एनपीएलमा आज विराटनगर-जनकपुर र लुम्बिनी-पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुनेछ भने दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर र जनकपुर आमनेसामने हुनेछन् ।

तीन खेल खेलेको विराटनगरले एकमा जित र दुई खेलमा हार बेहोरेको छ । चितवन र कर्णालीसँग पराजित भएको विराटनगरले सुदूरपश्चिमविरुद्ध भने जित निकालेको थियो ।

जनकपुरले पनि तीन खेल खेलिसकेको छ । उसले दुई खेलमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले त्यसपछि काठमाडौं र पोखरालाई हराएको थियो ।

यसैगरी, आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

लुम्बिनीले खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ भने अर्को खेल वर्षाका कारण रद्द हुँदा चितवनसँग अंक बाँडेको थियो । सुदूरपश्चिमविरुद्धको पहिलो खेलमा लुम्बिनी विजयी भएको थियो ।

पोखराले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको पोखरा लुम्बिनीविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

Share News