हाम्रो विकास बैंकको कार्यकारी प्रमुखमा नयाँ सिईओ
पारसराज कँडेल काठमाडौं, २७ असार । हाम्रो विकास बैंकले पारसराज कँडेललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । उनी यसअघि सीभिल बैंकमा मेनेजर थिए । भारतको इन्स्टिच्यूट चार्टर्ड एकाउण्टबाट सिए गरेका कँडेल विभिन्न कम्पनीका अडिट गर्ने, पढाउने, कन्सल्टेन्सि सेवा जस्ता कार्य गर्दै आएका थिए । यसअघि हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका कपिल ढकालले असार २६ गते राजीनामा गरेका छन् । उनको राजीनामा साउन ७ गतेदेखि लागू हुने गरि स्वीकृत गरिएको र सोही मितिबाट लागू हुने गरि कँडेललाई नियुक्त गरिएको बैंकले जनाएको छ । नयाँ सिईओ नियुक्तीपछि हाम्रो विकास बैंकको व्यवस्थापनमा असन्तुष्टि देखिएको छ ।
चार बैंक तथा वित्तीय संस्थाको ७२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, २७ असार । सोमबार चार वटा बैंक तथा वित्तीय संस्थाको करिव ७२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंक अफ काठमाण्डू, वेष्टन डेभलपमेनट बैंक, गण्डकी विकास बैंक, देब विकास बैंकको बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । बैंक अफ काठमाण्डूको ५५ लाख १२ हजार ५५२ कित्ता, गण्डकी विकास बैंकको ८ लाख ९ हजार ६०० कित्ता, देव विकास बैंकको ६ लाख २९ हजार ९३२ कित्ता र वेष्टर्न डेभलपलपमेन्ट बैंकको २ लाख ६१ हजार ६०० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
पुँजी बजारमा २० अंकको गिरावट, बीमा कम्पनीहरुको मूल्य सबैभन्दा बढी घट्यो
काठमाडौं, २७ असार । सोमवार नेप्से परिसूचिक २० अंकले घटेको छ । आईतबार १७२२ अंकमा रहेको नेप्से सूचक सोमवार २०.२६ अंकले तल झरेर बन्द भएको हो । सोमबार सबैभन्दा बढी बीमा समूहको परिसूचक २१८ अंकले घटेको छ । उद्योग समूहबाहेक सबै समूहको मूल्य घटेको छ । पोखरा फाइनान्स, बागबेली लघुवित्त, सगरमागा इन्स्योरेन्स, सिनर्जी फाइनान्स, आरएमडीसीका सेयरधनीले सोमबार सबैभन्दा बढी गुमाएका छन् । बोटलर्स नेपाल, सिद्धार्थ बैंक, माछापुच्छ«े बैंक, जनता बैंकका सेयरधनीले सबैभन्दा बढी आर्जन गरेको छन् । मजर टुटेपछि कारोबार खुला भएको माछापुच्छ« बैंकको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले र जनता बैंकको सेयर मूल्य प्रतिकित्ता ३७ रुपैयाँले बढेको छ । विजनेश यूनिभर्सल बैंक मर्ज भएपछि खुलेको सिद्धार्थ बैंकको सेयर मूल्य प्रतिकित्ता ५९ रुपैयाँले बढेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति ल्याउने अन्तिम तयारी गरिरहेको समयमा केन्द्रीय बैंकसँग सम्वन्धित तीन उप सूचकहरु ओरालो लागेका छन् । बैंक सूचक ७.४२ अंक, विकास बैंक २७.७७ अंक र फाइनान्स ६.३८ अंकले तल झरेका छन्। सोमवार कुल ९१ करोड ४२ लाख रुपैयाँको मात्रै सेयर कारोवार भएको छ । यसअघि बजारमा नियमित एक अर्व माथिको कारोवार भैरहेको थियो । सोमबारको गिरावट असार महिनामा भएको सबैभन्दा ठूलो गिरावट हो ।
पूँजी बजार अघि बढाउन धितोपत्र बोर्डका एक दर्जन योजना, सरोकारवालाले यस्तो दिए सुझाव
काठमाडौं, २७ असार । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७३/७४ मा पुँजी बजारलाई अघि बढाउन भन्दै एक दर्जन योजना अघि सारेको छ । बोर्डले सोमबार पुँजी बजारका सरोकारवाला निकायहरुहरुलाई साक्षी राख्दै आगामी आर्थिक वर्षको योजना सार्वजनि गरेको हो । बोर्डका निर्देशक निरज गीरिले कार्यपत्रका रुपमा अघि सारेका योजनाहरुमा सेयर बजारका लगानी कर्ता, विकास बैंक संघका अध्यक्ष, नेप्सेका महाप्रबन्धक, नेपाल उद्योग बाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका प्रतिनिधीहरुले सुझाव दिएका थिए । बोर्डले