काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले बुधबार उनलाई पक्राउ गरेको हो । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको रकम हिनामिना तथा ठगी गरेको आरोपमा पोखरेलसहित पूर्वमन्त्री र उच्चपदस्थ सरकारी अधिकारीहरू पक्राउ परेका सिआईबीले जनाएको छ ।
सीआईबीका अनुसार पक्राउ पर्नेहरूमा पूर्वश्रम मन्त्रीहरू शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन् । त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, श्रम व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुंगाना र मन्त्रालयकी तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये सहसचिव ढुंगाना यसअघि नै भ्रष्टाचार मुद्दा लागेर निलम्बित अवस्थामा थिए ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर सीआईबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रम समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा श्रमिकसँग रकम संकलन गरी विदेश पठाइएको र श्रमिकको हितविपरीत कार्य गरेको कसुरमा प्रहरीले उनीहरूमाथि अनुसन्धान अघि बढाएको छ ।