राष्ट्रिय राजमार्गका आयोजनामा तत्काल सम्पन्न गर्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । राष्ट्रिय राजमार्गका विभिन्न सडक आयोजनामा देखिएका समस्या समाधान गर्न पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले निर्देशन दिएका छन् ।

समितिका सभापति गजुरेलको संयोजकत्वमा मंगलबार (आज) काठमाडौंमा बसेको बैठकमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्डको हालसम्मको प्रगति, निर्माण कार्यमा देखिएका अवरोध तथा सम्बन्धित निकायको भूमिकाबारे छलफल भएको थियो । 

बैठकले विद्युत् पोल तथा रुख व्यवस्थापनका विषयमा छलफलपछि सम्बन्धित मन्त्रालय र निकायलाई समयसीमाभित्र समस्या समाधान गर्न निर्देशन दिएको हो ।

‘पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्ड तथा बुटवल–गोरुसिङ्गे सडक खण्डमा रहेका विद्युत् पोल दुई महिनाभित्र, र नागढुङ्गा–मुग्लिन सडक खण्डमा रहेका विद्युत् पोल एक महिनाभित्र सार्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको छ,’ समितिका सभापति गजुरेलले भने ।

त्यसैगरी, राजमार्गका विभिन्न खण्डमा रहेका रुख कटानका लागि कृषि तथा वन तथा वातावरण मन्त्रालयलाई आवश्यक पहल गर्न अनुरोध गर्ने निर्णय भएको उनको भनाइ छ  ।

सडक विभागलाई आवश्यक साइट उपलब्ध गराउन समेत निर्देशन दिइएको उनले बताए । 

उक्त बैठकमा पूर्वाधार विकास समिति सदस्य माननीय राजकिशोर महत्तो, मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महत्तो, सडक विभागका महानिर्देशक डा. विजय जैशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, पूर्वाधार विकास मन्त्रालयका सचिवालय सदस्य दिनेश चमार, कमला–ढल्केबर–बागमती आयोजना प्रमुख राजेश कुमार दास तथा नागढुङ्गा–मुग्लिन पश्चिम खण्ड आयोजना प्रमुख सजना अधिकारीलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Share News