शुक्रबार सार्वजनिक विदा, उपत्यकामा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने
काठमाडौं, १३ साउन । सरकारले भोली (साउन १४ गते) शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । सो दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा भएकोले सरकारले सार्वजनिक विदा दिएको हो । भोली उपत्यकामा रहेका सरकारी कार्यालय, स्कुल, कलेज, बैंक तथा वित्तिय संस्थाहरु विदा हुनेछन् ।
प्रधानमन्त्रीद्वारा सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
काठमाडौं, १३ साउन । बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद सङ्घहरुलाई सरकारले नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टलगायतले सम्मान गरेका थिए । गत फ्रेब्रुअरी ५ देखि १६ तारिखसम्म भारतको गुवाहाटी र सिलोङमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण २३ रजत र ३४ काँस्यसहित ६० पदक जितेको थियो । उक्त प्रतियोगितामा व्यक्तिगत र टिम इभेन्ट्समा पदक जितेका १७९ खेलाडी, ५१ प्रशिक्षक तथा १८ सङ्घलाई पुरस्कृत गरिएको हो । सोअनुसार व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका निमा घर्ती मगर र फुपुल्हामु खत्रीले जनही रु पाँच लाख पाए । त्यसैगरी फुटबल टोलीका २० खेलाडीलाई भने जनही रु दुई लाख प्रदान गरियो । उनीहरुलाई पनि रु पाँच लाख प्रदान गरिने निर्णय गरिएको भए पनि प्राविधिक कारणले रु दुई लाख मात्र प्रदान गर्न सकिएको बताइएको छ । त्यसैगरी व्यक्तिगत स्पर्धामा रजत जित्ने प्रत्येक खेलाडीले रु तीन लाख पाउँदा काँस्य जित्नेले जनही रु दुई लाख हात पारे । साथै टिम इभेट्समा रजत जित्नेले रु एक लाख ५० हजार तथा काँस्य जित्नेले रु एक लाख हात पारे । त्यस्तै विभिन्न खेलका ५१ प्रशिक्षकले रु ५० हजारदेखि तीन लाखसम्म प्राप्त गरे भने १८ खेलकुद सङ्घले रु दुई लाखदेखि पाँच लाखसम्म पुरस्कार पाए । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल खेल परम्परा र संस्कृतिका दृष्टिकोणले गौरवशाली देश भएको बताए । लिगलिगकोटमा दौडिएर जित्ने मात्र राजा हुने परम्पराको दृष्टान्त दिँदै उनले यस्तो परम्परा अन्य देशमा भएको आफूलाई थाहा नभएको चर्चा गरे । उनले भने – “दौडिएर राजा हुने कुरा छोडिदिउँ, तर अब दौडिएरै स्वर्ण पदक भने तपाइँहरुले लिनुपर्छ ।” प्रधानमन्त्री ओलीले नेपाली खेलकुद क्षेत्रले केही सुःखद सफलता हासिल गरेको भए पनि त्यसैमा चित्त बुझाएर नबस्न खेलाडीलाई आग्रह गर्दै भने – “यो सन्तुष्ट भइहाल्ने क्षेत्र परेन थप सफलताका लागि प्रयास गर्नुपर्छ ।” उनले आफू जुनसुकै पदमा रहे पनि खेलकुद र खेलाडीका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस
इम्जा हिमतालको जोखिम न्यूनीकरणको काम ७० प्रतिशत पूरा
सोलुखुम्बु, १३ साउन । इम्जा तालको जोखिम न्यूनीकरणका लागि आवश्यक सहयोग गर्न गएको नेपाली सेनाको टोली पहिलो चरणको काम पूरा गरी नाम्चे फर्किएको छ । विगत चार महिना अघिदेखि इम्जा क्षेत्रमा खटिएको बराहा दल गुल्म नाम्चे र अमर दल गुल्म सल्लेरीबाट गएको नेपाली सेना, इन्जिनियर, ट्र्याक्टरसहित २२ जनाको टोली बुधबार नाम्चे फर्किएको हो । टोलीले इम्जा ताल क्षेत्रमा गेट निर्माण, क्यानल निर्माण र क्यानल खोल्ने काम सम्पन्न गरेको छ । कङ्क्रिट सुक्न केही समय लाग्ने भएकाले अन्य काम पूरा गरी टोली फर्किएको बराह दल गुल्मका क्याप्टेन कृतार्थ शम्शेर जबराले जानकारी दिए । जबराका अनुसार सेना १५/२० दिनको फरकमा इम्जा क्षेत्रमा गएर तालको अवस्थाबारेमा जानकारी लिइरहनेछ । इम्जा क्षेत्रमा अहिले कन्सल्टेन्सीका इन्जिनियर टोली र श्रमिक मात्र काम गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माका अनुसार इम्जाको विस्फोटन खतरा न्यूनीकरणका लागि तीन मिटर पानी घटाउने लक्ष्यअनुसार पहिलो चरणको काम सम्पन्न भएको हो । जोखिम न्यूनीकरणका लागि विद्युतीय उपकरण