विकासन्युज

एनसेलले ल्यायो ‘मासिक भ्वाइस प्याक’, रु २०० मा ४०० मिनेट अननेट टक टाइम

काठमाडौं, १६ साउन । देशकै अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुका लागि ‘मासिक भ्वाईस प्याक’ ल्याएको छ । जस अन्तर्गत ग्राहकले सुलभ शुल्कमा भ्वाईस सेवा लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले कर सहित मात्र रु २०० मा ४०० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । अर्थात्, यो प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र ५० पैसा प्रति मिनेटको दरमा कुनै पनि अर्को एनसेल नम्बरमा कल गर्न सक्छन् । मासिक भ्वाईस प्याक यहि सोमबार (साउन १७, २०७३) देखि स्थायी सेवाको रुपमा लागु हुनेछ। एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार पाँचौ विकल्प रोजेर यो प्याक सुचारु गरी लाभ लिन सक्छन् । आईभिआर मार्पmत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी बमोजिम अंक ५ प्रेस गर्नुपर्ने हुन्छ । ग्राहकले २०० टाइप गरी १७११८ मा एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् । “हाम्रा प्रिपेड ग्राहकका लागि प्रति मिनेट ५० पैसामा कुरा गर्न सकिने यो मासिक भ्वाईस प्याक ल्याउन पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्घता अनुरुप यो प्याक ल्याइएको होे ।” ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सक्छन् । यो प्याक सुचारु भएको दिनबाट ३० दिनको लागी मान्य हुनेछ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित रु २.५० प्रति मिनेट शुल्क लाग्दछ । यो प्याक भिएफटी र एनसेल मोबाइल एपबाट पनि खरिद गर्न सकिन्छ । सुलभ दरमा गुणस्तरिय सेवा उपलब्ध गराउने प्रतिवद्धता बमोजिम एनसेलले दैनिक भ्वाईस प्याक, साप्ताहिक भ्वाईस प्याक, डेली नाईट भ्वाईस प्याक र डे भ्वाईस प्याक पनि ग्राहकलाई प्रदान गर्दै आएको छ । ग्राहकहरुले १७११८ डायल गरी भ्वाइस प्याकको बारेमा जानकारी लिन सक्छन् ।

ग्लोबल आइएमई बैंकको बाग्लुङ्ग र अर्घाखाँचीमा शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं, १६ साउन । ग्लोबल आइएमई बैंकले बाग्लुङ्ग जिल्लाको भिमगिठेमा र अर्घाखाँची जिल्लाको ठुलापोखरामा शाखारहित बैकिङ्ग सेवाको सञ्चालन गरेको छ । बैंकले बैंकिङ्ग पहुच नपुगेका ग्रामीण क्षेत्रका बासिन्दालाई आधारभूत बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ सो स्थानमा शाखा सञ्चालन गरेको हो । उक्त कार्यक्रममा बैंकले व्यवसायीक प्रतिनिधिहरुलाई प्रमाणपत्र र पिओएस मेसिन हस्तान्तरण गरि उक्त शाखारहित बैंकिङ्ग सेवाहरुको सुरुवात गरिएको थियो । बाग्लुङ्ग जिल्लाको भिमगिठेमा सुरुवात गरिएको सेवाको संचालनका लागि स्थानिय व्यवसायी हरिचन्द्र खत्रि तथा अर्घाखाँची जिल्लाको ठुलापोखरामा सुरुवात गरिएको सेवा सञ्चालनका लागि स्थानिय धनिश्वर पाण्डेलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बाग्लुङ्ग जिल्लाको भिमगिठेमा र अर्घाखाँची जिल्लाको ठुलापोखरामा सुरु गरिएका सेवा सँगै बैंकका शाखारहित बैंकिङ्ग सेवा ४२ वटा पुगेका छन् । सबै क्षेत्र र बर्गका जनता माझ सेवा पुर्याउने उद्धेश्यले ग्लोबल आइएमई बैंकले शाखा सञ्चालन गर्न सम्भव भएका स्थानमा शाखा स्थापना गरेर तथा शाखा स्थापना गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा पुर्याउदै आइरहेको छ । हालसम्म बैंकले ९१ वटा शाखा, १०० वटा एटिएम, ४२ शाखारहित बैंकिङ्ग सेवा, १० राजश्व संकलन काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर मार्फत ६ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्राधिकरणको बेवास्ताका कारण अगाडि बढेन ग्रीड कम्पनी

