प्रभु बैंकको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा
काठमाडौं, ११ साउन । प्रभु बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा स्थापना गरेको छ । नेपाल र चिनबिचको नयाँ व्यापारिक नाकाका रुपमा अघि सारिएको रसुवागढी नाकालाई मध्यनजर गर्दै शाखा खोलिएको बैंकले जनाएको छ । सो शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले उद्घाटन गरेका थिए । गत वर्षको भुकम्पका कारण अतिप्रभावित जिल्ला रसुवामा बैंकको शाखा विस्तार भएकापछि सो क्षेत्रमा आर्थिक गतिबिधी बढाउन समेत सहयोग पुग्ने, पिडीतहरुलाई सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध हुने राहत रकम बैंक मार्फत भुक्तानी गर्न सहज हुनेछ । रसुवा जिल्लाको स्याफ्रुवेशी चिनसँग जोडिएको प्रमुख व्यापारिक नाका हो । बैंकको शाखा कार्यालय स्थापना भएपछि व्यापारिक प्रयोजनका लागि सहज हुनुका साथै बैंकको शाखा कार्यालयबाट उपलब्ध हुने बैंकिङ्ग कारोबारले सो क्षेत्रमा व्यापारिक गतिविधि समेत बढाउने बैंकले जनाएको छ ।
भेरिजोनले किन्यो इन्टरनेट जाइन्ट याहु ४.८३ विलियन डलरमा
काठमाडौं। अमेरिकी इन्टरनेट जाइन्ट कम्पनी याहु विक्रि भएको छ। अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार अमेरिकी ब्रोडव्याण्ड इन्टरनेट सेवा दिने कम्पनी भेरिजोनले याहुलाई ४.८३ बिलियन अमेरिकी डलरमा किनेको जनाएको छ। भेरिजोननले आफूले लिलाम बढाबढमा याहु किनेको पुष्टि गरेको छ। सोमवार घोषणा गरिएको एक कार्यक्रममा किनवेचका लागि दुई कम्पनीविच गत हप्तादेखि छलफल भएको जनाइएको छ। अमेरिकी कम्पनी याहुले गत फेब्रुअरीमा आफूहरु स्ट्राटेजिक विकल्पको खोजीमा रहेको बताएको थियो। केही वर्षदेखि याहुलाई समसामायिक हिसाबमा अघि बढ्न नसकेको आरोप लाग्दै आएको थियो । गत हप्ता एक रिसर्च रिपोर्टले याहु ४ सय ४० मिलियन डलर घाटामा रहेको देखाएको थियो भने यहि स्थितिमा रहे कम्पनी डुब्ने खतरामा रहेको चेतावनी विभिन्न रिसर्चले देखाएको थियो।
त्रिकोण एडभर्टाईजिङ्ग आफ्नै भवनमा
काठमाडौं, १० साउन । त्रिकोण एडभर्टाइजिङ्ग सर्भिस आफ्नै नवनिर्मित भवनमा सरेको छ । यस अघि सानो गौचरणस्थित चार्टर टावरमा सञ्चालन कम्पनी अब बालुवाटार(सुवर्ण समशेर मार्ग) मा आफ्नै भवनमा सरेको हो । त्रिकोण एडभर्टाइजिङ्ग सर्भिस विगत तीन दशकदेखि विज्ञापन व्यवसाय सञ्चालन गर्दै आएको पुरानो एजेन्सीहरु मध्येको एक हो । देशका सरकारी निकाय, प्रमुख व्यापारिक तथा औद्योगिक समूहहरु, बैंक तथा वित्तीय संस्थाहरु तथा गैरसरकारी संस्थाहरुलाई विज्ञापन सेवा उपलव्ध गराई आएको एजेन्सीले हालका वर्षहरुमा विदेशी कम्पनीहरुलाई पनि सेवा दिँदै आएको छ । कम्पनीका प्रवन्ध निर्देशक राजेन्द्र अर्यालले एजेन्सीले आफ्नो सेवा सुबिधालाई नयाँ ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
