विकासन्युज

एसबीआई बैंकको सिन्धुली शाखामा ३ करोड ११ लाख लुटपाट, सुरक्षागार्डमाथि खुकुरी प्रहार

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखामा मंगलबार (हिजो) साँझ लुटपाट भएको छ । बैंकका एक उच्च अधिकारीका अनुसार साँझ करिब साढे ६ बजेतिर एक समूहले बैंक शाखामा प्रवेश गरी लुटपाट गरेको हो । लुटपाटमा संलग्न समूहले ठूलो रकम लुटेको प्रारम्भिक जानकारी आएको बैंकका उच्च अधिकारीले बताए । उनका अनुसार प्रारम्भिक विवरणअनुसार करिब ३ करोड ११ लाख रुपैयाँ लुटिएको छ । यद्यपि लुटेराले लुटपाटकै क्रममा १ करोड ८० लाख रुपैयाँ फालेको र उक्त रकम फेला परिसकेको उनको भनाइ छ । घटनापछि मंगलबार राति नै बैंकको केन्द्रीय कार्यालयबाट बागमती प्रदेशका प्रमुख सुशील श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको र बिहान करिब ४ बजे त्यहाँ पुगिसकेको उनले बताए । घटनाको यथार्थ विवरण संकलन तथा औपचारिक रिपोर्टिङको प्रक्रिया जारी रहेको उनको भनाइ छ । लुटपाटमा प्रयोग गरिएको गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बैंकका उच्च अधिकारीले बताए । लुटपाटका क्रममा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरिएको छ । गार्ड घाइते भए पनि अवस्था गम्भीर नभएको उनले बताए । बैंकका अन्य कर्मचारीलाई भने कुनै शारीरिक क्षति नभएको उनले बताए । लुटेराले केहीबेर कर्मचारीहरूलाई नियन्त्रणमा लिएर कोठाभित्र डोरीले बाँधेर राखेको भए पनि हाल सबै कर्मचारी सुरक्षित रहेको जानकारी प्राप्त भएको उनको भनाइ छ ।  घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान तथा चेकजाँच भइरहेको उनले बताए । 

व्यवसाय र उद्योगको रोग निको बनाउन उद्यम क्लिनिक

काठमाडौं । उद्यमका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ पोखरामा मंगलबारदेखि उद्यम क्लिनिक सुरु गरिएको छ । पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा क्लिनिक सुरु गरिएको औपचारिक घोषणा गरेको हो । व्यवसायमा आउने समस्याको समाधानका लागि क्लिनिक सञ्चालन गरिने व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । ‘मानिसलाई रोग लागे उपचारको लागि अस्पताल लगिन्छ । व्यवसाय र उद्योगलाई रोग लागे के गर्ने भन्ने सन्दर्भमा उद्यम क्लिनिक स्थापना गरिएको हो । यसले उद्यमका क्षेत्रमा देखिएका अवरोध वा रोग हटाई त्यसलाई स्वस्थ बनाउने काम गर्दछ,’ उनले भने ।  अधिकारीका अनुसार उद्यममा देखिएका समस्याको सङ्कलन पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घमार्फत गरिन्छ भने त्यसको पहिचान र निराकरण विज्ञ समूहमार्फत गरिने छ । विज्ञ समूह ल्याउनका लागि पोखरा रिसर्च सेन्टरसँग सम्झौता गरिएको बताउँदै उद्यमका जुन विषयमा समस्या आएको छ त्यससँग सम्बन्धित विज्ञ सेन्टरले ल्याउने उनले जानकारी दिए ।  पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले उद्यम क्लिनिकले निजी क्षेत्रका समस्या समाधान र व्यावसायिक वातावरणमा सघाउने विश्वास व्यक्त गरे । कार्यक्रममा पोखरा रिसर्च सेन्टरका सुजन रेग्मी, पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम लगायतले उद्यम क्षेत्रका समस्याको समाधानका लागि क्लिनिक महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

विएस धवलागिरिलाई १० हजार र सिन्धु मेटेरियल्सलाई १५ हजार जरिवाना

काठमाडौं । नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले विएस धवलागिरि ट्रेडर्सलाई १० हजार रुपैयाँ र सिन्धु मेटेरियल्स प्रालिलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को विभिन्न दफामा उल्लेख भएका प्रावधान विपरीतका गतिविधि देखिएपछि ती दुई वटा फर्मलाई कारवाहीको दायरामा ल्याइएको विभागले जनाएको छ । विभागले कूल १४ वटा फर्ममा अनुमगन गरेको भएपनि अन्य १२ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले पछिल्ला दिनमा निर्माणजन्य सामग्री बिक्री गर्ने फर्महरूमा अनुमगन गर्दै आएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकार भएका निकायको सहभागितामा विभागले नियमित बजार अनुमगन गरिरहेको र कैफियत देखिएकालाई कानुन बमोजिम कारवाही, नगद जरिवाना गरिरहेको उल्लेख गरेको छ ।

