काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको उद्घाटन सत्रमा गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई आमन्त्रण नगर्ने भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई उद्घाटन समारोहमा सम्बोधनका लागि निमन्त्रणा गर्ने तयारी गरेको देउवा समूहले हालै सम्पन्न महाधिवेशनबाट सभापति निर्वाचित थापालाई भने निम्तो नदिने भएको हो ।
देउवा समूहका नेता डा. प्रकाशशरण महतले आफूहरू नै नेपाली कांग्रेसको वैधानिक नेतृत्व भएकाले अर्को समूहलाई निमन्त्रणा गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।
‘हामी वैधानिक कांग्रेस हौँ। पार्टी विभाजित भएको छैन। त्यसैले अर्को कांग्रेस छ भन्ने नै हामीलाई थाहा छैन,’ महतले भने, ‘वैधानिक कांग्रेसको सभापति शेरबहादुर देउवा हुनुहुन्छ। उहाँकै नेतृत्वमा १५औँ महाधिवेशन हुँदैछ।’
महतका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखसहित अन्य दललाई पनि निमन्त्रणा पठाइएको छ। तर, आफूहरूले आधिकारिक नमान्ने समूहलाई निमन्त्रणा गर्ने प्रश्नै नउठ्ने उनको भनाइ छ।
‘प्रतिनिधिसभामा रहेका सबै दलसहित अन्य दललाई निम्तो दिएका छौँ। अस्तित्वमै नरहेकालाई निम्तो दिने कुरै भएन,’ महतले भने।
देउवा समूहले गगन थापा नेतृत्वको कांग्रेसलाई निमन्त्रणा नगर्ने निर्णय गरेसँगै पार्टीको आधिकारिकता र नेतृत्वसम्बन्धी विवाद महाधिवेशनको उद्घाटन समारोहमा समेत प्रत्यक्ष देखिने भएको छ।
एकातिर थापा नेतृत्वको समूहले १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिसकेको छ भने अर्कातिर देउवा पक्षले शेरबहादुर देउवालाई नै वैधानिक सभापति दाबी गर्दै आफ्नै नेतृत्वमा महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ।
प्रतिनिधिसभामा रहेका अन्य दलका प्रमुखलाई उद्घाटन सत्रमा सम्बोधनका लागि आमन्त्रण गर्ने तर कांग्रेसकै अर्को समूहका सभापतिलाई निमन्त्रणा नगर्ने देउवा पक्षको तयारीले पार्टीभित्रको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादलाई थप सतहमा ल्याएको छ।