काठमाडौं । नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा विपद्पछिको राहत, उद्धार र पुनःस्थापनाको काम प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन उच्चस्तरीय संसदीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।
मंगलबार (आज) नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर तत्काल उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेका हुन् ।
आङ्देम्बेले विपद् व्यवस्थापनमा राज्यका सबै निकाय र राजनीतिक दलबीच समन्वय आवश्यक रहेकाले संसदीय समितिमार्फत सरकारका कामको अनुगमन र समन्वय गर्नुपर्ने बताए ।
उनका अनुसार विपद् आएको १७–१८ दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाइएको उच्चस्तरीय संसदीय समिति गठनको विषय कार्यान्वयनमा आउन सकेको छैन ।
उनले राहत व्यवस्थापनदेखि प्रभावितको पुनःस्थापनासम्मका कामलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन समिति आवश्यक रहेको बताए। संसदीय समिति गठन गर्नु सरकारको विपक्षमा उभिनु नभई सरकारको कामलाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउन संसदीय निगरानी आवश्यक रहेको उनको भनाइ छ ।
आङ्देम्बेले विपद्बाट प्रभावित बालबालिका, सुत्केरी महिला तथा अन्य पीडितको अवस्था, उनीहरूको सुरक्षित पुनःस्थापना र राहत तथा सहयोगका रूपमा प्राप्त स्रोतको सदुपयोगबारे समितिले अनुगमन गर्नुपर्ने बताए ।
राहत तथा सहयोग उपलब्ध गराउने सबैको सहयोग सुनिश्चित गर्दै त्यसको सदुपयोग कसरी भइरहेको छ भन्ने विषय पनि स्पष्ट हुनुपर्ने उनले बताए ।
विपद्को समयमा राज्य आफ्नो साथमा रहेको अनुभूति प्रभावितलाई दिलाउन पनि संसदीय समिति आवश्यक रहेको उनको भनाइ छ ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सञ्चालन गर्न पनि माग
आङ्देम्बेले प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न पनि सभामुखको ध्यानाकर्षण गराएका छन् ।
संसद्को नियमावली र कार्यतालिकाअनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम संसद् र कार्यकारीबीच प्रत्यक्ष संवादको महत्त्वपूर्ण माध्यम भएकाले यसको सञ्चालन आवश्यक रहेको उनले बताए ।
सभामुख अर्याल यस विषयमा सकारात्मक रहेको र प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम चाँडै सञ्चालन गर्ने तयारीबारे जानकारी गराएको आङ्देम्बेले बताए ।
भेटका क्रममा उनले नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिकाबारे पनि सभामुखलाई जानकारी गराएका थिए ।
उनका अनुसार कांग्रेसको वडा अधिवेशन ३ र ४ गते, प्रदेश तथा क्षेत्रीय अधिवेशन १० गते तथा केन्द्रीय महाधिवेशन १६ देखि १९ गतेसम्म हुनेछ ।