काठमाडौंका यी क्षेत्रमा आज बिजुली कटौती हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो । फिडरको भार (लोड) मिलाउन तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो । सूचना अनुसार गणेशस्थान फिडरमा आज बिहान ११:३० बजेदेखि अपरान्ह १:३० बजेसम्म भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रका बिजुली कटौती हुनेछ । त्यस्तै भङ्गाल फिडरको तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रमा दिउँसो ११:३० बजेदेखि अपरान्ह १ बजेसम्म बिजुली कटौती हुनेछ । यसैगरी शिवपुरी फिडरको बुढानिलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोल लगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा सूचनामा उल्लेखित समयभन्दा अगावै बिजुली नियमित हुने प्राधिकरणले जनाएको छ । 

८ वर्षसम्म निर्माण हुन नसकेका ४ वटा पुल हर्जाना तिराएर सम्पन्न

काठमाडौं । तोकिएको समयमा निर्माण सम्पन्न नभएका कञ्चनपुरका ४ वटा पुल ८ वर्षपछि सम्पन्न भएका छन । पटकपटक म्याद थप भएर पनि ८ वर्षसम्म निर्माण हुन नसकेका ४ वटा पुल हालै सम्पन्न भएका सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख राजेश कुमार यादवले जानकारी दिए । उनका अनुसार ३ पटक म्याद थप हुँदा निर्माण हुन नसकेको कृष्णपुर नगरपालिकास्थित ओदाल खोलाको पुल सम्पन्न भएर आवतजावत सुरु भएको छ । उक्त पुल निर्माणका लागि विसं २०७३ भदौ १७ मा १८ महिनाभित्र सम्पन्न गर्ने गरी थेगिम गाल्भा जेभीसँग ५ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ‘उक्त पुल निर्माण गर्न म्याद थप गरेको समयमा व्यवसायीले काम नगरेपछि हामीले १० प्रतिशत हर्जाना तिराएर यस पटक काम सम्पन्न गराएका छौँ,’ प्रमुख यादवले भने, ‘यसरी वर्षौदेखि अलपत्र परेका कञ्चनपुरका ४ वटा पुल निर्माण हामीले सम्पन्न गरेका छौँ ।’ सम्झौताको ९ वर्षपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको भुलीपर्सिया जोड्ने दोदा नदीको पुल निर्माण सम्पन्न भएको छ । उक्त पुल निर्माणका लागि विसं २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार विसं २०७५ पुसभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको ९ वर्षपछि काम सकिएको प्रमुख यादवले बताए । ‘पुल निर्माण सकिएर परीक्षणको कार्य भइरहेको छ । २-३ दिनभित्रै उक्त काम सम्पन्न हुन्छ । पुलको फाउण्डेशनमा समस्या आएपछि निर्माणमा ढिलाइ भएको हो,’ उनले भने ।  त्यसैगरी ५ पटक म्याद थप भएर निर्माण हुन नसकेको दोधारा चाँदनीस्थित मलेरिया नालामाथिको पुल हालै सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ । उक्त पुल १८ महिनाभित्र सम्पन्न गर्ने गरी विसं २०७४ वैशाख १४ गते शङ्कर-माली एकेला जेभीसँग ४ करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । त्यस्तै बेदकोट नगरपालिका-७ स्थित मुसेपानी खोलामाथि निर्माण गरिने पुलको पनि पाँच पटक म्याद थप भएको छ । विसं २०७४ जेठमा ३ वर्षभित्र सम्पन्न गर्ने गरी राजेन्द्र-लुम्बिनी जेभीसँग १३ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । डिभिजन प्रमुख यादवले भने, ‘समयमा काम नगर्ने निर्माण व्यवसायीलाई हर्जाना तिराएर समेत निर्माण सम्पन्न गरेका छौँ ।’

माछापुच्छ्रे बैंक र टेनपेबीच सम्झौता भएपछि चिनियाँ पर्यटकलाई नेपालमा डिजिटल भुक्तानी सहज

