स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग, आज राष्ट्रिय दलहरूसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाएको छ । स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा समाप्त हुने भएपछि आयोगले निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा राजनीतिक दलहरूसँग परामर्श सुरु गर्न लागेको हो ।

निर्वाचनको तयारीस्वरूप आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आयोगले बिहान ११ः३० बजेका लागि राष्ट्रिय दलका प्रतिनिधिहरूलाई छलफलमा आमन्त्रण गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह निर्वाचनका विषयमा आवश्यक परामर्श गर्न राजनीतिक दलहरूलाई बोलाइएको जानकारी दिए । उनका अनुसार निर्वाचनको मिति, व्यवस्थापन र तयारीका विषयमा दलहरूसँग छलफल हुनेछ ।

‘स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरूलाई आयोगमा आमन्त्रण गरिएको हो,’ प्रवक्ता भट्टराईले भने ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आयोगले छलफलमा बोलाएको छ ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिँदैछ । संविधान र कानुनी व्यवस्थाअनुसार स्थानीय तहमा जनप्रतिनिधिको रिक्तता हुन नदिन समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले आयोगले प्रारम्भिक तयारी अघि बढाएको हो ।

आयोगको छलफलमा निर्वाचनको सम्भावित मिति, निर्वाचन सञ्चालनका लागि आवश्यक स्रोतसाधन, जनशक्ति परिचालन, मतदाता नामावली अद्यावधिक तथा निर्वाचन व्यवस्थापनका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । यद्यपि, निर्वाचनको मिति र कार्यतालिका भने आयोगले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।

राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगले अन्य दर्ता भएका राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने तयारी गरेको छ । सबै दलको सुझाव र निर्वाचन व्यवस्थापनका प्राविधिक पक्षको अध्ययनपछि आयोगले निर्वाचनसम्बन्धी थप प्रक्रिया अघि बढाउनेछ ।

यससँगै स्थानीय तह निर्वाचनको तयारीले औपचारिक रूपमा गति लिन थालेको छ । अब आयोग र राजनीतिक दलबीच हुने छलफलले निर्वाचनको समय, तयारी र राजनीतिक सहमतिका विषयमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ । 

Share News