  मुकेशराज काफ्ले काठमाडौँ, १६ साउन । नेपाल विद्युत् प्राधिकरणले निर्देशक नपठाउँदा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले पूर्णता पाउन सकेको छैन । सरकारले गत फागुन ६ गते पारित गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्य योजना, २०७२ को बुँदा नं ४५ मा सो कम्पनीलाई पूर्णता दिने उल्लेख गरिएको छ । सो कार्ययोजना लागु भएको छ महिना पुग्न लागेको भएपनि कम्पनीले पूर्णता पाउन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको अध्यक्ष ऊर्जा सचिव अध्यक्ष रहने व्यवस्था छ । ऊर्जा सचिव नै सञ्चालक समितिको अध्यक्ष रहने प्राधिकरणले ऊर्जा मन्त्रालयको आग्रहलाई हालसम्म स्वीकार गर्न सकेको छैन । राष्ट्रिय ग्रीड कम्पनी स्थापना भएको, त्यसलाई सञ्चालनमा ल्याउन गठित व्यवस्थापन समूहमा प्राधिकरणको तर्फबाट निर्देशक खटाइ पठाउने विषयमा प्रक्रिया सुरु भएको जनाइएको छ । तर सो प्रक्रिया कहिले सम्पन्न हुुन्छ, कसरी प्रक्रिया अगाडि बढ्छ भन्नेमा प्राधिकरणले हालसम्म ऊर्जा मन्त्रालयलाई कुनै पनि जवाफ दिएको छैन । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिमा समेत राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको सन्दर्भमा मन्त्रालय र प्राधिकरणबीच के समस्या रहेको छ ? गठन भएको वर्षांै बितिसक्दा समेत किन कार्यान्वयनमा आउन सकेन ? व्यवस्थापन समूहले कहिले पूर्णता पाउला ? प्राधिकरणले निर्देशक पठाउन ढिलाइ गर्नुको कारण के हो ? भनेर प्रश्न गरेको छ । सरकारले एकवर्ष पहिले नै सो प्रसारण कम्पनी स्थापनाका लागि सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । तर प्राधिकरणले ११औँं तहका उपकार्यकारी निर्देशक पठाउनेतर्फ ध्यान दिएको छैन । प्राधिकरणले सो कम्पनीलाई आफ्नो प्रतिस्पर्धी संस्थाको रुपमा लिएका कारण प्रक्रिया अगाडि बढाउन नचाहेको बताइँदै आएको छ । चालु आवको बजेट वक्तव्यमा प्रसारण ग्रीड कम्पनी, उत्पादन तथा इन्जिनियरिङ कम्पनीलगायतका कम्पनी स्थापना गर्ने उल्लेख गरेको छ । यस्तै विद्युत् व्यापार कम्पनी र परामर्श सेवा कम्पनी स्थापना गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ । तर पाँचवर्ष पहिल्यै सुरु भएको ग्रीड कम्पनीको विषयमा प्राधिकरण नै असहयोगी बन्नुले सरकारको लक्ष्य प्रभावित हुँदै आएको छ । सरकारले चालु आवको बजेट वक्तव्यमा ती कम्पनी स्थापनाका लागि रु दुई अर्बको बजेट विनियोजन गरेको ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिए । संसद्को कृषि तथा जलस्रोत समितिमा सहसचिव चटौतले पेस गर्नुभएको प्रतिवेदनमा समेत यसअघि स्थापना भइसकेको प्रसारण कम्पनीलाई सुदृढीकरण गर्ने र अन्य कम्पनी स्थापनाको प्रक्रिया सुरु गर्ने जनाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले ग्रीड कम्पनीमा प्राधिकरणको तर्फबाट पठाउने उपकार्यकारी निर्देशकको टुङ्गो चाँडै लाग्ने बताउछन । “प्राधिकरणलाई प्रतिनिधि पठाइदिन माग भई आएको सत्य हो,” कृषि तथा जलस्रोत समितिको केही दिन पहिलेको बैठकमा काफ्लेले भने– “हामी चाँडै आवश्यक निर्णय गर्छौँ । सरकारको घोषणालाई असहयोग गर्ने भन्ने हुँदैन । हामी सहयोग गर्छौँ ।” यस्तै सरकारले ऊर्जा सङ्कट कार्ययोजना, कार्याान्वयन, निर्देशनालय स्थापना, सञ्चालन र कार्ययोजना अनुगमन गर्न रु दुई अर्ब ५० करोड विनियोजन गरिएको छ । सो रकम ऊर्जा सङ्कट कार्ययोजनालाई कार्यान्वयन गर्न खर्च गरिने बताइएको छ । तर कुल ९९ बुँदामध्ये तीन महिनाभित्र सम्पन्न गर्नुपर्ने ६७ बुँदा कार्यान्वयन हुन सकेको छैन । सरकारको क्रियाशीलता एवम् सरोकार भएका निकायले ध्यान नदिँदा सरकारी घोषणा केवल घोषणामा मात्रै सीमित भएको छ । आगामी हिउँदमा जनताले अनुभव गर्ने गरी विद्युत्भार कटौती अन्त्य गर्ने सरकारले बताइरहेको बेला सङ्कटकालीन कार्ययोजनामा तत्काल सम्पन्न गर्नुपर्ने विषय नै अगाडि बढ्न नसक्नु दुःखद रहेको छ । सरकारले महत्वकाक्षाका साथ घोषणा गरेको कार्ययोजना लागू गर्न संवद्ध पक्षको विशेष ध्यान जानु आवश्यक छ । रासस

