काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न चाँडै नै ठूलो सम्झौता हुन सक्ने दाबी गरेका छन् । उनले प्रस्तावित सम्झौतामा युक्रेनसँगै युरोपका अन्य देशहरू पनि सहभागी हुन सक्ने संकेत गरका छन् ।
बिहीवार ह्वाइट हाउसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग भेटवार्ता गरेपछि ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
ट्रम्पले रुस–युक्रेन युद्ध समाधानको नजिक पुगेको उल्लेख गर्दै सम्भावित सम्झौता निकै ठूलो हुने बताए । उनका अनुसार उक्त सम्झौताले युक्रेन र रुसबीचको द्वन्द्व समाधान गर्ने मात्र नभई युरोपका अन्य देशलाई समेत समेट्न सक्छ ।
यद्यपि, प्रस्तावित सम्झौतामा के–कस्ता विषय समावेश हुनेछन् भन्नेबारे ट्रम्पले स्पष्ट पार्नुभएको छैन । त्यस्तै, सम्झौतामा कुन-कुन देश सहभागी हुनेछन् र रुस तथा युक्रेनले के-कस्ता सर्त स्वीकार गर्नुपर्नेछ भन्ने विषय पनि सार्वजनिक भएको छैन ।
रुस र युक्रेनबीच लामो समयदेखि जारी युद्ध अन्त्यका लागि विभिन्न कूटनीतिक प्रयास भइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई सम्भावित शान्ति सम्झौताको संकेतका रूपमा हेरिएको छ । तर, सम्झौताको ठोस खाका र दुवै पक्षको सहमतिबारे भने अझै स्पष्ट भइसकेको छैन ।