७७ वटा बैंक तथा वित्तीय संस्थाको इजाजत खारेज, अधिकांश विकास बैंक र फाइनान्स कम्पनी
काठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले ७७ वटा बैंक तथा वित्तीय संस्थाहरुको इजाजत खारेज गरेको छ । २०७३ भदौ मसान्तसम्ममा कुल ११८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएपछि ७७ वटालाई खारेज गरी ४१ वटा मात्र बनाएको राष्ट्र बैंकले जनाएको छ । वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर/प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तमा २८ वटा वाणिज्य बैंक, ६६ वटा विकास बैंक, ३९ वटा वित्त कम्पनी, ४२ वटा, माइक्रो फाइनान्स छन् । आर्थिक वर्ष २०६९/७० सम्म २ सय १४ ओटा बैंक तथा वित्तीय संस्था रहेकोमा अहिले १ सय ७३ मा सीमित रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गाभिनेमा पनि विकास बैंक र फाइनान्स कम्पनी बढी छन् । माइक्रो फाइनान्सको संख्या भने डब्बल वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विनियमावली–२०६८ ल्याएसँगै नेपालमा औपचारिक रुपमा बैंक तथा वित्तीय संस्था आपसमा गाभिन सुरु गरेका छन् । पूँजी अभावले थप लगानी गर्ने नसक्दा नाफा घट्नु, व्यवसायिक वित्तीय अवस्था बिग्रिएर जानुलगायतका कारणले बैंक तथा वित्तीय संस्था बलियो, सवल तथा सक्षम बन्नु पर्ने वाध्यता देखिएको थियो । केन्द्रीय बैंकले चाहेजस्तो मर्जरमा आकर्षण नदेखिएपछि गएको आर्थिक वर्षको मौद्रिक नीतिबाट चुक्ता पूँजी बढाएर बाध्यात्मक मर्जरको नीति राष्ट्र बैंकले व्यवस्था गर्यो । त्यसयता मर्जरको पहिलो कारण राष्ट्र बैंकले निर्धारण गरेका ८ अर्ब चुक्ता पूँजी पु¥याउनु रहेको छ । राष्ट्र बैंकले दुई अर्ब पुँजी भएको वाणिज्य बैंकलाई आठ अर्ब, ६४ करोड पूँजी भएको विकास बैंकलाई दुई अर्ब ५० करोड र २० करोड पूँजी भएको फाइनान्स कम्पनीलाई ८० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । यी वित्तिय संस्थाहरुले चालू आवको अन्त्यसम्म अर्थात असारमसान्तसम्म चार गुणाले पुँजी वृद्धि गरिसक्नुपर्छ । अहिलेकै अवस्थामा तीन सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक तथा निजी क्षेत्रका नबिल, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, नेपाल एसबिआई, ग्लोबल आइएमइ र प्रभु बैंकलाई पुँजी वृद्धि गर्न खासै समस्या छैन । स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि आफ्नो पूँजी वृद्धिको योजना राष्ट्र बैंक समक्ष पेश गरिसकेको छ भने एफपिओर, वोसन सेयर जारी गरेर चुक्ता पूँजी पुर्याउने भएको छ । गैरआवासीय नेपालीहरुको लगानी रहेको माछापुच्छ्रे बैंक र सानिमा बैंकका सेयरधनी हकप्रद सेयर जारी गरेर पुँजी पुर्याउने लाइनमा छन् भने अन्य वाणिज्य बैंकहरु विकास बैंक तथा फाइनान्स कम्पनी एक्वाएर गरेर तथा हकप्रद र बोनस सेयरबाट पुँजी वृद्धि गर्ने लाईनमा छन् । यतिबेला पनि अधिकांश विकास बैंक र फाइनान्स कम्पनी भने वाणिज्य बैंकसँग मर्जमा जान लचिलो रुपमा प्रस्तुत हुँदै आएका छन् ।
कैलाश विकास बैंकको २५ प्रतिशत बोनस स्वीकृत, २० प्रतिशत हकप्रद सेयर छिट्टै
