विकासन्युज

कलश स्टक मार्केटले सेयरबजारसम्बन्धी निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने

काठमाडौं । कलश स्टक मार्केट ब्रोकर नम्बर ७४ ले लगानीकर्ताहरूलाई लक्षित गर्दै सेयरबजारसम्बन्धी निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार पुस १९ गतेदेखि २६ गतेसम्म ८ दिनसम्म चल्ने यो तालिम अनलाइन माध्यमबाट सञ्चालन हुनेछ । सेयर बजारप्रति चासो राख्ने इच्छुक व्यक्तिहरू तालिममा सहभागी हुन सक्नेछन् । बेलुका ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने तालिममा सेयरबजारसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ । तालिमका प्रमुख प्रशिक्षकका रूपमा अशोक कुमार शाह रहने कलश स्टक मार्केटले जनाएको छ । तालिममा सहभागी हुन इच्छुकले कलश स्टक मार्केटको आधिकारिक वेबसाइटमार्फत फारम भर्नुपर्ने कम्पनीका अध्यक्ष प्रदीप के.सी.ले जानकारी दिएका छन् ।

तीन पूर्वप्रधानमन्त्रीको एकै स्वर, समयमै निर्वाचन गरौं, अन्योलता हटाऔँ

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीले मुलुक राजनीतिक अन्योलबाट बाहिर निस्कँदै निर्वाचनतर्फ केन्द्रित भएको भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य: सामूहिक पहल’ कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र बाबुराम भट्टराईले समयमै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेर राजनीतिक निकास दिनुपर्ने बताएका हुन् । राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धिका लागि निजी क्षेत्रको संरक्षण, संरचनागत सुधार र राज्य–निजी–समुदायबीचको सहकार्य अपरिहार्य रहेको उनीहरूको भनाइ छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक समेत रहेका दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताए । निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको बाटो रहेको उनको भनाइ छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेर नयाँ संसद् स्थापना गर्नुपर्छ । नयाँ संसदले संविधानमा रहेका अन्योलता हटाउने काम गर्नेछ । हामीले आफ्नै आत्मसमीक्षा गरेर कमजोरी कहाँ भयो भनेर खोज्नुपर्छ । स्थापित शक्तिहरू अब नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने वा आफ्नो औचित्य सकियो भनेर पाखा लाग्ने मोडमा पुगेका छन्,’ उनले भने । पछिल्ला राजनीतिक घटना र जेनजी आन्दोलनले पुरानो राजनीतिक सोच र स्थापित शक्तिलाई आत्मसमीक्षा गर्न बाध्य पारेको उनको भनाइ छ । राजनीतिक दलका नेतृत्व तहले आफ्ना कमीकमजोरी पहिचान गरी सुधारतर्फ उन्मुख हुनुपर्नेमा उनले जोड दिए । निर्वाचनलाई राजनीतिक प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय सहमति निर्माण गर्ने प्रक्रियाका रूपमा लिनुपर्ने उनले धारणा राखे । ‘युवापुस्ता जेनजी प्रदर्शनपछि हामीले राष्ट्रिय सहमति र राष्ट्रिय राजनीतिक एकतामा जानुपर्छ भनेका थियौँ । सर्वपक्षीय सहमति गर्ने वातावरण क्रमशः बन्न थालेको छ । के हुन्छ भन्ने अन्योलभन्दा अब निर्वाचनमा केन्द्रित हुनुपर्छ । सरकारले अप्ठेरो बीच पनि विकल्प निर्वाचन नै हो भन्ने वातावरण बनाउँदै गएको छ,’ उनले भने । साथै उनले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि निजी क्षेत्रको सक्रियता बिना सम्भव नहुने बताए । उनका अनुसार निजी क्षेत्रलाई संरक्षण र प्रोत्साहन गरिएन भने विकास र समृद्धि सम्भव हुँदैन । निजी क्षेत्रको प्रवर्द्धन नगरी अर्थतन्त्र उकास्ने सपना पूरा नहुने उनले बताए । नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु रहेको बताए । जेनजी आन्दोलनको क्रममा आपराधिक गतिविधि गर्नेहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने उनले माग गरे । विगतमा भएका त्रुटीहरू सच्याएर अघि बढ्ने काममा पनि ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।  ‘वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनका साथसाथै केही संरचनाहरूमा सुधार गर्न सकिने पनि भएकाले त्यसमा पनि समय दिनुपर्ने आवश्यकता पर्छ । ती क्षेत्रहरूमा रहेको संरचनाहरूमा रहेका त्रुटीहरूमा सुधार गर्ने हो र सिष्टम कसरी बसाल्न सक्ने हो, अहिलेसम्म भएको राम्रा कामहरूलाई कसरी जोगाउने र कमजोरीहरू कसरी सुधार्ने भन्ने कुरामा ध्यान दिनुपर्ने आवश्यकता पर्दछ,’ उनले भने ।  नेपाल वन, कृषि, सांस्कृतिक, खनिज, जल लगायत विभिन्न सम्पदामा सम्पन्न रहेको उनले बताए । उनका अनुसार जसरी खोज अनुसन्धान लगानी गर्नुपर्ने, प्रतिफललाई ध्यानमा राखेर लगानी गर्नुपर्ने उनको भनाइ छ ।  ‘उद्योगी, व्यवसायी साथीहरूले पहल लिनुभएको छ । विभिन्न देशका अनुभव प्राप्त व्यक्तिलाई बोलाएर क्षेत्रगत छलफल गरेर अघि बढ्नुपर्छ । तपाइहरुले घच्घच्याउनु भएको छ । त्यो महत्वपूर्ण कुरा हो । वास्तवमा यो देशको विकास गर्ने हुटहुटी पहिला चाहियो । सपना देख्न सक्नु पयो । त्यसका लागि योजना बनाउन सक्नुपर्यो,’ उनले भने । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकको समग्र विकासका लागि आमूल आर्थिक र शासकीय सुधार आवश्यक रहेको बताए । २० वर्षदेखि के गर्ने भन्ने बहस भएपनि किन कार्यान्वयन हुन नसकेको हो भन्नेतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ छ ।  निर्वाहमुखी अर्थतन्त्रले देश अघि नबढ्ने बताउँदै उनले स्पष्ट औद्योगिकरण नीति आवश्यक रहेको उल्लेख गरे । राज्य, निजी र सामुदायिक क्षेत्रको सहकार्यमा औद्योगिकरणतर्फ जानुपर्ने उनको भनाइ छ । निजी क्षेत्रलाई राज्यले साथ नदिएसम्म विकास सम्भव नहुने उनको भनाइ छ ।  ‘२० वर्षदेखि के गर्ने भनेर बहस भयो । किन भइरहेको छैन त्यो खोज्नुपर्यो । विश्व कहाँ पुगेको छ र नेपाली समाज कहाँ छ हेरौँ । निर्वाहमुखी अर्थतन्त्रले मुलुकलाई अघि बढाउन सक्दैन । आमूल परिवर्तन गर्नका लागि खास अर्थतन्त्रको नीति लिनुपर्छ । मुलुकलाई औद्योगीकरणका लागि लैजान राज्य र निजी र सामुदायिक क्षेत्रको सहकार्यमा स्पष्ट नीति बनाउनुपर्छ । वैचारिक रुपमै प्रष्ट पनि हुनुपर्छ,’ उनले भने ।  भट्टराईले शासकीय प्रणाली सुधार गर्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने र राजनीतिक स्थायित्व बिना समृद्धि सम्भव नहुने बताए । उनले सम्पत्ति, भूमि र बैंकिङ क्षेत्रमा संरचनात्मक सुधार, सम्पतीको स्वामित्व राज्यले लिने र भोगाधिकार जनतालाई दिने प्रस्ताव पनि अघि सारे । उनका अनुसार सबैलाई एकपटक सम्पत्ति घोषणा गराई पूर्ण डिजिटलाइजेसन गर्नुपर्ने, पुँजी अभाव भएका क्षेत्रका बैंकहरूमा थुप्रिएको रकमबारे गम्भीर समीक्षा गर्नुपर्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार तथा विदेश गएका लाखौँ नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा आक्रमण हुनु गलत भएको उल्लेख गर्दै भट्टराईले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे । 