ज्योति बिकाश बैंक नौं औं बर्षमा, नाफा १३ करोड
काठमाडौं, १० साउन । ज्योति बिकाश बैंक नौं औं वर्ष प्रवेश गरेको छ । नौं औं वर्ष प्रवेशसँगै बैंकले आफ्नो सेवालाई थप विस्तार गर्दै गुणस्तरिय बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । २०६५ साल साउन ९ देखि स्थापित जाजरकोट र खोटाङ लगाएत २४ वटा शाखा तथा विस्तार गरिसकेको छ । बैंकको देवघाटमा एक्स्टेन्सन काउन्टरसहित देशभर ९ वटा एटिएम संचालनमा छन् । बैंकले झिमरुक बिकाश बैंकसंगको मर्जर प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । मर्जरपछि बैकको शाखा सञ्जाल वृद्धि भई २९ पुग्ने छ । साथै , बैंकको सञ्जाल देश व्यापी रुपमा सातै प्रदेशमा पुर्याउने योजनाका साथ उपयुक्त स्थानहरु पहिचान गरि थप शाखा सञ्जालहरु वृद्धि गरिने बैंकल जनाएको छ । बैंकले इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, टेलिफोन तथा मोबाइलको बिल भूक्तानी सेवा, एबिबिएस सेवा तथा एटिएम कार्ड मार्फत जारी गर्ने समेत योजनामा बनाएको छ । बैंकले असार मसान्तसम्म ६५,५०० हजार निक्षेपकर्ताको ७ अर्व ६७ करोड निक्षेप संकलन भएको छ । करिब ३,८०० ऋणीहरु मार्फत ६ अर्व ६ करोड कर्जा लगानी गरेको छ । त्यस्तै बैंकले २१ करोड १० लाख संचालन मुनाफा आर्जन गरी खुद मुनाफा १३ करोड ४३ लाख आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्व ५० करोड पूँजी पुर्याउने उदेश्य राखेको छ ।
ओली सरकारले २८८ दिनमा के के गर्यो ?
काठमाडौं, १० साउन । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली २०७२ असोज २४ गते प्रधानमन्त्री बनेका थिए । त्यसको ठिक २८८ दिन अर्थात २०७३ साउन ९ गते उनले राजीनामा गरे ।अक्सर राजनीतिज्ञ सत्ता च्युत हुँदा अलोकप्रियताको शिकार बन्छन तर ओली त्यस्ता प्रधानमन्त्री बने जो सत्ता आरोहणका समयमा पनि लोकप्रियताको शिखरमा थिए भने सत्ता छाड्दा पनि त्यत्तिकै लोकप्रिय बन्न सफल भए । ओलीले उल्लेख्य केहि काम गरेनन तर उनको कार्यकालमा बिर्सन लायक काम पनि केहि भएन् । राष्ट्रवाद र स्वाधिन अर्थतन्त्र केन्द्रित उनका अभिव्यक्तिहरुले ओलीको लोकप्रियता उचाईमा पुर्यायो र त्यो घट्न नपाउँदै उनले सहज सत्ता हस्तान्तरणको मार्ग प्रशस्त गरे । के सस्ता भाषणले मात्रै ओलीको लोकप्रियता बढेको हो त ? ओलीले सपना देखाए तर सपना साकार हुने समयसम्म उनी सत्तामा बस्न पाएनन् । अर्काे एक वर्ष सत्तामै रहेको भए ओलीले देखाएका सपना पुरा नहुने र उनी अलोकप्रिय बन्ने प्रबल सम्भावना