विकासन्युज

आधा दर्जन आयोजनाको डलरमा पीपीए हुँदै, जोखिम व्यहोर्नको लागि हेजिङ फण्ट

काठमाडौं । अब सरकारले एक सय मेगावाटभन्दा माथिका आयोजनाका लागि विदेशी मुद्रा (अमेरिकी डलर) मा विद्युत् खरिद सम्झौता गर्ने भएको छ । विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धि कार्यविधिले एक सय मेगावाटभन्दा ठूला आयोजनाको पीपीए डलरमा हुने भएपछि वैदेशिक ऋण लगानी गर्नका लागि ढोका खुलेको छ । सरकारले डलरमा पीपीए गर्दा हुने जोखिम व्यवस्थापन गर्न हेजिङ फन्ड स्थापनाको प्रक्रिया सुरु गरेको छ । उक्त फन्डमा कति रहनेभन्दा पनि पीपीए गरिएका आयोजनामा आर्थिक नोक्सानी व्यहोर्नु पर्दा उक्त रकम सरकारले उपलब्ध गराउने छ । हेसिङ फन्टका लागि ऊर्जा मन्त्रालयले सरकारलाई अनुरोध गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । सो कार्यविधि आएपछि करिब आधा दर्शन विद्युत् आयोजनाले डलरमा पीपीए गर्न प्रक्रिया अघि बढाएका छन् । नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारी अनुसार २ सय ८९ मेगावाटको माथिल्लो तमोर, २ सय ८२ मेगावाटको मनाङ मस्र्याङ्दी, २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१, १ सय ६३ मेगावाटको कालीगण्डकी कोबान, १ सय २० मेगावाटको रसुवा–भोटेकोसी र सय मेगावाटको सुपर त्रिशूलीले डलरमा पीपीए गर्ने प्रक्रिया अघि बढाएका हुन् । माथिल्लो त्रिशूली र रसुवा–भोटेकोसीलगायतका विद्युत् आयोजनाले मात्र डलर पीपीए गर्ने प्रस्ताव अघि बढाएका छन् । उक्त आयोजनामध्ये माथिल्लो त्रिशूलीको पीपीए सम्झौता अन्तिम चरणमा छ । सुपर त्रिशूली, कालीगण्डकी कोबान र रसुवा–भोटेकोसीको पिपिए प्रस्तावको प्राविधिक मूल्यांकन भइरहेको छ । प्राधिकरणको विद्युत मागबारे ‘भेरिफिकेसन’ गर्न बनेको समितिले तीन चरणमा छलफल गरेपछि मात्र डलर वा नेपाली रुपैयाँमध्ये कुनमा पीपीए गर्ने भन्ने टुङ्गो लाग्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताए । कुनै पनि आयोजना पीपीए गर्ने अवस्थामा पुग्नुभन्दा पहिला निश्चित शर्त तथा आधारहरू तोकिएको हुन्छ । आयोजनासँग विद्युत् उत्पादन क्षमता र वार्षिक विद्युत् उत्पादनलाई पीपीएको मुख्य आधार मानिन्छ । प्राविधिक मूल्यांकन र प्रसारण लाइन सम्झौता गरिसकेपछिमात्रै पीपीए प्रक्रिया अघि बढ्ने अधिकारीले बताए । विदेशी मुद्रामा पीपीए गर्दा अर्धजलाशयको छुट्टाछुट्टै दरभाउ तोकेको छ । सरकारले तोकेको दरमै गरिने प्रवक्ता अधिकारीले बताए । अर्धजलाशय (पिकिङ) आयोजनाको बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँदेखि १०.५५ रुपैयाँ निर्धारण गरिएको छ । हिउँदमा पिकिङ नगर्नेलाई प्रतियुनिट ८.४० रुपैयाँ र पिकिङ गर्ने आयोजनाको हकमा सोहीअनुसार पीपीए दर निर्धारण गरेको छ । यसैरीनै प्राधिकरणले जलाशय आयोजनाको बर्खामा प्रतियुनिट ६.०३५ रुपैयाँदेखि ७.१० रुपैयाँ र हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ पीपीए दर निर्धारण गरेको छ ।

