काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा राक्षसी राज चलिरहेको टिप्पणी गरेका छन् ।
एमालेको जनवर्गीय संगठन नेशनल भोलेन्टियर फोर्सको स्थापना दिवसका अवसरमा उनले यस्तो टिप्पणी गरेका हुन् । राक्षसी राज अझै चलिरहे नेशनल युथ फोर्स आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।
उनले आफूलाई विनाकारण गिरफ्तार गरेर सरकारले राक्षसी राज सञ्चालन गरिरहेको पुष्टि भएको बताए । आफू पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष रहेको व्यक्तिलाई १३ दिन सरकारले विनाकारण हिरासतमा राखिएको उनले बताए । उनले पार्टी अध्यक्ष गिरफ्तार परेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रेका कार्यकर्तालाई सरकारले दुर्व्यवहार गरेको आरोप लगाए । अब शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरे नेशनल युथ फोर्सले प्रतिवाद गर्ने उनको भनाइ छ ।
उनले नेशनल युथ फोर्स देखाउनका लागि मात्रै गठन नगरेको उल्लेख गरे । नेशनल युथ फोर्स आफैँ निहुँ नखोज्ने र कोही निहुँ खोज्न आए चुप लागेर नबस्ने उनको भनाइ छ ।
उनले भने, ‘नेशनल भोलेन्टियर फोर्स देखाउनका लागि मात्रै होइन, यो कामका लागि हो, परिवर्तनका लागि हो र यो अत्यन्तै, अत्यन्तै शान्तिपूर्ण फोर्स हो । शान्ति स्थापनाका लागि यो अत्यन्तै शान्तिपूर्ण फोर्स हो । यो लड्ने–भिड्ने होइन, राम्रो गर भनेर आग्रह गर्ने फोर्स हो । तर मान्दैन भने, मान्दैन भने के गर्ने ? आक्रमण गर्न आउँछ भने के गर्ने ? हमला गर्छ भने के गर्ने ? अस्ति नै हामीले देख्यौँ । हाम्रो पार्टीका अध्यक्ष गिरफ्तार गर्दा युवाहरू सडकमा निस्किनुभयो, जनता सडकमा निस्किनुभयो । त्यसबेला कानुनभन्दा माथि नेपाल सरकारको आदेश भयो, शान्तिपूर्ण ढङ्गले सडकमा निस्किएका युवाहरूलाई, नेताहरूलाई समेत निर्दयताका साथ आक्रमण गर्ने, लाठी प्रहार गर्ने, झोले भनेर अपमान गर्ने र ‘यिनलाई कुटेर आनन्द आयो, मज्जा आयो आज’ भनेर भन्ने, त्यो दृश्य देखियो । त्यतिबेला हामीले त्यस प्रकारको दमनको परिकल्पना गरेका थिएनौँ र त्यस प्रकारको दमन हुन्छ भन्ने परिकल्पना नगरेको हुनाले हाम्रो तयारी पनि त्यसको प्रतिवाद गर्ने थिएन ।’
उनले नेशनल युथ फोर्सलाई संगठन विस्तारसँगै राष्ट्रव्यापी रूपमा सुदृढ र परिणाममुखी बनाउनसमेत निर्देशन दिए । साथै, उनले देशभर हुने बेथिति रोक्न र गलत गतिविधिविरुद्ध खबरदारी गर्न फोर्स सक्रिय हुनुपर्ने बताए ।