एनसेलले ल्यायो ‘नाईट एसएमएस प्याक’
काठमाडौं, ३२ जेठ । एनसेलले ‘नाईट एसएमएस प्याक’ नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कुनै पनि एनसेलका नम्बरमा हरेक दिन बेलुका १० बजे देखी विहान ६ बजे सम्म मात्र रु ५ (कर बाहेक) मा १०० एसएमएस पठाउन सक्नेछन् । नाईट एसएमएस प्याक असार १० बाट लागु भई ३ महिनाको अवधिसम्म संचालनमा रहने कम्पनीले जनाएको छ । “बढ्दो संचार आवश्यकतालाई ध्यानमा राखी एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकहरुका लागि यो ‘नाइट एसएमएस प्याक’ योजना ल्याएका हौं ” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यसले हाम्रा ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन मद्दत पु¥याउने विश्वास लिएका छौ ।”
होटल क्षेत्रमा लगानी बढेपनि पर्यटक नबढेकोमा हानको चिन्ता
काठमाडौं, ३२ जेठ । होटल संघ नेपालले होटल क्षेत्रमा लगानी बढेपछि विदेशी पर्यटकको संख्या नबढेकोमा चिन्ता व्यक्त गरेको छ । संघका अध्यक्ष बीके श्रेष्ठको नेतृत्वमा गएको व्यवसायीको टोलीले पर्यटन मन्त्री आनन्द पोखरेलसँग यस्तो गुनासो गरेको हो । भेटमा अध्यक्ष श्रेष्ठले वर्तमान परिस्थितिमा होटल उद्योगमा दिन प्रतिदिन लगानी बढेको भएपनि नेपाल भित्रिने पर्यटनको संख्यामा वृद्धि हुन नसकेको बताएका थिए । सरकारले पर्यटन प्रवद्र्धनका लागि विशेष पहल कदमी नगरेमा खरबौं लगानी जोखिममा पुग्ने उनले बताएका थिए । संघले आगामी जुलाई महिनामा चीनको राजधानी बेइजिङ तथा सांघाईमा नेपाल पर्यटन प्रवद्र्धनको कार्यक्रम आयोजना गर्न लागेको पनि जानकारी गराएको थियो । भेटमा त्यस्तै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु खासै हुन नसकेको स्वीकार्दै होटल संघ नेपालले चीनमा आयोजना गर्न लागेको कार्यक्रममा सरकारले सहयोग गर्ने बताएका थिए । सो मेलाले नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सघाउने उनले विश्वास व्यक्त गरेका थिए । भेटमा संघका प्रथम उपाध्यक्ष अमरमान शाक्य, महासचिव विनायक शाह, कार्यसमिति सदस्य प्रविन बहादुर पाण्डे र कार्यकारी निर्देशक प्रवेश अर्यालको सहभागिता रहेको थियो ।
महिन्द्रा जेनेरेटरको नेपालका लागि आधिकारीक वितरक अग्नि ग्रुप
काठमाडौं, ३२ जेठ । महिन्द्रा पाओरल डिजेल जेनेरटरको नेपालका लागि आधिकारीक वितरक अग्नी ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीलाई नियुक्त गरेको छ । महिन्द्रा पाओरल डिजेल जेनेरेटरको आधिकारीक शोरुम अग्नी इनर्जीले गैरीधारा र टेकुमा विशेष कार्यक्रमका साथ उद्घाटनको गरेको छ । महिन्द्रा पाओरल डिजेल जेनेरेटर अब नेपाका विभिन्न स्थानमा छरीएर रहेको अग्नी इनर्जीको आधिकारीक डिलरहरुमा उपलब्ध हुनेछ । महिन्द्रा एण्ड महिन्द्राको दक्षिण एसियाका भाईस प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेश्नल अप्रेशन श्री सन्जय जदाब भन्नुहुन्छ “ नेपालमा पाओरल डिजेल जेनेरेटर व्यवसायका लागि आधिकारीक वितरकका रुपमा अग्नी ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीसँग साझेदारी गर्न पाउदा हामीलाई अतिनै गर्व