टाइमको ‘१०० प्रभावशाली जलवायु नेता’को सूचीमा अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताको सूचीमा परेका छन् । अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले समेटिएका हुन् ।

नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र त्यसबाट भएको क्षतिबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएका वाग्लेले जलवायु न्यायका पक्षमा गरेको पैरवीका कारण सूचीमा स्थान पाएको टाइमले जनाएको छ ।

गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपालजस्ता विकासशील मुलुकले यसको ठूलो क्षति व्यहोर्नुपरेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएका थिए । जलवायु परिवर्तनका लागि जिम्मेवार विकसित तथा ठूला अर्थतन्त्र भएका मुलुकले प्रभावित राष्ट्रलाई क्षतिपूर्ति दिनुपर्ने नेपालको मागलाई उनले जोडदार रूपमा अघि सारेका थिए ।

नेपालले जलवायुजन्य विपद्बाट भएको क्षतिबापत चीन, अमेरिका र भारतसँग क्षतिपूर्तिको माग गर्दै कूटनीतिक पहलसमेत गरेको थियो । विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन वाग्लेले अन्तर्राष्ट्रिय जलवायु वित्त तथा नोक्सानी र क्षति कोष परिचालनमा पनि जोड दिँदै आएका छन् ।

टाइमका अनुसार संयुक्त राष्ट्रसंघले गत अक्टोबर २२ मा नेपालको नोक्सानी तथा क्षति कोषबाट २१.६ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएको थियो ।

वाग्लेको नाम टाइमको प्रभावशाली जलवायु नेताको सूचीमा समावेश हुनुलाई नेपालको जलवायु जोखिम, जलवायु न्याय र जलवायुजन्य क्षतिबापत क्षतिपूर्तिको मुद्दाले अन्तर्राष्ट्रियस्तरमा थप चर्चा पाएको घटनाका रूपमा हेरिएको छ ।

यस वर्षको सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत अन्तर्राष्ट्रिय व्यक्तित्व पनि समावेश छन् । 

Share News