काठमाडौं । इन्फोडेभलपर्स प्रालिले ग्राहक पहिचान तथा प्रमाणीकरणसम्बन्धी नयाँ प्लेटफर्म ‘भेरिक्स’ सार्वजनिक गरेको छ । कम्पनीले नेपाल फिनटेक एक्स्पो २०२६ को दोस्रो संस्करणका अवसरमा असोज २३ गते शुक्रबार उक्त प्लेटफर्म सार्वजनिक गरेको हो ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा असोज २३ देखि २५ गतेसम्म सञ्चालन भइरहेको एक्स्पोमा सार्वजनिक गरिएको यो प्लेटफर्मले बैंक तथा वित्तीय संस्था, सहकारी, व्यवसाय र अन्य संस्थालाई ग्राहक आबद्धता, ग्राहक पहिचान तथा प्रमाणीकरण (केवाईसी) र नियामकीय अनुपालनसम्बन्धी प्रक्रिया एउटै प्रणालीबाट व्यवस्थापन गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
‘भेरिक्स’मा अनलाइन खाता खोल्ने, डिजिटल ग्राहक पहिचान तथा प्रमाणीकरण (डिजिटल केवाईसी), भिडियोमार्फत ग्राहक प्रमाणीकरण, व्यावसायिक ग्राहक पहिचान (केवाईबी), सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँच (एएमएल स्क्रिनिङ), जोखिम मूल्यांकन तथा कार्यप्रवाह व्यवस्थापनलगायत सुविधा समावेश छन् ।
यी सुविधाले संस्थाहरूलाई ग्राहकको पहिचान, प्रमाणीकरण, जोखिम मूल्यांकन र अनुपालनसम्बन्धी काम थप व्यवस्थित तथा प्रभावकारी बनाउन सहयोग गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यस प्लेटफर्ममार्फत ग्राहक आबद्धता र प्रमाणीकरणका प्रक्रिया एउटै प्रणालीबाट सञ्चालन गर्न सकिन्छ । साथै, विद्यमान प्रणाली तथा सेवासँग जोड्न सकिने सुविधाले ग्राहकसम्बन्धी आवश्यक जानकारी व्यवस्थापन गर्न र म्यानुअल काम घटाउन मद्दत गर्नेछ। यसबाट संस्थाको कार्यसञ्चालन दक्षता बढ्ने अपेक्षा गरिएको छ ।
वित्तीय तथा व्यावसायिक क्षेत्रमा डिजिटल सेवाको प्रयोग बढ्दै जाँदा सुरक्षित ग्राहक व्यवस्थापन र नियामकीय मापदण्डको पालना सुनिश्चित गर्नुपर्ने आवश्यकता बढेको कम्पनीले जनाएको छ । यही आवश्यकतालाई ध्यानमा राखेर ग्राहक प्रमाणीकरण र अनुपालनसम्बन्धी प्रमुख प्रक्रियालाई एउटै प्लेटफर्ममा समेट्ने उद्देश्यले ‘भेरिक्स’ विकास गरिएको इन्फोडेभलपर्सले बताएको छ ।
एक्स्पोमा सहभागी आगन्तुक तथा वित्तीय क्षेत्रका व्यावसायिक व्यक्तिहरूले कम्पनीको स्टल एफ३ मा पुगेर ‘भेरिक्स’का सुविधाबारे जानकारी लिन र यसको प्रत्यक्ष प्रदर्शन (डेमो) का लागि बुकिङ गर्न सक्नेछन् ।