काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द गरिएको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग जवाफ मागेका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको राष्ट्रिय गौरवको आयोजनाको अर्बौं रुपैयाँको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगिसकेको अवस्थामा ठेक्का रद्द गर्न बाध्य पारिएको भन्दै बस्नेतले आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जालमार्फत बस्नेतले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले आफूले चाहेको निर्णय कर्मचारीको हस्ताक्षरबाट गराउने तर त्यसको कानुनी तथा प्रशासनिक जवाफदेहिताबाट राजनीतिक नेतृत्व पन्छिन खोजेको भन्दै प्रश्न गरेका छन् ।
‘आफूले चाहेको निर्णय अरूको हस्ताक्षरमा गराउने, अनि भोलि अख्तियार र अदालतको कठघरामा कर्मचारीलाई उभ्याएर आफू पानीमाथिको ओभानो बन्ने कस्तो शासनशैली हो यो ?,’ उनले प्रश्न गरेका छन् ।
बस्नेतले सत्ता र निर्णय प्रक्रियामा राजनीतिक नेतृत्वको नियन्त्रण रहने तर त्यसबाट उत्पन्न हुने जवाफदेहिताको भार कर्मचारीमाथि मात्रै थोपर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन् ।
‘सत्ता आफ्नो, दबाब आफ्नो, निर्णय आफ्नो चाहनाअनुसार, तर जवाफदेहिता चाहिँ अरूको ?,’ उनको प्रश्न छ ।
उनले ठेक्का रद्द गर्ने निर्णय उचित थियो भने प्रधानमन्त्री कार्यालयले लिखित निर्देशन दिएर त्यसको जिम्मेवारी लिन किन नसकेको भन्दै प्रधानमन्त्री शाहसँग जवाफ मागेका छन् ।