बुम रेमिट्यान्सको एजेन्टमा ओम, इन्नोभेटिभ र जनउत्थान नियुक्त

काठमाडौं, १६ साउन । बुम रेमिट्यान्स प्रा.लीले ओम डेभलपमेन्ट बैंक लि, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंकलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बूम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम तिनाउ बिकास बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्ने बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ । बूम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १५०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । बूम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडै नै मलेसीया, कोरीया, जापान, अस्ट्रेलिया, युरोपबाट समेत कारोवार सुरु गर्ने छ । उक्त सम्झौतामा बूम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र ओम डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले, इन्नोभेटिभ डेभलपमेन्ट बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवणि कुमार दाहालले र जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यति डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित

काठमाडौं, १४ साउन । यति डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित भएको छ । आइतबार बसेको बैंकको १४औँ वार्षिक साधारणसभाले बैंकको चुक्ता पुँजी एक अर्ब ३८ करोड रुपैयाँको सो प्रतिशतको हकप्रद सेयर जारी गर्ने निर्णयलाई पारित गरेको छ । उक्त सभाले साधारण सेयरधनीको तर्फबाट सञ्चालकमा रुपेन्द्र पौडेललाई नियुक्त गरेको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्रधकको र ४९ प्रतिशत सर्वसाधारणको भएको सभाले जनाएको छ । बैंकले आर्थिक वर्ष २०७२र७३ मा ३६ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा जम्मा १३ करोड ९२ लाख रुपैंयाँ मात्रै नाफा कमाएको थियो । बैंकले असार मसान्तसम्ममा १० अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेर ८ अर्ब ७६ करोड रुपैयाँ कर्जा तथा सापटी गरेको छ । आइतबार बजारमा बैंकको प्रतिकित्ता सेयर ४१७ रुपैयाँमा कारोबार भएको छ ।

शुभेच्छा विकास बैंकको निमित्त कार्यकारी निर्देशक जैसावाल

काठमाडौं, १६ साउन । शुभेच्छा विकास बैंकको निमित्त कार्यकारी निर्देशकमा सञ्जुप्रसाद जैसावाल नियुक्त भएका छन् । साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जैसावाललाई बैंकको निमित्त कार्यकारी निर्द्देशकमा नियुक्त गरेको हो । बैठकका अनुसार जैसावालले साउन १६ गतेबाट कम्पनीको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् । यस अघि उनले विकास बैंकको व्यवस्थापन प्रमुखको रुपमा काम गरेका थिए । यसअघि बैंकको कार्यकारी निर्देशकको जिम्मेवारी दक्क्षप्रसाद श्रेष्ठले समालेका थिए । सो बैठकले श्रेष्ठको राजीनामा दिने निर्णयको स्वीकृति गरेपछि बैंकले जैसावाललाई नियुक्त गरेको हो ।

थ्रीजी भन्दा १० गुणा छिटो हुन्छ फोरजी सेवा, यी हुन् फोरजी नेटवर्कको सुबिधा भएका मोबाइल

