असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड-२ को इकाई बिक्री गर्ने

काठमाडौं । मुक्तिनाथ क्यापिटलले असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड-२ को इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले कुल १ अर्ब रुपैयाँ बराबरको इकाई निष्काशन गर्न लागेको हो । कुल इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंक र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।

उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले इकाई खरिदका लागि छिटोमा असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागअनुसार पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज १५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ ।

इकाई खरिदका लागि धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिनेछ । यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
 

Share News