काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास उद्योगीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल उद्योग परिसंघ (सीएनआई)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
परिसंघले बिहीबार विज्ञप्ति जारी गर्दै संसदीय समितिको बुधबार बसेको बैठकमा मन्त्री यादवले दिएको ‘ग्यास उद्योगीलाई पाता नकसेसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण टिप्पणी भएको जनाएको हो ।
परिसंघका अनुसार विपद्को समयमा सरकारसँग सहकार्य गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन लागिपरेका उद्योगी–व्यवसायीलाई यस्ता अभिव्यक्तिले निराश बनाएको छ ।
परिसंघले लगानी अभिवृद्धि, रोजगारी सिर्जना र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बेला मन्त्रीको अभिव्यक्तिले समस्या समाधानभन्दा अवरोध सिर्जना गर्ने ठहर गरेको छ ।
विज्ञप्तिमा आपूर्ति शृंखलामा परिस्थितिजन्य अवरोधका कारण ग्यास अभाव देखिएको हुन सक्ने उल्लेख गर्दै कुनै उद्योगी वा व्यवसायीले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भए कानुनबमोजिम कारबाही गर्नुपर्नेमा आफूहरू स्पष्ट रहेको जनाएको छ ।
परिसंघले विपद्को समयमा सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य अझ आवश्यक रहेको भन्दै जिम्मेवार अभिव्यक्ति र तथ्यमा आधारित निर्णय गर्न सरकारसँग आग्रह गरेको छ ।