८.१० प्रतिशत बढ्यो प्रभु बैंकको नाफा, कर्जा नोक्सानी व्यवस्था ४१.३५ प्रतिशत घट्यो

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ५५ करोड ८४ लाख रुपैयाँ थियो । बैंकले गत वर्षका तुलनामा चालु वर्षको असोजसम्म ८.१० प्रतिशत बढी खुद नाफा कमाएको हो ।

बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले घटेर २ अर्ब ३३ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको असोजसम्म यस्तो आम्दानी २ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ थियो । खुद शुल्क तथा कमिसन आम्दानी पनि ७० करोड ४७ लाख रुपैयाँबाट घटेर ६८ करोड ८४ लाख रुपैयाँमा झरेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ११.८८ प्रतिशतले घटेर ३ अर्ब ३७ करोड ६ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ८२ करोड ५१ लाख रुपैयाँ थियो । 

यद्यपि, कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम १ अर्ब ३ करोड ७८ लाख रुपैयाँबाट घटेर ५८ करोड ८६ लाख रुपैयाँमा आएको छ । यो गत वर्षको तुलनामा ४१.३५ प्रतिशत कम हो । 

कर्मचारी खर्च पनि सामान्य घटेर १ अर्ब १० करोड ५४ लाख रुपैयाँ कायम भएको छ । बैंकको सञ्चालन नाफा १ अर्ब १७ करोड २० लाख रुपैयाँबाट घटेर १ अर्ब १५ करोड ४५ लाख रुपैयाँमा झरेको छ । 

असोज मसान्तसम्ममा बैंकको निक्षेप ०.५७ प्रतिशतले बढेर ३ खर्ब ५० अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्म निक्षेप ३ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ थियो ।

तर, बैंकको कर्जा तथा सापटी १.५९ प्रतिशतले घटेर २ खर्ब ११ अर्ब १३ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा बैंकले २ खर्ब १४ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ छ भने रिजर्भ कोष ६.९९ प्रतिशतले बढेर १७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४९ पैसाबाट बढेर १० रुपैयाँ २६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ६४ पैसा रहेको छ ।

यस अवधिमा बैंकको पुँजी पर्याप्तता अनुपात १३.६० प्रतिशतबाट घटेर ११.८३ प्रतिशतमा झरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात भने ५.७८ प्रतिशतबाट बढेर १४.८० प्रतिशत पुगेको छ ।

Share News