लागेको छ ।” यस साझेदारीसँगै हालै नियुक्त गरीएका नयाँ डिलर तथा भईरहेका डिलर मार्फत अब हामी नेपालको १२ जिल्ला लगाएत थप जिल्लाका उपभोक्ताहरुमाझ पुग्ने योजनामा छौं । अग्नी ग्रुपसँग हाम्रो २५ वर्षदेखिको पुरानो अन्य व्यवसायीक सम्बन्ध रहदै आएको छ, जसले हाम्रा विश्वासको प्रमाण दिन्छ नेपालमा एक साथ काम गर्ने र ग्राहकाबर्गमा राम्रो सेवा प्रदान गर्न र अघि बढ्न सक्षम भएका छौं । अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ भन्छन्, “नेपालमा पाओरल डिजेल जेनेरेटर ७.५ केभिए देखि २०० केभिए सम्म उपलब्ध छ । यसको मूख्य विशेषता भनेको इन्धन कम खपत गर्ने र मितव्यी छ । साथै कम्पनीले ग्राहाकहरुले पूर्ण सर्भिस सेन्टर उपलब्ध गराउने छ, चुस्तरुपमा ग्राहाकको स्थानमा पुर्याइने छ भने खरिदका लागि सजिलैसँग कर्जाको पनि उपलब्ध गराउने बताएको छ ।
अब युवा होइन नेपाली उत्पादनको निर्यात गर्छाैः मन्त्री पाण्डे
भक्तपुर , ३२ जेठ । उद्योग मन्त्री सोम प्रसाद पाण्डेले दश वर्ष भित्रमा युवा शक्ति नभएर युवाले उत्पादन गरेका सामाग्री विदेश निर्यात गर्ने घोषणा गरेका छन् । त्यसका लागि सरकारले आवश्यक तयारी गरिसकेको पनि उनले बताए । रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्देै मन्त्री पाण्डेले भने–मुलुकको सबै प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी नेपाली उत्पादनलाई प्राथामिकता दिँदै नेपालमै रोजगारीको वातावरण निर्माणमा गरी युवालाई बिदेश होईन उनीहरुले उत्पादन गरेको वस्तु बिदेश पठाउन सफल हुने बताएका हुन । पछिल्लो समयमा सबै राजनीतिक दलहरुको प्रमुख एजेन्डा आर्थिक बिकास हुनु राम्रो भएता पनि देशलाई आर्थिक समृद्धि तर्फ लान औद्योगिक बिकासबिना असम्भव रहकाले सबैभन्दा पहिला प्राथामिकता औद्योगिक बिकास भएकाले वर्तमान सरकार औद्योगिक बिकासमा केन्द्रित बनेको पाण्डेले बताए । सात प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको लागि जग्गा अधिग्रहण कार्य भइरहेको भन्दै मन्त्री पाण्डेले १ नं. प्रदेशको झापामा बन्ने औद्योगिक क्षेत्रको विकाशको लागि लगानी गर्न चीन र कोरिया तयार रहेको भन्दै कुरो भन्दा कामको शैलिले तिब्रता पाएको बताए । सात प्रदेशमा बिस्ता हुन लागेका औद्योगिक क्षेत्रमा नेपालमा उत्पादित कच्चा पदार्थबाट निर्माण हुने वस्तुहरुलाई पहिलो सूचीमा राखेको र हस्तकलाबाट निर्मित वस्तुको प्र्रबद्र्धन गर्दैै बुहुराष्ट्रिय कम्पनीहरुको लगानीलाई समेत समेट्दै औद्योगिक क्षेत्रको बिस्तारमा अघि बढेको बताए । दैलेखबाट सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खनन्सँगै अन्य स्थानमा रहेका इन्धन खानीको उत्खनन गरि व्यवसायिकरुपमा उत्पादन गर्ने र तिन वर्षभित्र मुलुकमा रहेका सबै खनिजजन्य पर्दाथको उत्खनन् कार्य सकिने भन्दै मन्त्री पाण्डेले नेपालको १० स्थानमा उक्त कार्य जारी रहेको बताए । सरकार परिवर्तनतको बिषय हल्ला मात्र भएको भन्दै सरकार परिवर्तन २०७४ माघ सम्म कसैले चाहेर पनि नहुने यदि यसो भएमा संबिधान नै संसोधन गर्नु पर्ने टिप्पणी गरे । संविधानको धारा २ सय ९८ अनुसार सरकार बनेकाले गठबन्धनको एक दल मात्र बाहिरे पनि देशमा संवैधानिक संकट आउन सक्ने मन्त्री पाण्डेले बताए ।