आफ्नै संस्थागत विकास, नियमन र अनुगमनको बढोत्तरी गर्ने, सर्वसाधारणको पुँजी बजारमा पहुँच अभिवृद्धि गराउने, नेपाल स्टक एक्सचेञ्ज र सिडिएसको संस्थागत पुनसंरचना(निजीकरण), प्राथमिक तथा दोश्रो बजार निष्काशनको कारोबार लागत घटाउने लगायतका योजना अघि सारेको छ । त्यस्तै, रियल सेक्टरलाई सूचिकृत गराउने, पुँजी बजारमा संस्थागत लगानी कर्ता(नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष)लाई भित्र्याउने, ओटिसी मार्केटलाई थप व्यवस्थित गर्ने, सेटलमेन्ट ग्यारेण्टी फण्डको कार्यान्वयन, धितो पत्र तथ्यांक व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्ने, कम्पनीहरु सूचिकृत हुने र बाहिरिने प्रक्रियालाई सहज बनाउने योजना बोर्डले अघि सारेको हो । त्यस बाहेक सूचिकृत जलविद्युत कम्पनीहरुले निर्माण गरेका जलविद्युत आयोजनाको लाइसेन्स ३० बर्षपछि सकिने व्यवस्थाका बारेमा पनि आगामी आर्थिक वर्षमा बहस गर्ने जनाएको छ । कार्यक्रममा विकास बैंक एसोसियनका अध्यक्ष कृष्णराज लामिछानेले मर्जरमा गएका बैंकहरुको सेयर कारोबार रोक्नु नहुने बताएका थिए । उनले मर्जरमा जाने कम्पनीहरुको सेयर कारोबार छ सात महिना रोक्का गर्न नहुने बताउँदै त्यसलाई सक्दा खारेज गर्नुपर्ने नभएपनि समय घटाउनु पर्नेमा धारणा राखेका थिए । इन्भेष्टर्स फोरमका अध्यक्ष आत्मराम घिमिरेले इन्भेष्टर्स आइडी कार्ड कार्यान्वयन गर्नु पर्ने, ब्रोकर कमिसन घटाउनु पर्ने, रियल सेक्टरलाई पुँजी बजारमा भित्र्याउनु पर्ने तथा एनआरएन प्रवेशलाई सहज बनाउनु पर्नेमा जोड दिए । नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक सिताराम थपलियाले एनआरएनलाई लगानीको व्यवस्था गर्न कानुन बाधक रहेको बताएका थिए । महाप्रबन्धक थपलियाले कमजोर कानुनी व्यवस्थाका कारण इनसाइडर ट्रेडिङ रोक्न नसकिएको बताए । त्यस्तै तत्कालै नेप्सेलाई निजिकरण गर्नुपर्ने थपलियाको धारणा थियो । उनले इन्भेष्टर्स आइडी बनाउन नेप्से तयार रहेको समेत बताएका थिए । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले बलियो इच्छाशक्ति भएमा धेरै काम गर्न सकिने बताउँदै आफु काम गर्ने योजना सहित बोर्डमा आएको बताए । उनले दक्षिण एसियामै नेपालको पुँजी बजार कमजोर रहेको बताउँदै त्यसलाई माथी उठाउने दायीत्व सबै मिलेर पुरा गर्नुपर्ने धारणा राखेका थिए ।
बनेपा र दमौलीमा ग्लोबल आइएमई बैंकको एटीएम सेवा, देशभरमा ९९ एटीएम
काठमाडौं, २७ असार । ग्लोबल आइएमई बैंकले बनेपा शाखा र दमौली शाखामा एटिएम सेवा थप गरेको छ । बनेपा शाखा र दमौली शाखामा थप गरिएका एटिएम संगै अब बैंकको एटिएम सञ्जाल ९९ पुगेको बैंकले जनाएको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ४० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
सिटी मनी ट्रान्सफर १० औं वर्षमा, गभर्नरले उद्घाटन गरे कम्पनीको नयाँ भवन
काठमाडौँ, २७ असार । सिटी एक्सप्रेस मनी ट्रान्सफर १० औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले १० वर्षे यात्रामा कमलादीमा आफ्नै भवन बनाउन समेत सफल भएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफर अब आफ्नै भवनमा सरेर कारोबार गर्ने कम्पनीका रुपमा स्थापित भएको हो । सिटी एक्सप्रेस कम्प्लेक्स नामाकरण गरिएको नयाँ भवनको सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरेका हुन् । कार्यक्रममा सिटी एक्स्प्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले भने,“यही १० वर्ष पुगेको शुभ उपलक्ष्यमा अब हामी कमलादीस्थित आफ्नै भवनमा सरेका छौँ । नयाँ भवन, सजिलो पहुँचका साथै हाम्रा मिहिनेती कर्मचारीहरूबाट अब हामीले आफ्नो सेवालाई झन् प्रभावशाली बनाई