काठमाडौं, ८ कात्तिक । कैलाश विकास बैंकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिन गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेर स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो । ‘राष्ट्र बैंकबाट व्यालेन्सिट स्वीकृत भएको पत्र आएको छ । अब छिट्टै साधारणसभा सम्वन्धि सूचना प्रकाशित गर्नेछौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले विकासन्युजसँग भने । बैंकको यसअघि सम्पन्न साधारणसभाले गरेको निर्णयअनुसार ५ बराबर १ अनुपातमा अर्थात २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उनले बताए ।
काष्ठमण्डप डेभलपेमन्ट बैंकको १६ लाख कित्ता हकप्रद निष्कासन, कात्तिक २६ देखि निष्कासन खुला
काठमाडौं ८, कात्तिक । काष्ठमण्डप डेभलपमेन्ट बैंकले प्रति साधारण सेयर एक सय रुपैयाँ अकिंत १६ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले यहि कत्तिक २६ गतेदेखि निष्कासन खुला हुने गरी सूचना जारी गरेको छ । मंसिर ३० गतेसम्म हकप्रद सेयरका लागि यसिका साधारण सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले साधारण सेयर धनिलाई चार सेयर बराबार १ सेयरको (४ः१) अनुपात एक सय रुपैयाँ अंकित सेयरको विक्री खुला गर्ने सुचना सार्वजनिक गरेको छ । यो बैंकले नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका साविकको सेयरका लागि हकप्रद निष्कासन गरेको हो । यो बैंकको नेपाल स्टक एक्सचेन्जमा ६७ लाख ९९ हजार २ सय ७३ कित्ता सेयर सूचिकृत भएको छ । यो प्रति शेयर कारोबार पाँच सय रुपैयाँमा भइरहेको छ । यो बैंकको सेयर निष्कासन तथा विक्री प्रवन्धक एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यसको हकप्रद सेयरको आवेदनका लागि विक्री प्रवन्धक र बैंकको सम्पूर्ण शाखामा सम्पर्क गर्न सकिने छ । यो बैंकले कुमारी बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।
राष्ट्रिय आविस्कार केन्द्रका लागि हङकङमा ४० लाख रूपैयाँ सङ्कलन
म्याग्दी, ८ कात्तिक । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रका करिब रु ४० लाख सहयोग सङ्कलन गरेको छ । मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाले दिएको जानकारी अनुसार हङकङको मंकीहिल कन्ट्रीपार्कमा आयोजना गरिएको सो देउसीभैलो तथा तिहारको भेटघाट कार्यक्रममा सहभागीले सो रकम राष्ट्रिय आविस्कार केन्द्रका लागि सहयोग गरेका हुन् । अहिलेसम्म आफ्नो क्षेत्र, जिल्ला र जातिका लागि सेवा गरिएको तर अब महावीरले चालेको राष्ट्र निर्माणलाई सहयोग गर्ने भन्दै हङकङवासी नेपालीले मुठी खोलेर आर्थिक सहयोग गरेको मोनाका संयोजक सेर्बुजाले जानकारी दिए । समाजसेवी महावीर पुनले विज्ञान र प्रविधिकाे क्षेत्रमा विकासमा याेगदान गर्न र सिर्जनात्मक क्षमताकाे विकासमा याेगदान दिने उदेश्यले राष्ट्रिय आविस्कार केन्द्र निर्माण गर्न सहयाेग जुटाउने अभियान थालेका छन् । रासस
तपाईलाई अल्छि अनुभव भइरहेको छ, गुगलमा ‘आई एम फिलिङ क्युरियस’ सर्च गर्नुस्
