटेड कल

काठमाडौं । एनसेलले जेनजी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै नयाँ स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक गरेको छ । विद्यार्थी तथा युवा वर्गलाई सुलभ दरमा दूरसञ्चार सेवामा पहुँच उपलब्ध गराउने उद्देश्यसहित यो प्याक सञ्चालनमा ल्याइएको हो । पुष २६ गतेदेखि लागू भएको ‘युवा सिम’ करसहित २९९ रुपैयाँमा उपलब्ध छ । सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी यो सिम लिन सक्ने एनसेलले जनाएको छ ।  प्याकअन्तर्गत २८ दिनका लागि अनलिमिटेड एनसेल–टु–एनसेल कल सेवा, ५ जीबी डेटा, इसेवा र खल्ती प्रयोग गर्दा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’मा निःशुल्क पहुँच प्रदान गरिएको छ । यसका साथै अफ–नेट कलमा प्रति मिनेट १ रुपैयाँको विशेष दर लागू गरिएको छ । तोकिएको ५ जीबी डेटा सकिएपछि पनि प्रति एमबी ५० पैसामा पे–एज–यू–गो डेटा सेवा प्रयोग गर्न सकिने व्यवस्था छ । एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्तले ‘युवा सिम’ युवालाई सधैं कनेक्टेड राख्दै डिजिटल भविष्य र शिक्षासँग जोड्ने विश्वास व्यक्त गरे । उनका अनुसार यो प्याकले युवाको डिजिटल जीवनशैलीलाई अझ सहज बनाउनेछ । युवा सिममा थप आकर्षणस्वरूप २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र १९ रुपैयाँमा उपलब्ध गराइएको छ, जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ । यो सिम लिन नजिकको एनसेल सेन्टरमा नागरिकता वा ड्राइभिङ लाइसेन्ससहित विद्यार्थी परिचयपत्र पेश गर्नुपर्नेछ । आवश्यक कागजात नभएमा अभिभावकको सरकारी परिचयपत्र र विद्यार्थी परिचयपत्रका आधारमा पनि सिम उपलब्ध गराइने एनसेलले जनाएको छ । 

निर्वाचन ५३ दिन बाँकी : सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको छ । आचारसंहिताले सामाजिक सञ्जालमा ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यका साथ होच्याउने, दुष्प्रचार गर्ने काम गर्न नपाउने प्रबन्ध गरेको छ । त्यस्तै, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषणजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नपाइने व्यवस्था आचारसंहितामा समावेश गरिएको छ । त्यसैगरी, कुनै प्रयोजनका लागि  प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गरी वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा पोष्ट, रिपोस्ट, कमेन्ट प्रतिकमेन्ट, लाइभ स्टिमिङ, ट्याग वा मेन्सनलगायतका कार्य गर्न वा गराउन पाइने छैन । निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्नेगरी अवाञ्छित लान्छना लगाउन नपाइने प्रबन्ध आचारसंहितामा गरिएको छ । कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न, त्यस्ता सामग्री कुनै पनि माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नपाइने आयोगले तयार पारेको आचारसंहितामा समावेश छ । मतदाता र मतदाताको गोप्यता भङ्ग गर्न, निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित पार्ने कुनै पनि कार्य गर्नसमेत पाइने छैन । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।  

यस्तो छ आइतबारका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०२ पैसा र बिक्रीदर १८० रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९० पैसा र बिक्रीदर ११२ रुपैयाँ ३७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४४ पैसा र बिक्रीदर २२ रुपैयाँ ५३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।