पृथ्वीनारायण क्याम्पसलाई स्वायत्त डिग्री प्रदान गर्ने संस्था बनाउने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पुनर्संरचनाअन्तर्गत गण्डकी प्रदेशको पोखरास्थित पृथ्वीनारायण (पीएन) क्याम्पसलाई स्वायत्ततासहित उपाधि (डिग्री) प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।

विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा पेस गरेको तीनमहिने कार्यप्रगति विवरणमा पीएन क्याम्पसलाई स्वायत्त संस्था बनाउने प्रक्रिया अघि बढाइएको उल्लेख गरेको हो ।

राष्ट्रिय शिक्षा नीति, २०७६ को उच्च शिक्षा खण्डको प्रकरण १०.१४.६ मा त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना गर्ने नीति समेटिएको छ । विश्वविद्यालयको ठूलो आकार र विद्यार्थी सङ्ख्याका कारण व्यवस्थापन, अनुगमन तथा परीक्षा प्रणालीलाई चुस्त बनाउँदै शैक्षिक गुणस्तर कायम गर्न पुनर्संरचना आवश्यक रहेको नीतिमा उल्लेख छ ।

सोही नीतिअनुसार त्रिभुवन विश्वविद्यालयको रणनीतिक योजना र दृष्टिकोणलाई कार्यान्वयन गर्न पीएन क्याम्पसलाई स्वायत्त संस्था बनाउने गृहकार्य अघि बढाइएको हो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्कबहादुर केसीका अनुसार क्याम्पसलाई स्वायत्त संस्थामा रूपान्तरण गर्दा शैक्षिक तथा प्रशासनिक सेवा प्रवाहलाई विकेन्द्रीकरण गर्ने, पाठ्यक्रम विकासमा संस्थागत स्वायत्तता बढाउने तथा परीक्षा र नतिजा प्रकाशन प्रणालीलाई सरल र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

आयोगका अनुसार अनुसन्धान र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक पूर्वाधार, जनशक्ति, आर्थिक स्रोत, प्रशासनिक संरचना तथा कानुनी व्यवस्थाको मूल्याङ्कन गरी कार्ययोजना तयार गर्ने र कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढिसकेको छ ।

पीएन क्याम्पस स्वायत्ततासहित डिग्री प्रदान गर्ने संस्थामा रूपान्तरण भएमा गण्डकी प्रदेशको उच्च शिक्षाको गुणस्तर सुधार र प्रशासनिक विकेन्द्रीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

Share News