२०२६ मा सुनचाँदीको मूल्य अझै माथि जाने संकेत

काठमाडौं । सन् २०२५ मा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भयो । यस अवधिमा सुनको मूल्य ६२ प्रतिशतले र चाँदीको मूल्य १४४ प्रतिशतले बढ्यो । २०२६ मा पनि यो तेजी कायम रहन सक्ने अपेक्षा गरिएको छ ।  इकोनोमिक्स टाइम्सको एक प्रतिवेदनअनुसार विज्ञहरूले लगानीकर्ता सतर्क रहनुपर्ने जनाएका छन्, किनकि सट्टाबाजीका कारण मूल्यमा अचानक ठूलो उतार–चढाव आउन सक्छ । सुन र चाँदी दुवै मूल्यवान धातु हुन्, जसलाई मानिसहरूले सुरक्षित लगानी मान्छन् । इकोनोमिक्स टाइम्सले २०२६ का लागि सुन र चाँदीको मूल्य अनुमानबारे १० जना कमोडिटी बजार विज्ञहरूसँग प्रश्न गरेको थियो । सबै १० जना विज्ञको धारणा मूल्य माथि जाने नै छ भन्ने छ ।  तीमध्ये ८० प्रतिशतले चाँदीले सुनभन्दा राम्रो प्रदर्शन गर्ने बताएका छन् । आनन्द राठी सेयर्स एन्ड स्टक ब्रोकर्सका कमोडिटीज तथा करेन्सी निर्देशक नवीन माथुरले २०२६ मा दुवै धातुका लागि बलियो फन्डामेन्टल रहेको बताए । यद्यपि नाफामा केही कमी आउन सक्छ । सुनले निरन्तर राम्रो प्रदर्शन गर्नेछ भने चाँदीमा उतार–चढाव बढी भए पनि प्रतिशतका हिसाबले यसले सुनलाई उछिन्ने सम्भावना छ । चाँदीको मूल्यबारे ६० प्रतिशत विज्ञहरूको अनुमान अनुसार अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य कम्तीमा प्रति औंस १०० अमेरिकी डलरसम्म पुग्न सक्छ । यो बुधबारको ७२ डलरको मूल्यभन्दा करिब ४० प्रतिशत बढी हो । ती ६० प्रतिशतमध्ये आधाले चाँदीले प्रति औंस ११० डलरको स्तर पार गर्ने बताएका छन् । त्यस्तै, २०–२० प्रतिशत विज्ञले चाँदीको मूल्य ८०–९० डलर र ९०–१०० डलरको दायरामा रहने अपेक्षा गरेका छन् । २०२५ मा सुन र चाँदी सबैभन्दा राम्रो प्रदर्शन गर्ने सम्पत्तिहरूमध्ये परेका थिए । यसको पछाडि फरक–फरक कारण थिए । सुनको मूल्य बढ्नुको मुख्य कारण केन्द्रीय बैंकहरूको खरिद, ब्याजदर घट्ने अपेक्षा, भू–राजनीतिक अनिश्चितता र डलर कमजोर हुनु हो । यी कारणहरूले चाँदीको मूल्यमा पनि ठूलो उछाल आयो । यसका अतिरिक्त चाँदीको बढ्दो अभाव पनि एउटा ठूलो कारण हो । चाँदी सोलार प्यानल, विद्युतीय सवारी साधन र एआईजस्ता तीव्र रूपमा बढिरहेका उद्योगहरूमा प्रयोग हुन्छ । एचडीएफसी सेक्युरिटीजका कमोडिटीजका वरिष्ठ विश्लेषक सौमिल गान्धीका अनुसार चाँदी औद्योगिक धातु र मूल्यवान धातु दुवैको हैसियत राख्छ, जसले यसलाई अझ आकर्षक बनाउँछ । बलियो औद्योगिक तथा लगानी माग र स्थिर आपूर्तिका कारण चाँदीको बजार धेरै वर्षदेखि घाटामा चलिरहेको छ र यो प्रवृत्ति २०२६ मा पनि जारी रहने सम्भावना छ ।  मोतीलाल ओसवाल फाइनान्सियल सर्भिसेजका कमोडिटीज तथा करेन्सी हेड अफ रिसर्च नवनीत दमानीले हालको तेजीपछि लगानीमा सावधानी अपनाउने समय आएको बताए । उनका अनुसार खरिद सोचविचार गरेर गर्नुपर्छ, किनकि मूल्यमा ७–१० प्रतिशतसम्म गिरावट आउन सक्छ । 

