विकासन्युज

कामना सेवा विकास बैंकले गर्‍यो श्री कोपिला माध्यमिक विद्यालयलाई कुर्सी र न्यानो कपडा वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुर्खेत शाखाबाट वीरेन्द्रनगर नगरपालिका–९, पर्सेनीस्थित श्री कोपिला माध्यमिक विद्यालयमा कुर्सी तथा न्यानो कपडा वितरण गरेको छ । बैंकका सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी र ८० जना विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरे ।  शाखा प्रमुख आचार्यले उक्त कार्यक्रमले विद्यालयमा अध्ययनरत विपन्न तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानाध्यापक उपाध्यायले यस मानवीय पहलप्रति खुशी व्यक्त गर्दै विद्यार्थीसँगै शिक्षक र कर्मचारीहरूको तर्फबाट बैंकलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । 

हानको हीरक जयन्त्रीमा नेपाली हस्पिटालिटीको विगत, वर्तमान र भविष्यको लेखाजोखा

काठमाडौं । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले हान स्थापना भएको ६० वर्ष पूरा भएको अवसरमा आयोजित हीरक जयन्ती तथा नेपाल सत्कार दिवसको समारोह केवल औपचारिक उत्सवमा सीमित नरहेको बताएका छन् । उनका अनुसार यो अवसर नेपाली हस्पिटालिटी उद्योगको विगत यात्राको गम्भीर समीक्षा गर्ने, वर्तमान अवस्थाको वस्तुगत मूल्याङ्कन गर्ने र आगामी दिनमा देखिने चुनौती तथा सम्भावित अवसरहरूको लेखाजोखा गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा विकसित भएको छ । सन् १९६३ मा नेपालमा पर्यटन क्षेत्र प्रारम्भिक चरणमै रहँदा अग्रज व्यवसायीहरूको पहलमा संस्थागत सहकार्य र गुणस्तरीय सेवाको आधारशिला राख्दै होटल संघ नेपालको स्थापना गरिएको थियो ।  त्यसयता छ दशकको यात्रामा नेपालले राजनीतिक परिवर्तन, प्राकृतिक विपद् र कोभिड–१९ जस्ता गम्भीर महामारीको सामना गरे पनि संघले निरन्तर रूपमा होटल तथा पर्यटन उद्योगको साझा आवाज बनेर नीतिगत सुधारका लागि प्रभावकारी पैरवी गर्दै आएको अध्यक्ष शाहले बताए । शाहका अनुसार संघले विशेषगरी खुला आकाश नीतिको पक्षमा सन् १९९० को मध्य दशकदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्न सहयोग पुर्‍याउनुका साथै ग्रामीण तथा पर्वतीय पर्यटन विस्तारमा पुलको काम गरेको छ ।  पर्यटन वर्ष घोषणा, दीर्घकालीन पर्यटन रणनीति निर्माण र संकट व्यवस्थापनका कार्यक्रमहरूमा समेत होटल संघ नेपाल सरकारको भरपर्दो साझेदारका रूपमा स्थापित भएको शाहको भनाइ छ । पर्यावरणीय दायित्वप्रति संकेत गर्दै अध्यक्ष शाहले हरित पर्यटनको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यसहित ‘से नो टु सिंगल युज प्लास्टिक’ अभियानको नेतृत्व संघले गरेको जानकारी दिए । उक्त पहललाई पछि नेपाल सरकारले आफ्ना नीतिगत मार्गदर्शनहरूमा समेत समेटेको उनले बताए । यसका साथै विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय होटल तथा रेस्टुरेन्टसम्बन्धी सम्मेलन नेपालमा आयोजना गर्ने पहलमार्फत होटल संघले नेपाली पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न सक्रिय भूमिका खेलेको शाहले उल्लेख गरे ।

एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं । एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्ने भएको छ । यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसरहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीले यसका लागि नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्यमा क्रिएटर्स मेला आयोजना हुन लागेको हो । यो वर्षको क्रिएटर्स मेला भोलि (२०८२ माघ ३) चितवनबाट सुरु हुँदैछ । त्यसपछि यो कार्यक्रम माघ १० गने नेपालगन्ज र माघ १६ र १७ गते काठमाडौँमा आयोजना हुनेछ । सन् २०२३ मा सुरु भए देखिनै क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ । कार्यक्रमले नेपाली युवाहरूलाई कन्टेन्ट क्रिएशनमार्फत सशक्त बनाउने अनि डिजिटल नेपालको उद्देश्यमा टेवा पुर्‍याउने लक्ष्यलाई आत्मसाथ गर्दै आएको छ ।  ‘भिजन टु भेन्चर’ नारा रहेको यो वर्षको कन्टेन्ट क्रिएटर्स मेला सहभागीहरूका योजनालाई कार्यान्वयनयोग्य सीप तथा वास्तविक अवसरहरूमा बदल्नेमा केन्द्रित हुनेछ । विद्यार्थी अनि अझै सिक्ने चरणमै रहेका उदीयमान क्रिएटर लक्षित यो कार्यक्रमले क्रिएटरहरूलाई आफ्ना सामाग्रीलाई थप परिष्कृत गर्न, विश्वसनीय बनाउन अनि दिगो तथा रचनात्मक व्यावसायिक भविष्य तयार पार्न प्रेरित गर्नेछ । क्रिएटर्स मेलाकै अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ जसअनुरूप मेलाका सहभागीहरूलाई इन्स्टाग्राम र टिकटकमा एक मिनेटको भिडियो अपलोड गर्न प्रोत्साहन गरिएको छ ।  क्रिएटरहरूलेस् ‘एनसेल फोरजीले तपाईंको जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा केन्द्रित रहेर भिडियो तयार पार्नुपर्ने छ । प्रतिस्पर्धीहरूले उक्त भिडियोमा एनसेललाई ट्याग गरेर #CreateGaraPostGara ह्यासट्याग अनि आफू सहभागी सहरलाई पनि ह्यासट्याग गरी भिडियो अपलोड गर्नुपर्नेछ । मेलाकैबीच प्रत्येक सहरमा एक जना विजेता छनोट गरिनेछ र उनीहरूले नगद पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक विजयी प्रतिशपर्धीले आगामी दिनहरूमा एनसेल फाउन्डेसनका विभिन्न क्रियाकलापहरूमा सहभागी हुने अवसर पनि प्राप्त गर्नेछन्। सन् २०२३ बाट सुरु भएदेखि यो कार्यक्रममा हालसम्म ५ हजारभन्दा बढी क्रिएटरहरू संलग्न भइसकेका छन् । यो कार्यक्रमले देशका विभिन्न क्षेत्रका क्रिएटरहरूलाई एकै ठाउँमा ल्याएर व्यावसायिक ढङ्गबाट काम गरिरहेका व्यक्तिहरूबाट सिक्ने, उस्तै प्रकृतिका काम गरिरहेका समकक्षीहरूसँग जोडिने र कन्टेन्ट क्रिएसनलाई व्यावसायिक बनाउन उद्धत विशेषज्ञहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नेछ । मेलामा विभिन्न सत्रहरू हुनेछन् । कुनै विषय वा व्यक्तिमा केन्द्रित ‘स्पट लाइट’ सत्रदेखि प्यानल छलफल अनि विभिन्न विषयवस्तुमा गम्भीर विमर्श क्रिएटर्स मेलामा हुनेछ। कार्यक्रममा स्थापित कन्टेन्ट क्रिएटरहरूको यात्रालाई विभिन्न कोणहरूबाट विश्लेषण पनि गरिनेछ ।  स्थापित क्रिएटरहरूले तयार पारेको सामाग्री देखि प्रस्तुति, दर्शकहरूको सङ्ख्यामा देखिएको वृद्धि, क्रिएटरको पहिचान र भिजिबिलिटी देखि प्रभावसम्मको यात्रा अनि दीर्घकालीन व्यावसायिक विकाससम्मका विषयवस्तु पनि उक्त कार्यक्रममा समेटिने छ ।  

सूर्यज्योति लाइफको साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

काठमाडौं । सूर्यज्योति लाइफ इन्सोरेन्सको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  सभामा  सञ्चालक समितिका अध्यक्ष, कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत (सीईओ),नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ), व्यवस्थापनका पदाधिकारी, सेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ । साथै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा भएका खर्चहरूलाई अनुमोदन गरेको छ । कम्पनीका अध्यक्ष भट्टराईले साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू र नवीनतम सेवा लगायत डिजिटल रूपान्तरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले कम्पनीको निरन्तर प्रगतिको श्रेय सेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ, अभिकर्ताहरूको मेहनत र कर्मचारीहरूको लगन भएको बताए । सभामा सेयरधनीहरूले कम्पनी प्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए । सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरिएका छन् ।  नेपालकै पहिलो ९००१(२०१५ आईएसओ प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पुँजी ५०१ करोड, जीवन बीमाकोष ४ हजार ३८३ करोड, लगानी ४ हजार ८४५ करोड र नेटवर्थ ६७४ करोड रहेको छ । कम्पनीले १ लाख ६ हजार अभिकर्ता, ३५ लाख ८७ हजार बीमालेख संख्या र देशैभरि रहेका १७६ शाखा सञ्जालमार्फत आफ्ना बिमितहरुलाई कम्पनीले सेवा प्रदान गरिरहेको छ ।  साथै कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ।

