ओलीको आक्रोश : बालेन सरकार आएपछि राज्यका अंग निष्क्रिय, संस्कृति र सभ्यतामाथि हमला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि चौतर्फी प्रहार गर्दै मुलुकको राज्यव्यवस्था, संवैधानिक निकाय र सामाजिक संरचनामाथि नै प्रश्न उठाएका छन् । सरकार बनेपछि देश गलत दिशातर्फ धकेलिएको, राज्यका अंगहरू निष्क्रिय बनेको र संस्कृति तथा सभ्यतामाथि योजनाबद्ध हमला भइरहेको उनको आरोप छ ।

काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्थालाई सामान्य राजनीतिक असन्तुष्टिका रूपमा मात्र व्याख्या गरेनन्, बरु राष्ट्रिय अस्मिता, स्वाधीनता र राज्यको संस्थागत अस्तित्वमाथिकै चुनौतीका रूपमा चित्रण गरे ।

उनले सरकार जनताप्रति उत्तरदायी हुन नसकेको टिप्पणी गर्दै राज्यका निकायले आफ्नो संवैधानिक जिम्मेवारीसमेत निर्वाह गर्न नसकेको आरोप लगाए । संसद् विघटनसम्बन्धी मुद्दामा अदालतको भूमिकामाथि प्रश्न उठाउँदै ओलीले न्यायालयसमेत मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘राज्यका अंगहरू, निकायहरू आफ्नो काम गर्न र कर्तव्य पालना गर्न सक्ने अवस्थामा छैनन्, कारण मैले भनिरहनुपर्दैन सबैलाई थाहा छ,’ ओलीले भने ।

उनको आरोप थियो, अहिले समाजलाई उल्टो दिशातर्फ धकेल्ने काम भइरहेको छ । मुलुकको मौलिक संस्कृति, सभ्यता र सामाजिक मूल्य–मान्यतामाथि चर्को प्रहार भइरहेको भन्दै उनले यसलाई गम्भीर चुनौतीका रूपमा प्रस्तुत गरे ।

ओलीले जेनजी विद्रोहलाई समेत राजनीतिक रूपमा प्रयोग गरेर देशमा अराजकता फैलाइएको दाबी गरे । जनतालाई झुक्याएर आन्दोलनको आवरणमा तालिमप्राप्त अपराधी परिचालन गरी वितण्डा मच्चाइएको उनको आरोप थियो ।

राष्ट्रिय स्वाधीनता, स्वाभिमान र सम्मानको रक्षा गर्ने जिम्मेवारी अब जनताले लिनुपर्ने अवस्था आएको उल्लेख गर्दै ओलीले नागरिकलाई अघि सर्न आह्वान गरे । उनले वर्तमान अवस्थालाई राज्यका निकायको निष्क्रियता र राष्ट्रिय पहिचानमाथिको प्रहारसँग जोड्दै सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरे ।

ओलीको सम्बोधनमा सरकारको आलोचनासँगै राज्यका संस्थाहरूमाथि अविश्वास, जेनजी आन्दोलनको व्याख्या र राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुखताका साथ उठाइएको थियो । 

Share News