विकासन्युज

नेपाली आकासमा उडे पौने ५३ लाख यात्रु, वार्षिक १५ प्रतिशतले बढ्यो आकास प्रयोग गर्ने यात्रुको संख्या

काठमाडौं । नेपाली आकास प्रयोग गरेर विदेशिने र नेपालकै विभिन्न गन्तव्यमा यात्रा गर्ने हवाई यात्रुको संख्या पौने ५३ लाख पुगेको छ । नेपाली आकासमा उड्ने हवाई यात्रुको संख्या वर्षेनी बढ्दै गइरहेको छ । सडक यातायातको तुलनामा हवाई यात्रा निकै सुरक्षित, सहज र छिटो हुने भएकोले पनि अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले हवाई यात्रु बढेको तथ्यांकले देखाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अनुमति शाखाले जानकारी दिएको छ । यो शाखाका अनुसार अघिल्लो वर्ष जम्मा ४५ लाख ८१ हजार हवाई यात्रुले नेपाली आकास प्रयोग गरेका थिए । यो वर्ष १५ प्रतिशतले बढेर ५२ लाख ८५ हजार जना पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरका अनुसार यो वर्ष अन्तर्राष्ट्रिय हवाइ यात्रुको उडान तथा अवतरणको संख्या ३५ लाख १० हजार रहेको छ भने आन्तरिक हवाई यात्रुको संख्या १७ लाख ७५ हजार पुगेको देखिएको छ । यो संख्या वर्षेनी बढ्दै गइरहेको छ । अघिल्लो २ वर्ष अर्थात सन् २०१४ र सन् २०१५ मा भूकम्प र नाकाबन्दीले नेपाली आकास प्रयोग गर्ने हवाई यात्रु तुलनात्मक रुपले कम थिए भने सन् २०१६ मा भने केही बढेको देखिएको छ । सन् २०१५ मा आन्तरिक हवाई यात्रु जम्मा १३ लाख र अन्तर्राष्ट्रिय हवाई यात्रु ३२ लाख मात्रै रहेको विमानस्थलको तथ्यांकमा उल्लेख छ । आन्तरिक वायुसेवामा सबैभन्दा ठूलो बजार हिस्सा बुद्ध एयरको रहेको छ । बढी यात्रु बोक्ने, जहाज संख्या धेरै भएको र सुगम गन्तव्यमा ठूला जहाजबाट उडान गर्ने यो वायुसेवाले वर्षेनी अग्रणी बजार हिस्सा ओगटिरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको २८ वटा रहेको छ भने आन्तरिक वायुसेवाको संख्या १७ वटा छ । नेपालबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । आन्तरिकमा बुद्ध र अन्तर्राष्ट्रियमा निगम अगाडि सन् २०१६ मा नेपाली आकास प्रयोग गरेर सेवा दिने वायुसेवा कम्पनीमध्ये आन्तरिक वायुसेवामा बुद्ध एयर पहिलो स्थानमा छ भने अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम पहिलो स्थानमा रहेको छ । बुद्धले बार्षिक ८ लाख यात्रुलाई सेवा दिएर पहिलो स्थानमा रहेको छ । यो वायुसेवा वर्षोदेखि पहिलो स्थानमै रहेको छ । यो वायुसेवासँग जहाज संंख्या धेरै र सिट क्षमता पनि बढी रहेको छ । वायुसेवा निगमले भने एयरवसका २ वटा नयाँ जहाज भित्र्याएपछि पहिलो स्थानमा आइपुगेको हो । दुई वर्षसम्म निगम पाँचौ स्थानमा थियो । यसले नयाँ जहाज थप गरेसँगै यात्रु उडान क्षमता पनि बढाएको छ । निगमले तीन लाख ८४ हजार यात्रुलाई उडान तथा अवतरणको सेवा दिएको छ । यो संख्या सन् २०१५ मा जम्मा दुई लाख ५३ हजारमात्रै थियो । निगमकाे जहाजकाे फाइल तस्बिर सडक यातायात अवरुद्ध हुँदा आन्तरिक उडान बढ्यो आन्तरिक उडानमा पनि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि आन्तरिक उडानको चाप बढ्दै गएको छ । यो सडक यातायातको प्रयोग गरेर जाने यात्रुले समयमा नै गन्तव्यमा पुग्न नसक्ने, यात्रुको सुरक्षामा ग्यारेन्टी नभएको र हतारमा हुने यात्रुलाई सडक यातायात भरपर्दो नभएकोले पनि आन्तरिक उडानका यात्रु बढ्न थालेको उल्लेख छ । सिम्रिक एयरले भखेरै भरतपुर नियमति उडान थालेको छ । यो वायुसेवाले यात्रु चाप बढेकै कारण यो गन्तव्यमा उडान थप गरेको हो । बुद्ध एयरले पनि दैनिक दुईवटा उडानलाई चारदेखि ६ वटासम्म बनाएको छ । यति एयरले पनि आफ्नो दैनिक उडानलाई दोब्बर बनाएर भरतपुर, भैरहवा उडान बढाएको उल्लेख छ । यो सडक अवरुद्धले भरतपुर र भैरहवाको उडानका यात्रु बढेको सम्वन्धित वायुसेवा कम्पनीको भनाइ छ । पार्किङ व्यवस्थापनमा चुनौति आन्तरिक वायुसेवाका लागि पार्किङ व्यवस्थापन त्यति ठूलो समस्या नभएपनि अन्तर्राष्ट्रिय उडानमा भने निकै समस्या रहेको ठाकुरले बताए । उनका अनुसार २८ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन । यसका लागि जम्मा ९ वटा पार्किङ वे रहेको छ । उडान धेरै हुने र वायुसेवा बढ्दा उडान व्यवस्थापन मिलाउनु नै निकै चुनौतिपूर्ण रहेको पनि ठाकुरले बताए ।