सुनको मूल्य तोलामा १४ सयले घट्यो

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा बिहीबार पनि दुवै धातुको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँ र चाँदीको मूल्य ५५ सय रुपैयाँले घटेको हो ।       बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ४१५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।   

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन । भनिन्छ नि, चट्टान फोरेर पनि पिपल उम्रिन्छ । सत्यनारायणको यो सफलताले त्यो भनाइलाई व्यवहारमै चरितार्थ गरिदिएको छ । कठोर गरिबी र अभावको चट्टानलाई छिचोल्दै उनले झुपडीबाट देखेको सपना साकार हुने चरणमा पुगेको छ, यसले अभाव देखाएर भाग्ने देशभरका युवालाई पनि ‘अठोटका अगाडि बाध्यता हार्छन्’ भन्ने सन्देश प्रवाह गरेको छ । हुलाकी लोकमार्गको बरियारपट्टि चोकबाट तीन किलोमिटरभित्र पर्छ श्रीपुर गाउँ । यो गाउँका स–साना छाप्राहरूको लहर छिचोलेपछि एउटा यस्तो झुप्रो भेटिन्छ, जुन गरिबीले ढल्नै लागेको छ, तर घरभित्र उम्रेको आशाले त्यसलाई टेको दिइरहेको आभाष हुन्छ । यहीभित्र अभाव र अँध्यारोसँग जुध्दै सत्यनारायणले एउटा चम्किलो सपना सजाए अर्थात् ‘डाक्टर’ बन्ने सपना । आज त्यही झुप्रोबाट पलाएको सपनाले पूर्णता पाउने बाटो तय गरेको छ। यो सफलता त्यत्तिकै मिलेको होइन, सत्यनारायणले सुनाएअनुसार आमा सुनितालाई वर्षौंदेखि टाउको दुख्ने समस्या थियो । बुबा कतारमा पसिना बगाइरहेका बेला, आमालाई अस्पताल लैजाने जिम्मेवारी कलिलो उमेरमै सत्यनारायणको काँधमा आयो । उनी आमाको हात समाउँदै अस्पतालका गल्ली–गल्ली चहार्थे । डाक्टरले औषधि लेखिदिन्थे, औषधि खाँदा केही दिन निको हुन्थ्यो, तर फेरि उही पीडा दोहोरिन्थ्यो । अस्पतालका ती लामा लाइन, बिरामीहरूको चित्कार र आमाको अनुहारमा देखिएको असह्य पीडाले उहाँको बालमस्तिष्कमा गहिरो चोट पुर्यायो । ती दिनहरू सम्झँदै सत्यनारायण भन्छन्, 'औषधि खाँदा केही दिन निको हुने, फेरि उही पीडा दोहोरिने । आमाको त्यो पीडाले मेरो बाल्यकालको सोच नै बदलिदियो । अस्पतालमै उभिएर मैले कसम खाएँ, म डाक्टर बन्छु ।' यही अठोटले हो, उनको सपना बदलिदिएको, त्यही सपनाले आज जीवनको दिशा नै बदलिदिने आधार तय गरिरहेको छ । सुरुमा उनलाई एमबिबिएसको प्रवेश परीक्षा कसरी दिने, कति खर्च लाग्छ वा कति पढ्नुपर्छ भन्ने केही ज्ञान थिएन । थियो त केवल एउटा दृढ सङ्कल्प । सत्यनारायणले गाउँकै जनता माध्यमिक विद्यालयबाट २०७७ सालमा एसइई उत्तीर्ण गरे। पढाइमा तेज भएकै कारण उनले विराटनगरको अरनिको उच्च माविबाट विज्ञान विषय लिएर कक्षा १२ को पढाइ पूरा गरे । त्यसपछि उहाँको वास्तविक सङ्घर्षको अध्याय सुरु भएको हो । 'सपना त देखियो, तर घरमा बसेर हुनेवाला थिएन । सपना पछ्याउन घर छोड्नुपर्ने भयो । एमबिबिएसको तयारीका लागि काठमाडौं पुगेँ, तर आर्थिक अभावको पहाडले थिच्यो । तीन महिनामै काठमाडौं छाडेर घर फर्किँए । उता बुबा पनि कतारको रोजगारी गुमाएर घर फर्किए । परिवारमा ‘भोक कि पढाइ’ भन्ने सङ्कट आइलाग्यो', सत्यनारायणले सुनाए । हातमा दशथोक, मनमा पुस्तक परिस्थितिसँग हार मान्ने उनको स्वभाव थिएन । काठमाडौंमा बसेर तयारी गर्ने सपना अधुरै छाड्नुपरेपछि गाउँ फर्किए । गाउँमै निर्माण मजदुरको काम रोजे । दिनभर चर्को घाममा मिस्त्रीसँगै गाह्रो लगाउने, सिमेन्ट बोक्ने र निर्माणको काम गर्ने सत्यनारायणको दैनिकी बन्यो । शरीर थकित हुन्थ्यो, हात–खुट्टा गल्थे, तर रात पर्नासाथ उजको मन फेरि पढाइतर्फ फर्किन्थ्यो । बत्तीको मधुरो उज्यालोमा उनी चिकित्सा शिक्षाका पुस्तक पल्टाउथे र प्रवेश परीक्षाको तयारीमा डुब्थे। 