थियो । तर ओली लोकप्रियताको शिखरमै हुँदा सत्ताबाट बाहिरिए । २८८ दिन प्रधानमन्त्री बनेका केपी ओलीले राष्ट्रियता र स्वाधिन अर्थतन्त्रका पक्षमा ठुलो जनमत तयार पारे । भारत भ्रमणका समयमा देशलाई हानी पुग्ने कुनै सम्झौता गरेनन् । बरु बिशाखा पटनम र फुलबारी बन्दरगाह पुग्ने बाटो खोलेर फर्किए । भारतसँगका असमान सन्धि सम्झौताहरुको पुनरावलोकनका लागि प्रस्ताव अघि सारेर फर्किए । ओलीको चीन भ्रमण पनि सम्झन लायक नै बन्यो । उनले चीनियाँ बाटो हुँदै समुन्द्रसम्म पुग्न सकिने गरि स्वतन्त्र पारवाहन सन्धिमा हस्ताक्षर गरे । चीनसँग इन्धन खरिद गर्दै इन्धनमा कायम रहेको भारतीय एकाधिकार तोड्ने उद्घोष गरे । त्यति मात्रै होइन केरुङ हुँदै रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेल वे सेवा विस्तार गर्ने योजना अघि सारे । त्यसलाई बजेटमै प्राथमिकताका साथ प्रस्तुत पनि गरे । काठमाडौं–निजगढ फास्ट ट्रयाक आफैं बनाउने घोषणासहित बजेटमा उच्च प्राथमिकता दिए । १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पनि बजेट बिनियोजन गरे । चिनियाँ नाका पुग्ने सडक पुर्वाधारको तिब्रगतिमा विकास गर्दै अन्तराष्ट्रिय व्यापारमा भारतीय अधिपत्यको अन्त्य गराउने कार्यक्रम अघि सारे । रणनीतिक महत्वको निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण आरम्भ गर्नका लागि पनि बजेटमा उच्च प्राथमिकता दिए । तराई मधेशको विकासका लागि यथेष्ठ रकम विनियोजन गरे । तराई मधेशका जिल्ला सदरमुकामहरुको व्यवस्थित शहरीकरणका लागि ५० करोडको अतिरिक्त बजेट उपलब्ध गराए । वृद्ध भत्ता बढाएर जेष्ठ नागरिक तथा सामाजिक सुरक्षाको परिधीभित्र पर्ने समुहको मन जित्ने प्रयास गरे । कर्मचारीको तबल वृद्धि गरेर राष्ट्र सेवकहरुको मनोबल उच्च बनाउने प्रयत्न गरे । पत्रकारलाईका न्युनतम पारिश्रमिक वृद्धि गरे । मृगौला पीडित तथा क्यान्सर रोगको उपचारमा सहजता दिलाउने बजेटमै व्यवस्था गरे । क्लिन फिडको निती कार्यान्वयन गरेर नेपालमा हुने विदेशी विज्ञापनको अधिकृत प्रवेश निषेध गराए । रेडियो फ्रिक्वेन्सी नीति ल्याएर सरकार ढुकुटी मजबुत बनाउन एउटा इँटा थप्ने काम गरे । त्यति मात्रै होइन नेपालको सुरक्षा व्यवस्थालाई बलियो बनाउन सुर्खेत र धनकुटामा सेनाका लागि एयर बेस बनाउने कार्यक्रम समेत अघि सारे ।
मारुती सिमेन्टको मनसुन अफर, बुलेट बाइकमा शानको सफर
