शिवाकोटीलाई साइबर ब्युरोको फोन, भन्छन्‌– सरकारको भय र भ्रमले विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले सम्पर्क गरी कार्यालयमा उपस्थित हुन बोलाएको छ । काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन गरेर ब्युरोमा आउन भनिएको हो ।

ब्युरोको फोनपछि शिवाकोटीले आफू काठमाडौं फर्किरहेको र ब्युरोमा उपस्थित हुने बताएका छन् । 

उनले सरकार प्रहरी परिचालन गरेर आफूलाई तर्साउन खोजेको टिप्पणी गर्दै त्यसबाट विचलित नहुने प्रतिक्रिया दिएका छन् ।

शिवाकोटीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै आफूलाई प्रहरीले खोज्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु,’ उनले लेखेका छन् ।

ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई बोलाइएको हो । यद्यपि, उजुरीमा उल्लेख गरिएको विषय र ब्युरोले अनुसन्धान गर्न खोजेको कसुरबारे औपचारिक विवरण सार्वजनिक भएको छैन ।

पछिल्ला केही दिनदेखि शिवाकोटीले सामाजिक सञ्जालमार्फत सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन् । सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा तान्न खोजेको उनको आरोप छ ।

पत्रकार खड्कासँग सम्बन्धित विषयमा प्रतिक्रिया दिँदै उनले सामाजिक सञ्जालमा खड्काको भनाइप्रति प्रश्न उठाएका थिए । प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नको सरकारले पनि जिम्मेवार रूपमा जवाफ दिनुपर्ने उनको माग थियो ।

यसैगरी, बिचौलियाको आरोपमा प्रहरी हिरासतमा रहेका भनिएका इनम सापकोटाले प्रहरीलाई दिएको भनिएको बयानको अडियो रेकर्डका विषयमा समेत शिवाकोटीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए ।

Share News