मलद्वारमा लुकाएर ल्याएको एक किलो बढी सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ८०३.७७ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय जियानहुआ वाङ  पक्राउ परेका हुन् । 

उनी नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौं आएका थिए। विमानस्थल सुरक्षा जाँचका क्रममा शङ्कास्पद गतिविधि देखिएपछि उनलाई चेकजाँच गरिएको थियो।

उनले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाइछिपाई ल्याएका सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ चार थान फेला परेको प्रहरीले जनाएको छ।

उक्त पदार्थ प्लास्टिकसहित तौल गर्दा एक किलो ८०३.७७ ग्राम रहेको प्रहरीले जनाएको छ । भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

Share News