नेपाल बै‌कको १ करोड ५४ लाख कित्ता हकप्रद निष्कासन, वैशाख ७ गतेबाट आवेदन खुला

काठमाडाै‌ । नेपाल बैंक लिमिटेडले १ करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैैंकले प्रति साधारण सेयर १ सय रुपैयाँ अंकित यो हकप्रद सेयर एक सय वटा सेयर बराबर २३ दशमलव ७४ ( १००ः २३.७४) कित्ता दिने भएको छ । यसको हकप्रद सेयरको आवेदन आगामी बैशाख ७ गतेबाट जेठ १० गतेसम्म दिन पाइने उल्लेख छ । बैंकले हालयको ६ अर्ब ४९ करोड ९४ लाख ७८ हजार २०० रुपैयाँको चुक्ता पुँजीमा २३ दशमलव ७४ प्रतिशतका दरले हकप्रद जारी गरेर पुँजी वृद्धि गर्न लागेको हो । यो बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड हो । यसको हकप्रद सेयरको लागि सिभिल क्यापिटल सुन्धारा र बैंकको सबै कार्यालयबाट आवेदन दिन सकिने उल्लेख छ । यो बैंकको हाल बजारमा प्रति कित्ता सेयरको ५१० रुपैयाँमा कारोबार भइरहेको छ ।

