सोलुखुम्बु हेलिकप्टर दुर्घटना अपडेट : उपचाररत तीन घाइते खतरामुक्त

पाइलटलाई निलम्बन गर्नेबारे के भन्छ क्यान ?

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरिचेमा दुई हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका दुई पाइलट र एक यात्रु खतरामुक्त रहेका छन् । 

लुक्लाबाट उडेको एयर डाइनेस्टीको नाइन एन एओडी हेलिकप्टर र गोरक्षेपबाट फेरिचे पुगेको फिस्टेल एयरको नाइन एन एजेआर हेलिकप्टर अवतरणका क्रममा बिहान ८ बजेर ११ मिनेटमा एक–आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

भारतको तमिलनाडु राज्य, चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको छ भने दुवै हेलिकप्टरका पाइलटसहित तीन जना घाइते भएका छन् । 

उनीहरूको ललितपुरस्थित मेडिसिटी अपस्पतालमा उपचार भइरहेको छ । 

‘भारतीय मुलका न्युजिल्याण्डका नागरिक र घाइते फिस्टेलका पाइलटलाई उपचारका लागि काठमाडौंको अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँहरू अहिले जोखिममुक्त रहेको जानकारी अस्पतालले गराएको छ,’ नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । 

घाइते हुनेमा फिस्टेल हेलिकप्टरका पाइलट रविन्द्र प्रजापति, डाइनेस्टी हेलिकप्टरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजील्याण्डका नागरिक ४९ वर्षीय सेलिशकुमार पटेल रहेका छन् ।

घाइतेमध्ये पटेल र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि ल्याइएको हो । डाइनेस्टी एयरका पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । 

भिजिबिलिटी क्लियर रहेको बेला भएको उक्त दुर्घट्नाबारे प्राधिकरणका सूचना अधिकारी भुलले यतिबेला अनुसन्धान जारी रहको जानकारी दिए । 

‘ भिजिबिलिटी क्लियर नै भएको अवस्थामा पङ्खा र पुच्छर ठोक्कीदा दुर्घट्ना भएको देखिन्छ । हामी प्रविधिक कारण हो वा हावाका कारण दुर्घटना भएको हो  अनुसन्धानकै क्रममा छौं,’ उनले भने । 

पाइलट निलम्ब गर्ने नगर्ने भन्ने विकासन्युजको प्रश्नमा भने उनले अनुसन्धान पछि निर्णय हुने बताए । 

Share News