'मैले गरिबीले काठमाडौं छोडेँ, तर सपना छोडेको होइन । मैले अभावले हण्डर खाएँ, तर हिम्मत हारेको थिइनँ । त्यसैले कुनै दिन अस्पतालको अगाडि उभिएर गरेको सङ्कल्पले मलाई गन्तव्यमा अगाडि बढिरहन झक्झक्याइरह्यो । आखिर सबैको कुरा अठोट त रहेछ, नहार्ने अठोट', मलिन मुद्रामा सत्यनारायणले विगत सम्झिँदै भने । यही अठोटले उनको सङ्घर्षले नयाँ गोरेटो तय गर्यो । मजदुरीबाट हातमा परेको सीमित ज्यालाबाट घरखर्च कटाएर बाँकी बचेको पैसाले उनी किताब किन्थे । कतिपय रात त उनले भोकभोकै पनि किताबका पाना पल्टाएर सपनाको खोजी गरे । सत्यनारायण भन्छन्, 'मेरो कोठामा किताबकै सिरानी र किताबकै ओछ्यान हुन्थ्यो ।' त्यही किताबबीच बिताएका अनगिन्ती रातहरूले उहाँलाई मेडिकल कलेजको ढोकासम्म पुर्याएको हो । सफलताको उडानः पहिलो प्रयासमै नाम काम सजिलो थिएन, तर सपना पनि त चानचुने थिएन । त्यसैले घरमै दुई वर्षको कठोर अध्ययन र मजदुरीपछि उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिए। नतिजा आउँदा सबै अचम्मित भए । सत्यनारायणले मधेसी दलित आरक्षण कोटामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए । उनको तपस्याले अन्ततः प्रतिफल दियो । यो खबर सुन्दा परिवारमा खुसीको सीमा छैन । यद्यपि, छात्रवृत्तिले पढाइ शुल्क निःशुल्क भए पनि आवास र अन्य शैक्षिक सामग्रीको खर्च जुटाउने चिन्ता बाँकी नै थियो । बुबा मधुरी साफी भन्छन्, 'छोराले आफ्नो मिहिनेतले डाक्टर पढ्ने बाटो त खोल्यो, तर अब यसलाई पूरा कसरी गराउने भन्ने चिन्ता छ । हामीसँग सम्पत्तिको नाममा केही धुर जग्गाबाहेक केही छैन । कक्षा भर्नाका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङसम्म पुग्ने र बस्ने खाने समस्याले क्षणिक खुसीलाई अन्धकारतर्फ धकेल्दै थियो ।' जब प्रविधिको सहाराले ‘भाइरल’ बने सत्यनारायणको कथा सामाजिक सञ्जालमा चर्चामा आएपछि देशैभरबाट सहयोगी हातहरू उनको झुपडीसम्म पुग्न थालेका छन् । प्रविधिको सहारामा उनको सफलताको चर्चा देश, विदेशमा पुगेको छ । विस्तारै आर्थिक सहयोग गर्नेहरू थपिँदै छन् । सहयोगी मनहरू जुर्मुराएका छन् । यो सहयोगले उनलाई केही राहत त दिएको छ । सहयोगी हातहरू झुपडीसम्म आइपुग्दा सत्यनारायणको आँखामा एकातिर कृतज्ञताको भाव देखिन्छ भने अर्कोतिर आफ्नो जिम्मेवारीप्रतिको गहिरो बोध । चारैतिरबाट पाइरहेको साथ र शुभेच्छापछि उत्साहित बनेका सत्यनारायण भन्छन्, “जब म काठमाडौँबाट रित्तो हात गाउँ फर्किएर मजदुरी गर्न थालेको थिएँ, मलाई लाग्थ्यो यो लडाइँमा म एक्लै छु । आज देशैभरिबाट मनकारी महानुभावहरूले देखाउनुभएको यो माया देख्दा म भावुक भएको छु । यो सहयोग केवल पैसा मात्र होइन, यो मप्रतिको भरोसा र समाजको ऋण हो, जुन म जीवनभर सेवा गरेर तिर्नेछु ।” उनलाई आफूजस्तै अन्य गरिब विद्यार्थीहरूको भविष्यको पनि चिन्ता छ । भन्छन्, “म त भाग्यमानी रहेछु र सबैको नजरमा परेँ, तर म जस्ता हजारौँ सत्यनारायणहरू आज पनि गाउँका कुनाकाप्चामा मजदुरी गर्दै सपना मारिरहेका छन् । राज्यले यस्तो प्रणाली बनाओस् कि कोही पनि प्रतिभाशाली विद्यार्थीले पैसाकै अभावमा किताब फाल्नु नपरोस् । सपना मार्न नपरोस् ।” आरक्षणः सीमान्तकृतका लागि वरदान सत्यनारायणको यो सफलतामा मेहनतसँगै नेपालको समावेशी आरक्षण व्यवस्थाको पनि ठूलो भूमिका छ । मधेस मामिला जानकार प्राडा विजयप्रसाद मिश्र आरक्षणको व्यवस्थाको महत्त्व सत्यनारायणजस्ता धेरै युवाहरूको सफलताले थप सान्दर्भिक बनाउँदै लगेको बताउछन् । भुइँमान्छेहरूले आफ्नो अधिकार सही प्रयोग नगरेसम्म र ओझेलमा परेको समुदायलाई अवसर नदिएसम्म लोकतन्त्र बलियो हुँदैन भन्ने कुरा यसबाट बुझ्नुपर्ने उनको भनाइ छ । प्राडा मिश्र भन्छन्, 'आरक्षणलाई अझै वैज्ञानिक बनाउनुपर्छ, यसलाई भुइँमान्छेले लाभ लिने गरी अझै व्यवस्थित बनाउनुपर्छ । कुन समुदाय पछाडि छ भन्ने बुझ्न प्रत्येक १० वर्षमा यसको समीक्षा गर्दै अगाडि बढ्नुपर्छ ।' सत्यनारायण साफी युवाहरूका लागि प्रेरणाको बलियो स्रोत बनेका छन् । झुपडीमा फुलेको उनी र उनीजस्तै युवाहरूको ‘सपनाको बिउ’ लाई फक्राउन सरकार र सरोकार भएकाहरूको सहयोगको खाँचो छ ।  रासस

