काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ ।
कार्यदलका सदस्य तथा पार्टी उपमहासचिव लेखराज भट्टले शुक्रबार कार्यदलको सम्भवतः अन्तिम बैठक बस्ने जानकारी दिए ।
उनका अनुसार बैठकले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिनेछ ।
‘शुक्रबारको बैठकबाट पुनर्गठनसम्बन्धी प्रतिवेदनको विषय टुंग्याउने तयारी छ,’ भट्टले भने ।
कार्यदलले पार्टीको संगठनात्मक पुनर्गठनलगायत विषयमा छलफल गरी तयार पारेको प्रतिवेदनलाई अन्तिम रूप दिएपछि पार्टी नेतृत्वसमक्ष पेस गर्ने तयारी गरेको छ ।
शुक्रबारको बैठकलाई त्यसैका लागि निर्णायक बैठकका रूपमा हेरिएको छ ।