जोड्ने तथा तालको पानी घटाउने काम सुरु गर्न भने केही समय लाग्ने शर्माले बताए । प्रारम्भिक चरणदेखि हालसम्म आइपुग्दा ७० प्रतिशत काम पूरा भएको छ । पहिलो किस्ताबापत रु १३ करोड प्राविधिक तथा श्रमिक टोलीलाई निर्माणका क्रममा दिइसकिएको र दोस्रो किस्ताको रकम दिने प्रक्रिया पनि पूरा भइसकेको शर्माले बताए । इम्जा तालको जोखिम न्यूनीकरणका लागि ३२ करोड रुपैयाँमा सम्झौता भएको हो । समुद्री सतहबाट पाँच हजार १० मिटर उचाइमा रहेको इम्जा हिमताल जलवायु परिवर्तनका कारण आकार तथा गहिराइ बढेपछि विस्फोटको खतरा बढेको तालसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोडले जनाएको छ । समुदायमा आधारित बाढी तथा हिमताल विस्फोट जोखिम न्यूनीकरण आयोजनामार्फत नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को ३२ करोड रुपैयाँको लगानीमा इम्जा तालको पानी घटाउने कार्य भइरहेको छ । विज्ञान प्रविधि तथा वातावारण मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभाग र युएनडिपीबीच गत २०१५ जुलाई १५ मा सम्झौता भई काम सुरु भएको थियो । रासस
डिएफआइडीद्धारा झन्डै साढे चार अर्ब अनुदान सहयोग
काठमाडौं, १३ साउन । संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले रोजगारीका लागि सीप विकास कार्यक्रम कार्यान्वयन गर्न चार अर्ब ४८ करोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ । सो अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र यहाँस्थित डिएफआइडीका प्रमुख गेल मार्जेटीले हस्ताक्षर गरेका छन् । कार्यक्रमअन्तर्गत प्राविधिक एवम् प्रत्यक्ष वित्तीय सहायता उपलब्ध गराई सीप विकासमा खर्च गरिनेछ । विशेष गरी महिला तथा पीडित वर्गको सीप विकासमा खर्च गरिने उक्त कार्यक्रम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले कार्यान्वयन गर्नेछ । नेपाल सरकारले लागू गरेको वैदेशिक सहायता नीतिअनुरुप प्राप्त हुने उक्त अनुदान खासगरी भूकम्पपछिको पुनःनिर्माण एवम् उत्कृष्ट निर्माणमा केन्द्रित रहनेछ । उक्त कार्यक्रमका निम्ति सात हजारभन्दा बढी डकर्मीलाई तालिम दिइनेछ । कार्यक्रममा सहसचिव अर्यालले २०० वर्षदेखिको नेपाल–संयुक्त अधिराज्य सम्बन्ध पारस्परिक विकासमा सहयोगी रहेको चर्चा गर्दै भविष्यमा पनि नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर सहायता प्राप्त हुने विश्वास व्यक्त गरे। डिएफआइडीका प्रमुख गेलले बर्सेनि चार लाख श्रमिक श्रम बजारमा आउने गरेका तथ्याङ्क प्रस्तुत गर्दै उनीहरुलाई स्वदेशमै सीप सिकाउने कार्यक्रमको लक्ष्य रहेको बताए । विदेश जान चाहने कामदारका लागि पनि सीप विकास कार्यक्रम फलदायी हुने विश्वास उनले व्यक्त गरेका छन् । रासस
मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना अब तपाईको मोबाइलमा
काठमाडौं, १३ साउन । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना मोबाइल मार्फत एसमएस प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहीबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र जल तथा मौसम बिज्ञान विभागको तर्फबाट महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाइने छ । यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको डाटा मौसम विज्ञान विभागलाई उपलब्ध गराउने छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रुपमा (बुल्क) एसएमएस मार्फत आवश्यक जानकारी पठाउने छ । यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराउने छ । सो सम्बन्धी सम्झौता गर्न आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले विपद्को पूर्व जानकारी संप्रेषण गरी क्षति न्यूनिकरण गर्ने कार्यका लागि विगतमा पनि अन्य संस्थाहरुसँग सहकार्य गरेको जानकारी गराउँदै विपद्को पूर्वजानकारीले क्षति न्यूनिकरण गर्न सकिने तथा मानिसको जीवन जोगाउन सकिने भएकोले कम्पनीले मौसम विज्ञान विभागसँग