कांग्रेस विवादले निर्वाचन के होला ? यस्तो भन्छन् वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौं । नेपाली कांग्रेसभित्रको जारी विवादले आसन्न निर्वाचन प्रभावित हुने कि नहुने भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ । यही सन्दर्भमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराइले सार्वजनिक गरेको विश्लेषणले सम्भावित संवैधानिक र कानुनी बाटाहरू औंल्याएको छ । भट्टराईका अनुसार दलभित्रको विवाद समाधान नभए पनि निर्वाचन प्रक्रिया पूर्ण रूपमा अवरुद्ध नहुने स्पष्ट कानुनी आधारहरू छन् । निर्वाचन आयोगले दलसम्बन्धी विवादमा एउटा पक्षलाई आधिकारिक ठहर गर्दै निर्णय गर्ने संवैधानिक जिम्मेवारी राख्छ ।  तर आयोगको निर्णयसँगै अल्पमतमा परेको पक्षलाई पनि फरक निर्वाचन चिह्न र फरक दलको नामबाट निर्वाचनमा भाग लिन दिने कानुनी व्यवस्था विद्यमान छ । यद्यपि व्यवहारिक रूपमा भने दुवै पक्षका लागि समय अभाव गम्भीर चुनौती बनेको विश्लेषण भट्टराईको छ । अल्पमत पक्षले नयाँ दलको नाम, चिन्ह टुंग्याएर देशभर उम्मेदवार छनोट गर्दै टिकट वितरण गर्नु अत्यन्तै कठिन देखिने भट्टराईले दाबी गरेका छन् ।  त्यस्तै, बहुमत पक्षका लागि पनि बाँकी सीमित दिनमा उमेदवार चयन र व्यवस्थापन सहज नहुने अवस्था रहेको भट्टराईले उल्लेख गरेका छन् ।

भौतिक पूर्वाधार पुन:निर्माण कोषमा नागरिक लगानी कोषले गर्‍यो५१ लाख सहयोग

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुन:निर्माण कोष’मा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो ।  सो रकम बराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार (आज) अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए । साथै आजसम्म उक्त कोषमा १४ करोड सात लाख रुपैयाँ रकम जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ ।

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार (भोलि)  अपरान्ह १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए। उनका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।  एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरी पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एक जनालाई उम्मेदवार बनाउने छ ।  एमालेले एक महिलासहित कम्तिमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । 

निर्वाचन आयोगले वैधानिकता नदिए देशभर आन्दोलन गर्ने संस्थापन कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।  पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधानविपरीत निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । खड्काले पार्टीको केन्द्रीय कार्यसमिति बाहेक कुनै पनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै आफूहरू नै आधिकारिक भएको जिकिर गरे । उनले भने, ‘पार्टीको विधान, संविधान र निर्वाचनसम्बन्धी ऐन र दलसम्बन्धी ऐनको आधारमा भन्दा तलमाथि भएर यदि निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि बडारिएको कालो बादललाई साथ दिँदै आयोगले नेपाली कांग्रेसको विधानविपरीत अन्यथा निर्णय गर्यो भने देशभर आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुनेछैन ।’ ‘प्रत्येक ठाउँमा नेपाली कांग्रेस चारतारे झण्डा र रुख लिएर हामी अगाडि बढ्छौं । हामीलाई निर्वाचन आयोगले त्यस्तो गर्छ भन्न लागेको छैन । आशंका, अविश्वास र बाहिर आएका भ्रमहरूका आधारमा भनेका हौं,’उनले थपे । पुस अन्तिममा काठमाडौंमा सम्पन्न पार्टीको विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस विभाजित भएको छ । पार्टीको संस्थापन पक्ष र विशेष पक्ष वैधानिकताको लडाइँमा छन् ।