फास्टट्रयाक बनाउन नेपाली सेनाकाे विशेष संयन्त्र, सेनालार्इ व्यवस्थाकीय जिम्मा

काठमाडौं । नेपाली सेनाले फास्टट्रयाक बनाउने जिम्मा लिएको छ । सेनाले सोमबार पत्र पठाएरै फास्टट्रयाक बनाउन विशेष संयन्त्र बनाउने र व्यवस्थापकीय जिम्म लिने विषयमा सहमति दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकका स्वकीय सचिव जनक भट्टले बताए । उनका अनुसार सेनाले औपचारिक रुपमा यो मार्ग बनाउने जिम्म लिाएको छ । सरकारको यस अघि नै यो मार्ग निर्माण नेपाल सरकार आफै बनाउने निर्णय गरेको थियो । रक्षा मन्त्रालयले फास्टट्रयाक बनाउने व्यवस्थापनको जिम्मेवारी दिन भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयलाई औपचारी पत्र पठाएको उल्लेख छ । चैत १७ गते भौतिक मन्त्रालयले फास्टट्रयाक निर्माणको कार्य गर्ने जिम्मा नेपाली सेनालाई दिने प्रस्ताव गरेको थियो । सो प्रस्ताव स्वीकार गर्दै रक्षा मन्त्रालयले आज व्यवस्थापनको जिम्मा दिने आग्रह गरेको भट्टले जानकारी गराए । उनका अनुसार रक्षा मन्त्रालयले व्यवस्थापनको जिम्मा लिइसकेपछि त्यसका लागि फास्टट्रयाक व्यवस्थापन विशेष संयन्त्र गठन गरी त्यसको अनुगमन गर्नेछ । ७६ किमीको यो सडक बनेपछि काठमाडौं तराई जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने छ ।

सडकमा हर्न बजाउन नपाइने, ध्वनि प्रदूषण नियन्त्रण गर्न हर्न बजाए कारबाही

काठमाडौं । सडकमा गुड्ने साधनले जथाभाबी हर्न बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै नियामक निकायले काठमाडौंका सडकमा हर्न बजाउन रोक लगाएका छन् । यातायात व्यवस्था विभाग ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंको चैत २० गतेको संयुक्त बैठकले हर्न बजाउन नपाउने व्यवस्था कार्यान्वयन सुरु गर्ने निर्णय गरेको हो । सडकमा गुड्ने यातायातका साधनले अब विशेष अवस्थाबाहेक हर्न बजाए जरिबाना तिर्नुपर्ने छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ कोे दफा १६४ को ग अनुसार जथाभाबी हर्न बजाए जरिबाना गर्ने निर्णय गरेको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । जथाभावी हर्न बनाएर पहिलोपटक पाँच सय, दोस्रोपटक एक हजार र तेस्रोपटकबाट १५ सय जरीवाना हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा बसेको बैठकले २०७४ वैशाख १ गतेदेखि यो नियम लागू हुने निर्णय गरेको छ । अन्नपूर्ण पोस्टबाट ।

नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल सहित ६ जना सर्वसहमतिमा निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि कार्यसमितिमा एशोसिएट उपाध्यक्षसहित ६ जना सर्वसहमत भएका छन् । एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल सर्वसहमत भएका छन् । महासंघको निर्वाचनमा एशोसिएट उपाध्यक्षमा सर्वसहमति भएको यो पहिलो पटक हो । द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तर्फ नेपाल थाई उद्योग वाणिज्य संघको अध्यक्ष अजय मुडभरी सर्वसहमत भएका छन् । त्यस्तै प्रदेश नम्बर ३ मा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघबाट कमलकुमार श्रेष्ठ, प्रदेश नम्बर ५ मा नवलपरासी उद्योग वाणिज्य संघबाट भीमबहादुर थापा क्षेत्री, प्रदेश नम्बर ६ मा डोल्पा उद्योग वाणिज्य संघबाट लंकमान रोक्का, संस्थापक सदस्य समूहको सदस्यमा मोरङ व्यापार संघबाट अभिनास बोहरा निर्वाचित भएका छन् ।

महासंघको नेतृत्वका लागि १११ जना चुनावी मैदानमा(सूचिसहित)

  काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय नेतृत्वका लागि ११ जना चुनावी मैदानमा खडा भएका छन् । महासंघ निर्वाचन समितिका सदस्य लिलामणि पौडेलका अनुसार उम्मेदवारी दर्ताका लागि दिईको सोमबार साँझ ६ बजेसम्मको अवधीम १११ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । बरिष्ठ उपाध्यक्षका शेखर गोल्छा र किशोर प्रधानले उम्मेदवारी दर्ता गरेका छन् भने जिल्ला नगरमा प्रमोद श्रेष्ठ र दिनेश श्रेष्ठको उम्मेदवारी परेको छ । बस्तुगत तर्फको उपाध्यक्षमा भने उमेशलाल श्रेष्ठ, शंकर पाण्डे र अनुप बहादुर मल्लले उम्मेदवारी दर्ता गराएका छन् । एसोसियट तर्फको उपाध्यक्षमा चन्द्र प्रसाद ढकालको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध घोषणा गरिएको छ । निर्वाचन समितिका सदस्य पौडेलका अनुसार जिल्ला नगर २९ बाट जनाको उम्मेदवारी दर्ता भएको छ । महासंघ केन्द्रमा जिल्ला नगर उद्योग बाणिज्य संघबाट १८ कार्य समिति सदस्य निर्वाचित हुने व्यवस्था छ ।   एसोसियट तर्फबाट केन्द्रिय कार्य समिति सदस्यका लागि ३१ जनाको उम्मेदवारी दर्ता भएको छ । एसोसियट तर्फबाट कार्य समिति सदस्यमा १९ जना निर्वाचित हुने व्यवस्था रहेको छ । बस्तुगत संघहरुका तर्फबाट २८ जनाले केन्द्रिय कार्य समितिका लागि उम्मेदवारी दर्ता गराएका छन् । महासंघको विधानमा बस्तुगत संघका तर्फबाट १४ जना निर्वाचित हुने व्यवस्था रहेको छ । द्धिराष्ट्रिय उद्योग बाणिज्य संघका तर्फबाट अजय मुडभरीको मात्रै उम्मेदवारी परेपछि उनी पनि निर्विरोध भैसकेका छन् ।  

चन्द्र ढकाल एसोसियट उपाध्यक्षमा निर्विरोध, को हुन् ढकाल ?