काठमाडौं, १६ साउन । सरकारले चौथो पुस्ताको फोरजी सेवा सञ्चालनको अन्तिम तयारी गरिरहेको छ । त्यसका लागि नेपाल टेलिकम र एनसेल प्रालीले दरखास्त समेत दिईसकेका छन् । नेपालमा सूचना प्रबिधीको क्षेत्रमा नयाँ आयाम बनाउने भनिएकोे फोरजी सेवालाई थ्रीजीको विकसित रुप मानिन्छ । एलटीई अर्थात लङ टर्म इभोल्युसनका रुपमा समेत अथ्र्याइने फोरजी प्रबिधीमा थ्रिजी भन्दा १० गुणा छिटो इन्टरनेट चलाउन सकिन्छ । टेलियोसेनोरा नै थियो पहिलो फोरजी सेवा प्रदायक एनसेल कम्पनी बेचेर नेपालको टेलिकम्युनिकेशन मार्केटबाट बाहिरिएको स्विडेनको टेलियोसोनेरा कम्पनी नै संसारमा पहिलो पटक फोरजी सेवा सुरु गर्ने सेवा प्रदायक थियो । फाइनान्सियल टाईम्सका अनुसार स्विडेनको टेलियोसोनेरा कम्पनीले स्विडेनको स्टकहोम र ओस्लो शहरका लागि सन २००९ डिसेम्बर १४ तारिखका दिन फोरजी सेवाको आरम्भ गरेको थियो । टेलियोसोनेराले इरिक्सन र हुवावे मोबाइल कम्पनीलाई फोरजी सुबिधा सहितको मोबाइल बनाउने जिम्मेवारी दिएको थियो । कम्पनीले अमेरिकाको भेरिजोन र जापानको एनटीटी डोकोमोलाई पनि परिक्षणका लागि सघाएको थियो । टेलियोसोनोराले सुरुमा कम्प्युटरहरुमा मात्रै फोरजी सेवा सञ्चालन गरेको थियो किनकी त्यतिञ्जेल फोरजी नेटवर्क भएका मोबाइल निर्माण भैसकेका थिएन् । यी हुन् फोरजी सुबिधा भएका मोबाइलहरु एप्पलः एप्पलको आइफोन ५, आइफोन ५ एस, आइफोन ६, आइफोन ६ एस, आइफोन ५ सी, आइफोन ६ प्लस, आइफोन एसईमा फोरजी नेटवर्कको सुबिधा छ ।   सामसङः सामसङको के जुम, सामसङ जेड, सामसङ ग्यालेक्सी जे७, सामसङ ग्यालेक्सी जे२, सामसङ ग्यालेक्सी जे५, सामसङ ग्यालेक्सी एस७ एज, सामसङ ग्यालेक्सी जे१(२०१६), सामसङ ग्यालेक्सी जे७(२०१६) लगायतका मोबाइलमा फोरजी नेटवर्क उपलब्ध छन् ।   हुवावेः हुवावेका ओनर७, ओनर ६, हुवावे एसेन्ड जी७, हुवावे एसेन्ड मेट७, हुवावे ओनर होली२ प्लस, हुवावे एसेन्ड पी७, हुवावे एसेन्ड मेट२, हुवावे ओनर ६ प्लस लगायतका मोबाइलमा फोरजी नेटवर्कको सुबिधा रहेको छ । एलजीः एलजीका एलजी जी४, एलजी क्लास, एलजी जिरो, एलजी के३, एलजी एक्स५, एलजी जी५, एलजी ल्युसिड३, एलजी जीएक्स, एलजी जी२, एलजी के४ लगायतका मोबाइलमा फोरजी नेटवर्कको सुबिधा छ ।   माइक्रोम्याक्सः माइक्रोम्याक्स क्यानभास६, माइक्रोम्याक्स क्यानभास६ प्रो, क्यानभास मेगा ४जी, माइक्रोम्याक्स बोल्ट सेल्फी, माइक्रोम्याक्स युनाइट ४ प्रो लगायका मोबाइलमा फोरजी नेटवर्कको सुबिधा छन् । पानासोनिकः पानासोनिक इलुगा नोट, पानासोनिक इलुगा आई३, पानासोनिक इलुगा आई२, पानासोनिक इलुगा एल२, पानासोनिक इलुगा आइकोन लगायतका मोबाइलमा फोरजी नेटवर्कको सुबिधा प्राप्त छन् ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, करिब एक अर्ब ७५ करोडको कारोबार

काठमाडौं, १६ साउन । आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १५ दशमलब ७६ अंकले घटेर १८६२ अंकमा झरेको छ । सो दिन कारोबार रकममा पनि गिरावट आएको छ । १४१ कम्पनीको ३५ लाख ९४ हजार सेयर एक अर्ब ७५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार हाइड्रोपावर र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ९५ अंकले ओरालो लागेको छ । त्यस्तै बीमा, उत्पादनमूलक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः ४५, ३६, २० र ११ अंकले घटेका छन् । विकास बैंकको परिसूचक सामान्य ०.३९ अंकले घटेको छ । हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः २३ र १ अंकले उकालो लागेका छन् । सो दिन सबैभन्दा बढी गुह्ेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । सिनर्जी फाइनान्स, तारागाउँ रिजेन्सी होटल र सोल्टी होटलका लागानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । करिब ४ प्रतिशतले गुमाउनेमा अन्य ८ कम्पनीका लगानीकर्ताहरु रहेका छन् । सो दिन ३ कम्पनीको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । आइतबार सबैभन्दा बढी नेपाल बैंक लि.को १४ करोड ८४ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कैलाश विकास बैंकको करिब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक लि., प्राइम कमर्सियल बैंक र अरुन भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंकको करिब ६ करोड बढी रुपैयाँको सेयर कारो बार भएको छ ।