मेलम्ची पुगेर प्रधानमन्त्रीले भने, ‘काठमाडौंको सपना छिटो पूरा गर्नुहोस्’

<p>सिन्धुपाल्चोक । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंवासीको सपनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजना जतिसक्दो छिटो पूरा गर्न निर्देशन गरेका छन् । बुधबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा प्रगतिको ‘व्रिफिङ’ लिँदै प्रधानमन्त्रीले जतिसक्दो छिटो काम सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीका अधिकारीहरूलाई निर्देशन दिएका हुन् । ‘मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको २० बर्षभन्दा पुरानो सपना हो,’ प्रधानमन्त्रीले [&hellip;]</p>

सिन्धुपाल्चोक । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंवासीको सपनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजना जतिसक्दो छिटो पूरा गर्न निर्देशन गरेका छन् । बुधबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा प्रगतिको ‘व्रिफिङ’ लिँदै प्रधानमन्त्रीले जतिसक्दो छिटो काम सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीका अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

‘मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको २० बर्षभन्दा पुरानो सपना हो,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भने, ‘अब यो आयोजनालाई जतिसक्दो छिटो पूरा गरेर त्यो सपना साकार पार्नुपर्छ ।’ प्रधानमन्त्री देउवाले कांग्रेस संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको परिकल्पनामा मेलम्चीको पानी काठमाडौं लैजाने गरी आयोजनाको खाका कोरिएको स्मरण गर्दै छिटो काम सम्पन्न गर्न सरकारले जुनसकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘छिटो काम सम्पन्न गर्न सरकारबाट के कस्ता निर्णय गर्नुपर्छ त्यसका लागि म तयार छु’ प्रधानमन्त्रीले भने, ‘तर विभिन्न बहाना बनाएर काममा ढिलाई नगर्नूहोस्, यो आयोजना काठमाडौकों सपनासँग जोडिएको आयोजना हो ।’

प्रधानमन्त्रीले मेलम्चीको सुरुङ खन्नमा देखिएको ढिलाईप्रति चासो व्यक्त गर्दै तोकिएको समयभित्र काम सम्पन्न नगर्नेलाई सरकारले कारवाही गर्ने चेतावनी दिए । ‘यो आयोजना नेपालकै गौरवको आयोजना हो,’ प्रधानमन्त्रीले भने, ‘यसलाई समयमा सम्पन्न गरेर यस बर्षकै सुक्खायाममा पानीको हाहाकार हटाउनु पर्छ ।’

प्रधानमन्त्रीले मेलम्चीलगायत राष्ट्रिय गौरवका आयोजनाका कामलाई तीव्रता दिन सरकारले छिट्टै तिनका लागि छुट्टै सहजीकरण प्रक्रिया र कानूनी झण्झट समेत हटाउनेगरी ऐन संशोधन गर्ने तयारी गरेको पनि बताए । प्रधानमन्त्रीले मेलम्ची आयोजनाको इन्टेक ड्याम र सुरुङभित्रै केही समय पैदल हिँडेर पनि सुरुङको अवलोकन गरेका थिए । परियोजनाका विषयमा प्रोजेक्ट म्यानेजर रामचन्द्र देवकोटाले जानकारी गराएका थिए ।

Share News