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्बिरोध निर्वाचित भएका छन् । महासंघको चैत २९ गतेका लागि तोकिएको निर्वाचनमा ढकालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । ‘एसोसियट तर्फको उपाध्यक्षमा चन्द्र ढकालको मात्रै उम्मेदवारी परेको छ, निर्धारित समयमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको छ’, महासंघको निमित्त महानिर्देशक मिना श्रेष्ठले विकासन्युजसँग भनिन् । सौरभ ज्योतिले एसेसियट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए तर अन्तिम समयमा उनले उम्मेदवारी फिर्ता लिँदै ढकाललाई नै समर्थन गरेका हुन् । को हुन ढकाल ? बाग्लुङको अमलाचौर गाबिसमा बिस २०२२ साल असार ९ गते (२३ जुन १९६५ ) जन्मिएका चन्द्र प्रसाद ढकाल नेपालका उदियमान उद्यमी हुन् । उनको नेतृत्वमा खडा भएको आइएमई ग्रुपले बैंकिङ, रेमिटेन्स, उर्जा, पुर्वाधार, अटोमोबाइल, पर्यटन, इन्फोटेनमेन्ट तथा व्यापारका क्षेत्रमा तिब्र गतिमा प्रगति गरिरहेको छ । ढकालले सन २००१ मा मलेसियाबाट नेपालमा रेमिटेन्स पठाउने गरि इन्टरनेशनल मनि एक्सप्रेस(आइएमई) नामको कम्पनी खडा गरेका थिए । यतिबेला आइएमई नेपालकै एक नम्बर रेमिटेन्स कम्पनीका रुपमा स्थापित भएको छ जसले ढकाललाई कमर्सियल्ली इम्र्पोटेन्ट पर्सन(सिआईपी) अवार्ड र रेमिटेन्स तर्फ सबै भन्दा ठुलो करदाताको सम्मान दिलाईरहेको छ । आइएमईले मात्रै नेपाल भित्रिने रेमिटेन्सको २५ प्रतिशत हिस्सा ओगटेको दावी गर्दै आएको छ । ढकालले उद्योग व्यवसायकै कारण प्रबल जनसेवा चौथो, सिआइपी अवार्ड २०१४, रेमिटेन्समा ठुलो करदाता सम्मान, कान्तिपुर टेलिभिजनको टप बिजनेश पर्सनालिटी अफ द इअर २०१४, गोर्खा दक्षिण बाहु चौथो लगायतका प्रतिष्ठित सम्मान तथा मानपदवी प्राप्त गरिसकेका छन् । ढकाल हाल इण्डोनेसियाका लागि अवैतनिक महाबाणिज्य दूतका रुपमा कार्यरत छन् । त्यस बाहेक नेपाल मलेसिया चेम्बर अफ कमर्शको अध्यक्षका रुपमा पनि भूमिका निर्वाह गरिसकेका छन् । त्यस बाहेक इन्टरनेशनल चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री(आइसीसीको उपाध्यक्ष, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीको उपाध्यक्ष, पश्चिमाञ्चल विकास फोरमको अध्यक्ष पनि छन् । ढकालले ग्लोबल आइएमई बैंकको अध्यक्ष, आइएमई ग्रुपको अध्यक्ष, आइएमई लिमिटेडको अध्यक्षको जिम्मेवारी पनि एकै साथ निर्वाह गरिरहेका छन् । ढकालकै माउण्ट पुमोरी एयर कार्गाे प्राली नामको कम्पनी र सिएम ट्रेडिङ इन्टरप्राइजेज प्राली पनि सञ्चालनमा छ । आइएमई अटोमोटिभ्स प्राली र एलटी इन्टरप्राइजेजले अटोमोबाइलको कारोबार गर्दै आएको छ । हिमालयन पावर पार्टनर लिमिटेड र माउन्टेन इनर्जी प्राली उर्जाका क्षेत्रमा काम गरिरहेको छ । हिमालयन पार्टनरले २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत आयोजना र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजनामा लगानी गरेको छ । चन्द्रागिरी हिल्स लिमिटेडबाट काठमाडौं नजिकै केबल कार निर्माण गरि सञ्चालन गरिरहेको छ । ढकालले अष्ट्रेलिया, बहराइन, बंगलादेश, बेल्जियम, भुटान, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, भारत, इण्डोनेसिया, इटाली, जापान, लक्जमबर्ग, मलेसिया, नेदरल्याण्ड, नर्वे, पाकिस्तान, कतार, रसिया, बेलायत, अमेरिका, कोरिया, थाइल्याण्ड, स्वीजरल्याण्ड, स्पेन, युएई लगायतका देशहरुको भ्रमण गरिसकेका छन् । उनले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यसँगै अन्तराष्ट्रिय तथा एनआरएन लगानी प्रवद्र्धन कमिटीको अध्यक्षको जिम्मेवारी पुरा गरेसँगै एसोसियट तर्फको उपाध्यक्षमा सर्वसम्मतिले चयन भएका हुन् ।

ग्लोबल आइएमई बैंकको १५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको गत वर्षको मुनाफाबाट सेयरधनीलाई १५ दशमलब ७६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई सोमबार सम्पन्न कम्पनीको दशौँ वार्षिक साधारणसभाले पारित गरेको हो । १५ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब २४ करोड रुपैयाँ पुगेकोे छ । हालसम्म बैंकले ८७ अर्ब रुपैयाँ निक्षेप र ७२ अर्ब रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ । साथै, सभाले संस्थापक शेयरधनी समूहबाट चन्द्रप्रसाद ढकाल, सुहृदराज घिमिरे, पवनकुमार भिमसरिया निर्विरोधरुपमा निर्वाचित गरेको छ । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट सुदर्शन कृष्ण श्रेष्ठ, सुमन पोखरेल, सुरजकुमार श्रेष्ठ संचालकमा निर्विरोध रुपमा निर्वाचित भएका छन् । हाल बैंकको ९४ वटा शाखाहरु, १० वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १०६ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।