भूकम्प प्रभावितका लागि थप ११ अर्बको अख्तियारी, पीडितले पाउने भए पैसा

<p>काठमाडौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि भूकम्प प्रभावित जिल्लामा अनुदान वितरण गर्न थप ११ अर्ब रुपैयाँको अख्तियारी दिएको छ । प्राधिकरणले आज संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई अख्तियारी दिएको हो । भूकम्प अतिप्रभावित १४ र कम प्रभावित १८ जिल्लामा निजी आवास निर्माण उल्लेखनीय गतिमा बढिरहेको छ । [&hellip;]</p>

काठमाडौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि भूकम्प प्रभावित जिल्लामा अनुदान वितरण गर्न थप ११ अर्ब रुपैयाँको अख्तियारी दिएको छ ।

प्राधिकरणले आज संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई अख्तियारी दिएको हो ।

भूकम्प अतिप्रभावित १४ र कम प्रभावित १८ जिल्लामा निजी आवास निर्माण उल्लेखनीय गतिमा बढिरहेको छ । निर्माणले गति लिएसँगै अनुदान रकमको माग पनि बढ्न सक्ने भएकाले प्राधिकरणले थप रकमको अख्तियारी दिएको हो ।

जिल्लाबाट अनुदान मागको धेरै बढ्न सक्ने हुनाले थप ५ अर्ब रुपैयाँ रकमान्तरका लागि अर्थ मन्त्रालयलाई आग्रह गरेको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए। निजी आवास पुनःनिर्माण गरिरहेका लाभग्राहीलाई किस्ताबापतको रकमका लागि कुनै समस्या नभएको उनले सुनाए । ‘‘घर निर्माणका लागि रकम अभाव नहोस् भनेर अग्रिम रुपमै प्रभावित जिल्लामा निकासा गर्न बजेटको अख्तियारी दिइएको हो’’, उनले भने ।

जिल्लाबाट माग भएअनुसार रकम पठाइएकाले ढुक्क भएर निजी आवास निर्माणलाई अघि बढाउन लाभग्राहीलाई प्राधिकरणले आग्रह गरेको छ । पछिल्ला महिनामा भूकम्प प्रभावित ३२ वटै जिल्लामा निजी आवास निर्माणको क्रम तीव्र भएको छ । मंगलबारसम्म तथ्यांकअनुसार २ लाख ९१ हजार ८९५ घर निर्माण भइरहेका छन् । दोस्रो किस्ताका लागि ३ लाख २७ हजार ८५४ लाभग्राही प्रमाणीकरण भइसकेका छन् ।

निजी आवास निर्माणका लागि विश्व बैंकले दिने थप ३० अर्ब रुपैयाँ ऋण सहयोगको यही माघ पहिलो साता विश्व बैंक र अर्थ मन्त्रालयबीच सम्झौता भएको थियो । रासस

Share News