उत्कृष्ट सेवा प्रदान गर्नमा कुनै कसर बाँकी राख्ने छैनौँ र देशभरिका जनतालाई भरपर्दो सेवा दिन तत्पर हुनेछौँ ।” कार्यक्रममा बोल्दै प्रमुख नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भन्ने,“हाल नेपालको अर्थतन्त्रमा रेमिटान्सको भूमिका ज्यादै नै महत्वपूर्ण रहेको छ । गैरकानुनी तवरले हुण्डीका मार्फत् नेपालमा भित्रिने क्रमलाई तोड्न नेपाल सरकारलाई मद्दत गर्नुमा सिटी एक्सप्रेसजस्ता कम्पनिहरूको महत्वपूर्ण हात छ । म सिटी एक्सप्रेसलाई १०औँ वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।” यसैबिच सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १० औँ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादीस्थित आफ्नै भवन, सिटी एक्सप्रेस कम्प्लेक्समा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सिटी एक्सप्रेसका ५० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको उक्त रक्तदान कार्यक्रमबाट सङ्कलन गरिएको रगत नेपाल ब्लड बैंकलाई हस्तान्तरण गरिएको थियो ।
तीस हजार भूकम्प पीडितले पाए घर बनाउन ५० हजार
काठमाडौं, २७ असार । ३० हजार भूकम्प पीडितले घर बनाउन सरकारले उपलब्ध गराउने पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका अनुसार असार २६ गतेसम्ममा ३० हजार २ सय ६५ परिवारले निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम प्राप्त गरेका हुन् । उनीहरुको बैंक खातामा जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले सो रकम राखिदिएको हो । त्यसै गरि हालसम्म २ लाख ३३ हजार ९ सय ८४ घरधुरीसँग अनुदान सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले साउन मसान्तभित्रै सबै भूकम्प पीडितलाई पहिलो किस्ताको रकम उपलब्ध गराईसक्ने योजनासहित काम गरिरहेको जनाएको छ ।
सार्कमा दोहोर कर मुक्ति दिलाउन काठमाडौंमा सेमिनार, पाकिस्तान सहभागि भएन
काठमाडौं २७ असार । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौता सम्बन्धी तीन दिने सेमिनारको काठमाडौंमा शुरु भएको छ । सार्कका सात देश र सार्क सचिवालयका प्रतिनिधिहरु सम्मिलित उक्त सेमिनारमा पाकिस्तान सहभागि भएको छैन । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले असार २७ गते सोमवार गरेको उक्त सेमिनार बुधवारसम्म संचालन हुनेछ । सेमिनारको उद्घाटन गर्दै महानिर्देशक शर्माले अहिलेको विश्वव्यापीकरणको युगमा सीमा विहिन वित्तीय कारोवारहरुले ल्याएका अवसर र चुनौतिहरुको सम्बोधन साझा प्रयासबाट हुने बताए । सार्क देशका राम्रा अभ्यासहरुको साथै समस्याहरुको आदान प्रदानले कर छलि तथा वित्तीय अपराध नियन्त्रण गर्न मद्दत गर्ने बताए । यस्ता सेमिनारले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउदै लैजाने बताउनुहुदै कर तथा वित्तीय छल कुनै देशको एकल प्रयासबाट सम्भव नहुने भएकाले सामूहिक प्रयासहरु अगाडि बढाउन जरुरी रहेको बताए । यस दिशामा कर सम्बन्धी सन्धि सम्झौताको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुहुंदै लगानीमैत्री वातावरण निर्माणमा यसले थप सहयोग पु¥याउने बताए । कार्यक्रममा सार्क सचिवालयकी निर्देशक एल. सावित्रीले यस्ता सेमिनारले सदस्य राष्ट्रको कर प्रशासनमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, उत्कृष्ट अभ्यासको आदान प्रदानले एक अर्काबीचको सन्धि सम्झौताको कार्यान्वयनमा थप सहजता ल्याउने बताइन् । उनले यस्ता सम्झौताहरुले देशहरुबीचको कुटनीतिक तथा आर्थिक सम्बन्ध समेतलाई थप मजबुत बनाउने बताउनुहुँदै यस क्षेत्रमा क्षेत्रीय लगानी सम्बन्धी सम्झौताको टड्कारो आवश्यकता महसुश गरिएकोले सोको तयारी भैरहेको समेत बताइन् ।