काठमाडाैं । नेपालमा भित्रिने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले टेनपे पेमेन्टसँग सम्झाैता गरेको छ ।  टेनपे पेमेन्ट चीनमा ह्वीच्याट पे सञ्चालन गर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो ।  उक्त सम्झौतापश्चात माछापुच्छ्रे बैंकले ह्वीच्याट पेको माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्नेछ । जसअन्तर्गत चिनियाँ पर्यटकहरूले नेपालमा चिनियाँ मुद्रा सीएनवाई प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले सोझै नेपाली रुपैयाँमा रकम प्राप्त गर्नेछन् ।  यसरी चिनियाँँ पर्यटकले प्रत्यक्ष रुपमा कारोबार गर्न सक्ने हुँदा पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सहज र सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।  यो सम्झौताले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकका विभिन्न रणनीतिक पहलहरूमा पनि टेवा पुर्याउने विश्वास बैंकले लिएको छ । साथै उक्त सम्झौताले वित्तीय डिजिटल समावेशीकरण, नगद–रहित अर्थतन्त्र र भुक्तानी पूर्वाधारको आधुनिकीकरणमा समेत उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

नेपालबाट असीमित भारु भारत लैजान पाइने, नोटको दर तोकियो

काठमाडौं । नेपाल सरकारले नेपाली र भारतीयले नेपालबाट भारतमा १ सयभन्दा साना दरका भारु नोट तथा सिक्का असीमित संख्यामा लैजान पाउने व्यवस्था गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै असीमित रुपमा भारुका नोट लैजान सकिने व्यवस्था गरेको हो ।  नेपाल सरकार, मन्त्रिपरिषद्ले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ ले दिएको अधिकार प्रयोग गरी नेपाल बाहिर मुद्रा निकासी वा पैठारी गर्ने सम्बन्धमा नेपाली र भारतीय नागरिकहरूले नेपालबाट भारतमा सुन, चाँदी वा मिश्रित चाँदीका नेपाली सिक्काबाहेक अन्य नेपाली र भारतीय सिक्का करेन्सी नोट र बैंक नोट असीमित मात्रामा लैजान वा पठाउन सक्ने व्यवस्था गरेको छ । तर, भारतीय रुपैयाँ १०० दरभन्दा ठूला दरका नोट र नेपाली मुद्राको हकमा देहाय बमोजिम हुनेछ ।  यस्तै, कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबार गर्न पाइने छैन । सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भारतीय रुपैयाँ २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान सक्नेछन् ।  यस्तै, नेपाली मुद्राको हकमा नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी र भारतीय मुद्राको हकमा भारत बाहेक अन्य मुलुकमा लैजान वा पठाउन पाइने छैन । विदेशी विनिमय सटही कारोबार गर्ने इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाबाट कानुन बमोजिम प्राप्त गरेको विदेशी मुद्रा नेपालबाट बाहिर लैजान वा पठाउन पाइनेछ ।  यस्तै, विदेशी नागरिकको हकमा नेपाल राष्ट्र बैङ्कले तोकिदिएको सीमाभन्दा बढी विदेशी मुद्रा लैजान वा पठाउन परेमा निजले नेपाल प्रवेश गर्दा आफूसँग ल्याएको नगद विदेशी मुद्राको हकमा त्यस्तो विदेशी मुद्राको रकम भन्सार अधिकृत समक्ष घोषणा र प्रमाणित गरेको हुनु पर्नेछ । कसैले यस सूचनाको बर्खिलाप काम कारबाही गरेमा विदेशी मुद्रा जफत हुनुका साथै प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ । 

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख ९ हजार ५३१ कित्ताले हुन आउने १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ रकम बराबरको आईपीओ जारी गर्न लागेको हो। आईपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ । सम्झौतापत्रमा अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) यश पुरी तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट सीईओ विजयलाल श्रेष्ठले हस्ताक्षर गरे । अन्नपूर्ण माछा दाना उद्योग नेपालको अग्रणी माछा दाना उत्पादन गर्ने उद्योगमध्ये एक हो, जसले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणाली प्रयोग गरी उच्च गुणस्तरका, पोषणयुक्त तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका माछा दाना उत्पादन गर्दै आएको छ ।  कम्पनीले देशभर फैलिएको सशक्त वितरण अञ्जाल मार्फत नेपालका सबै प्रदेशमा रहेका मत्स्य कृषकहरूलाई आफ्ना उत्पादनहरू आपूर्ति गर्नका साथै प्राविधिक परामर्श र किसानमैत्री सेवा प्रदान गर्दै नेपालको मत्स्य क्षेत्रको दिगो विकासमा योगदान पुर्याउदै आएको छ ।