ललितपुरको गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाको अन्तिम मत परिणाम आएको छ । जसअनुसार गोदावरी नगरपालिका–१ वडाका वडाप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको छ ।

ललितपुरमहानगरमा काँग्रेसको अग्रता, प्रतिस्पर्धामा एमाले

ललितपुर । ललितपुर महानगरपालिका–१ वडाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ । जारी मत गणनामा प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मतका साथ अग्र स्थानमा रहेका भने नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकार ३०९ मतका साथ दोस्रो र नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जन ११२ मतका साथ तेस्रो स्थानमा रहेका छन् । आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका सबै छ स्थानीय तह महानगरसहित दुई नगरपालिका र तीन वटै गाउँपालिकामा मतगणना जारी छ । गएराति १२ बजेबाट महानगरको १ वडाबाट मतगणना सुरु भएको थियो । उक्त वडामा दुई हजार ४६१ मतदाता रहेका छन् । जम्मा २९ वडा रहेको महानगरमा प्रमुख पदका लागि १४ तथा अन्य पदका गरी ६३४ जनाले उम्मेदवारी दिएका थिए । कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।

मनाङको चामेमा एमालेको पहिलो विजय, गाउँपालिका अध्यक्षमा घले

काठमाडौं । मनाङको सदरमुकाम चामे गाउँपालिकामा नेकपा(एमाले)का लोकेन्द्रवहादुर घले विजयी भएका छन् । उनी एमालेका तर्फबाट मनाङमा निर्वाचन जित्ने पहिलो उम्मेदवार बनेका हुन् । घलेले २१४ मत प्राप्त गरी चामे गाउँपालिकाको प्रमुख निर्वाचित भएका हुन् । घलेका प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेकी थिइन् । चामेको उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् ।

नुवाकोटमा मतगणना जारी,नगरपालिकामा एमाले अगाडि

त्रिशूली । नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ । विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७ मत गनिएकोमा नेकपा (एमाले)  का प्रमुखका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार धु्रव अधिकारीले १०७ मत ल्याउनुभएको छ । नेकपा (माओवादी केन्द्र)मा प्रमुखका उम्मेदवार लिलानाथ न्यौपानेले १४ मत ल्याएका छन् । त्यसैगरी नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेस अगाडि देखिएको छ । अहिलेसम्म ८२३ मत गनिएकोमा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले ३४८, नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार केपी लामिछानेले २८५ र नेकपा (माओवादी केन्द्र)का अध्यक्षका उम्मेदवार मानसिंह तामाङले १५४ मत प्राप्त गरेका छन् । रासस

