नेपाल एसबीआई बैंकको नाफा १०.१० प्रतिशत बढ्यो, विजनेश ग्रोथ ३.०२ प्रतिशत

काठमाडौं । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा ५५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१० प्रतिशतले बढी हो । गत वर्षको असोजसम्म बैंकले ५० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा वृद्धि देखिएको छ । असोजसम्म बैंकको निक्षेप १२ प्रतिशतले बढेर २ खर्ब ३९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकसँग २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ निक्षेप थियो ।

त्यस्तै, बैंकको कर्जा तथा सापटी ३.०२ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्म बैंकले १ खर्ब ४६ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने ३.७१ प्रतिशतले घटेर १ अर्ब २६ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ थियो । तर, खुद शुल्क तथा कमिसन आम्दानी १०.७९ प्रतिशतले बढेर ३६ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी सामान्य बढेर १ अर्ब ७६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्म यस्तो आम्दानी १ अर्ब ७६ करोड ४० लाख रुपैयाँ थियो । यस अवधिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम २८ करोड ७५ लाख रुपैयाँबाट घटेर १८ करोड ४० लाख रुपैयाँमा झरेको छ ।

बैंकको सञ्चालन नाफा ९.४६ प्रतिशतले बढेर ७८ करोड ३४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन नाफा ७१ करोड ५७ लाख रुपैयाँ थियो । कर्मचारी खर्च भने ५० करोड ७८ लाख रुपैयाँबाट बढेर ५२ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी ११ अर्ब ३३ करोड रुपैयाँ र रिजर्भ कोष २.१७ प्रतिशतले बढेर ९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७० पैसाबाट बढेर १९ रुपैयाँ ४९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ६६ पैसा रहेको छ ।

यस अवधिमा बैंकको पुँजी पर्याप्तता अनुपात १४.३२ प्रतिशतबाट घटेर १३.६२ प्रतिशतमा झरेको छ । त्यस्तै, निष्क्रिय कर्जा अनुपात ३.०१ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ ।

Share News