तातोपानी नाका तत्काल खुलाउन नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।

मंगलबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण केरुङ नाका अवरुद्ध भएकाले वैकल्पिक नाकाका रूपमा रहेको तातोपानी नाका खुलाउन सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताए ।

तातोपानी नाका लामो समयदेखि बन्द हुँदा दशैंको मुखमा आयात–निर्यात प्रभावित हुनुका साथै बजारमा वस्तुको अभाव र महँगी बढ्ने अवस्था सिर्जना भएको उनले बताए । 

सरकारले तातोपानी नाका सञ्चालनका लागि प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको आरोपसमेत उनले लगाए ।

भोटेकोशी नदीको बाढीले सामान बगाउँदा व्यवसायीले ठूलो क्षति बेहोर्नुपरेको र नाका बन्द हुँदा चाडपर्वका बेला अत्यावश्यक वस्तुको आपूर्तिमा समेत समस्या आउन सक्ने उनको भनाइ छ । 

महँगीका कारण गरिब तथा विपन्न परिवारको दैनिक जीवन प्रभावित भइरहे पनि सरकार यस विषयमा गम्भीर हुन नसकेको उनले आरोप लगाए ।

‘रसुवाको केरुङ नाका भोटेकोशीको बाढीले बगाएपछि सहज यातायात र नाका सञ्चालन गर्न सकिने तातोपानी नाका आज बन्द अवस्थामा छ । दुई हप्ताभन्दा लामो समय भइसक्दा पनि सरकारले कूटनीतिक पहल गरेर तातोपानी नाका खुलाउने प्रभावकारी प्रयत्न गरेको छैन,’ उनले भने ।

दशैं नजिकिँदै गर्दा भोटेकोशी नदीको बाढीले एकातिर व्यवसायीको ठूलो क्षति भएको र अर्कोतर्फ बजारमा सामानको अभाव हुने अवस्था सिर्जना भएको उनले बताए । 

नाकाबाट सामान आयात हुन नसके चाडपर्वको समयमा सर्वसाधारणले थप सास्ती व्यहोर्नुपर्ने उनको भनाइ छ ।

‘एकातिर महँगी आकाशिएको छ । खसीको मासुमा चार सय रुपैयाँ बढ्यो, चामलमा चार सय रुपैयाँ बढ्यो भनेर सामान्य रूपमा लिने अवस्था छैन । चार सय रुपैयाँ बढ्दा त्यो गरिबको चुलोमा कसरी असर गर्छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ,’ उनले भने ।

महँगीको मारले गरिब तथा विपन्न परिवारको दैनिक जीवनमा पारिरहेको असरलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताउँदै उनले तातोपानी नाका अविलम्ब सञ्चालनका लागि कूटनीतिक पहल गर्न जोडदार माग गरे ।

त्यस्तै, उनले मुस्ताङको कोरला नाकामा समेत व्यवसायीले समस्या भोगिरहेको बताए । 

चिनियाँ पक्षले मुस्ताङबाहेक अन्य जिल्लाका नेपाली चालकलाई प्रवेश अनुमति नदिँदा ठूला सवारी सञ्चालनका लागि पर्याप्त चालक जनशक्ति अभाव भएको उनले बताए ।

‘कोरला नाकामा चिनियाँ पक्षले मुस्ताङबाहेकका अन्य जिल्लाका चालकलाई प्रवेश अनुमति नदिएका कारण ठूला सवारी चलाउने पर्याप्त चालक जनशक्ति छैन । यसबाट व्यवसायीले ठूलो समस्या भोग्नुपरेको छ,’ उनले भने ।

कोरला नाकाबाट चालकलाई आवश्यक गन्तव्यसम्म जान सक्ने व्यवस्था मिलाउन तत्काल कूटनीतिक पहल गर्न व्यवसायी क्षेत्रबाट माग भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
 

Share News