पूँजी बजार पुनरुत्थान योजनापछि नेप्सेमा हरियाली, कारोबार साढे ८ अर्ब

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ले सेयर बजारमा तत्काल सकारात्मक प्रभाव देखाएको छ । २१ बुँदे कार्ययोजनापछि लगानीकर्ताको उत्साह बढ्दा मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ४८.५७ अंक (१.८८ प्रतिशत) ले बढेर २६३३.६२ बिन्दुमा पुगेको हो । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा कारोबार रकम पनि साढे ८ अर्ब रुपैयाँ नाघेको छ ।

नेप्सेका अनुसार मंगलबार ३४७ कम्पनीका २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये २६५ कम्पनीको सेयर मूल्य बढेको, १२ कम्पनीको घटेको र एक कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो । कम्पनीको ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । त्यसपछि शिवम् सिमेन्टको ३१ करोड, एपीआई पावरको २८ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड र लिबर्टी इनर्जीको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए । कम्पनीको सेयर मूल्य १४.९६ प्रतिशतले वृद्धि भएको छ ।

मंगलबार नेप्सेका सबै उपसूचक हरियाली बने । सबैभन्दा धेरै गैरजीवन बीमा समूह २.८२ प्रतिशतले बढेर ९,८३५.८४ बिन्दुमा पुगेको छ भने जीवन बीमा समूह २.५९ प्रतिशतले बढेर ११,७६१.६१ बिन्दुमा पुगेको छ ।

त्यसैगरी लगानी समूह २.५२ प्रतिशत, वित्त समूह २.२३ प्रतिशत, अन्य समूह २.१२ प्रतिशत, बैंकिङ समूह १.९० प्रतिशत, जलविद्युत् समूह १.८४ प्रतिशत, विकास बैंक समूह १.७६ प्रतिशत र लघुवित्त समूह १.७५ प्रतिशतले वृद्धि भएका छन् ।

होटल तथा पर्यटन समूह १.४२ प्रतिशत, म्युचुअल फन्ड १ प्रतिशत, व्यापार समूह ०.९२ प्रतिशत तथा उत्पादन तथा प्रशोधन समूह ०.७७ प्रतिशतले बढेका छन् ।  

Share News