डेरी उद्योगमा चीनले ३२ अर्ब लगानी गर्दै, २७ जिल्लामा आयोजना सञ्चालन गरिने

काठमाडौं । नेपालको डेरी क्षेत्रमा चीन सरकारको सहयोगमा मेघा आयोजना सञ्चालनमा आउन लागेको छ । चीन सरकारको स्वामित्वको कृषि यन्त्रीकरण विज्ञान प्रतिष्ठान (केम्स) को आर्थिक सहयोगमा ‘नेपालमा डेरीको विकासमार्फत ग्रामीण गरिबी निवारण’ आयोजना सञ्चालनमा आउन लागेको हो । चीनले पहिलोपटक यो आयोजनामार्फत नेपालको कृषि र पशुपन्छी क्षेत्रमा ठूलो लगानी गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष आग्रहमा चीनको केम्सले यो आयोजना सञ्चालनमा ल्याउन लागेको हो । चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन काउन्सिलको आयोजनामा गत कात्तिक ११ गते सम्पन्न भएको नेपालमा लगानीको सम्भावना विषयक सम्मेलनमा प्रधानमन्त्री दाहालले नेपालको कृषि क्षेत्रमा लगानी लगाउन चीन सरकारसँग आग्रह गरेका थिए । सोही आग्रहअनुसार केम्सका अध्यक्ष वाङ वोले उक्त आयोजना सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । केम्सले डेरी क्षेत्रमा केन्द्रित हुने गरी तीन वर्षका लागि आयोजना कार्यान्वयनमा ल्याउँदैछ । दुई चरणमा सञ्चालन हुने कार्यक्रमका लागि करिब ३२ अर्ब रुपैयाँ छुट्टयाइएको छ । यसअनुसार पहिलो चरणमा १७ अर्ब ९६ करोड र दोस्रो चरणमा १४ अर्ब तीन करोड ९८ लाख रुपैयाँ लगानी गरिनेछ । सरकार-सहकारी-निजी साझेदारी अवधारणा अन्तर्गत २७ वटा जिल्लामा स्रोत केन्द्र स्थापना गरी यो आयोजना सञ्चालनमा आउन लागेको छ । केम्सका प्रबन्धक जेरी याङका अनुसार इलाम, झापा, मोरङ, उदयपुर, महोत्तरी, दोलखा, रामेछाप, सिन्धुली, बारा, मकवानपुर, चितवन, नुवाकोट, गोरखामा स्रोत केन्द्र स्थापना हुनेछ । यसैगरी लम्जुङ, तनहुँ, कास्की, रोल्पा, रुकुम, जुम्ला, रूपन्देही, दाङ, बाँके, सल्यान, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुरामा पनि स्रोत केन्द्र स्थापना गरिनेछ । चीन सरकारले यो आयोजनाको सञ्चालनको जिम्मेवारी राष्ट्रिय दुग्ध विकास बोर्डलाई दिएको छ । आयोजनामार्फत ३० हजार जनालाई रोजगारी उपलब्ध गराउने योजना पनि छ । आयोजनाले बाछी जन्माउनेदेखि दूध उत्पादन, दूध प्रशोधन, पाउडर दूध उत्पादनका साथै घाँसमा आधारित दाना कारखाना र मल उत्पादनसम्मको काम स्वचालित उपकरण र अत्याधुनिक कारखानाको सहयोगमा गर्ने योजना तयार पारेको छ । आयोजना कार्यान्वयनमा आएपछि नेपालको डेरी क्षेत्रको कायापलट हुनेछ । विज्ञका अनुसार यो आयोजना कार्यान्वयनमा आएपछि नेपालको डेरी क्षेत्रको कायापलट हुनेछ । आयोजना सञ्चालनका विषयमा राष्ट्रिय दुग्ध विकास बोर्डका अध्यक्ष कैलाशप्रसाद ढुंगेल र केम्सका अध्यक्ष वाङ वोबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । ‘अब दुई निकायबीच समझदारीपत्रमा हस्ताक्षर गर्न बाँकी छ’, बोर्डका अध्यक्ष ढुंगेलले भन्नुभयो, ‘निर्वाचन सके लगक्तै आवश्यक तयारी सकेर समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना छ ।’ सहमतिपत्रअनुसार केम्सले सुझावसहितको सम्भाव्यता अध्ययनको प्रतिवेदनसमेत बोर्डमा बुझाइएको छ । पशुपन्छी मन्त्रालयका प्रवक्ता श्याम पौडेलले नेपालको डेरी क्षेत्रमा पहिलोपटक ठूलो लगानीको आयोजना प्रवेश गरेको जानकारी दिनुभयो । उहाँले यो आयोजनाका कारण मुलुकमा दूधमा आत्मनिर्भर बन्नुका साथै अन्तर्राष्ट्रिय स्तरको दूध र दुग्धजन्य पदार्थ निर्यात गर्ने लक्ष्य राखिएको छ । ‘यो आयोजनाको अर्को महत्ववपूर्ण पक्ष भनेको सोझै किसानको खेतबारीसम्म लगानी छ’, पौडेलले भन्नुभयो, ‘चीन र अमेरिकामा प्रयोग हुने उच्च प्रविधियुक्त स्वचालित यन्त्रीकरणको सहयोगमा स्रोत केन्द्र र कारखाना निर्माण गर्ने व्यवस्था चीन सरकारले गरेको छ ।’ केम्सका प्रबन्धक जेरी याङका अनुसार यो आयोजनामार्फत उत्पादन हुने न्युन लागत मूल्यको दूध निजी क्षेत्रका डेरी र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले समेत खरिद गर्न पाउने व्यवस्था गरिएको छ । यो आयोजनामार्फत हालसम्म नेपालमा प्रयोगमा नआएको यूएचटी (उच्च तापक्रम प्रशोधन प्रक्रिया) प्रविधिको पनि दूध उत्पादन गर्ने लक्ष्य राखेको छ । डीडीसीले गत वर्ष नै यही प्रविधिको दूध उत्पादन गर्ने आवश्यक प्रक्रिया सुरु गरेपनि सरकारबाट आर्थिक सहयोग नपाउँदा उक्त योजना थन्किएको थियो । यूएचटी प्रविधिको दूध तीन महिनासम्म उपभोगमा ल्याउने मिल्ने विशेषताको हुन्छ । डेरी व्हाइटर दूध पनि उत्पादन गरिनेछ । १७ हजार होलेस्टिन फ्रिजियन गाई आयोजनाअन्तर्गत चीन सरकारले होलेस्टिन फ्रिजियन जातको पहिलो चरणमा आठ हजार र दोस्रो चरणमा नौं हजार गरी १७ हजार गाई उपलब्ध गराउनेछ । उच्च मात्रामा पौष्टिक तत्व भएको दूध प्रतिदिन ३० लिटर दिने विशेषता भएको यो गाई छ । यो गाईलाई बोइङ बिमानबाट ढुवानी गरेर नेपाल ल्याइनेछ । एक पटकमा चार सय थान गाईलाई बोइङ बिमानमार्फत ढुवानी गर्ने व्यवस्था गरिएको छ । ढुवानी खर्चसहित एउटा गाईको लागत मूल्य चार लाख नेपाली रुपैयाँ पर्छ । चार प्रकारको दूध र दुई प्रकारको मल आयोजनाअन्तर्गत यूएचटी, पाश्चाराइजर, फ्लेवर र होल पाउडर गरी चार प्रकारको दूध र अर्गानिक र झोल गरी दुई प्रकारमा मल उत्पादन पनि गरिनेछ । पहिलो चरण र दोस्रो चरणमा गरी चार प्रकारको दूधतर्फ गरी एक लाख ५३ हजार नौं सय ४३ मेट्रिक टन उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसअनुसार पहिलो चरणमा यूटीएच दूध आठ हजार सात सय ६०, पाश्चाराइजर दूध २१ हजार नौं सय, फ्लेवर दूध नौं सय ७३ र होल पाउडर दूध २९ हजार ६ सय ९० मेट्रिक टन उत्पादन हुनेछ । यस्तै दोस्रो चरणमा यूएचटी २६ हजार दुई सय ८०, फ्लेवर ३२ हजार आठ सय ५०, पाश्चाराइजर ३२ हजार एक सय ५० र होल पाउडर दूध एक हजार तीन सय ४० मेट्रिक टन उत्पादन हुनेछ । आयोजना अन्तर्गत नै पहिलो चरण र दोस्रो चरणमा गरी चार लाख ५३ हजार तीन सय ३० मेट्रिक टन अर्गानिक र ६ लाख १६ हजार पाँच सय ६० मेट्रिक टन झोल मल उत्पादन गरिनेछ । यस्तै पहिलो र दोस्रो चरणमा गरी आठ हजार नौं सय थान बाछी जन्माइनेछ । तीन प्रकारको स्रोत केन्द्र आयोजनाले दुई सय थान गाई अटाउने गरी २५ वटा, पाँच सय थान गाई अटाउने १६ वटा र एक हजार थान गाई अटाउने चारवटा गरी कुल ४१ वटा स्रोत केन्द्र निर्माण गरिनेछ । यो स्रोत केन्द्रमा दूध दुहूने र दूध प्रशोधन गर्न स्वचालित उपकरणको प्रयोग हुनेछ । यस्तै एउटा बाछाबाच्छी जन्माउने केन्द्र, किसानलाई गाईपालनदेखि दूध प्रशोधनसम्मको जानकारी दिन एउटा तालिम केन्द्र, दुईवटा दूध प्रशोधन कारखाना र तीनवटा पाउडर दूध कारखाना, दुईवटा गाईलाई खुवाउने दाना कारखाना, तीनवटा मल बनाउने कारखाना पनि यो आयोजनाअन्तर्गत निर्माण हुनेछ । (अन्नपूर्ण दैनिकबाट)