पनि सहकार्य गरेको बताए । उनले मुलुकभर कम्पनीका ग्राहक छरिएर रहेकाले भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने बताए । कार्यक्रममा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले कम्पनीसँग भएको सम्झौतालाई विभागले दक्षतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले प्राकृतिक विपद्को न्यूनीकरण गर्नु दुवै संस्थाको संयुक्त दायित्व भएकाले पनि भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने बताए । बर्तमान बर्षाको मौसममा खासगरी बाढी पहिरोका कारण धेरै नेपाली प्रभावित भइरहेको समयमा कम्पनी र विभागबीचको यो सहकार्यले जनधनको क्षति न्यूनिकरण गर्न प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । स्मरणीय छ, नेपाल टेलिकमले गत बर्षको विनासकारी भूकम्प पश्चात पनि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी प्राकृतिक विपद्सम्बन्धी पूर्व सूचना संप्रेषण गर्ने व्यवस्था मिलाएको थियो ।
पुनःनिर्माण मन्त्रालयद्धारा १४७१८ द्वन्द्व पीडितलाई तालिम
काठमाडौं, १३ साउन । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले द्वन्द्वपीडित १४ हजार ७१८ जनालाई सीपमूलक तालिम उपलब्ध गराएको छ । मन्त्रालयद्वारा व्यावसायिक रुपमा सिलाइबुनाइ, सौन्दर्य कलासम्बन्धी, फर्निचर, प्लम्बिङ, हाउस वायरिङलगायत तालिम उपलब्ध गराइएको हो । मुलुकमा सशस्त्र द्वन्द्वका समयमा सरकार तथा विद्रोही पक्षबाट पीडित भएका नागरिकलाई सीपमूलक शिक्षा दिएर उनीहरुलाई जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले व्यावसायिक तालिम प्रदान गरिएको मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद खरेलले बताए। उनले ती व्यावसायिक तालिम दिनका लागि मन्त्रालयले करिब रु चार करोड ६ लाख खर्च गरेको जानकारी दिए । मुलुकमा विसं २०५२ देखि करिब १० वर्ष सशस्त्र द्वन्द्व भएको थियो । रासस
किन्न पाईदैन कैलाश विकास बैंकको सेयर, बोनस र हकप्रद गरी ४५% सेयर आउने !
काठमाडौं, १३ साउन । कैलाश विकास बैंकमा मट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्स्प्रेस फाइनान्स गभिएपछि साउन २ गतेदेखि बैंकको सेयर कारोबार खुला भएको हो । कारोबार खुलेको दुई हप्तासम्म पनि कैशाल विकास बैंकको सेयर कारोबार सहज भएको छैन । उक्त विकास बैंकको सेयर किन्न चाहानेको चाप अधिक छ र तर बिक्रेता छैनन् । मर्ज हुनुपूर्व कारोबार बन्द हुँदा प्रतिकित्ता ३३० रुपैयाँमा सेयर कारोबार भएको थियो । विहीबार यस बैंकको सेयर प्रतिकित्ता ७६६ रुपैयाँमा किन्न लगानीकर्ता तयार भए तर बिक्रेता देखिएन । उक्त बैंकले २० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरिसकेको छ । कम्तिमा २५ देखि २७ प्रतिशत बोनस सेयर वितरण हुन सक्ने अनुमान लगानीकर्ताको छ । बैंक स्रोतका अनुसार गत आर्थिक वर्षका बैंकको नाफा ४० करोड रुपैयाँ भन्दा बढी छ । मर्जमा स्वाप रेसियो मिलाउँदा लगानीकर्तालाई वितरण गर्न मिल्ने पुँजी कोषमा जम्मा भएको छ । बजार अहिले अवस्थामा रहने हो भने भने प्रतिकित्ता ९०० रुपैयाँ भन्दा माथि पुग्न सक्ने लगानीकर्ताहरुको अनुमान छ ।
देव विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं, १३ साउन । देव विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको बोर्ड बैठकले पुँजी वृद्धिको योजना अनुसार सो मात्रामा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको हो । हकप्रद सेयर निष्काशनका लागि बैंकले साउन २० गतेदेखि २८ गतेसम्म ब्रुक क्लोज गर्ने जानकारी समेत दिएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने सम्बन्धी निर्णय पारित गराउनका लागि साउन २८ गतेका लागि बिशेष साधारण सभा समेत डाकेको छ । हाल देव विकास बैंकको चुक्ता पुँजी ८१ करोड ८० लाख रहेको छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी एक अर्ब २२ करोड पुग्नेछ ।