काठमाडौं, ७ कात्तिक। गूगलले भर्खरै आफ्नो लोगो परिवर्तन गर्दै नयाँ फिचर पनि सार्वजनिक गरेको छ । नयाँ फिचरले आवश्यक जानकारी दिनुका साथै आलस्य भएको समयमा पढ्नका लागि रमाइला सामग्री पनि प्रस्तुत गर्छ । यसका लागि गूगलको सर्च इञ्जिन अर्थात् खोजका लागि टाइप गरिने बाकसभित्र अङ्ग्रेजीमा ‘आई एम फिलिङ क्युरियस’ वा ‘फन फ्याक्ट’ टाइप गर्नुपर्छ । यसो गरेपछि गूगलले पढ्दा रमाइला लाग्ने अनौठा प्रश्न र तिनको रोचक उत्तर पनि प्रस्तुत गर्छ । गूगलको फिचरले हाम्रा सामु राख्ने प्रश्नका बारेमा हामीले शायदै सोचेका हुन्छौं । यसो गर्दा कुनै एक विषयका बारेमा जान्ने अवसर त प्राप्त हुन्छ नै, लगत्तै तल अर्को प्रश्न सोध्ने विकल्प पनि प्रस्तुत हुन्छ । स्क्रिनमा लेखिएको ‘आक्स अनदर क्वेशन’मा क्लिक गरी आफ्नो चाहनाअनुसार विभिन्न विषयका बारेमा जानकारी लिन सकिन्छ । फुर्सदमा रहेर गूगलबाट केही जानकारीमूलक सामग्री पढ्न चाहने जो कोहीका लागि यो फिचर उपयोगी छ । अहिलेका लागि गूगलले अङ्ग्रेजी भाषामा मात्रै कमाण्ड लिइरहेको छ । तर, निकट भविष्यमा नै अन्य भाषामा समेत कमाण्ड दिन सकिने सम्भावना प्रबल छ । एजेन्सीको सहयोगमा
तिहारअघि नै फोहोरबाट बत्ती, फोहोरबाट निस्किएको ग्यासप्रयोग गरेर बत्ती बाल्ने तयारी
काठमाडौं ८, कात्तिक । काठमाडौँ महानगरपालिकाले तिहारअघि नै टेकूस्थित फोहोर स्टेसनबाट निकालिएको ग्यासबाट बत्ती बाल्न सुरु गर्ने भएको छ। गतवर्ष नमूना परीक्षणका रूपमा दैनिक तीन टन फोहोर जम्मा गर्दै आएको महानगरपालिकाले फोहोरबाट निस्किएको ग्यासबाट बत्ती बाल्न लागेको समाचार सोमबारको गोरखा पत्रमा छापिएको छ। गएको असारदेखि उक्त ठाउँमा बत्ती बालिने भनिएको भए पनि भारतबाट मेसिनरी सामग्री र प्राविधिक नआएकाले केही ढिला भए पनि आउँदो साता भने प्राविधिक आउने निश्चित भएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले यही साता भारतबाट मेसिन र प्राविधिक आएपछि फोहोरबाट निस्केको ग्यासलाई विद्युत्मा परिणत गरेर बत्ती बाल्ने तयारी गरेको जानकारी गराए। उत्पादित विद्युत् टेकूका सडकबत्ती र टेकूस्थित महानगरको फोहोर ट्रान्पोर्टेसन क्षेत्रमा प्रयोग गरिने र परीक्षणपछि महानगरपालिकाबाट निस्कने सबै फोहोर प्रशोधन गरी बिजुली निकालिने कार्कीले बताए। एकीकृत दिगो फोहोरमैला व्यवस्थापन प्रवद्र्धन परियोजना सम्पन्न गर्न करिब सवा तीन करोड रुपियाँ छुट्याइएको र यस अन्तर्गत युरोपियन युनियनको ८० प्रतिशत तथा महानगरपालिकाको २० प्रतिशत लगानीमा परियोजना सञ्चालन भइरहेको छ । कार्कीले भने, ‘पहिलो प्राथमिकता भनेको फोहोरबाट बायोग्यास र त्यसबाट बिजुली निकाल्ने नै हो, यो पाइलट प्रोजेक्ट हो, सफल भए अन्य क्षेत्रका साथै देशभर विस्तार गर्न सकिन्छ।’ महानगरपालिका अन्तर्गतको वातावरण महाशाखा अनुसार तीनवर्षे परियोजना अन्तर्गत महानगरको वडा नं. १२ र १९ मा जैविक फोहोर छुट्ट्याउने काम भइरहेको छ । महानगरपालिकाले वार्षिक करिब ५० करोड रुपियाँ फोहोर व्यवस्थापनमा खर्चिंदै आएको छ ।
बर्मुडा ट्राएङ्गलको रहस्य खुलको बैज्ञानिकको दावी, एलियन र सुनामिका कारण दुर्घटना
वासिङ्गटन: वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलको रहस्य पत्ता लगाएको दावी गरेका छन् । वैज्ञानिकहरुले यस्तो हेक्सागोनल (छ एङ्गल भएको) बादलका कारण हुने गरेको बताएका हुन् । बर्मुडा ट्राएङ्गल आन्ध्र महासागरमा ५ लाख स्क्वायर किलोमिटरको एक भाग हो। यसको आकार ट्राएङ्गल जस्तै रहेको छ । पछिल्ला एक सय वर्षमा यसमा ७५ वटा ठूला जहाज र एक सय भन्दा साना ठूला पानीजहाज पसेर बिलाइसकेका छन् । यसक्रममा एक हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गलमाथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलमा धेरै गह्रौं बस्तु तान्न सक्ने क्षमता बादलको हेक्सागोनल आकारका कारण विकास भएको हो । कोलोराडो स्टेट यूनिभर्सिटीका मेट्रोलोजिस्ट र्यान्डी क्यारभेनीका अनुसार यो बादलले ‘एयर बम’ बनाउने गरेको छ । अर्थात, हावामा बम पड्के जस्तो क्षमता पैदा गर्दछ । समाचार अनुसार र्यान्डी क्यारभेनी यस सिद्धान्तको विकास गर्नेहरुको वैज्ञानिकको टीमका सदस्य हुन् । बर्मुडा ट्राएङ्गलमा १७० माइल करिब २७३ किलोमिटर) घन्टाको गतिको हावा रहेको हुन्छ । यी बादल र हावा आपसमा मिलेर जब जहाज या हवाईजहाजसँग ठोक्किन्छन् तब तिनलाई तानेर समुद्रको पिँधमा पुर्याउँछन् । वैज्ञानिकको दावी अनुसार बर्मुडा ट्राएङ्गलमा जम्मा हुने शक्ति समुद्रको पानीसँग ठोक्किने गरेको छ । जसबाट सुनामी भन्दा शक्तिशाली अग्लो समुद्री लहर उठ्ने गर्छ । यी लहर आपसमा ठोक्किँदा अझ धेरै शक्ति पैदा हुन्छ । यस क्रममा त्यस आसपास रहेका सबै बस्तु नष्ट हुन पुग्छन् । वैज्ञानिकका अनुसार बादल बर्मुडा द्वीपको दक्षिणी भागमा पैदा हुने गरेको छ । यो बादलले त्यसपछि करिब २० देखि ५५ माइलको यात्रा तय गर्छ । बर्मुडा ट्राएङ्गलको रहस्यबारे विश्वमा कयौं तथ्य बाहिर ल्याइएको छ । यस्तै एक सिद्धान्तमा बर्मुडा ट्राएङ्गलको शक्तिको पछाडि एलियनको हात रहेको दावी गरिएको थियो । यसै साल मार्चमा नर्वेका केही वैज्ञानिकले बर्मुडा ट्राएङ्गल रहेको समुद्रबाट मिथेन ग्यास चुहिरहेको दाबी गरेका थिए । जसको कारणले त्यहाँ विशेष किसिमको गुरुत्वाकर्षण बल बन्ने गरेको छ । के हो बर्मुडा ट्राएङ्गल बर्मुडा ट्राएङ्गल रहेको एक खतरनाक इलाका आन्ध्र महासागरमा रहेको छ । यो फ्लोरिडाको मियामी, बर्मुडा द्वीप र प्योर्टो रिकोको स्यान जुआनबीच रहेको छ । यी तीनै स्थानलाई सीधा लाइनबाट आपसमा मिलाउँदा एक ट्राएङ्गल बन्छ। यसै इलाकालाई बर्मुडा ट्राएङ्गल भनिन्छ । यसको जम्मा क्षेत्रफल करिब ५ लाख स्क्वायर किलोमिटर रहेको बताइन्छ ।
कर तिर्दैनन् सिनेमा घरहरूले, महानगरपालिकाले उपत्यकाका १७ हललाई बारम्बार ताकेता गर्दा पनि कर तिरेनन
काठमाडौं ८, कात्तिक , सिनेमाघरमा फिल्म हेर्न दर्शकले तिर्ने शुल्कको २.५ प्रतिशत रकम करवापत स्थानीय निकायलाई बुजाउनुपर्ने कानुनी व्यवस्था छ। तर काठमाडौं उपत्यकामा सञ्चालित सिनेमाघरले भने कानुन अटेर गरेर कर नतिरेको सोमबारको नागरिक दैनिकमा समाचार छापिएको छ। पहिले मनोरञ्जन ऐन अनुसार सिनेमाघरले मनोरञ्जन कर तिर्दै आएका थिए। २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐन आयो। यही ऐन अनुसार २०५६ सालमा बनेको नियमावलीले मनोरञ्जन कर स्थानीय निकायले उठाउने व्यवस्था गरेको छ। मनोरञ्जन ऐन भने २०६३ सालमा खारेज भयो। २०५६ यता सबै सिनेमाघरले मनोरञ्जन कर तिरेका छैनन्। काठमाडौं महानगरपालिकामा गंगा, अष्टनारायण, जय नेपाल, कुमारी, विश्वज्योति, गोपिकृष्ण, पुष्पाञ्जली र कलंकी सिनेमा घर आफ्नै भवनमा सञ्चालित छन्। त्यसैगरी व्यापारिक मलमा क्युएफएक्स, विग सिनेमालगायतका हल सञ्चालित छन्। महानगरपालिकाका अनुसार उपत्यकामा रहेका १७ हललाई बारम्बार ताकेता गर्दा पनि कर तिरेका छैनन्।