काठमाडौं । बाढीका कारण सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको रसुवाबाट हेलिकोप्टरमार्फत एक सुत्केरी महिला र उनका नवजात शिशुको उद्धार गरिएको छ ।
आमाछोदिङमो गाउँपालिका–३ गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुलाई आपत्कालीन हवाई उद्धार गरी सुरक्षित रूपमा काठमाडौँ ल्याइएको हो ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सो गाउँपालिकाको यातायात सम्पर्क पूर्ण रूपमा टुटाएको थियो। स्थानीय गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएलगत्तै आमा र शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि तत्काल हवाई उद्धार गरिएको गाउँपालिकाका प्रवक्ता दावागोम्बो तामाङले जानकारी दिए ।
बाढीले सडक मार्ग अवरुद्ध पारेर बिरामीलाई अस्पताल लैजान नपाइने अवस्था सिर्जना भएपछि हेलिकोप्टरमार्फत उनीहरूलाई काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्याइएको हो ।
अहिले सुत्केरी आमा र नवजात शिशु दुवैलाई उक्त अस्पतालमा भर्ना गरी चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।