इरान भन्छ– हर्मुज जलडमरूमध्य वार्ताबाट मात्रै खोल्न सकिन्छ

काठमाडौं । इरानले वार्तामार्फत मात्रै हर्मुज जलडमरूमध्य पुनः खोल्न सकिने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले एक साताभित्र हर्मुज जलडमरूमध्य खोल्ने प्रस्ताव गरेको भए पनि त्यसलाई अस्वीकार गरेको भनिएको समयमा इरानको यस्तो धारणा सार्वजनिक भएको हो ।

न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै इरानका विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाबाट इरानलाई अहिलेसम्म कुनै आधिकारिक जवाफ प्राप्त नभएको बताए ।

यसअघि ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य खोल्ने प्रस्ताव युद्धमा कमजोर अवस्थामा पुगेका कारण गरेको बताएका थिए । तर अराग्चीले इरान आफ्नो प्रस्तावमा राखिएका सर्तबाट पछि नहट्ने स्पष्ट पारे ।

इरानी विदेशमन्त्रीका अनुसार ती सर्तमध्ये क्षेत्रमा जारी सबै द्वन्द्व रोक्नुपर्ने विषय पनि रहेको छ । यसमा लेबनानमा जारी संघर्षसमेत समावेश छ । त्यसबाहेक इरानले अमेरिकाले लगाएका प्रतिबन्ध हटाउनुपर्ने माग पनि राखेको छ ।

यसैबीच, इरानी अधिकारीहरूले जहाजहरूलाई हर्मुज जलडमरूमध्य पार गर्दा इरानले ‘अनधिकृत’ भनेका मार्ग प्रयोग नगर्न चेतावनी दिएका छन् ।

Share News