हिमालय रोडिज सिजन ७ सम्पन्न, अनिश तामाङ बने विजेता

काठमाडौं । नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिज को सातौँ सिजन ग्रान्ड फिनाले प्रसारणसँगै सम्पन्न भएको छ । १४ पुस २०८२ मा फिनाले प्रसारण भएसँगै पुरस्कार हस्तान्तरण समारोहमार्फत सिजनको औपचारिक समापन गरिएको हो । समारोहमा अनिश तामाङलाई सिजन ७ को विजेताका रूपमा औपचारिक रूपमा पुरस्कार प्रदान गरिएको छ । टाइटल प्रायोजक यामाहा रेसिङले तामाङलाई पर्फर्मेन्स, पावर र राइडिङको रोमाञ्च झल्काउने मोटरसाइकल यामाहा एफजेड–३ प्रदान गरेको छ । साथै, कार्यक्रमको प्रसारक हिमालय टिभीले उनको मेहनत र उपलब्धिको कदर गर्दै १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो । यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले विजेता तामाङलाई यामाहा एफजेड–३ हस्तान्तरण गरेका थिए । यामाहा प्रेसेंट्स हिमालय रोडिज सिजन ७ : हेल ओर हेभन सेप्टेम्बर १, २०२५ देखि प्रसारण सुरु भएको थियो । यस सिजनमा जम्मा १८ वटा एपिसोड प्रसारण भएका थिए ।