स्थानीय निर्वाचनमा ७३ प्रतिशत मत खस्यो, यस्तो छ मतगणना गर्ने विधि

काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनमा जनताले उत्साहपूर्ण सहभागीता जनाएका छन् । आइतबार सम्पन्न भएको पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मत खसेको हो । मतदान सकिए लगतै निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी ७३प्रतिशत जनताले मताधिकार प्रयोग गरेको जनाएको हो । आइतबार प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ११ बुँदे निर्देशिका जारी गरेर मत गणनाको प्रक्रिया थाल्न निर्देशन दिएको पनि जानकारी दिए । सोही निर्देशिकाहरु जिल्ला निर्वाचन कार्यालयसँगको समन्वयमा निर्वाचन केन्द्रहरुले आफु अनुकुल आइतबारै वा सोमबार देखि मतगणना गर्न सकिने व्यवस्था गरेको पनि उनले जानकारी दिए । दोलखा, काभ्रे र कोलिकोटका तीन वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको आयोगले जनाएको छ ।

पहिलोपटक मस्तिष्क मृत्यु भएकाको अङ्ग प्रत्यारोपण

काठमाडौँ । नेपालमा चिकित्साविज्ञानको क्षेत्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकी अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको छ । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले गत बिहीबार जिप दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलका दुई मिर्गौला दुई व्यक्तिमा प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । केन्द्रले दिएको जानकारी अनुसार मिर्गौला प्रत्यारोपणका लागि पालो कुरिरहेका बिरामीमध्येबाट भुजेलका मिर्गौला सुनसरीका ५१ वर्षीय गोविन्द तिमिल्सिना र लाजिम्पाट काठमाडौँका १५ वर्षीय मिलन श्रेष्ठमा गत बिहीबार नै सफल प्रत्यारोपण गरिएको हो । केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले यो नेपालका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, “विदेशी मुलुकमा ८० प्रतिशत प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुनेगर्छ । हाम्रो देश पनि धेरै दुर्घटना हुने देशमा पर्छ, हामीले मस्तिष्क मृत्यु भएका यस्ता व्यक्तिबाट अङ्ग झिकी अरु आवश्यक भएका व्यक्तिमा प्रत्यारोपण गर्नसकेमा धेरै व्यक्ति अङ्ग नपाएर मर्नुपर्ने अवस्थामा कमी आउँछ ।” नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्ग प्रत्यरोपणबारे जनचेतनाको कमी भएकाले सबैलाई सम्झाउन समस्या छ । यो संवेदनशील र जटिल विषय पनि भएकाले सरकार, गैरसरकारी संस्था, नागरिक समाजले सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ छ । सरकारले गत वर्ष मानवअङ्ग प्रत्यारोपण नियमावली–२०७३ जारी गरी मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिको अङ्ग झिकी अर्कोमा प्रत्यारोपण गर्ने सहज बाटो खोलेको थियो । यो नियमावलीले अब मस्तिष्कघात भई मृत्यु भएकाका आठ अङ्ग लिन र प्रत्यारोपण गर्न मिल्ने बाटो खुला गरेको छ । मस्तिष्क मृत्यु भएकाबाट दुई मिर्गौला, दुई फोक्सो, प्याङक्रियाज, सानो आन्द्रा र दुई आँखाका नानी अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ । प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्य अवस्था सामान्य भएको र केही दिनमा उनीहरुलाई डिस्चार्ज गरिने केन्द्रले जनाएको छ । सरकारले कुनै अस्पतालमा बिरामीको मस्तिष्क मृत्यु भएमा मानव अङ्ग प्रत्यारोपण केन्द्रको स्थापना भएको केन्द्रिय समन्वय एकाइमा सम्पर्क गर्नसक्ने व्यवस्था गरेको छ । त्यसपछिको सबै प्रक्रिया सोही एकाइमार्फत हुनेछ । कार्यकारी निर्देशक श्रेष्ठले मृतक भुजेलका परिवारलाई सुरुमा राजी बनाउन केही समस्या भएपनि पछि उनीहरुले खुसीसाथ सहमति दिएको अनुभव सुनाए । रासस