टाटा मोटर्सको टेक्निकल ट्रेनिङ्ग सम्पन्न
काठमाडौं, ३२ जेठ । इन्डियाको प्रख्यात अटोमोबाइल कम्पनी टाटा मोटर्स् र नेपालका लागि टाटा मोटर्स्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को संयोजकत्वमा हालै बिर्तामोडको होटल हेभेनमा ड्राइभरहरुका लागि टेक्निकल ट्रेनिङ्ग सम्पन्न भएको छ । आफ्ना ग्राहकहरुलाई उपयुक्त तरिकाले गाडीहरु सञ्चालन गरि बढी भन्दा बढी आय आर्जन गर्नका लागि प्रेरित गर्ने उद्देश्यले उक्त ट्रेनिङ्ग सञ्चालन गरिएको कुरा कम्पनीले जानकारी गराएको छ । साथै उक्त कार्यक्रममा समान्य गाडी मर्मतका तरिकाहरु र टाटा मोटर्स्को सेवाप्रति ग्राहकहरुको प्रतिक्रियाको बारेमा समेत छलफल गरिएको थियो ।
नक्कली प्रमाण पत्र धारी प्रहरी विरुद्ध मुद्धा
काठमाडौं, ३२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्क्ली प्रमाण धारी प्रहरी अधिकृत विरुद्ध मुद्धा दायर गरेको छ । आयोगले पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्राविधिक प्रहरी नायव निरीक्षक डम्बर बहादुर बस्नेतले सुरु नियुक्ती प्रयोजनको लागि पेश गरेको बिहार इन्टरमिडीयट शिक्षा परिषद पटनाको नक्कली प्रमाण पत्र पेश गरेको प्रमाण फेला परेपछि बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । नउले सन १९९३ मा आईए तह उत्तिर्ण गरेको प्रमाण पत्र पेश गरेका थिए ।
मर्जर कमिटिद्धारा पाँच वटा संस्थाको सेयर स्वाप रेसियो पारित, एनसीसी र कुमारी बैंकको बराबर
काठमाडौं, ३२ जेठ । संयुक्त मर्जर कमिटिले एनसीसीसँग गाभिन लागेको पाँच वटा सस्थाको रेसियो पारित गरेको छ । कमिटिद्धारा एनसीसी र कुमारी बैंकको सेयर स्वाप रेसियो १ बराबर १ हुने छ । अन्य चार वटा विकास बैंकको भने केही थोरै सेयर स्वाप रेसियो हुने भएको कमिटिले जनाएको छ । मर्जरमा जान लागेका मध्ये एनसीसीको सेयरलाई आधार बनाएर सम्पत्ति तथा दायित्वको विस्तृत अध्ययन प्रतिवेदन (डिडिए रिपोर्ट) तयार गरिएको थियो । डिडिएले कुमारीलाई ९९.३१, एपेक्सलाई ४७.३९, इन्फ्रास्टक्चर डेभलपेन्ट बैंकलाई ७६.९४, इन्टरनेशनल डेभलपमेन्ट बैंकलाई ७२.७७ र सुप्रिम डेभलपमेन्ट बैंकलाई ७६.०५ कित्ता सेयर दिन सिफारिश गरेको थियो । मर्जर कमिटिले दसमलव पछि आएको अंकलाई एक कित्ता दिनेगरी निर्णय गरेको हो । यसले गर्दा कुमारी र एनसीसी बैंकको सेयर स्वाप रेसियो बराबर अर्थात सय कित्ता बराबर सय नै भएको हो । यो रेसियो अनुसार एपेक्सका लगानीकर्ताले सयको ४८, इन्फ्रास्टक्चरका लगानीकर्ताले ७७, इन्टरनेशनल डेभलपमेन्टका लागनीकर्ताले ७३ र सुप्रिमका लगानीकर्ताले ७७ कित्ताका दरले सेयर पाउँने छन् । संयुक्त मर्जर कमिटिको निर्णयमा एपेक्सको सञ्चालक समितिले भने असहमति जनाएको छ । स्वाप रेसियोमा धेरै कम सेयर प्राप्त हुने भएपछि यो बैंकको सञ्चालक समितिले असहमति जनाएको मर्जर कमिटि सम्वद्ध स्रोतले बतायो । एपेक्सले असहमति जनाएपनि स्वाप रेसियो परिवर्तन नगर्ने अडानमा मर्जर समिति छ । ‘मर्जको प्रक्रिया रोकिँदैन, स्रोतले भयो, हामी कात्तिकमा एकिकृत कारोबार गर्छौ ।’ मर्जर कमिटिले नेपाल राष्ट्र बैंकमा कात्तिकसम्मको म्यादका लागि पत्र बुझाउँदै छ । असारसम्म मर्जर सक्नुपर्ने सर्त सहितको सौद्धान्तिक सहमति यी संस्थाहरुलाई राष्ट्र बैंकले दिएको थियो । असारसम्म सबै काम नसकिने भएपछि कात्तिक सम्मको म्याद दिन राष्ट्र बैंकले आग्रह गरेको हो । यी संस्थाहरुले असार भित्रै विशेष साधारण सभा गर्ने तयारीमा छन् । डिडिए गर्दा गैरबैंकिङ सम्पती धेरै भएको एनसिसी बैंकको सम्पतिको मूल्यांकन केही घटाएर गरिएको छ । एनसिसीको नाममा आएको हरिसिद्धि ईटा उद्योगको जग्गाको मूल्य करिव एक अर्ब रुपैयाँलाई घटाएर ५० करोडको हाराहारीमा गणना गरिएको छ ।
१०औँ इक्यान शैक्षिक मेला सम्पन्न, करिब १ लाख ५१ हजारद्धारा अवलोकन
काठमाडौं, ३२ जेठ । राजधानीमा चार दिन देखि जारी १०औ इक्यान शैक्षिक मेला सम्पन्न भएको छ । मेलामा १ लाख ५१ हजार जनाले अवलोकन गरेका छन् । शुक्रबारबाट राजधानीको भृकुटिमण्डपमा सुरु भएको १०औँ इक्यान शैक्षिक मेलाको चौथो तथा अन्तिम दिन सोमबार पनि ३७ हजार जनाले अवलोकन गरेका छन् । कम्पनीका अनुसार यसअघि आइतबार ३७ हजार, शनिबार ५२ हजार र पहिलो दिन २५ हजारले मेला अवलोकन गरेका थिए । मेलाको अन्तिम दिन पनि अरु दिनझै बिभिन्न क्षेत्रका व्यक्तित्वहरुले पनि अवलोकन गरेका थिए । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व स्थानिय विकासमन्त्री राजेन्द्र पाण्डे, एमाले सचिव योगेश भट्टराई, एमाले नेता ठाकुर गैरे, सांसदहरु रामहरी खतिवडा, उदयसम्ेशर राणा, अनेरास्ववियूका अध्यक्ष नविना लामा, नेविसंघका नेता जितजंग बस्नेतका साथै विभिन्न क्षेत्रका अन्य व्यक्तित्वहरुले मेला अवलोकन गरेका छन । मेला अवलोकन गर्ने क्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ज्ञान आर्जन गर्न विद्यार्थीहरु संसारको कुनैपनि मुलुक पुगेपनि आफुले आर्जन गरेको ज्ञान र सिप नेपाल नेपालमै खर्च गर्न विद्यार्थीहरुलाई आह्वान गरेका छन् । यस्तै पूर्व स्थानिय विकास मन्त्री राजेन्द्र पाण्डेले नेपालबाट विद्यार्थी पठाउने मात्रै होइन नेपाल भित्र बिधार्थी भित्र्याउन पनि इक्यानले भुमिका खेल्नुपर्ने बताएका छन् । चार दिन सम्म चलेको उक्त मेलामा करिअर काउन्सिलिङका लागी कोशे ढुङ्गा सावित हुने इक्यानले जनाएको छ । व्यवसायीहरुको व्यवसायीक पवद्र्धन र विद्यार्थीहरु अविभावकले पाउनुपर्ने सुचना एकिकृत ढंगले प्रदान गर्न सफल भएकाले मेलाको उदेश्य पुरा भएको अध्यक्ष प्रकाश पाण्डेले बताए । यस्तै यसपटकको सहभागीता आफुहरु उस्ताहित र यसले आगामि दिनमा यसप्रकार थप मेला आयोजना गर्न उर्जा मिलेको मेला आयोजक समितिका संयोजक रमेश वाग्लेले बताए । मेलामा २ सय २५ स्टल र १७ पेविलियन गरि जम्मा २ सय ४२ स्थान बाट परामर्श व्यवसायीहरुले मेलामा सहभागी बिधार्थी तथा अविभावकहरुलाई परामर्श दिएका थिए । यस मेलामा ५० भन्दा बढि गन्तव्यका लागी ८० भन्दा बढि शैक्षिक संस्थाहरु तथा १ सय भन्दा आधिकारिक परामर्श व्यवसायीहरुको सहभागीता रहेको संस्थाले जनाएको छ ।