काठमाडौं, १० साउन । मारुती सिमेन्टले मनसुल अफर ल्याएको छ । सिमेन्टको बजार बढाउने उदेश्यसहित ल्याइएको अफरको नाम मारुती सिमेन्टको सबै भन्दा ठुलो अफर बुलेट बाइकमा शानको सफर राखिएको छ । अफर अनुसार प्रत्येक १५ बोरा सिमेन्टको खरिदमा एउटा स्क्र्याच कुपन प्राप्त हुनेछ । सो कुपन स्क्र्याच गरि हरेक कुपनमा अनेक उपहार प्राप्त गर्न सकिनेछ । उपहारमा चाँदीका सिक्का, मोबाइल फोन, सपिङ भौचर र हरेक १५ बोरामा प्रति बोरा १० रुपैंयाँदेखि २५ रुपैंयाँसम्म नगद छुट प्राप्त हुनेछ । त्यस्तै, भाग्यशाली खरिद कर्ताले फच्र्युन ह्विल घुमाउने अवसर समेत प्राप्त गर्नेछन् । जसमा टिभिएस अपाचे आरटिआर १८०, सामसङ ५५ इञ्चको एलइडी टिभी, आइफोन ६ प्लस, सामसङ एस७ एज, एयर कन्डिसनर, एचपी र डेलको ल्यापटप, होम थियटर, माइक्रोवेभ, डबल डोर फ्रिज लगायत छन् । मारुती सिमेन्टले बम्पर उपहार अन्तर्गत रोयल इनफिल्ड क्लासिक ३५० बुलेट बाइक प्रदान गर्नेछ । साउन ७ गतेदेखि लागु भएको योजना काठमाडौं उपत्यका भित्र सिमित अवधीका लागि लागु हुनेछ ।
दिगो विकासका लागि ‘५पी’ कार्यक्रम लागू गरिने, गरिबी ३ प्रतिशतमा झार्ने लक्ष्य
काठमाडौं, १० साउन । सन् २०३० सम्म मध्यम आय भएका देशको सूचीमा सूचिकृत गर्न नेपालले ५ पी अवधारणा अनुसार कार्यक्रम गर्ने भएको छ । संयुक्त राष्ट्र सङ्घले दिएको गाइड लाइन प्रोस्पेरिटी (आर्थिक समृद्धि), पाटर्नरशीप (विश्वव्यापी विकास), पीस (शान्ति र समृद्धि), प्लानेट (पृथ्वी र वातावरण मैत्री विकास) तथा पिपुल (मानव विकास)लाई पहिलो प्राथमिकतामा राखेर यसको विकासमाफर्त नेपालाई मध्यम आय भएको मुलुकमा पु¥याउने सरकारको मूल धेय हो । १५ वर्षमा सरकारबाट गरिबीको अन्त्य गर्ने नभए पनि हालको २१ दशमलव ६ प्रतिशत गरिबीलाई ३ प्रतिशतसम्म झार्ने, शून्य भोकमरी अवस्थामा देशलाई निदृष्ठ गराउने, दिगो शहर तथा बस्तीको विकास गर्न सरकारको लागि पर्ने भएको छ । लक्ष्य प्राप्त गरी मध्यम आय भएको देश बन्नको लागि दिगो उत्पादन तथा उपभोगमार्फत आम मानिसको जीवनमा व्यापक सुधार आउने अपेक्षा सरकारले गरेको छ । लक्ष्य प्राप्त गर्न अर्थात उद्योग, नवीन खोज र पूर्वाधार, आधुनिक ऊर्जामा पहुँच, स्वस्थ जीवन, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, असमानताको न्यूनीकरण, आर्थिक विकास र जलवायु परिवर्तनलगायत क्षेत्रमा पनि व्यापक सुधार आउने गरी चाधौं योजना तयार पारेको राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिलबाबु श्रेष्ठले बताए । यी सबै लक्ष्य प्राप्त गर्न राष्ट्रसङ्घले ‘५–पी’को अवधारणाअनुसार योजना र रणनीति तय गरेर कार्यान्वयनमा जोड दिएको हो । सहश्राब्दी विकास लक्ष्यबाट प्राप्त हुन नसकेको धेरै जसो सूचकलाई आधार मानेर यो रणनीति योजना तयार पारिएको हो । राज्यलाई अझै पनि आयात प्रतिस्थापन गर्न तथा समग्र आर्थिक एवम् सामाजिक सूचकहरुलाई माथि उकास्नको लागि आवश्यक पर्ने आर्थिक वृद्धिदर लक्ष्य अनुरुप