काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावअनुसार सेयरधनीले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश पाउनेछन् । नगद लाभांशमा बोनस सेयरमा लाग्ने करसमेत समावेश हुनेछ ।
बैंकको हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ । सोही पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र नगद लाभांश वितरण गर्न लागिएको हो ।
बैंकका अनुसार १० प्रतिशत बोनस सेयरको रकम ६० करोड २१ लाख ३४ हजार ८३६ रुपैयाँ ७२ पैसा हुनेछ । यस्तै, १० प्रतिशत नगद लाभांशका लागि पनि ६० करोड २१ लाख ३४ हजार ८३६ रुपैयाँ ७२ पैसा छुट्याइनेछ ।
यसअनुसार बैंकले कुल १ अर्ब २० करोड ४२ लाख ६९ हजार ६७३ रुपैयाँ ४४ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ । साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ ।