Breaking: भारतले ५०० र १००० का नोट बन्द गर्यो, भोलि भारतका सवै बैङ्क बन्द, दुई दिन एटिएम नचल्ने
काठमाडौं, २३ कात्तिक । भारतले ५०० र एक हजारको नोटको कारोबार बन्द गरेको छ। मंगलबार राती १२ बजेदेखि भारतमा यी नोट चल्ने छैनन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती देशबासीका नाममा संबोधन गर्दै नोट नचल्ने घोषणा गरेका हुन्। मोदीले कालोधन, नक्कली नोटका विरुद्ध यो निर्णय लिएको बताउँदै यसबाट हुने केही कठिनाईलाई झेल्न सबै भारतीय तयार रहेको बताए। यदि तपाईँसँग भारु ५ सय र हजारको नोट छ भने आज मध्यरातदेखि त्यो कागजमात्र बन्नेछ। मोदीले मंगलवार टेलिभिजनमा सम्बोधन गर्दै राति १२ बजेदेखि भारतमा यी दुई दरका नोट नचल्ने घोषणा गरेका हुन्। भारतमा बैँक र हुलाक कार्यालयमार्फत् ५ सय र हजारका नोट साट्न ५० दिनको समय दिइएको छ। नोट साट्न परिचय पत्र अनिवार्य गरिएको छ। कालो धनसँग संघर्ष गर्न भारतीय प्रधानमन्त्रीले यस्तो उपाय अपनाएको बताएका हुन्। भारतले अब ५ सय दरको नयाँ र २ हजार रुपैयाँको अर्को नोट पनि चलनचल्तीमा ल्याउने घोषणा उनले गरे। पूरानो नोट अस्पताल र पेट्रोल पम्पमा ११ नोभेम्बरसम्म चल्नेछ। यी नोटमा प्रतिबन्ध लगाएर भारतमा सरकारले दुई हजार रुपैयाँको नयाँ नोट संचालनमा ल्याउने भएको छ। मोदीले भारतीय रिर्जभ बैंकले पाँच हजारको नोट ल्याउन प्रस्ताव गरेपनि दुई हजारको नोट ल्याउन सहमति दिएको जानकारी दिए। उनले दुई हजार सहित नयाँ डिजाईनमा ५०० को नोट समेत प्रचलनमा ल्याउने बताए। भारत सरकारले बुधवार देशैभरी बैङ्कहरु बन्द गर्ने र बुधवार र विहिवार एटिएम नचल्ने जनाएको छ। माेदिले अातंकवाद र कालो बजारी तथा भ्रष्टाचारसंग लड्नका लागि यो कदम उठाएको बताएका छन्।
चिनीया पर्यटकको आवगमन बढाउन र बढ्दो व्यापार घाटालाई न्यून गर्न राजदुत पौड्यालको आग्रह
नेपाल उद्योग परिसंघमा कात्तिक २३ गते मंगलबार भारत र चीनका लागि नवनियुक्त राजदुत क्रमशः दीपकुमार उपाध्याय र लीलामणि पौड्यालसँग शिष्टाचार भेटवार्ता एवं छलफल भयो । सो भेटवार्ता मुलुकको दीगो आर्थिक विकासका लागि उदयमान छिमेकीहरु चीन र भारतसँग व्यवस्थित ढंगले आर्थिक कूटनीति सञ्चालन गर्ने विषयमा केन्द्रीत थियो । करीव एक घण्टा भएको सो भेटवार्तामा नवनियुक्त राजदूतहरुले आफ्नो क्षमताले भ्याएसम्म मुलुकको विकासका लागि कूटनीतिक तवरबाट आफूहरु कक्रिय रहने अठोट व्यक्त गरेका थिए । ‘म सरकारको नुन तेल खाएर निजी क्षेत्रको काम र उद्यम व्यवसाय विस्तारमा सहयोग गर्ने कार्यादेश लिएर जान लागेकाले तपाईहरुले आफ्नो व्यवसायिक प्रतिनिधि सरह काम लगाउन सक्नु हुन्छ,’ पौड्यालले भने । अहिले संसारमा सबैभन्दा सस्तो पूँजी र उन्नत प्रविधि चिनमा भएकाले त्यसबाट नेपाली व्यवसायीले पनि आपसी साझेदारीमार्फत लाभ लिनु पर्ने उनको भनाई थियो । व्यवसायीहरुले आफ्नो नाफा घाटा र बजारका आधारमा मात्रै अवसर र चुनौतीको विश्लेषण गरेर उचित निर्णय लिने भएकाले आफु र देशलाई नाफा हुने विषयमा सधै राजदुतावास, सरकारी अधिकारी वा नेतालाई सचेत गराई रहनु पर्ने भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायको भनाई थियो । ‘आफ्नो व्यवसाय विस्तार क्षेत्रमा व्यवसायी आफै अग्रसर लाग्नु पर्छ,’ उपाध्यायले भने, ‘हामीले त समन्वयकर्ताको भुमिका मात्र निर्वाह गर्ने हो ।’ सो अवसरमा नवनियुक्त राजदूत लीलामणि पोड्याल र दिप कुमार उपाध्यायलाई परिसंघका अध्यक्ष हरिभक्त शर्मा तथा अध्यक्ष एमिरेटस विनोद चौधरीलगायतका पदाधिकारी तथा सदस्यहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । उक्त अवसरमा परिसंघका गभर्निङ काउन्सिल, पादधिकारी तथा राष्ट्रिय परिषदका सदस्य र परिसंघ आवद्ध उद्यमीहरु प्नि सहभागिता रहेको थियो । भेटवार्ताको अवसरमा अध्यक्ष हरिभक्त शर्माले भारतसँगको व्यापार घाटा कम गर्न, भारततर्फ भइरहेको निकासी वृद्धि गर्न र भारतीय उद्यमीहरुबाट नेपालमा पनि लगानी विस्तार गर्ने योजनाबद्ध ढंगले काम थाल्नु पर्ने कुरामा जोड दिनु भयो । पछिल्लो समय कोलकाता बन्दरगाहबाट नेपाली आयातकर्ताको सामान छुटाउन बढी समय लाग्ने गरेकाले यसबाट नेपाली उद्योगमा परेको प्रतिकुल प्रभावप्रति परिसंघबाट नवनियुक्त राजदुत उपाध्यायको ध्यानाकर्षण गराइएको थियो । सयौंको संख्यामा कन्टेनर रोकिदा नेपाली उद्यमीको अनुत्पादक खर्च बढ्ने, औद्योगिक उत्पादनको लागत बढ्ने र नेपालीउद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने निश्चित भइकाले कोलकाता बन्दरगाहबाट छिटोछरितो नेपाली मालसमानको क्लियरेन्स गराउने र विशाखापटनम् बन्दरगाहको व्यवहारिक ढंगले प्रयोग गर्ने सन्दर्भमा भारतका लागि नेपाली राजदुतले पहल गर्न पर्नेमा अध्यक्ष शर्माले जोड दिए । अध्यक्ष शर्माले चिनीया लगानीकर्तालाई नेपालमा आकर्षित गर्न, चिनीया पर्यटकको आवगमन बढाउन र बढ्दो व्यापार घाटालाई न्यून गर्न दुतावासको तर्फबाट थप प्रयास गर्न नवनियुक्त राजदुत पौड्याललाई आग्रह गरेका छन् । सोही अवसरमा परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले भारत र चिनसँगको सन्तुलित र दिगो आर्थिक संवन्ध बिना नेपालले अपेक्षित गतिमा आर्थिक उन्नती हाँसिल गर्न नसक्ने भन्दै एकलाई अर्कोको विकल्पका रुपमा नहेरी विगतमा चीन र भारतसँग भएका संधी सम्झौताको सफल कार्यान्वयन गर्न राजदुतहरुबाट ठोस पहल हुने अपेक्षा गरेका छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले १३६ जनालाई जागिर खुलाउँदै, लोकसेवा आयोगले दियो स्विकृति
काठमाडौं, २३ कात्तिक । काठमाडौं उपत्यकाको व्यवस्थित विकासका लागि भन्दै गठन गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले १३६ जनालाई तत्कालै रोजगार दिने भएको छ । प्राधिकरणको कर्मचारी विनियमावलीलाई लोकसेवा आयोगले समेत स्विकृति दिइसकेको विकास आयुक्त भाइकाजी तिवारीले विकासन्युजलाई जानकारी दिए । ‘प्राधिकरणको कर्मचारी सम्बन्धी विनियमावलीलाई लोकसेवा आयोगले स्विकृति दिईसकेको छ, प्राधिकरणको भौतिक विकास समितिको आगामी बैठकबाट पारित गरेर आवेदन खुल्ला गर्छाै’, तिवारीले भने । उनले नयाँ कर्मचारी नियुक्तीसँगै प्राधिकरणले पुनर्जिवन प्राप्त गर्ने दावी गरे । ‘अहिले प्राधिकरणको कर्मचारी म एक्लै छु, बाँकी सबै कोहि काजका छन भने कोहि करारमा नियुक्त गरिएका छन्’, तिवारीले गुनासो पोखे । काज र करारका सिमित कर्मचारीका भरमा प्राधिकरणले सोचे जस्तो काम गर्न नसकेको पनि उनले बताए । ‘काज र करारका सिमित कर्मचारीका साथमा काम गरिरहेका थियौं, आफ्नै दरबन्दीमा कर्मचारी नियुक्त गरिएपछि कामको रफ्तार बढ्नेछ, उपत्यकाको विकास निर्माणले तिब्र गति पाउने छ’, तिवारीले भने । उनले कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी नियुक्त गरिने बताए ।‘कार्यालय सहयोगीदेखि इञ्जिनियर, आर्किटेक्ट, लेखापाल हुँदै सहसचिवसम्मको दरबन्दी पाएका छौं, सोही अनुसार नियुक्ती प्रक्रिया अघि बढ्छ’, तिवारीले सुनाए । हाल प्राधिकरणको विकास आयुक्तको कार्यालयका अवला काठमाडौं, भक्तपुर र ललितपुरमा जिल्ला आयुक्तको कार्यालय रहेको छ । प्राधिकरणले उपत्यकाका तीन जिल्लाको सडक विस्तार तथा व्यवस्थित शहरीकरण र हरियाली प्रवद्र्धनमा काम गरिरहेको छ ।
६ महिनाभित्रमा आयोजना सम्पन्न गरे सरकारले पुरस्कृत गर्छः प्रधानमन्त्री दाहाल
दोलखा, २३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई आगामी ६ महिनाभित्र सम्पन्न गरे सरकारले कर्मचारीलाई पुरस्कृत गर्ने बताएका छन् । मंगलबार आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरी कर्मचारीहरुसँगको कुराकानीमा उनले देशकै मोडेलका रुपमा रहेको यो आयोजनाको काम निश्चित अवधिभन्दा अगावै सकेर देशकै अन्य आयोजनालाई समेत उदाहरण दिई छिटो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो । उनले आयोजनाले कुनै आर्थिक समस्या व्यहोर्नु नपर्ने बताउँदै आयोजनालाई सरकारले छिटो सम्पन्न गर्न जस्तोसुकै सहयोग गर्ने पनि बताए । प्रधानमन्त्री दाहालले आयोजना पारदर्शी तरिकाले सम्पन्न गर्न र रोल्वालिङ डाइभर्सन तथा तामाकोसी ५ को समेत काम दु्रत गतिमा अगाडि बढाउन निर्देशन दिए । उनले भूकम्पले भत्काएको सडकलगायत संरचनाको पुनः निर्माण गरी आयोजनाको कामलाई तीव्रता दिन आग्रह गरे । राष्ट्रिय गौरवको स्वदेशी पुँजीमा दोलखाको लामाबगर गाविसमा निर्माणाधीन चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य ८२ प्रतिशत सम्पन्न भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए । विसं २०६८ बाट निर्माण सुरु भएको आयोजना २०७४ साल असारसम्म निर्माण सम्पन्न हुनुपर्नेमा २०७२ सालको भूकम्प, निरन्तरको पराकम्प र नाकाबन्दीले प्रतिकूल असर गरेकोले कार्य प्रगति प्रतिवेदनअनुसार ८१।९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो । विभिन्न चार लट गरी निर्माण सुरु गरेको आयोजनाको ८२ प्रतिशत लक्ष्य हासिल गर्दा कुल रु ३१ अर्ब ८४ करोड खर्च भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका वातावरण विभाग प्रमुख एवम् प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । आयोजना निर्माणका लागि ३५ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि विभिन्न कारणले लागत बढेर ४१ अर्ब ७२ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । लट–एकको ठेकेदारले भूकम्पले क्षतिग्रस्त भएको प्रवेशमार्गअन्तर्गत काभ्रे भिरमा तीन सय ३० मिटर लम्बाइ हुने सुरुङमार्गको गत असारदेखि सुरु गरी सोमबारसम्म दुई सय ७२ मिटर खन्ने कार्य सम्पन्न गरेको छ । सुरुङमार्गको निर्माण सम्पन्न भएपछि बाँधस्थलको विभिन्न थप कार्य गर्न सकिने आयोजनाले जनाएको छ । रासस
एनआईसी एसिया बैंकको नयाँ शाखा पोखराको विरौटामा सञ्चालन
पोखरा, २३ कात्तिक । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो ७४औँं शाखाको रुपमा मंगलबारदेखि पोखराको विरौटामा शाखा सञ्चालनमा ल्याएको छ । बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्राय अनुरुप विरौटामा स्थापित शाखाको एक समारोहबीच मंगलबार पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वश्ङ्कर पालिखेले उद्घाटन गरेका हुन् । शाखा सञ्चालनसँगै बैंकका सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको शाखाका प्रबन्धक चुडामणि पराजुली (दपिक)ले बताए । नयाँ शाखा विरौटासहित बैंकको शाखा सञ्जाल ७६ तथा एटिएम सङ्ख्या ६९ पुगेको छ । बैंकले गत त्रैमासिक अवधिमा गत आवको सोही अवधिको तुलनामा कर्जा सापटिमा ३९ प्रतिशत तथा निक्षेपमा ३४ प्रतिशतका साथै खुद मुनाफामा ६६ प्रतिशतको उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको बताइएको छ ।
सातदिनभित्र लिखित जवाफसहित उपस्थिति हुन सर्वोच्चको आदेश
काठमाडौं, २३ कात्तिक । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित चारजनालाई एक हप्ताभित्र लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज एकहप्ताभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो । आदेशमा भनिएको छ – “सजाय नगर्नु पर्ने कुनै आधार र कारण भए सातदिनभित्र स्वयम् उपस्थित भई लिखित जवाफ पेस गर्नू ।” म्याद तामेलीमा अवरोध गरेको भन्दै कार्कीसहित उनका ज्वाइँ प्रवल थापा, पूर्व सचिव प्रमोद कार्की र असई नकुल गौतमलाई एकहप्ताभित्र लिखित जवाफ दिन आदेश दिइएको छ । आयोगका निलम्बित प्रमुख आयुक्त कार्कीले अदालतको म्याद तामेलीमा अवरोध पु¥याएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दिएका थिए । सर्वोच्च अदालतले अधिवक्ता अर्यालकै रिट निवेदनमा कार्कीको योग्यतासम्बन्धी फैसला पुनरवलोकन गर्ने फैसला सुनाएको थियो । सोही फैसलाको म्याद तामेलीका लागि गएको टोलीलाई आयुक्त कार्कीका ज्वाइँलगायतको टोलीले अवरोध गरेको थियो । रासस
‘कोका–कोला जिरो’ ब्राण्ड नेपाली बजारमा
काठमाडौं, २३ कात्तिक । कोकाकोला कम्पनीले ‘कोका–कोला जिरो’ नामको पेय पदार्थ नेपाली बजारमा भित्र्याएको छ । विश्वका १५० भन्दा बढी मुलुकमा विक्रि वितरण गरिंदै आएको ‘कोका–कोला जिरो’ नेपालमा भने पहिलो पटक सार्वजनिक गरिएको हो । जिरो सुगर नाम दिइएको कोक जिरोमा स्वादको लागि कोकाकोलाको जस्तै विषेशता रहेको कम्पनीले दावी गरेको छ । कोक जिरोलाई नेपालको १५ वटा प्रमुख सहरहरुमा केन्द्रीत गरी विक्रि वितरण गरिने कम्पनीले जानकारी दिएको छ । कोक जिरो सार्वजनीक कार्यक्रममा बि.आइ.जीका क्षेत्रिय निर्देशक टि.कृष्णकुमारले भने–‘हामी नेपालमा भएको हाम्रो ब्यवसायको दिर्घकालिन भविष्यका लागि निकै आशावादी छौं । सार्क राष्ट्रमा नेपाल हाम्रो प्रमुख बजार पनि हो । र हामीले नेपालमा कोक जिरो उत्पादन गर्नको लागि नेपालमै पूर्वाधार निर्माण गरेका छौं ।’ त्यस्तै कार्यक्रममा उपस्थित कोका–कोला इन्डियाका अध्यक्ष वेङ्कटेश किनिले पनि कोक जिरो सार्वजनिक भएसँगै तिन किसिमका कोकाकोलाको संस्करण नेपाली उपभोक्ताले प्रयोग गर्न सक्ने बताए । उनले भने–‘हामीले नेपाली बजारमा रातो, कालो, र खरानी कलरको ब्राण्डका कोकाकोला उपलब्ध गराएका छौं । सवैखाले उपभोक्ताको चाहना पुरा गर्न पाउँदा खुसी छौं ।’ किनिका अनुसार जब उपभोक्तालाई सुगर भेरिएन्ट आवश्यक पर्छ उनिहरुले रातो रंगको कोकाकोला जस्तै स्वाद भएको कोक जिरो सुगर प्रयोग गर्न सक्नेछन् । कोक जिरो सार्वजनीक कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुमा नायिका प्रियंका कार्की, गायिका इन्दिरा जोशी र गायक सविन राईकोसमेत उपस्थिती थियो । उनिहरुले जिरो कोकको प्रसंसा गर्दै नेपालमा कोक जिरो सार्वजनीक भएकोमा खुसी ब्यक्त गरे । कोका–कोला जिरो नामबाट प्रख्यात यो उत्पादन २० विलियन डलर आम्दानी भएको कोकाकोला कम्पनीको विलियन डलर क्लवमा सवैभन्दा छिटो समावेस हुने ब्राण्डको रुपमा रहेको कम्पनीले जनाएको छ ।
विद्युत् उत्पादन गर्न १९ वटा आयोजनालाई सरकारको अनुमति, कुन कुनले पाए
काठमाडौं, २३ कात्तिक । सरकारले यस वर्षको सात महिनामा विभिन्न १९ वटा जलविद्युत् आयोजनालाई उत्पादनको अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विकास विभागले तत्काल निर्माण प्रक्रिया सुरु गर्न आग्रह गर्दै ८४८ मेगावाट क्षमताका ती आयोजनालाई उत्पादनको अनुमति दिएको हो । अनुमति पाउने आयोजनामा धादिङमा आयोजनास्थल रहेको त्रिशूलीगल्छी आयोजना रहेको छ । सिद्धकाली पावरले निर्माण गर्ने सो आयोजनाको क्षमता ७५ मेगावाट रहेको छ । अपि पावर लिमिटेडको व्यवस्थापनमा सो आयोजना अगाडि बढाउन लागिएको हो । नेपाल विद्युत् प्राधिकरणसँग हिउँदमा आठ रुपैयाँ ८० पैसा र वर्खामा चार रुपैयाँ ८० पैसामा प्रतियुनिट विद्युत् खरिद सम्झौता भएको छ । यस्तै १२७ मेगावाट क्षमताको तनहु सेती जलविद्युत् आयोजनालाई समेत उत्पादनको अनुमति दिइएको विभागले जनाएको छ । त्यस्तै मुस्ताङको कोवाङमा आयोजनास्थल रहने कालीगण्डकी कोवाङ ४०० मेगावाट रहेको छ । सो आयोजना अम्बेस्वर इन्जिनियरिङ हाइड्रो पावरले निर्माण गर्ने आयोजना हो । यस वर्ष अनुमति दिइएका आयोजनामा रामेछापको चौरी खोला पाँच मेगावाट, गोरखाको दरौदी ११० र रसुवाको सान्जेन खोला ७८ मेगावाट छन् । पलाखु खोला पाँच मेगावाट, पलाखु खोला माथिल्लो १४, माथिल्लो बलेफी ३६, लिपिङ खोला १६, तल्लो खोराङ ५, विजयपुर खोला ४, माथिल्लो खोरुङ्गा खोला ७ र माथिल्लो सोलु खोला १८ मेगावाट छन् । त्यस्तै मकारी गाड १० मेगावाट, याम्बालिङ खोला ७, सानो मिल्ती खोला तीन र मादी भोर्लेटार १० मेगावाट छन् । अन्य आयोजनामध्ये केहीको प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएको छ भने केही सम्झौताको चरणमा रहेका छन् । विभागले हालसम्म कुल ११९ आयोजनालाई विद्युत् उत्पादनको अनुमति प्रदान गरेको र त्यसको क्षमता तीन हजार ३१५ मेगावाट रहेको सिनियर डिभिजनल इन्जिनियर बाबुराज अधिकारीले जानकारी दिनुभयो । उत्पादन अनुमतिपत्र दिइएकामध्ये दुई हजार २०० मेगावाट क्षमताका आयोजना निर्माणको क्रममा रहेका छन् । तीमध्ये केही आयोजना निकट भविष्यमा नै सम्पन्न हुने क्रममा छन् । पछिल्लो पटक सरकारले निर्माणको क्रममा रहेका आयोजनालाई शिघ्र सम्पन्न गर्न सहजीकरण गरेका कारण केही आयोजना निकट भविष्यमा नै सम्पन्न हुने प्राधिकरणले विश्वास लिएको छ । रासस