पु¥याउन चुनौति रहेको छ । यी सबैलाई छिचोल्दै सरकारले नेपाललाई उक्त अवधिसम्म देशभित्र उद्योगधन्दाको विकास गरी देशलाई आत्मनिर्भर बनाउँदै हालको प्रतिव्यक्ति आय ७ सय ६६ अमेरिकी डलरलाई बढाएर २ हजार ५ सय अमेरिकी डलर पु¥याउने सरकारी लक्ष्य छ । विकास लक्ष्यको विश्वव्यापी मान्यता तथा मुद्दालाई नेपालको सन्दर्भमा ढालेर कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको हो । दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले आगामी आवमा कुल बजेटको सबैभन्दा बढी बजेटको १९ दशमलव ९३ प्रतिशत रकम दिगो शहर र बस्ती विकास गर्न विनियोजन गरेको छ । सरकारले आगामी आवको लागि रू. १० खर्ब ४८ अर्ब ९२ करोड बजेट विनियोजन गरेको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पु¥याएका बस्तीको पुनर्निर्माण तथा प्राकृतिक प्रकोपको जोखीममा परेका बस्तीहरूलाई एकीकृत गरी व्यवस्थित बस्तीका रूपमा विकास गर्न सो रकम खर्च गरिनेछ । दिगो विकास लक्ष्य प्राप्त गर्न सरकार आगामी आवमै पुष्पलाल (मध्यपहाडी) र हुलाकी राजमार्गको १०/१० स्थानमा आधुनिक शहर निर्माणमा कार्यक्रम पनि तय गरेको छ । सो अवधिसम्म गरीबीको अन्त्य गर्ने लक्ष्यसहित कुल बजेटको १८ दशमलव ३४ प्रतिशत बजेट विनियोजन गरेको छ । लक्ष्य प्राप्तिको शुरूको वर्षमा २१ दशमलव ६ प्रतिशत गरीबी रहनेमा आगामी १५ वर्षमा त्यसलाई शून्यमा झार्ने सरकारको योजना छ । उद्योग, नवीन खोज र पूर्वाधार निर्माणमा पनि कुल बजेटको ११ दशमलव २७ प्रतिशत बजेट विनियोजन गरेको छ । ‘भिजन २०३० सन् २०१६ मा शुरू भएर सन् २०३० मा सम्पन्न हुनेगरी संयुक्त राष्ट्रसङ्घको महासभाबाट घोषित भएको कार्यक्रम हो । उक्त कार्यक्रममा १७ लक्ष्य प्राप्तिका लागि १ सय ६९ परिसूचक तय गरिएका छन् । चालू आर्थिक वर्ष २०७३/७४ लक्ष्य प्राप्ती कार्यान्वयनको पहिलो वर्ष भएकाले सोहीअनुसार बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयले बताएको छ ।
जगदम्बा सिमेन्टको “आऔं सबै मिलि देश बनाऔं” अभियान
काठमाडौं, १० साउन । जगदम्बा सिमेन्टले “आऔं सबै मिलि देश बनाऔं” अभियान सुरु गरेको छ । समृद्ध राष्ट्र निर्माणका लागि भन्दै ५ वर्षदेखि मेरो देश मेरो जगदम्बा सिमेन्ट अभियान सञ्चालन गरेको कम्पनीले सोही अभियानको विस्तारका रुपमा आऔं सबै मिलि देश बनाऔं अभियान सार्वजनिक गरेको हो । १५ वर्ष देखि भैरहवा तथा वीरगञ्जबाट जगदम्बा सिमेन्टले ५२ हजार बोरा सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । भूकम्प र नाका बन्दीबाट पाठ सिक्दै नेपालको विकास समग्र नेपालीहरुको प्रयासबाट मात्र हुनसक्ने सन्देशका साथ नयाँ अभियान ल्याएको कम्पनीले जनाएको छ ।