एमएडब्लु वृद्धिले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प ल्याउँदै

काठमाडौं । नेपालका लागि डोङफेङ र सेरेस ब्रान्डका इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोक्रपले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ । क्याम्प पुस १९ देखि २१ गतेसम्म दाङस्थित राप्ती अटोमार्ट प्रालिको परिसरमा सञ्चालन हुनेछ, जुन दाङ क्षेत्रका लागि डोङफेङ नेपालका आधिकारिक वितरकसमेत हो । एमएडब्लु वृद्धिका अनुसार उक्त क्याम्पमार्फत ग्राहकहरूले आकर्षक आर्थिक सुविधासहित पुरानो सवारी साटेर नयाँ इलेक्ट्रिक सवारी खरिद गर्न सक्ने अवसर पाउनेछन् । यो कार्यक्रम दाङमा नयाँ अत्याधुनिक डोङफेङ शोरूमको उद्घाटन तथा बहुप्रतीक्षित ‘नामी भिगो’को आधिकारिक सार्वजनिक अनावरणको अवसरमा आयोजना गरिएको हो । कार्यक्रम अवधिमा इलेक्ट्रिक सवारी स्वामित्वलाई अझ सहज र सर्वसुलभ बनाउन विशेष अफर प्याकेज सार्वजनिक गरिएको एमएडब्लु वृद्धिले जनाएको छ । ग्राहकहरूले ‘नामी भिगो’ र ‘नामी बक्स’ विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन् । साथै ९७ किलोवाट क्षमताको द्रुत चार्जर, ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर र निःशुल्क अटो प्लस बीमाको सुविधा पनि प्रदान गरिनेछ । उच्चस्तरीय इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकहरूका लागि सेरेस ब्रान्डमा अधिकतम ६ लाख रुपैयाँसम्मको विशेष लाभ उपलब्ध गराइनेछ । सबै मोडेलमा पुराना सवारी साधनको आकर्षक मूल्याङ्कन गरिने र टेस्ट ड्राइभ लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । दाङमा सञ्चालनमा आएको नयाँ शोरूमले डोङफेङ र सेरेसका इलेक्ट्रिक सवारी साधनका लागि यस क्षेत्रको प्रमुख बिक्री तथा सेवा केन्द्रका रूपमा काम गर्नेछ । सीमित अवधिका विशेष अफरको लाभ लिन र इलेक्ट्रिक सवारीको प्रत्यक्ष अनुभव गर्न एमएडब्लु वृद्धिले दाङ तथा आसपासका ग्राहकहरूलाई आमन्त्रण गरेको छ ।

१८० एमएल प्याकसहित ‘द गभर्नर स्मोकवुड कास्क’ ह्विस्की बजारमा

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले ‘द गभर्नर स्मोकवुड कास्क’ ह्विस्कीको ७५० एमएल प्याक सफल भएपछि सोही ब्रान्डको १८० एमएल सानो प्याक बजारमा ल्याएको छ । प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्ने उद्देश्यसहित ल्याइएको नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको स्वाद र शिल्पकला अनुभव गर्न सहज बनाउने कम्पनीले जनाएको छ । १० वर्षसम्म परिपक्व गरिएका हाइल्याण्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको ‘द गभर्नर’ ह्विस्कीले ‘दुई प्रख्यात माल्ट, एक उत्कृष्ट ब्लेन्ड’ भन्ने मूल दर्शनलाई प्रतिबिम्बित गर्ने बताइएको छ । हाइल्याण्ड माल्टले गहिराइ र संरचना दिने तथा स्पेसाइड माल्टले स्मूथनेस र सन्तुलन थप्ने विशेषता यसमा रहेको छ । स्मोकवुड कास्कमा तयार गरिएको यस ह्विस्कीमा भ्यानिला, ओक र क्यारामेलका नोटसँगै सौम्य स्मोक स्वाद पाइने कम्पनीको दाबी छ । नयाँ प्याक सार्वजनिकबारे प्रतिक्रिया दिँदै सागर डिस्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौरभ कारंजितले १८० एमएल प्याकले ब्रान्डको गुणस्तर कायम राख्दै उपभोक्ताका लागि अझ सहज पहुँच सुनिश्चित गर्ने बताए । ‘द गभर्नर स्मोकवुड कास्क’ ह्विस्कीको १८० एमएल प्याक अब देशभर खुद्रा मूल्य ७४५ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।